Breaking News

बुवापछि आमाको किरिया गर्दै छोरी

Feb Tue 2020 05:40:22

260 views

बुवापछि आमाको किरिया गर्दै छोरी
  • एकराज गिरी

झापा । समय अनुसार समाजको सोच र परम्परा पनि बदलिँदैछ ।  छोरा नहुँने आमाबुबा मृत्युपछि स्वर्ग पुग्दैनन् भन्ने सोचलाई  छोरीले तोड्न थालेका छन् ।

पुरानो मान्यता तोड्दै झापा शनिअर्जुन ४ फूलबारीकी १६ वर्षीया सुशीला खड्काले आमाको निधन भएपछि किरियामा बसेकी छन् । परिवारमा सन्तानको रुपमा दुई छोरी मात्र रहेको र दिदी सुस्माको विवाह भईसकेकाले कान्छी छोरी सुशीला आमाको किरियामा बसेको मृतकका भाइ किसन गिरीले बताए ।

आमा फूलमाया गिरी (खड्का)को गत माघ २९ गते ५३ वर्षको उमेरमा निधन भएको थियो । डेढ वर्ष अघि बुवा डम्बर बहादुर खड्काको पनि उनी आफैँ किरिया गरेकी थिइन् । त्यसबेला उनले केश मुण्डन नै गरेर किरिया गरेको छिमेकी राजकुमार चौहानले जानकारी दिए । यसपटक पनि उनले केश मुण्डन गर्ने इच्छा राखेकी थिइन्त, तर आफन्तले रोकेका थिए ।

आमा र बुवा दुबैजनाको पार्थिव शरीरमा दागवत्ती पनि उनैले दिएकी थिइन् । ‘छोरीले पनि आमा बुबाको काजकिरिया गर्न सक्छन्, छोरी पनि छोरा जत्तिकै सन्तान हुन् भनेर बुवापछि आमाको किरिया गरेकी हुँ’ सुशीलाले भनिन् । आर्थिक रुपमा अत्यन्त विपन्न खड्का परिवार मजदुरी गरेर जीवन गुजारा गर्दै आएको थियो । उनी आमाको किरिया मामाघरमा बसेर गरेकी थिइन ।

गरीबीकै कारण सुशीलाले पढ्न सकिनन् । शिक्षाको उज्यालोबाट बञ्चित रहेपनि सुशीलाको कर्मबाट आफन्त र छरछिमेक चकित छन् । डेढ वर्ष अघि बुबाको पनि किरिया गरेकाले अहिले सजिलो भएको उनले सुनाइन् । काज किरियामा बस्दा अपनाउनु पर्ने सम्पूर्ण विधिमा समेत उनी सामेल भएको देखेपछि स्थानीय झन् छक्क परेका थिए ।

‘यो सन्तानले गर्नुपर्ने कर्म पनि हो, छोराछोरी बराबरी हुन्’ सुशीलाले भनिन्– ‘आफूले यसरी किरियामा बस्दा बुबा–आमाले स्वर्गमा बास पाउनुहुन्छ भन्ने विश्वास छ ।’ बुबाआमाको किरियामा छोरी बसेको देख्ने, सुन्ने पहिला आश्चर्यमा परेपनि अहिले सहज रुपमा लिन थालेको स्थानीय राजु गिरी बताउँछन् ।

-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?