Breaking News

घर फर्काइ दे भन्ने नेपाली महिलालाई कुवेती मालिकले भने : तँलाई त किनेर ल्याएको हु

Feb Tue 2020 05:40:57

340 views

घर फर्काइ दे भन्ने नेपाली महिलालाई कुवेती मालिकले भने : तँलाई त किनेर ल्याएको हु
  • कल्पना भट्टराई/नवलपरासी 

श्रीमान दुई पटक विदेश जाँदा पनि कमाउन नसकेपछि आफैं विदेशिनुको विकल्प देख्नुभएन नवलपरासी बर्दघाटकी रेखा मुसहरले । पहिलो पटक कतार जाँदा एक वर्षमै कम्पनी बन्द भएर श्रीमान फर्किएपछि विदेश जाँदा सय कडा दश रुपैयाँका दरले लिएको ऋण बढेको बढ्यै थियो । ‘त्यसैले अव त म नै जान्छु भन्ने ठानेर विदेश गएँ’ रेखाले ५ वर्षअघि आफू विदेश जानुको कारण सुनाउनुभयो । तीन जना छोराछोरीकी आमा रेखालाई छोराछोरीको भविष्यको चिन्ता धेरै थियो त्यो बेला । त्यसैले एजेण्टले भनेकै काममा जान तयार हुनुभयो, धेरै बुझ्न खोज्नु भएन । रेखालाई विदेश पुग्नुको हतारो थियो त्यति भएपछि एजेण्टलाई अरु के चाहियो र ?आफूले खोजे जस्तै मान्छे भेटेपछि एजेण्टले रेखालाई भारतको बाटो हुँदै कुवेत पुर्‍याए । कुवेत पुग्दा रेखाले आफना अगाडी आफूले बनाएको योजना सफल बनाउने कुरा भन्दा समस्याको चाङ ठूलो देख्नुभयो । ‘यहाँ त एजेण्टले धेरै दुःखको काम छैन्, घरको काम मात्रै हो भन्दै पठायो तर विदेशको यथार्थ त त्यहाँ पुगेपछि बल्ल थाहा पाएँ’ रेखा भन्नुहुन्छ । ४० जनाको परिवार घरमा काम गर्न पुगेकी रेखाले त्यहाँ बसुञ्जेल न आराम गर्न पाउनुभयो न त राम्रोसँग खान नै । नेपालबाट उहाँलाई सय दिनार अर्थात ३६ हजार रुपैयाँ दिने सर्तमा कुवेत लगिएको थियो । तर तलव त परै जाओस त्यो घरमा बसुञ्जेल घर परिवारलाई फोन गर्नसम्म पाउनुभएन उहाँले । त्यसैले पुगेको केहि दिनमै उहाँले काम नगर्ने भन्दै नेपाल फर्काइदिन घर मालिकलाई आग्रह गर्नुभयो तर घर मालिकले उहाँको आग्रहलाई ठाडै लत्याइदिए । ‘घर जान्छु भन्दा साहुले तँलाई एक लाखमा किनेर ल्याएको हुँ’ उहाँले विगत सम्झँदै भन्नुभयो ‘त्यसै घर जान पाउँदिनस भन्थ्यो ।’ तर उहाँले रोइ कराई गर्न छोड्नुभएन । त्यसैले ६ महिनापछि घर मालिकले उहाँलाई कुवेतमा रहेको रिक्रुमेण्ट एजेन्सीमा ल्याएर छोड्यो । ६ महिनाको काम गरेको उहाँले एक रुपैयाँ पनि पाउनुभएन । त्यसपछि त्यहि एजेन्सीमार्फत अर्को ठाउँमा काम गर्न जानु भयो र त्यहाँ डेढ वर्ष विताएर दुई वर्षपछि घर फर्किनुभयो । त्यहाँ बस्दा उहाँले धेरै समस्या भोग्नुभयो । आफूले समस्या त भोग्नुभयो नै अरु नेपाली महिलाले भोगेका समस्या पनि नजिकैबाट देख्नुभयो । उहाँले दुई वर्ष बसे पनि श्रीमान र आफू विदेश जाँदा लागेको ऋण तिर्न सक्नुभएन । यस कारण फेरि उहाँका श्रीमानले मलेसिया जाने निर्णय गर्नुभएको थियो, तर दोस्रो पटक जाँदा भने विरामी भएर फर्किनुभयो । ‘ऋण थपिएको थपिएकै छ, त्यसैले फेरी विदेश जाने योजना बनाएकी छु’ रेखा भन्नुहुन्छ ‘तर घरेलु कामदारमा चाहिँ जान्न ।’ अव बुझेर र सिकेर मात्रै जान्छु विदेश जाँदा लागेको ऋण तिर्न नसकेपछि उहाँ फेरि विदेश जाने तयारी गर्दै हुनुहुन्छ । तर अहिले उहाँलाई पहिलाको जस्तो कुनै हतारो छैन । सुरक्षित आप्रवासन परियोजना सामीले परासीमा सञ्चालन गरेको सुचना तथा परामर्श केन्द्र पुगेपछि उहाँ अब सीप सिकेर र राम्ररी बुझेर मात्रै विदेश जाने निर्णयमा पुग्नुभएको हो । एजेण्टले त अहिले पनि हतारो लगाइरहेका छन् उहाँलाई । तर अहिले भने उहाँ एजेन्टको भरपर्दा धोका पाइन्छ भन्नेमा सचेत भइसक्नु भएको छ । ‘एजेण्टले अनुभवीले तालिम लिनु पर्दैन्,छिटो गए छिटो पैसा कमाइन्छ त्यसैले तुरुन्तै उडी हाल भनेको छ’ उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो ‘तर मैंले मानिन ।’ छिट्टै धेरै कमाउने सपना देख्दा समस्या सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार घरका समस्याले थिचिएका महिला आवश्यक सूचना र जानकारी नलिई विदेश जाँदा समस्यामा परेको पाइएको छ । त्यसमा पनि लगानी कम, त्यो पनि एजेण्टले नै लगाइदिने अनि थोरै योग्यता भएपनि पुग्ने भएकाले महिलाहरु घरेलु कामदारका रुपमा जान इच्छुक हुने सुरक्षित आप्रवासन परियोजना सामी नवलपरासीकी कार्यक्रम संयोजक उमा पौडेल बताउनुहुन्छ । एजेन्टहरुले पनि जाने व्यक्तिको अवस्था बुझेपछि छिटो गए छिटो पैसा कमाउन सकिने प्रलोभन देखाउने र काम उतै सिकिन्छ भनेर ठगिरहेको पाइएको उहाँले बताउनुभयो । ‘एजेण्टले घरको काम भन्दा महिलाहरुले यहाँको जस्तै सोच्छन’ पौडेल भन्नुहुन्छ ‘तर विदेशमा कामको प्रकृति धेरै फरक छ, त्यो काम गर्न सीप नपुगेपछि महिलाहरु यातनामा पर्छन् ।’ गतवर्ष नवलपरासीबाट सय महिला विदेशीय नवलपरासी जिल्लाबाट आर्थिक बर्ष २०७१/७२ मा १४ हजार ४ सय ७६ जना मध्ये ४ सय १८ जना महिला वैदेशिक रोजगारीमा गएका छन । यो आर्थिक बर्ष २०७२/७३ को श्रावण देखि पुस सम्म ६ महिनाको अवधिमा ४ हजार ९ सय ८ जनो मध्ये ६ सय २८ जना महिला छन । काठमाडौंबाट राहदानी निकाल्ने महिलाको संख्या ३ सय २३ छ ।

उज्यालो अन्लाईन बाट साभार

यसकारण महिलाहरू घरेलु कामदारमा साउदी नजानुस्

 image

काठमाडौं । नेपालले साउदी अरबसँग औपचारिक रुपमै घरेलु महिला कामदार ल्याउनेबारे सम्झौता गर्ने तयारी गरिरहेको छ । तर, साउदी अरबमा काम गरिरहेका नेपाली भने यही अवस्थामा नेपाली घरेलु महिला कामदार ल्याउन नहुने बताइरहेका छन् ।

नेपालबाट घरेलु महिला कामदार ल्याउन रोकिएकै अवस्थामा पनि भारत र खाडीकै कुवेत लगायत मुलुकमा भित्रिने नेपाली महिलाको संख्या निकै ठूलो छ ।

गैरआवासीय नेपाली संघ (एनआरएन) साउदी अरबले महिला कामदार ल्याउन अनुमति पाएका केही खाडी मुलुकको यथार्थ अवस्था मूल्यांकन गरेर साउदी अरब नेपाली महिला कामदारका लागि उपयुक्त नभएको जनाएको छ ।

एनआरएन साउदी अरबले हालै एक विज्ञप्ति जारी गर्दै साउदी अरबमा महिला कामदार अहिलेकै अवस्थामा किन पठाउनु हुँदैन र पठाउनुपरे त्यसअघि के-के गर्नुपर्छ भन्नेबारे जानकारी गराएको छ ।

संघले नेपाल सरकार, श्रम मन्त्रालयलाई समेत बोधार्थ पठाउँदै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । संघको त्यही विज्ञप्तिलाई संक्षिप्त यहाँ प्रस्तुत गरेका छौं ।

महिला कामदारलाई शारीरिक र मानसिक यातना

घरेलु महिला कामदारलाई यहाँ धेरै अप्ठेरा र समस्या छन् । घर मालिकले महिला कामदारको राहदानी कब्जामा राख्ने प्रवृत्ति छ भने घरेलु कामदारलाई आप्रवासी कामदारको रुपमा मान्यता पनि दिइएको छैन ।

यस्तै महिलाले घरमा आरामबिना लामो अवधि काम गर्नुपर्छ । महिला कामदारलाई घुमफिरमा रोक लगाइन्छ । सम्झौतामा तोकिएअनुसार तलब नदिने समस्या छ ।

शारीरिक एवं मानसिक शोषण हुने गरेका कुरा लुकेका विषय हैनन् । घरेलु कामदारलाई मालिकबाटै डर-त्रास हुने गरी धम्कीपूर्ण व्यवहार गरिन्छ । त्यसैले महिलाले बाध्यात्मक श्रमिकको रुपमा काम गर्नुपर्ने  अवस्था आउँछ । यस्तो अत्याचार सहन नसकी भाग्दा चोरी लगायत अन्य मुद्दा लगाएर झनै पीडित गराउने अवस्था आउँछ ।

‘कफला’ (कामदारको भिसा प्रायोजनसम्बन्धी नीति) प्रणालीमा पीडित नै उल्टै अपराधी ठहरिने व्यवस्था विद्यमान छ । घरबाट भाग्ने क्रममा विभिन्न एजेन्टको चंगुलमा फसेर देह व्यापार गर्ने बाध्यतामा समेत महिला पर्छन् । यस्तै घरभित्रै पनि पर्याप्त मात्रामा खाना खान नदिने, समयमा उपचार नगराउने, करार अवधि सकिए पनि घर जान नदिएर जबर्जस्त काम गराइरहने समस्या पनि छ ।

खुला सीमानाका कारण एउटा मुलुकको श्रम स्वीकृति लिई अर्को मुलुक लैजाने प्रचलन पनि छ । घर र आफन्तसँग सम्पर्क गर्न नदिने, समयमा भिसा नलगाई गैरकानुनी हैसियतमा काम गराउने, स्पोन्सरले मनोमानी तरिकाले घरेलु कामदारलाई अर्को एजेन्सी र स्पोन्सरकोमा बेच्ने गरिएको छ ।

कामदारलाई घरभित्र अत्याधिक कामको बोझ हुने तथा लैंगिक हिंसाको पनि उच्च जोखिम छ । यसमा एजेन्सी र उनीहरूका दलालको कमजोरी पनि अत्यधिक छ । उनीहरूले घरेलु कामदारलाई यथार्थ स्थितिबारे जानकारी नदिई मीठा-मीठा सपना मात्र बाँड्ने गरेको पाइन्छ ।

घरमा काम गर्न नसकी ‘कफला’ अवधिभित्र भागेर सम्बन्धित एजेन्सीको अफिस आएका महिला कामदारलाई शारीरिक एवं मानसिक यातना दिने गरेको समेत भेटिएको छ । जिम्मेवारीको अवधि सकिएपछि कामदारलाई भाग्न प्रेरित गर्ने गरेको र पछि आफ्नो दायित्वबाट पन्छिने प्रवृत्ति पनि खाडी मुलुकमा छ ।

काम गर्न आएका वा कामबाट भागेका कामदारलाई विभिन्न प्रकारले शोषण गर्ने गरेको भन्ने बारम्बार उजुरी पर्ने गरेको छ । छोटो अवधिका लागि काममा पठाई आर्थिक शोषण गर्ने नौलो विषय होइनन् ।

कसरी रोक्ने यसलाई ?

अब सरकारले सबै नेपाली तथा भारतीय दलाललाई खोजी गरेर कानुनी कारबाही गर्नुपर्छ । भारतीय नाका तथा विमानस्थलमा विशेष निगरानी र चेकजाँच गरी यस्तो अवैध बेचबिखन रोक्न सरकारी स्तरमै सरकारले अधिकतम प्रयत्न गर्नुपर्ने देखिन्छ । सकभर खाडीमा घरेलु महिला कामदार नआएकै राम्रो । आउँदा पनि सबै मापदण्डको पूर्ण पालना सुनिश्चितता लिएर मात्रै आउन सकिन्छ । संगठित क्षेत्रमा भने समस्या नरहेकाले खाडीमै पनि आउन सकिन्छ ।

कुवेतलगायत साउदी अरबसँग सीमा जोडिएका मुलुकबाट नेपाली महिला घरेलु कामदारका रूपमा स्थान्तरण गरी साउदी पठाइने हुनाले सम्बन्धित मुलुकसँग नेपाल सरकारले कूटनीतिक पहल गरेर स्थान्तरणमा रोक लगाउनुपर्छ ।

उद्धार कसरी गर्ने ?

यति गरेर मात्रै सरकारको दायित्व पूरा हुँदैन । स्वदेशी तथा विदेशी दलाललाई उद्धार तथा स्वदेश फिर्तीमा आउने खर्च जरिवानास्वरूप व्यहोर्न लगाउने व्यवस्था गर्नुपर्छ ।  उनीहरूलाई कानुनतः जेल सजाय समेत दिनुपर्छ ।

यस्तै, साउदी सरकारसँग सरकारी वार्ता तथा समझदारी गरी आफ्ना नागरिकको रक्षा र उद्धार गर्न नेपाली दूतावास र यसले खटाउने प्रतिनिधिलाई साउदीका घरभित्रै गई उद्धार गर्न पाउने अधिकार लिनुपर्छ । अवैध र अलपत्र महिला कामदारलाई दूतावासमा सम्पर्क राख्न नेपालमा तिनका परिवारमा सूचना प्रवाह गर्ने र स्वदेश फिर्तीमा सरकारले नै सघाउनुपर्छ ।

नेपाल प्रहरीले सञ्चालनमा ल्याएको हटलाइन नम्बर ९७७-११७७ को उपयोग गर्दै प्रहरीसँग पनि समन्वय र सहकार्य गर्नुपर्छ । दूतावास र नेपाली समुदाय तथा संघ-संस्थाले उद्धारमा सहकार्य गर्दा राम्रो हुन्छ । सरकारले नै प्रवासमा पीडित बन्ने नेपाली घरेलु महिला कामदारको उद्धार तथा स्वदेश फिर्तीका लागि उद्धार कोष बनाएर काम गर्नुपर्छ ।

पठाउने नै भए यसो गरौं

सकेसम्म साउदीमा महिला घरेलु कामदार नआउँदा उचित हुन्छ । तर, महिलालाई सुरक्षित राख्ने गरी पठाउने हो भने केही कुरामा ध्यान दिनैपर्छ । घरेलु काममा पनि संगठित क्षेत्रमा जस्तै ८ घन्टा र ६ दिन मात्रको ड्युटी, तलब-सुविधा, अधिकार, स्वतन्त्रता, सुरक्षा, बिमालगायत सबै सुविधाको प्रत्याभूति लिनुपर्छ ।

नियमित रूपमा दूतावासले निगरानी तथा जाँचबुझ गर्न पाएमा र हरेक हप्ता फोनमा र महिनामा एकपटक दूतावाससँग प्रत्यक्ष भेटवार्ताको व्यवस्था गरिनुपर्छ । महिला सहचारीसहित सबै महिला कामदारको पर्याप्त रेखदेख गर्न सक्ने जनशक्ति नेपाली दूतावासमा हुनैपर्छ ।

महिलाहरू पनि पुरुषसरह एक्लै स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार ग्यारेन्टी गर्न लगाउनुपर्छ । तर, यसमा ध्यान नदिएर अहिलेकै अवस्थामा नेपाली चेलीबेटीलाई साउदी अरबमा पठाउने सम्झौता भए राष्ट्रकै लागि घातक र दर्दनाक हुनेछ ।

-अन्लाईन खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?