Breaking News

इन्धनको कालोबजारी भयो ? ०१४२०००५२ नं.को हटलाइनमा फोन गर्नुहोस्

Feb Tue 2020 05:40:13

434 views

इन्धनको कालोबजारी भयो ? ०१४२०००५२ नं.को हटलाइनमा फोन गर्नुहोस्

 सरकारले कालोबजारी नियन्त्रणमा नागरिकको समेत सहयोग होस् भनेर हटलाइन नम्बर स्थापना गरेको छ । यसअघि नेपाल आयल निगमको गुनासो सुन्नका लागि सूचना केन्द्र बनाए पनि प्रभावकारी हुन नसकेपछि हटलाइन नम्बर स्थापना गरिएको हो ।

नागरिकले ०१४२०००५२ मा चौबीसै घन्टा फोन गरेर कालोबजारी तथा अनियमितताको जानकारी दिन सक्नेछन् ।

त्यस्तो जानकारी आएको केही समयभित्रै छानबिन गरेर कारबाही गर्ने मन्त्रालयको भनाइ छ । सो हटलाइन एकैसाथ गृह मन्त्रालयमा समेत जोडिएकाले बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।

सरकारले इन्धन अभावका नाममा कालोबजारी गर्ने र अनियमितता गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने भएको छ । अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउनका लागि यसअघि निर्माण गरिएको अनुगमन संयन्त्रमाथि पनि निगरानी गरिने र तत्काल कानुनी कारबाही गर्ने तयारी गरेको छ ।

त्यसका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । सो समितिलाई उच्चस्तरीय छानबिन समितिको नाम दिइएको छ ।

यसअघि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाको नेतृत्वमा रहेको समितिलाई मन्त्रालयले थप प्रभावकारी बनाउने भएको छ ।

सो समितिमा स्थानीय प्रशासन, उपभोक्तावादी सङ्घसंस्था तथा सरोकारवालालाई समेत समावेश गरिनेछ । यसअघि सोही समितिले बजार अनुगमन गरेको भए पनि प्रभावकारी काम हुन नसकेको भन्दै जनस्तरबाट चर्को गुनासो आएपछि समितिलाई थप प्रभावकारी बनाउन लागिएको हो ।

सो समितिले काम गरे नगरेको समेत सहसचिव जीवराज कोइराला नेतृत्वको उच्चस्तरीय छानबिन समितिले छानबिन गर्ने र कारबाहीका लागि मन्त्रीसमक्ष सिफारिस गर्नेछ ।

इन्धनको कालोबजारी मौलाएको, इन्धन आपूर्ति नभए पनि बजारमा इन्धन पाइएको, व्यापारी तथा कमिसनखोरी मात्रै मौलाएको भन्दै गुनासो बढेपछि त्यसखालको समिति स्थापना गरिएको हो । सो समितिले शुक्रबारबाटै आफ्नो काम गर्नेछ ।

लगत राख्न छुट्टै समिति

मन्त्रालयले उपलब्ध सीमित इन्धन के कति आयात भयो, त्यसको भण्डारण कहाँ र कसरी गरिएको छ र वितरण प्रणाली कसरी मिलाइएको छ र कसकसले पाए भन्नेबारेमा लगत राख्न मन्त्रालयका एक सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको छ । तर सहसचिवको नाम भने मन्त्रालयले आन्तरिक रुपमा मिलाउन बाँकी रहेको छ ।

सो समितिले भारतबाट आयात भएका पेट्रोल, डिजल, खाना पकाउने ग्यास, हवाई इन्धन, मट्टीतेल के कति परिमाणका आयात भयो, कुन भण्डारणमा भण्डारण गरिएको छ, कहाँ कसरी वितरण गरियो भन्नेबारेमा लगत राखेर सार्वजनिक गर्नेछ । कहीँ कतै अनियमितता भए र गरिएको भए सो समितिले आवश्यक कारबाहीका लागि मन्त्रीसमक्ष पेस गर्नेछ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले कोही पनि व्यक्ति कानुन भन्दामाथि नरहेको भन्दै अभावको बेला समस्या खडा गर्ने, अनियमितता गर्नेलाई कारबाहीको दायरमा ल्याइने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?