Breaking News

के हो फोरजी ? वानजी . टुजी.. थ्रीजी... फोरजी

Feb Tue 2020 05:40:17

1294 views

के हो फोरजी ?   वानजी . टुजी..  थ्रीजी...  फोरजी

फोरजी भनेको मोबाइल नेटवर्कको चौथो पुस्ता अर्थात् फोर्थ जेनरेसन हो । अहिले नेपालमा थ्रीजी अर्थात् तेस्रो पुस्ताको नेटवर्कमार्फत मोबाइल चलिरहेको छ । थ्रीजीबाट फोरजीमा जानुको अर्थ अब स्मार्टफोन, ट्याब्लेट तथा ल्यापटप आदिमा छिटो, सस्तो र अझ विश्वसीनय रूपमा इन्टरनेट चलाउन सकिनेछ ।

क्षमताका आधारमा थ्रीजीभन्दा फोरजी सेवा पाँच गुणा छिटो चल्छ । फोरजी सेवाको पहिलो प्रयोग गर्ने राष्ट्र दक्षिण कोरिया हो । दक्षिण कोरियाले सन् २००७ मा यो सेवा सञ्चालनमा ल्याएको थियो । भारतमा सन् २०१२ अप्रिलदेखि यो सेवा सञ्चालनमा आएको थियो । नेपालमा भने बल्ल यसको तयारी पूरा हुँदैछ ।

वानजी वानजी अर्थात् पहिलो पुस्ताको प्रविधि सन् १९८० को दशकमा प्रारम्भ भएको थियो । टुजी प्रविधि नआउँदासम्म यसको प्रयोग गरियो । यसमा एनालग प्रविधिको रेडियो सिग्नलको सहायताले खबर आदान प्रदान गर्न सकिन्थ्यो ।

टुजी  टुजी अर्थात् दोस्रो पुस्ताको मोबाइल फोन प्रविधिमा डिजिटल प्रविधि प्रयोग गरिन्छ । यसमा एक मोबाइलबाट अर्को मोबाइलमा डिजिटल रूपमा भ्वाइस अर्थात् खबर प्रवाहित हुन्छ । त्यसैगरी यसको ध्वनि प्रवाहित गर्ने क्षमता पनि वानजीको तुलनामा निकै उच्च हुन्छ । त्यसबाहेक एसएमएस अर्थात् टेक्स्ट म्यासेजका रूपमा डाटा सर्भिस पठाउन सकिन्छ । वानजीमा एसएमएस पठाउन सकिँदैनथ्यो । व्यवसायिक रूपमा टुजी प्रविधिको पहिलो प्रयोग सन् १९९१ मा फिनल्यान्डको रेडियोलिन्जा कम्पनीले गरेको थियो ।

थ्रीजी थ्रीजी सेवामा उच्च गतिको डाटा ट्रान्सफर गर्न सकिन्छ । थ्रीजी मोबाइल प्रयोग गरी सधैं इन्टरनेटसँग आबद्ध रहन सकिन्छ । खासगरी तीव्र गतिमा डाटा पठाउन र प्राप्त गर्न यसको प्रयोग गरिन्छ । त्यसैगरी फोन गर्ने र रिसिभ गर्ने दुवैले एक–अर्काको अनुहार र हाउभाउ हेरी भिडियो कल समेत गर्न सक्छन्, तर यसरी कल गर्न कुराकानी गर्ने दुवै व्यक्तिसँग थ्रीजी सिम र त्यसैअनुकूल सुविधायुक्त मोबाइल सेट आवश्यक छ । प्रविधिको विकास भैरहेको छ । तिनको प्रयोगका लागि आवश्यक उपकरण पनि विकसित भैरहेका छन् ।

त्यसैले यिनको प्रयोगका लागि पनि तयार रहनु आवश्यक छ । अहिले सबैले यो प्रविधि प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यसैले प्रविधिका बारेमा जानकारी राख्नु आवश्यक छ । यो अवस्थामा अब फोरजी प्रयोग गरी सुधारिएको स्पिडमा इन्टरनेट चलाउन र लाइभ भिडियो हेरी आनन्द लिन सकिन्छ, तर यी सुविधा चलाउन सकिने खालको मोबाइल सेट हुनु पनि त्यत्तिकै आवश्यक छ ।

Saptahik

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?