अनिल न्यौपाने
काठमाडौं – शहिद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन् । अधिकांश ४० वर्षमाथिका हुन्छन् । तर करिब सात महिनाअघि अस्पतालको इमर्जेन्सीमा २० वर्षका एक युवालाई ल्याइयो । हृदयाघात भएरै ल्याइएका उनको केन्द्रका सिनियर कन्सलटेन्ट कार्डियोलोजिष्ट डा. यादवदेव भट्टले सफल शल्यक्रिया गरे ।
‘डाक्टरी पेशाका क्रममा मैले हजारौँ हृदयाघातका बिरामीको उपचार गरें,’ डा. भट्टले भने, ‘तर त्यो सबैभन्दा कम उमेरको हृदयाघातको शल्यक्रिया थियो ।’ उनका अनुसार यी युवा अहिले स्वस्थ भइसकेका छन् । डा. भट्टकै जस्तो अनुभव छ, गंगालालका निर्देशक डा. मनबहादुर केसीको पनि । उनका अनुसार अस्पतालमा २१ वर्षकी एक युवती पनि हृदयाघात भएर उपचार गर्न आएकी थिइन् । समयमा नै अस्पताल ल्याइएकाले उनको सफल उपचार भएको डा. केसी बताउँछन् । तर केही समयअघि २७ वर्षका युवालाई बचाउन नसकेकोमा भने उनलाई निकै दुख लागेको छ । डा. केसीका अनुसार लव केसी नाम गरेका ती युवा शुक्रबारको फ्लाइटबाट खाडी मुलुकमा काम गर्न जाने तयारीमा थिए । गाउँबाट परिवार तथा आफन्तबाट बिदा भएर बिदेश जाने रंगिन सपना बोकेर काठमाडौँमा आएका उनी एक्कासी बिरामी भए । ‘गर्भवती श्रीमती उनलाई एयरपोर्टमा बिदा गर्न आएकी थिइन् । तर राती नै उनलाई ‘म्यासिभ हर्टअट्याक’ भएर अस्पताल ल्याइएको थियो,’ डा. केसीले भने, ‘तर, हामीले उनलाई बचाउँन सकेनौँ । उनको भोलिपल्ट बिहान नै मृत्यु भयो ।’
केहीसमयअघि सम्म हृदयाघात ४० वर्ष कटेका मानिसमा लाग्ने रोगका रुपमा परिचित थियो । तर पछिल्ला वर्षमा युवा र महिलामा पनि हृदयाघात देखिन थालेको छ । ‘हृदयाघात अब बुढापाकाको मात्र रोग रहेन ।’, डा. भट्ट भन्छन्, ‘नेपालमा युवा अवस्थामा नै हृदयाघात हुनेहरूको संख्या ह्वात्तै बढेर गएको छ ।’
बरिष्ठ मुटुरोग सर्जन डा. भगवान कोइराला भन्छन्, ‘युवाहरूमा हृदयाघात देखिनुको प्रमुख कारण नै धूमपान, मोटोपन र अस्वस्थ जीवनशैली नै हो ।’ उनका अनुसार ४० वर्षभन्दा कम उमेरका व्यक्तिलाई हृदयाघात देखिएको छ भने तीमध्ये ९८ प्रतिशत व्यक्तिहरू धूमपानको लतमा रहेको पाइन्छ । बाँकीमा भने अन्य समस्याका कारण हृदयाघात भएको हुनसक्छ ।
डा. कोइरालाका अनुसार सहरीकरणसँगै फेरिँदो जीवनशैली र खानपानमा भएको अनियमितताले मानव शरीर दिनानुदिन अस्वस्थकर बन्दै गैरहेको छ । सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपानले मानिसहरूलाई कोलेस्टेरोल, मोटोपन र उच्चरक्तचापजस्ता हृदयाघातका कारणलाई जन्म दिइरहेको छ ।
‘विकसित देशको सुविधाजनक जीवनशैली र खानपानको नक्कल गर्दा अस्वस्थकर खानपिन र बढी सुविधाभोगी बन्ने होडबाजीले हृदयरोगीको संख्या बढाइरहेको छ’ डा. कोइरालाले भने, ‘झन युवापुस्तामा धुमपानको लतले त कलिलै उमेरमा रोगी बनाउन थालिसकेको छ ।’
नेपालमा पछिल्ला वर्षमा महिलामा पनि हृदयाघातको जोखिम बढिरहेको अस्पतालहरूको तथ्यांकले देखाएको छ । मुटुरोगको उपचार हुने गंगालाल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, नर्भिक तथा ग्रान्डी अस्पतालमा युवा तथा महिलासमेत हृदयाघातको उपचारका लागि आउने गरेका छन् ।
गंगालाल अस्पतालको गत वर्षको तथ्यांकअनुसार अस्पतालमा ११८८ जनाको हृदयाघातको उपचार गरिएको थियो । तीमध्ये २७ प्रतिशत अर्थात् ३ सय ३१ जना महिला थिए । सन् २०१२ मा त अस्पतालमा झन् ३४ प्रतिशत महिलाको हृदयाघातको उपचार गरिएको थियो । अस्पतालका चिकित्सक डा. केसीका अनुसार महिलामा हृदयाघात बढ्नुको प्रमुख कारण महिलामा हुने मोटोपन र शारीरिक अभ्यासको कमी हो नै । यसका साथै महिनावारी सुकेपछि महिलामा सुरक्षात्मक हर्मोनको कमी हुनु र शारीरिक अभ्यासको निष्कृयताले मुटुरोग जन्माइरहेको उनको भनाई छ ।
वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले त उपचारका क्रममा १७ वर्षका युवामा समेत हृदयाघातको जोखिम रहेको फेला पारेका छन् । उनका अनुसार मोटोपनसँगै अत्याधिक धूमपान गर्ने ती युवा समयमा नै उपचारका लागि आएकाले हृदयाघातको जोखिमबाट जोगिएका थिए ।
‘नेपालमा युवामा हृदयाघात ह्वात्तै बढेको पाइन्छ,’ उनले भने, ‘पाँच वर्षअगाडिसम्म समाजमा एउटा स्थान बनाइसकेका व्यक्ति वा ४० वर्ष पार गरेका व्यक्तिलाई मात्र यो रोग लाग्ने गरेको थियो । तर आजकाल १७ वर्षदेखि माथिका युवा र समाजमा स्थान बनाइनसकेका गरिबमा पनि हृदयाघात बढेको छ ।’
डा. रेग्मीका अनुसार दस वर्ष यता हृदयाघात पाँच गुणाले बढेको छ । जसमा १७ वर्षदेखि माथिका युवा पनि रहेका छन् । उनले विलासिता र सुविधाका कारण शारीरिक श्रमका दृष्टिले निष्क्रिय जीवनशैली हृदयाघातको प्रमुख कारणका रूपमा देखिएको बताए ।
विश्व स्वस्थ्य संगठनका अनुसार हृदयाघातका बिरामी विकसित मुलुकको तुलनामा गरिब तथा विकासोन्मुख देशका युवामा धेरै देखिन थालेको छ । दक्षिण एसियामा सन् २०२० सम्ममा मुटुरोग महामारीका रूपमा फैलिने प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरिसकेको छ । अहिले नेपालको सहरी क्षेत्रका कुल मुटुरोगीमध्ये १७ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या १५ प्रतिशत रहेको चिकित्सकहरूको अनुमान छ ।
विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर वर्षेनी १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोगमध्ये हृदयाघातले विश्वमा वर्षेनी सबैभन्दा धेरै मानिसको ज्यान लिने गरेको छ । त्यसमा पनि हृदयाघातलाई मानव मृत्युको नम्बर एक रोगका रुपमा लिइँदै आएको छ ।
चिकित्सकका अनुसार मुटु मांसपेशीको डल्लो हो । यसले रगतको पम्पको काम गर्छ र शरीरभर रक्तसञ्चालन गराउँछ । मुटुलाई यो काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीन वटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत् ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरू स्वस्थ हुनु जरुरी छ । तर, यी रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर (कोलेस्टेरोल) साँघुरो हुने गर्दछ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । यसबाट बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ । यदि रक्तनली पुरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिदै गएमा मांसपेशी मर्दछ र काम गर्न छाड्छ । यो अवस्थालाई हृदयाघात भएको भनिन्छ ।
मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । त्यसकारण हृदयाघात पनि जिवनशैली र खानपानका कारण हुने रोग हो । बढ्दो व्यस्त जीवन, आधुनिक सभ्यता, महत्वाकांक्षा, चिल्लो बढी भएको खानपान, मद्यपान तथा धूमपानको लत, अत्याधिक तनाव, शारीरिक श्रमको कमी तथा व्यायामको कमी नै हृदयाघातका प्रमुख कारण हुन । तीमध्ये धूमपान, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेह, मोटोपन, व्यायामको कमी र मानसिक तनावलाई सवैभन्दा ठुलो कारकका रुपमा लिइन्छ ।
चिकित्सकका अनुसार चुरोट र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग हृदयाघातको एक मुख्य कारणका रूपमा विकास हुँदै गैरहेको छ । चुरोटमा हुने निकोटिनले नसाहरूको भित्री भागमा घाउ बनाइदिन्छ । जसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न मद्दत पु¥याउँछ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नसा साँघुरिँदै जान्छन् र मुटुमा रगत सञ्चार गराउने नसा बन्द हुँदा हृदयाघात हुने मुटुरोग विशेषज्ञ डा. ओममुर्ती अनिल बताउँछन् ।
उच्च रक्तचाप पनि हृदयाघातको अर्को कारण हो । समयमा रक्तचापलाई नियन्त्रण गर्न नसक्नेहरूले हृदयाघातको सामना गर्नु परिरहेको चिकित्सकहरूको भनाई छ । उच्च रक्तचापले दबाब बढाउँदा रक्तनलीमा विभिन्न थेग्रोहरू जम्न मद्दत पु¥याउछ र त्यो प्रक्रिया बढ्दै जादा रगतको प्रवाह बन्द हुने डा. रेग्मी बताउँछन् ।
हृदयाघातको अर्को कारण मधुमेह पनि हो । शरीरमा चिनी अर्थात् ग्लुकोजको मात्रा आवश्यकताभन्दा धेरै हुन जानु नै मधुमेह अर्थात् चिनीरोग लाग्नु हो । मान्छेको रगतमा ७० देखि १ सय ५० मिलिग्रामभन्दा बढी चिनीको मात्रा हुँदा रगत पातलो हुन गई थेग्रो जम्मा हुन्छ । नजानिँदो ढंगले बढ्ने त्यही थेग्रोले हृदयाघात गराउँछ ।
मुटुरोग विशेषज्ञ डा. रेग्मीले कामको बोझ वा अन्य यस्तै कारणले हुने मानसिक तनाव पनि हृदयाघातको एउटा कारण रहेको जानकारी दिए । उनका अनुसार तनावले शरीरमा हानिकारक रसायनहरू उत्पन्न गराउँछन् र ती रसायनले नसा खुम्चिने, नसामा चोट लाग्ने समस्या उत्पन्न हुन्छ । जसका कारण रक्तनलीमा थेग्रो जम्न जान्छ ।
तनावले पनि रक्तचाप र मुटुको चाल बढाउँछ । जसबाट अन्ततः हृदयाघातसम्म गराउँछ ।
हृदयाघातको अर्को कारण व्यायामको कमी पनि हो । शारीरिक श्रम तथा व्यायामको कमीले शरीरमा बोसोको मात्रा बढाउँदा हृदयाघातको अवस्था तयार हुन्छ । दैनिक हिँड्ने, दौडिने, खेल्नेजस्ता क्रियाकलापको कमीले मानीसलाई मोटो बनाउँछ । मोटोपन भनेको शरीरमा अनावश्यक बोसो जम्मा हुनु हो । त्यस्ता बोसो शरीरका सबै भागमा जम्मा हुन्छ । जस्का कारण नसामा समेत बोसो जम्मा भएर रक्तप्रवाहमा अवरोध सृजना गर्दछ र हृदयाघात हुने गर्दछ ।
हृदयाघात हुँदा छातीको बीच भागमा असह्य पीडा उत्पन्न हुन्छ । छातीको मध्यभागमा देब्रेतिर कुनै गह्रौं चीजले थिचेर असह्य पिडा भएको जस्तो महसुस हुने गर्दछ । यसका साथै पेटको माथिल्लो भाग, पिठ्युँ र देब्रे काँधमा सहनै नसक्ने गरी पीडा हुने गर्दछ । हृदयाघात भएका व्यक्तिलाई एक्कासी श्वासप्रस्वासमा समस्या आउने, पसिना आउने र वाकवाकी आउने हुन थाल्दछ । यसैगरी, दम बढ्नु, खुट्टा सुन्निनु, मुटु बेतालले धड्कनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, साथमा ज्वरो पनि आउनु, जिब्रो, औंलाका टुप्पा नीलो हुनु पनि हृदयाघातका लक्षण हुन् । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए रोगीको तत्काल मृत्यु हुन सक्छ । हृदयाघात हुने लगभग एकतिहाइ मान्छेको अस्पताल नै पुग्न नपाई मृत्यु हुन्छ । हृदयाघातपछि अस्पताल पुग्ने ९० प्रतिशत बिरामी सामान्यतया बाँच्ने गरेको चिकित्सकहरूको भनाई छ ।
………………………………………………………………………………………………………………………………………..
नेपालमा हृदयाघातका बिरामी बढेको पक्कै हो । अस्पतालमा आउने बिरामीहरुको बढ्दो तथ्यांकले पनि यस्लाई पुष्टि गर्छ । अझ हृदयाघातका बिरामी चिसो मौषम र बिहानमा बढी आउँछन् । चिसोमा अझ बिहानको समयमा मानिसहरुको शरिरमा स्ट्रेस हर्मोन बढी उत्पादन हुन्छ । यस्ले मानिसको मुटुको नर्मल चाललाई बढाउँछ । जस्का कारण मुटुलाई तनाव पैदा गर्छ । मुटुको चाल बढाउँछ । मुटुमा दबाब बढ्न जान्छ । मुटुमा दबाब बढ्न जाँदा यस्ले बेस्सरी काम गनुएपर्ने हुन्छ । यस्तो अवस्थामा साँघुरो अवस्थामा रहेको नलीबाट रगत प्रवाहमा समेत समस्या आउने हुनाले बिहानीमा धेरै मानिसहरुमा हृदयाघात देखिने वा हृदयाघातका कारण मृत्यु हुने गरेको पाइन्छ ।
हृदयाघातका जोखिममा रहेका व्यक्तिले सकेसम्म बिहानपख हाफुलाई न्यानो पारेर नै राख्नुपर्छ । अझ धुम्रपान सेवन गर्नेहरु छन् भने जोखिम झन दुई गुणा बढी हुन्छ । धुम्रपानले मानिसको मुटुको धमनीभित्र भित्ताहरुमा बासोयुक्त पदार्थ जम्मा गर्न सहयोग पुर्याउँछ । जस्का कराण मुटुका धमनीमा छिटो छिटो चिल्लो पदार्थहरु जम्मा भएर कडा हुन्छ । र चिसो तथा बिहानीको समयमा बढेको स्ट्रेस हर्मोनले रगतलाई समेत केही बाक्लो बनाउँछ र रगत प्रवाह ठप्प हुन पुग्छ र हृदयाघातका कारण मानिसको मृत्यु समेत हुने सम्भावना हुन्छ ।
- Swasthyakhabar.com