Breaking News

वीर अस्पतालमा एमआरआई सेवा सञ्चालन

Feb Tue 2020 05:40:42

260 views

वीर अस्पतालमा एमआरआई सेवा सञ्चालन

निजी अस्पतालमा महँगो मूल्यमा एमआरआई गराउँदै आएका नेपालीले अब सस्तोमै वीर अस्पतालमा एमआरआई सेवा प्राप्त गर्नेभएका छन् । रु आठ करोड ६१ लाखको लगानीमा अस्पतालले सेवा सुरु गरेको हो ।

स्वास्थ्यमन्त्री रामजनम चौधरीले आज एमआरआई सेवाको उद्घाटन गर्दै वीर अस्पताललाई सबै सेवा सुविधा सम्पन्न बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

‘‘‘वीर अस्पताललाई केन्द्रीय अस्पतालका रुपमा विकास गर्न आधुनिक प्रविधिका भवन बनाउने काम भइरहेको छ, यसलाई गरिब जनताको मात्र नभई सबैको भरोसाको अस्पताल बनाउन कुनै कसर बाँकी राखिने छैन’ – उनले भने ।

मन्त्री चौधरीले सबैखाले रोगको एक थलोमा उपचार पाउने वातावरण वीर अस्पतालमा गराउन आफू लागिपरेको उल्लेख गरे ।

वीर अस्पतालका निर्देशक डा स्वयम्प्रसाद पण्डितले एमआरआई सेवा सुरु भएपछि अब बिरामीले चर्को मूल्य तिर्नु नपर्ने बताए । उनले भने, ‘बाहिर एमआरआई गर्दा १२ हजारबाट माथि पर्छ, अब वीरमा भने कम्तीमा रु सात हजारमै एमआरआई सेवा उपलब्ध छ ।’

नेपालको १२७ वर्षको इतिहास बोकेको वीर अस्पतालमा एमआरआई सेवा सुरु भएपछि सबैखाले रोगको उपचार सम्भव भएको अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागका प्रमुख प्रा डा श्रीकृष्ण गिरीले बताए । उनले यो सेवा सुरु भएपछि रेडियसनबाट हुने खतरा पनि नहुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?