Breaking News

नाकाबन्दीले भाग्य चम्केकाहरुको कथा, जसलाई खाने फुर्सदसमेत छैन !

Feb Tue 2020 05:40:35

615 views

नाकाबन्दीले भाग्य चम्केकाहरुको कथा, जसलाई खाने फुर्सदसमेत छैन !

मध्यपुर थिमि नगरपालिका–११ दिगुटोलका आशाबहादुर प्रजापतिको सिङ्गो परिवारलाई विगत एक महिनादेखि खाना खाने फुर्सदसम्म छैन ।

मध्यपुरथिमिमै पहिलो पटक २०२५ सालमा माटोबाट बनेको विद्युतीय हिटरको उत्पादन सुरु सुरु गरेका उनको छोरादेखि नातिसम्मको पुस्तालाई यतिखेर हिटर बनाउन भ्याइनभ्याइ भएपछि खाने फुर्सदसमेत नभएको हो ।

Hitter

हिटर बाजेको नामबाट समेत चिनिने आशाबहादुरले माटोबाट बनेको विद्युतीय हिटर बनाउन सुरु गरेपनि ग्यासको प्रचलन बढेपछि १० वर्षयता घटेको हिटरको माग भारतीय नाकाबन्दीका कारण ह्वात्तै बढेपछि अचेल हिटर बनाउन भ्याइनभ्याइ भएको छ ।

आशाबहादुरका नाति हरिशरण प्रजापति भन्छन्, ‘भारतीय नाकाबन्दीपछि हिटरको माग थेग्नै नसक्नेगरी आएको छ, बनाउनै भ्याइन्न, मागअनुसार ३० प्रतिशत पनि दिन मुस्किल छ ।’ उनीसँग मात्रै दिनमा ६ हजार हिटरको माग छ, तर ३०० भन्दा बढी हिटर दिन नसकिएको उनको भनाइ छ ।

Hitter two

भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएपछि खाना पकाउने ग्यासको विकल्पका रुपमा माटोबाट बनेको विद्युतीय हिटरको प्रयोग बढेपछि माग पनि ह्वात्तै बढेको हो ।

प्रजापति भन्छन्, ‘ग्यास हुँदा हिटरको आवश्यकता नै परेन, अहिले ग्यासको अभाव चुलियो, घरवेटीले घरभित्र दाउरा बाल्न नदिने भएपछि काठमाडौं, ललितपुरदेखिका मानिस खाना पकाउनकै लागि हिटर लिन आउँछन्, त्यसैले माग बढ्यो ।’

आफ्नो घरको परिवारले मात्रै धान्न नसकेपछि सातजना मजदुर राखेपनि मागअनुसारको हिटर दिन नसकिएको उनको भनाइ छ । माटोको हिटरमा प्रयोग हुने क्वाइल र पातासमेत बजारमा अभाव भएकाले अब केही दिनपछि हिटर उत्पादन गर्न समस्या आउने भएको छ ।

माटोको समेत अभाव भएपछि विगतमा १२५ देखि १५० रुपैयाँसम्ममा बिक्री हुँदै आएको १५०० वाटसम्मको हिटर अहिले ६०० रुपैयाँमा बिक्री भएको छ । प्रजापति भन्छन्, ‘बजारमा क्वाइल, पाता तेब्बर महँगो भएको छ, महँगोमा पनि सहज पाइँदैन, माटोको समेत अभाव रहेको छ, यो अवस्थामा महँगोमा सामान ल्याउनु परेकाले हिटर पनि महँगो भएको हो ।’

Hitter1

उपभोक्ताको मागअनुसार हिटर बनाउनै नसकेको बताउनुहुन्छ मध्यपुरथिमि–११ दिगु टोलकै रामकृष्ण प्रजापति । एक साताअघिदेखि नाम लेखाएर जानेलाई पनि हिटर दिन नसकेको उनी बताउँछन् ।

व्यापारीबाट हिटर नपाएपछि भक्तपुर, काठमाडौं र ललितपुरमा बस्नेहरु हिटर बनाउने ठाउँ खोज्दै थिमि आउने गर्छन् । थिमिमा मात्रै यसप्रकारको हिटर निर्माण हुने भएकाले पनि यहाँ हिटर खोज्ने उपभोक्ता र व्यापारीको चाप बढेको हो । हिटर लिन थिमि आउनुभएकी बालाजु बाइपास बस्ने देवकी श्रेष्ठले नाम लेखाएको एक सातापछि बल्ल आज हिटर पाएको बताए ।

उनले भने, ‘ग्यास सिद्धिएको एक साता भयो, दाउरा बाल्न घरभेटीले दिन्नन्, त्यसैले थिमिमा हिटर पाइन्छ भनेर खोज्दै आएको हुँ, बल्ल एक सातामा एउटा हिटर पाएँ ।’

व्यक्तिगत रुपमा आउने उपभोक्तालाई नै हिटर दिन नसक्ने अवस्था भएकाले व्यापारीको मागलाई पूरा गर्न नसकेको हिटर उत्पादकहरु बताउँछन् ।

एकपटकमा एक हजार वटासम्म हिटर निर्माण गर्न सकिने भएपनि माटो मुछेर तयार पार्न, आकार दिन, पोल्नेजस्ता कामका लागि दुई साताभन्दा बढी लाग्ने भएपछि हिटरको माग पूरा गर्न नसकेको थिमिका हिटर व्यवसायी श्यामलाल प्रजापति बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?