Breaking News

सेयर बजार १३५० भन्दा माथि जानसक्छ, तर बजार घट्यो भने ?

Feb Tue 2020 05:40:19

414 views

सेयर बजार १३५० भन्दा माथि जानसक्छ, तर बजार घट्यो भने ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अहिले पुराना सबै रेकर्ड तोडेर उच्चतम अंकमा टिकेको छ । पुरानो १२०६ अंकको रेकर्डलाई तोडेपछि विश्लेषकहरुले भन्न थालेका छन्– बजार १३५० अंकभन्दा माथि जान सक्छ । विश्लेषकहरुले भनेका कुरा नेपाली बजारमा त्यतिधेरै मिलेका त छैनन् तर यसपाली मिलेमा बजार १३५० अंक वरिपरि पुगेपछि ओर्लिन्छ । अथवा बजार विश्लेषकहरुले भनेभन्दा अझ माथि जान पनि सक्छ । राजनीति स्थायित्व, कम्पनीको वित्तीय अवस्था, नाफाको स्तर, उनीहरुले दिनसक्ने लाभांसलगायत पक्षले बजारलाई जति बल दिन्छ त्योभन्दा ठूलो वल लगानीकर्ताको मनोविज्ञानमा हुन्छ । मनोविज्ञान कमजोर भयो भने बजार जुनसुकै विन्दुबाट तल आउन सक्छ । बजार बढ्दा लाभ दिइरहने कम्पनीहरु त धेरै हुन्छन् तर घट्दा पनि केही कम्पनीहरुले तपाईलाई नोक्शानीमा पार्दैनन् । नेपाली बजारमा केही यस्ता ‘डिफेन्सिभ स्टक’ छन् । के हो डिफेन्सिभ स्टक ? डिफेन्सिभ स्टक ती कम्पनीको सेयरलाई भनिन्छ, जुन बेला बजार ओर्लिँदा पनि ती कम्पनीको सेयर मूल्य धेरै झर्दैन । नेपालमा यस्ता खालका सेयरहरु कुनै विशेष समूहमा सुचिकृत छैनन्, तर विदेशमा भने उत्पादनमूलक कम्पनीहरुको सेयरलाई डिफेन्सिभ स्टकका रुपमा लिइन्छ । नेपालमा सबै समूहमा केही केही कम्पनीको सेयर डिफेन्सिभ स्टकका रुपमा छन् । जसको मूल्य झर्दा पनि एउटा निश्चित स्तरभन्दा तल आउँदैन । बैंकिङ समूहमा यस्ता स्टक धेरै छन् । बिमा समूहमा पनि केही कम्पनीका सेयर डिफेन्सिभ स्टकका रुपमा छन् । विकास बैंक समूहमा सुचिकृत केही लघुवित्त कम्पनीका सेयरलाई पनि डिफेन्सिभ स्टकका रुपमा लिन सकिन्छ । सर्वसाधारणमा धेरै हदसम्म छरिएका सेयरहरु केही हदसम्म डिफेन्सिभ हुन्छन् । नभए आफ्नो प्रेस्टिजसँग जोडेर सेयर होल्ड गरेका ठूला र व्यवसायिक जगतले पत्याएका व्यक्ति तथा समूहका हातमा भएको सेयरलाई पनि डिफेन्सिभ स्टकमा रुपमा हेर्न सकिन्छ । स्टप लस विकल्प सेयरको दोस्रो बजारमा खेल्ने तर ठूलो जोखिम वहन गर्न नसक्नेहरुले डिफेन्सिभ स्टक खरीद गर्दा राम्रो हुन्छ । नभए उनीहरुले ‘स्टप लस’ को रणनीति लिएर दोस्रो बजारमा खेल्दा बजार ओर्लिँदा पनि ठूला नोक्शान खेप्नु पर्दैन । स्टप लस त्यो बिन्दु वा मूल्य हो, जहाँ पुगेपछि लगानीकर्ताले आफ्नो सेयर विक्री गर्छन् । स्टप लसको सीमा लगानीकर्ता आफैले तय गर्नु पर्छ । उदाहरणका लागि, तपाईले कुनै सेयर ५०० रुपैयाँ किन्नु भएको छ । तपाईलाई लाग्छ बजार तल झर्ने सम्भावना वढेर गएको छ । यस्तोमा तपाईले आफ्नो धितोपत्र व्रोकरलाई ४८० सम्म मूल्य आएमा बेच्न पहिले नै निर्देशन दिइसक्नु भएको हुन्छ । ४८० बाट बजार तल झर्दा तपाईले नोक्शान व्यहोर्नु पर्दैन । ४८० रुपैयाँसम्मको नोक्शान मात्रै तपाईको भागमा पर्छ, जसले तपाईको लसलाई ४८० मा स्टप गरिदिन्छ । बजार एउटा उचाइमा पुगेपछि जुनसुकै बिन्दुबाट तल ओर्लिन सक्छ । मनोविज्ञानमा बजार चल्ने भएकाले कुनै पनि विश्लेषकको विश्लेषणले हावा खानसक्छ । त्यस्तो बेलामा तपाईले नोक्शानीलाई सीमाभित्र राख्न स्टप लस विकल्पमा जाँदा राम्रो हुन्छ । यद्यपी लामो समयसम्म लगानी गर्नेका लागि स्टप लस औजार त्यति महत्वपूर्ण नहुन सक्छ ।

 - Bizmandu.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?