काठमाडौं । नेपाल प्रहरीलाई पिरोलिरहने राजधानीको एउटा पुरानो र जघन्य अपराध घटना थियो, बडीखेल हत्याकाण्ड । प्रहरीप्रमुख उपेन्द्रकान्त अर्यालले समेत यसलाई प्रहरीको घाँटीमा अड्केको हाड संज्ञा दिएका थिए ।
घटनाको १२ वर्षपछि प्रहरीले आफ्नो घाँटीबाट यो हाड निकाल्यो, गत भदौमा । धेरै वटा प्रहरी प्रमुखहरु पन्छाएको बडीखेल हत्याकाण्ड अर्यालको पालामा आएर पटाक्षेप भयो । घटनालाई बिर्सेर सामान्य जीवन बिताइरहेका हत्यारा अन्ततः प्रहरीको पञ्जाबाट जोगिन सकेनन् ।
बडिखेल हत्याकाण्डमा धेरै प्रहरी अधिकृतहरुले हात हाले पनि अन्तमा जस लिन सफल भए काठमाडौं अपराध अनुसन्धान शाखाका एसएसपी सर्वेन्द्र खनाल । उनी स्वयम्ले पनि यसलाई आफ्नो प्रहरी जीवनकै अविस्मरणीय उपलब्धीका रुपमा लिएका छन् । खनाल भन्छन्, ‘सफल अनुसन्धान त धेरै गरियो, तर बडीखेलको अनुसन्धानमा बढी सन्तुष्टी किन छ भने यसमा सिंगो प्रहरी संगठनकेा प्रतिष्ठा जोडिएको थियो ।’
१२ वर्षअघि जे भयो २०६० साल असोज १६ गते दशैंको अष्टमीको दिन । एउटै परिवारका ५ जना सदस्यको खुकुरी हानी हत्या गरिएको दर्दनाक घटनाले सिंगो देशलाई व्यूँझाइदियो । ललितपुरको बडीखेलमा बस्ने भानु नगरकोटीका श्रीमान-श्रीमती, दुई छोरी र एक छोराको मध्यरातमा हत्या गरिएको थियो । हत्या विभत्स भए पनि यति सरक्क गरिएको थियो कि प्रहरीलाई कुनै अड्कलवाजी गर्ने समेत ठाउँ थिएन ।
घरमा भानुका परिवार मात्र बस्थे । माथिल्लो तल्लामा एक छोरा र एक छोरी सुतेका थिए भने तल्लो तल्लामा भानुका श्रीमान-श्रीमती र सानी छोरी । झ्यालमाट हत्याराले सुरुमा माथिल्लो तल्लामा पसेर धारिलो हतियारले छोराछोरीलाई प्रहार गरेको र त्यसपछि तल ओर्लेर बाबुआमालाई हानेको थियो । राति १२ देखि २ बजेको बीचमा पाँच जनाको हत्या हुँदा वरिपरिकाले कुनै सुईको पाएनन् ।
कुनै पेशेबर अपराधी हुनसक्ने अड्कल काटिए पनि मान्छेको विषयमा कुनै खोजखबर भएन । अनुसन्धानका क्रममा प्रहरीले गाउँले र भानुका आफन्तलाई बोलाएर सोधपुछ गर्यो । तर, शंकाको लहरो कतै पनि तानिएन ।
त्यसयता बडीखेल हत्याकाण्डको अनुसन्धान गर्न ११ अनुसन्धान अधिकृत र ५ वटा समिति बनाइए । तर उपलब्धी भएन ।
सर्वेन्द्रले खोले फाइल
चन्द्रबहादुरलाई तीन पटक पक्राउ गरेर बयान लिने काम भएको रहेछ । तर, उनले कुनै कुरा नखोलेपछि र प्रहरीले पनि उनीविरुद्ध कुनै प्रमाण नभेटेपछि छाडिएको थियो । तर, यसपालि उनी उम्किन पाएनन्
सर्वेन्द्र खनाल महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुख बनेर आएपछि केही पुराना मुद्दाहरुको फाइल खोल्न लगाए, जसमध्ये बडीखेल प्रमुख थियो । प्रहरीको क्षमतामाथि नै प्रश्नचिन्ह उठेको ठानेर बडिखेल हत्याकाण्डलाई आफूले प्राथमिकतामा राखेको बताउँछन् खनाल ।
उनले सुरुमा १२ वर्ष अगाडि छापिएका पत्रिकाका कटिङहरु मगाए, जसमा हत्याकाण्डसम्वन्धी समाचार प्रकाशित थिए । त्यसपछि बडीखेलमा गएर गाउँलेहरुसित बयान लिने क्रम थाले । छोटो समयमा करिब ३ सय जनासित बयान लिइएको खनालले जानकारी दिए ।
त्यसपछि घटनाको प्रकृति र अपराधको आयतनले यो घटना सामान्य आर्थिक लेनदेनको विषयलाई लिएर भएको हुन ठहर गरे खनालले । ‘यस्तो तहको अपराध सामान्य आक्रोशले निम्त्याउन सक्दैन । यति ठूलो आक्रोश जन्माउने सबैभन्दा ठूलो कारण हुन्छ सेक्स ।’ गाउँलेहरुसित बयान लिँदा भानुकी आफ्नी श्रीमतीकी भाउजू सूर्यकुमारीसित लसपस रहेको संकेत आयो । पहिले सूर्यकुमारी र भानुको घर ६ मिनेटको दुरीमा थियो । उनीहरु सँगै बसेर रक्सी खाने गर्थे । तर, सूर्यकुमारीको परिवार तीन वर्षअघि त्यो गाउँ छाडेर भक्तपुरमा सरिसकेका रहेछन् ।
शंकाको सुई घुम्यो
घटना हुँदा ५२ वर्षका चन्द्रबहादुरले आफ्नी श्रीमती र ज्वाइँको अवैध सम्वन्ध सहन नसक्दा यो हत्याकाण्ड मच्चाएको निस्कर्ष प्रहरीले निकाल्यो
घटनामा धारिलो हतियारले निशाना नबिगारी हानेको देखिएपछि गाउँमा यसरी धारिलो हतियार चलाउन जान्ने व्यक्ति को छ भन्ने पनि प्रहरीले खोजिरहेको थियो । सूर्यकुमारीका श्रीमान राँगा र खसी मार हान्ने काम गर्थे । अनुसन्धानको सुई उनीतिर सोझियो ।
हेर्दा निकै सोझा चन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गर्यो । त्यसो त यसअघि पनि उनलाई तीन पटक पक्राउ गरेर बयान लिने काम भएको रहेछ । तर, उनले कुनै कुरा नखोलेपछि र प्रहरीले पनि उनीविरुद्ध कुनै प्रमाण नभेटेपछि छाडिएको थियो । तर, यसपाली उनी उम्किन पाएनन् ।
घटना हुँदा ५२ वर्षका चन्द्रबहादुरले आफ्नी श्रीमती र ज्वाइको अवैध सम्वन्ध सहन नसक्दा यो हत्याकाण्ड मच्चाएको निस्कर्ष प्रहरीले निकाल्यो । भानु नेपाल राष्ट्र बैंकको थापाथली शाखामा पियन थिए । आफूलाई पनि जागिर लगाइदिन बहिनी ज्वाइँलाई आग्रह गर्दै आए पनि भानुले आफ्नै भाइलाई जागिर लगाइदिएपछि चन्द्रबहादुर आक्रोसित भए । त्यसमाथि आफ्नै श्रीमतीसित लागेको थाहा पाएपछि उनले होस गुमाएका थिए ।
यसरी गरे हत्या प्रहरीका अनुसार अष्टमीको दिन बेलुकी नेवारी परम्परा अनुसार कुची भोजका लागि राँगा काटेर भानुले २ भाग मासु लगेका थिए । बेलुका यी दुवै परिवारले त्यही मासु खाएर सुते ।
आफूले गरेको पुरानो अपराध बिर्सेर भक्तपुरमा सामान्य जीवन बिताइरहेका चन्द्रबहादुर यतिबेला जेलभित्र पश्चाताप गरेर जहान-छोराछोरी सम्झेर बसिरहेका छन्
मासु र रक्सी खाएर सुतेका चन्द्रबहादुर राति १२ बजे उठे । एउटा हातमा राँगा काट्ने खुँडा र अर्को हातमा सफा लुगाको झोला बोकेर उनी बहिनीको घरमा पुगे । ढोका बन्द रहेकाले शौचालयको छतबाट घरको छतमा उक्लिँदै दोस्रो तलाभित्र पसे । कोठाभित्र सुतिरहेका दुई जनालाई छप्काए । तर, जूनको उज्यालोमा यसो हेर्दा उनले छप्काएका दुई व्यक्ति बहिनी ज्वाइँ नभएर भान्जा र भान्जी रहेछन् । त्यसपछि फेरि तल्लो तलाको कोठामा पसेर बहिनी, ज्वाइँ र उनीहरुसँगै सुतेकी कान्छी भान्जीलाई प्रहार गरे ।
सारा परिवारलाई सिध्याएपछि उनी घर नजिकै रहेको बासको झ्याङमा खुँडा मिल्काए । खोलामा गएर हातमुख धोए । रगत लागेका लुगा फुकालेर झोलामा ल्याएका सफा लुगा लाए । केहीबेर चुरोट पिउँदै सन्तुष्ट भावमा यताउता टहलिए ।
त्यसपछि घर नगई बिहान ६ बजेतिर उनी मामाको श्राद्धका लागि पण्डित गोपाल ओझालाई बोलाउन उनको घर काभ्रे पुगे । त्यहाँबाट फर्केर आउँदा कान्छो छोरा महेश्वरले उनलाई हत्याको विषयमा सुनाए । उनी अत्तालिएको भावमा बहिनी ज्वाईंको घरतिर पुगे । घटस्थलमा आएका प्रहरीलाई शव उठाउन र मुचुल्का बनाउन सघाए । बहिनीज्वाईको किरिया समेत उनैले गराएको बताउछन् एसएसपी खनाल ।
खनालले यसअघि बाराको इटिहाईमा यस्तै किसिमको घटनाको सफल अनुसन्धान गरेका थिए । त्यहाँ पनि आफन्तबाटै परिवारका पाँच जनाको हत्या भएको थियो । उक्त अनुसन्धानको अनुभवले पनि उनलाई सजिलो भयो ।
‘यो अनुसन्धान कठिन किन थियो भन्दा एक त एकदमै पुरानो र दोस्रो हत्याराभन्दा दोस्रो व्यक्ति कसैलाई थाहा थिएन । फेरि त्यतिबेला फोनको प्रयोग कतै नभएकाले प्रविधिको सहयोग लिन सकिने अवस्था थिएन,’ खनाल भन्छन् । चन्द्रबहादुरी श्रीमतीले पनि आफ्नो श्रीमानले हत्या गरेको भन्ने कुनै अन्दाज नगरेको उनले बताए ।
घटनाको अनुसन्धान गर्दा प्रमाणलाई मात्र नहेरी पात्रहरुको हाउभाउ र कटाक्षका आधारमा पनि धेरै कुराहरु अनुमान गर्न सकिने खनालको अनुभव छ । ‘क्रिमिनोलोजी पढेको र नपढेको प्रहरीमा यही फरक हुन्छ,’ उनी भन्छन्, ‘पढेको प्रहरीले व्यक्तिहरुको मनोविज्ञान र प्रवृत्तिलाई सूक्ष्म विश्लेषण गर्न सक्छ । बडिखेलमा भएका अनुसन्धानको फरक पनि यही हो ।’
आफूले गरेको पुरानो अपराध विर्सेर भक्तपुरमा सामान्य जीवन बिताइरहेका चन्द्रबहादुर यतिबेला जेलभित्र पश्चाताप गरेर जहान-छोराछोरी सम्झेर बसिरहेका छन् ।
News Source - Onlinekhabar.com