Breaking News

उदाहरणीय सामाजिक साहस बोकेकी ४० बालबालिकाकी एक्ली आमा सबिता उप्रेती

Feb Tue 2020 05:40:52

291 views

उदाहरणीय सामाजिक साहस बोकेकी ४० बालबालिकाकी एक्ली आमा सबिता उप्रेती

असाधारण बालक फोहोरको डंगुरमाथि बसेर पुस्तक पल्टाइरहेको देखेपछि सविता उप्रेतीको मन भरंग भयो । अपांगता र गरिबीको दोहोरो चेपुवामा परेका ती बालकको पढ्ने उत्कट चाहना देखेर उनको जीवनको गन्तव्य नै बदलियो । र, ती बालकको अवोध आँखामा छाएका सपनाका फूललाई टपक्क टिपिन् र उनीहरुजस्तै अरु बालबालिकाको जीवन बदल्ने लक्ष्य बनाइन् । अपांगता अपराध होइन र उनीहरूलाई अवसर दिए जिन्दगी बदल्न सकिन्छ भन्ने अठोट पलायो र फाँड्न थालिन् काँडाघारी ।

० ० ०

दोलखाको नाम्दुबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी काठमाडौं छिर्दा सवितासँग थुप्रै सपना थिए । ती सपनालाई गोडमेल गर्न उनी निजी विद्यालयको शिक्षिका बनिन् । पत्रकारिता गरिन् र समाजकल्याण परिषद्अन्तर्गत राष्ट्रिय अपांग कोषको शारीरिक पुनःस्थापन केन्द्रमा जागिर पनि खाइन् । यी सबै हातमुख जोर्ने माध्यममात्र बने । जीवनको गन्तव्य त थाहै नपाई बदलियो ।

अचेल उनी काठमाडौंको सिनामंगलस्थित विशेष स्कुल तथा पुनःस्थापना केन्द्रमा भेटिन्छिन् । उनका साथमा छन् ४० जना बालबालिका । र, तिनैकी आमा बनेकी छिन् उनी । जन्म त अरूले नै दिए । उनी कर्मआमा बनेर ती बालबालिकाको भविष्यको रेखा कोरिरहेकी छन् ।

“यिनै हुन् मेरा भविष्य, यिनको खुसीमा आफ्नो खुसी भेटाउँछु । यिनको हाँसोमा मेरा सम्पूर्ण पीडा हराउँछन्,” केन्द्रमै भेटिँदा सविता भन्दै थिइन्, “यिनले आमा ! भन्दा म हर्षविभोर हुन्छु । कतिपटक आँखाबाट आँसु बग्छन् ।”

सिनामंगलको पुनःस्थापना केन्द्रमा उनीमात्रै छैनिन् । आमाले पनि उनलाई साथीसरह नै सघाएकी छन् । संस्थाकी अध्यक्ष नै आमा हुन् । “यी बच्चाकी आमा म हुँ र संस्थाको आमा मलाई जन्मदिने आमा हुनुहुन्छ,” उनले थपिन् ।

० ० ०

आफ्नै रफ्तारमा अघि बढिरहेको जीवनको लक्ष्य त बदलिन् तर बाटो सहज थिएन । चारकोसे झाडी फाँडेर बाटो पहिल्याउनुजत्तिकै कष्टसाध्य थियो त्यो । उद्देश्य तय भइसकेपछि बाटो आफैं बन्न थाल्यो । उनको परिभाषामा बाटो त मानिसले पैताला बिच्छ्याए पछि न बन्छ । बन्यो त्यसैगरी ।

विशेष स्कुल तथा पुनःस्थापना केन्द्र खोल्ने चाहना पूरा भयो । संस्था विधिवत् दर्ता पनि भयो तर बच्चाहरू भेटिएनन् । सुरूमा उनीसँग दुई जना बच्चा थिए । त्यसपछि गाउँ पसिन् र खोज्न थालिन् अटिजम भएका केटाकेटी ।

तर, सोचेजति सजिलो थिएन । भर्खर स्नातक सकेकी तन्नेरी युवतीले असाधारण बच्चा स्याहार्छु भन्दा कसैले पत्याएनन् । “कतिले कुकुर फुकाएर लखेटे । आफ्नै बच्चा स्याहार्न नसक्नेले यस्तो बच्चा कसरी स्याहार्छौ भनेर वचनवाण हाने,” उनले सम्झिइन् ।

दृढ इच्छाशक्ति भएपछि यात्रामा तिल्मिलाउने कुरै थिएन । यी र यस्ता अनेकौ हन्डर र ठक्कर खाँदै उनी अघि बढिरहिन् । बिस्तारै सहयोगी हात बढ्दै गए । स–सानै ठाउँमा भए पनि मिडियाले स्थान दिन थाले ।

अहिले संस्थाको अक्षय कोष पनि स्थापना भइसकेको छ र त्यसमा ३७ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ । दुई करोड पुर्याउने लक्ष्य छ । अटिजम भएका बालबालिकाको भविष्य कोर्न त्यही अक्षय कोष खन्याउने योजना उनले बुनिरहेकी छन् ।

“देश विदेशका मनकारी हातहरूको थोपोछिटो बटुलेर दुई करोड पुर्याएका छौं,” उनले भनिन्, “यो रकम अटिजम भएका बालबालिकाको वृद्धि र विकासका लागि खर्च हुनेछ ।”

दुई जनाबाट सुरु गरेको पुनःस्थापना केन्द्रमा अहिले ४० बालबालिका छन् । बच्चा राखिदिन आग्रह गर्ने अभिभावकको संख्या बढ्दो छ । “मन भएर पनि सबै बालबालिकालाई अटाउन सकेका छैनौं,” उनले भनिन्, “मन बाँधेरै बालबालिका फर्काउनु परेको छ ।”

० ० ०

समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर सवितालाई आमालगायत परिवारका सबै सदस्यले उत्तिकै सघाएका छन् । सुरुमा मन खिन्न बनाए पनि अहिले सबैको साथ छ उनलाई । पुनःस्थापना केन्द्र खोल्ने योजना सुनाउँदा परिवारका सबैले बिहे गरेर घरजम गर्न अनेक आग्रह गरेको उनलाई अझै सम्झना छ । “मेरो बिहेको चिन्ता गर्नु पर्दैन । बिहे गर्न लाग्ने खर्च र दाइजो किन्दा लाग्ने रकम अहिले नै दिनूस्, संस्था खोल्छु भनें,” २९ वर्षमा हिँडिरहेकी सविता भन्छिन्, “मेरो इच्छाशक्तिअघि उहाँहरुको केही लागेन ।”

यही इच्छाशक्तिकै कारण उनले अमेरिका जाने अवसर पनि लत्याइन् । तीन वर्षअघि डीभी त्यागेर उनी निरन्तर यो क्षेत्रमा होमिएकी छन् । डीभीमात्रै होइन, राष्ट्रिय अपांग कोषको जागिर पनि छाडिन् ।

किन ?

“शारीरिक हिसाबले अशक्त, मानसिक रूपमा अस्वाभाविक, अटपजम भएका बालबालिकाको आमा बन्न पाउँदा मलाई गर्व लाग्छ,” भन्छिन्, “घरमा थुनेर राखिएका, परिवारको उपेक्षा सहेर बसेका र समाजमा हेलाहाँसो बनाइएका निर्दोष बालबालिका स्याहार्न पाएकी छु, योभन्दा खुसीको कुरा अर्को के हुन्छ ?”

अटिजम शारीरिक अवस्था पुरानै भए पनि नेपालमा नयाँ हो । सुरूमा चिकित्सकसमेत यसबारे अनभिज्ञ थिए । साधारण मान्छेलाई थाहा हुने कुरै भएन । पछि बिस्तारै मानिसमा चेतना विकास हुँदै गयो । “पुनःस्थापनामार्फत त्यस्ता बालबालिका पनि लेखपढ र सीपमूलक काम पनि गर्न सक्ने भएपछि मानिसहरूमा उनीहरूप्रतिको धारणा नै फेरिएको छ,” सविताले भनिन् ।

नसा र तन्तुमा हुने गडबडीका कारण बालबच्चामा अटिजम हुन्छ । सुस्त मनःस्थिति जस्तो देखिए पनि अटिजम भएका बालबालिका असाधारण क्षमताका हुने उनको तर्क छ । “यस्ता बालबालिकाले विश्वमा तहल्का मच्चाएका थुप्रै उदाहरण छन्,” उनले भनिन्, “सही किसिमको हेरचाह र शिक्षा–दीक्षा दिने हो भने उनीहरूको क्षमता बाहिर ल्याउन सकिन्छ ।”

केही समयअघि उनको केन्द्रमा एक बालक भर्ना भए । स्वयं आमाले हत्या गर्ने प्रयास गर्दा उनका काकाले उद्धार गरेर केन्द्रमा ल्याइपुर्‍याएका रहेछन् । “आफ्नै आमाले मार्न खोज्ने यी र यस्ता बालाबालिकाको वास्तविक संरक्षणकर्ता को त ?” सविता भन्छिन्, “राज्य त परै जाओस्, आफ्नै परिवारले पनि स्यहार गर्दैनन् । अपांगता हुनु अपराध होइन भन्ने बुझाउन अझै कति वर्ष कुनुपर्ने हो !”

उनका अनुसार अहिले मुलुकभर करिब तीन लाख बालबालिका अटिजमबाट ग्रसित छन् । तर, राज्यले उनीहरूका लागि एउटा पनि पुनःस्थापना केन्द्र खोल्न सकेको छैन । उनीहरूलाई पढाउने पाठ्यक्रम तयार गरेको थिएन । “यसपालि बल्ल पाठ्यक्रम तयार भएको छ तर उनीहरूलाई पढाउने ठाउँको समस्या उस्तै छ,” सविताले भनिन् ।

उनले अटिजम भएका विशेष बालबालिकालाई आवश्यक पर्ने साइकोथेरापीलगायत अन्य उपचार र स्याहार तथा आवश्यक शिक्षाका लागि भारतबाट विशेष तालिम लिएकी छन् । केन्द्रमा यस्ता बालबालिकाले घरभन्दा राम्रो स्याहार पाउँछन् । कतिपय बालबालिकाले त्यहाँ पुनर्जन्म पाएका छन् ।

एक वर्षअघि उनले इजरायलको जेरुसलममा सम्पन्न विशेष शिक्षासम्बन्धी २५ दिने गोष्ठीमा नेपालको प्रतिनिधित्व गरिन् । एसिया र अफ्रिकाका विशेष बालबालिकासँग काम गरेका प्रतिनिधिसँग घुलमिल भइन् । ती देशका यस्तै बालबालिकाको वस्तुगत अवस्था र अनुभवसँग साक्षात्कार भइन् । सबै बालबालिकाका पीडा उस्तै देखिन् । “नेपाल र ती मुलुकमा एउटामात्रै फरक अवस्था रहेछ– त्यहाँ यस्ता हरेक बालबालिकालाई राज्यले संरक्षण गर्दा रहेछन्,” उनी भन्छिन्, “नेपालकोे अवस्था सम्झिएर मेरो मनै कुँडियो । हामीकहाँ अटिजम भएका केटाकेटीलाई बाँधेर राखिन्छ, राज्यले केही गरेको छैन भन्ने सन्देश गएको रहेछ, राज्यले नगरे पनि हामी नागरिकले गरेका छौं भनेर आएँ ।”

उनको संस्था नेपालको एकमात्र अटिजम उपचार केन्द्र पनि हो । उनकै प्रयासमा केही समयअघि विराटनगरमा समेत पुनःस्थापना केन्द्र खुलेको छ । सविताले सिनामंगलस्थित केन्द्रमा आश्रय लिइरहेका बालबालिकालाई विभिन्न सीपमूलक तालिमसमेत दिन्छिन् ।

साभार : बार्हखरी डट कम बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?