Breaking News

त्यो व्हील चियरको केटो

Feb Tue 2020 05:40:58

625 views

त्यो व्हील चियरको केटो
  • अनिता लामा

फोनको एक घण्टीमै उसले रिसिभ गर्यो र खर्रर आइपुग्यो व्हील चियर खियाउँदै क्यान्सर अस्पतालको गेट छेउको पार्किङमा । फिस्स हाँसो सहितको अभिवादन भयो र लाग्यौं उसैको पछि–पछि । कसैले दाई त कसैले भाइ, कसैको विकासजी । व्हीलचियर धकेल्दै अगाडि वढीरहँदा कहिले दायाँ हात त कहिले बायाँ हात सबैलाई अभिवादन गर्दै अगाडि बढ्थे उनी । कसैको नियुक्ति, कसैको सरुवा, कसैको कार्यालयमा प्रशासनिक कठिनाईको गुनासो त कसैको गीती एल्बम, कतै सांगीतिक कार्यक्रमको तयारी त कतै भेटघाट तथा बैठक कार्यक्रमको निम्तो । उसको व्यस्तता र तिब्रता बराबर थियो । ‘शारीरिक तन्दुरुस्ती भएको भए अनिवार्य सक्रियता बाहेक यतिको सक्रियता हुँदैनथ्यो कि दिदी ! । यही सक्रियताले नै मलाई म डिसेबल छु भन्ने पटक्कै महशुश हुँदैन ।’ यो मेरो ‘महशुश’ सम्बन्धी जिज्ञासा नै गलत भइदियो उनको यो ऊर्जावान जवाफले । म के के न गरूँला भन्ने घमण्डीलाई निरीह महशुश भयो, उनको जवाफ र क्रियाशीलताले । अनि आफैंलाई ऊर्जा हुने प्रसँग मोडेँ । नेपाली साहित्यमा थेसिस गर्दै गरेका सिन्धुपाल्चोक, लागचेका विकास धिताल राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल चितवनका जिल्ला सचिव, जनसाँस्कृतिक महासंघ, चितवनका जिल्ला सदस्य, पेशागत सांस्कृतिक संघका जिल्ला अध्यक्षका भूमिकामा जीवनका विविध पाटोहरूलाई सक्रियताका साथ कुदाइरहेछन् ह्वीलचियरसँगै । त्यसो त २०४८÷०४९ सालमै रहरै रहमा प्रगतिशील जनसांस्कृतिक परिवार, सिन्धुपाल्चोक गठन गरेर संगठनको अनुभव गरिसकेका थिए उनले । जीवनलाई खिया नपार्ने उनको अभियानले ह्वील चियरका धेरै पाँग्राहरू खियाइसके । सँगसँगै उनका पुक्क परेका हत्केलाका मासु पनि खिइएर अब त अभ्यस्त भइसके । कहिलेकाहीँ ह्वीलचियरको हँकाई भन्दा तिब्र गतिमा हुँइकिन खोज्छन् जीवनका बाटाहरू, तर आकांक्षाको तिब्रतालाई आफैं ब्रेक लगाउने गर्छन् र बिस्तारै क्रमशः निरन्तर हुनु नै आफू जीवित हुनुको अमूल्य रहस्यहरु बुझ्न पाउनु हो भन्ने बुझेर उनी आत्तिदैनन् । नआत्तिनु नै नमात्तिनु पनि त हो । यी व्हील मान्छे (व्हीलचियरसँगको दोस्ती भएकोले व्हील मान्छे भनें) मैले अघिल्लो दिन नै कुरा गर्न चाहेकी थिएँ, तर त्यस दिन अस्पताल प्राङ्गणमा रहेको शिव मन्दिरमा शिवरात्रीको सांगीतिक तयारीमा उनी व्यस्त थिए ।

मैले उनलाई चिनेको २०५२ सालतिरै हो । खिरिलो ज्यान, हँसिलो र सुकोमल अनुहारको एउटा किशोर, भर्खर सम्पर्कमा आएको काठमाडौमा तर, कति छिट्टै घुलन भयो हामीबीच । गीत गाउँथ्यो असाध्यै भावुक आवाजमा, अनि मादल बेस्सरी बजाउँथ्यो । मानिसहरूको परिचालन पनि ऊ राम्ररी गर्दथ्यो । सानो मान्छे भएकोले उसलाई सानोतिनो काम पनि अह्राइरहन्थ्यौं हामी ।
‘२०५२ सालमा म आठ कक्षा पढ्दैगर्दा सिन्धुपाल्चोकको थाङ्पाल धाप माविमा अनेरास्ववियुको प्राक अध्यक्ष भएको थिएँ । २०५३ सालमा नै जोरपाटीमा दाजुहरु सहितको परिवारसँग बस्न थालेका थियौं । पहिलैदेखि गीत गाउने, बाजा बजाउने गर्ने गर्थें, जनसांस्कृतिक मञ्च क्षेत्र नं. २ (त्यतिबेलाको निर्वाचन क्षेत्र नं. २ थियो) को कमिटीमा दाजु कृष्ण राईले प्रस्ताव गर्नुभएर म सदस्य भएँ । त्यतिबेलैदेखि ढाडको बिरामी हुन थालें । तैपनि मञ्चका धेरै कार्यक्रमहरूमा म सक्रिय भएँ । गीत लेख्ने, गाउने, मादल बजाउने, नाच्ने सबै काम गर्थें म । पछाडि मेरूदण्ड बेस्सरी दुःख्थ्यो । उपचार गराउँदा ढाडमा नशा च्यापेको भन्ने भयो । अप्रेशन गर्नुपर्ने भएपछि वीर अस्पतालमा २०५६ सालमा डा. उपेन्द्र देवकोटा सहितको टीमले स्पाइनल कडमा ट्युमर पलाएको र त्यो ट्युमर काट्नुपर्ने भनी सुझाव दिनुभएको थियो । अप्रेशन त सफल भयो, म बाँचे तर, एकवर्षसम्म वीर अस्पतालको बेडमै सुतेर उपचार गर्दा पनि मेरो ढाडदेखि तल शरीर हलचल गरेन । जिन्दगी रमाइलै थियो, म नाचेर गाएर, संगठनको काममा रमाएरै हिँडेको थिएँ । अकस्मात मेरो जीवनमा ठूलो ब्रेक लाग्यो । एकवर्षसम्म अस्पतालको शैयामा सुतिरहेँ । साथीहरू सबैले हौसला दिन्थे । दिदीकै सक्रियतामा मेरो नाममा साँस्कृतिक कार्यक्रम पनि गर्नुभयो नि । सा¥है पीरलोले सतायो त्यतिबेला त । तर जब म उठें शैयाबाट, त्यसपछि बसीन दिज्यु  !’
उनको भावुकता चिर्दै अगाडि वढेँ म –
उनको बिरामीपन भन्दा पनि सानो केटो तर, मिजासिलो शैली र संगठनप्रतिको निश्छल लगावले निकै आकर्षण गरेको थियो । जनसाँस्कृतिक मञ्च काठमाडौको कोषाध्यक्ष थिएँ म त्यतिबेला । मैले नै प्रस्ताव गरेको थिएँ– विकास धितालको नाममा सहयोग साँस्कृतिक कार्यक्रमको आयोजना गरौं भनेर । त्यतिबेला काठमाडौ जिल्लाको सबै काम बौद्धस्थित वडा नं. ८ को पार्टी कार्यालयबाट हुन्थ्यो । नभन्दै बिकास धिताल सहयोग साँस्कृतिक कार्यक्रम बूढानीलकण्ठस्थित खुल्ला मैदानमा बिहानैबाट सञ्चालन गरेर संकलन भएको सहयोग रकम विकासलाई हस्तान्तरण गरेका थियौं । उनी वीर अस्पतालको शैयामा उपचाररत थिए ।
अप्रेशनपछि उनको आधा शरीर त चलेन नै, पिसाब पास नहुने अर्को जटील समस्याको सामना गर्नुपर्यो उनले । २०५६ सालदेखि २०७१ सालसम्म व्हीलचियरको एकातर्फ पीसाबको ठूलो प्लाष्टीक थैली झुण्डाएरै हिंडे ।
‘पोहोरसाल मात्रै आफैले इन्टरनेट मार्फत पत्ता लगाएर यसको उपचार हुँदोरहेछ भन्ने चाल पाई भारत गएर उपचार गरेर आएँ दिदी म । शरीर धेरै हलुंङ्गो भो बल्ल ।’ एउटा सग्लो सलक्क परेको छरितो ज्यान हेर्दाहेर्दै व्हीलचियरको सहारा बनेको देखेर निकै दिक्दारी लाग्दथ्यो । वीर अस्पतालमा हामीहरू धेरैपटक उनको उपचार जहाँ सम्भव हुन्छ, त्यहीँ गरिदिन अनुरोध गर्न गएका पनि थियौं । पिसाब पास नहुने समस्याले उनी असाध्यै दुःखीत थिए ।
आफ्नो शरीर बिग्रेकोमा चिकित्सकको लापरवाही भएको हो कि होइन भनेर कतै उजुर गरेनौ त ? भन्ने प्रश्नमा उनी भन्छन्:
अब पिसाब पास नहुने मेरो यो समस्यालाई समाधान गर्न धेरै कोसिस गरेकै हो चिकित्सकले, अनि मैले पनि यो समस्या त जीवनभर रहने भो, जसरी पनि सञ्चो गराइदिनुस् भनेकै हो । र कता कता रिफर गरिदिएर प्रयत्न पनि नगरेको होइन, तर खोइ त उपचार नै भएन । बेला–बेलामा पिसाबको संक्रमण अनि घाउको संक्रमण हुँदा कति डरलाग्दो हुन्थ्यो । म कतिचोटी स्वास्थ्य भन्त्रालयको ढोका–ढोका चहारेको छु । प्रशासनतिर आफैं व्हीलचियर धकेलेरै गएको छु । सकेसम्म मेरो उपचार होस्, नभए पनि मेरो जिविकाको लागि मैले सक्ने काम गरेर बाँच्न पाउने व्यवस्था होस् भनेर धेरै बिन्तीहरू राखेँ । तर यहाँको अटेर प्रशासन न गल्ती गर्नेलाई कारवाही गर्छ, न कुनै आशालाग्दो सहयोग गर्छ ।
विकासको साँच्चै अत्यासलाग्दो त्यो समयको कल्पना गर्दा निकै भावकु भएँ म । एउटा किशोर छोरो, समाज र देशप्रतिको जिम्मेवार भाव बोकेर सक्रियताका साथ अगाडि वढिरहँदा एकैचोटी जीवनमाथि आइपरेको यो अट्टहासले कति सताइए होला ! उनले सोचेका नवीन सोचहरू, कति दरिद्र भयो होला चेतनाको मूल पनि ! लाउँखाउँ भन्ने जवानीमा शरीरको अर्धनिष्क्रियता, व्हीलचियरको सामना, सबैतिरबाट बेवास्ताको आक्रमण ! जीवनका सबै रहर र बाटाहरू बन्द भएर कता जाउँ भन्ने अन्यौलता । ओहो ! कसरी बितायो होला त्यो पल ? सोच्दासोच्दै घेरिएँ म तनावले अनि सोधें उनलाई –
–    जीवनमा प्रेरक र प्रेरणा के लाई अथवा कसलाई मान्छौ ? कुनै ठूला अथवा भनौं चर्चित नेता, आदर्श व्यक्ति वा बनिबनाउ कोही मानिसको चित्र अगाडि सारेनन् उनले ।
“भारतमा स्पाइनल कर्ड इन्जुरी सेन्टर भन्ने अस्पताल छ । म त्यहाँ जचाउन जाँदा त्यहाँको चिकित्सकले अस्पतालको अध्यक्षलाई भेटाइदिनुभयो । अध्यक्ष आफ्नै कार्यकक्षमा हुनुहुन्थ्यो । अनुहारको च्यापुले कम्प्युटर चलाइरहनुभएको थियो, वहाँको दुवै हात र दुवै गोडा निष्क्रिय थियो, अर्थात नचल्ने रहेछ । कुराकानीमा वहाँले भन्नुभयो – ‘हेर्नुस् नचल्ने पो हो त, नसक्ने के कुरा छ र ? योङ् म्यान ! तपाईको त दुवै हात चल्छ, झनै नसक्ने भन्ने तपाईको लागि केही छैन’ उनको यो भनाई झलझली भैरहन्छ र कुदिरहन्छ मेरो चियरको पाइडले दिदी ।” उनी निकै भावुक भए । साथै हौसिंदै थपे – तीनै अस्पतालका अध्यक्षले नेपालको सगरमाथा आरोहण गर्दा गम्भिर दुर्घटनामा परी हातगोडा दुवै प्यारालाइसेस भएको कारणले भारतमा त्यो स्पाइनल कर्ड अस्पताल सञ्चालन गरेको र अस्पतालको वार्डको नाम पनि ‘सगरमाथा’ र क्यान्टिनको नाम ‘नाम्चे बजार’ राखेको जानकारी गराए ।
‘दिदी म आफू भन्दा कमजोर स्थितिका र दीन दुःखीहरूका बीचमा रूझेर काम गर्न मनपराउँछु । त्यहीँ काम गर्छु र बढी से बढी सेवा गर्न अग्रसर हुन्छु । जब काम सफल हुन्छ, ऊर्जा त्यहीँ मिल्छ । साथीहरूको सहयोग, सद्भावले एक्लो र अशक्त अनुभूति नै हुन दिन्न म ।’
३५ कटेका उनी आजकल देशका विभिन्न स्थानमा विभिन्न संस्थाहरू मार्फत सहयोग सहित व्हील चियर वितरण गर्न पनि व्यस्त छन् । यही चैत्रमा सिन्धुपाल्चोकको एक गाउँमा साठीवटा व्हील चियर वितरण गर्ने योजना तयार भएको पनि उनले सुनाउन भ्याए । यसका लागि राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको विशेष सहयोगलाई स्मररण गर्न उनी भुल्दैनन् ।
पहिल्यैदेखि गाना गाउन, बजाउन भनेपछि हुरुक्क हुने उनले आफ्नै सक्रियतामा ‘द युनिक ब्याण्ड’ खोलेर ‘अग्रीम’ नामक प्रगतीशील गीतिसंग्रह तथा अन्य सारथीहरूसँगको समन्वयमा ‘३ पाने’ लोकदोहोरी गीति संग्रह समेत निकाली सकेका छन् ।
–    जीवनप्रति कुनै गुनासो ? ‘गुनासोले के हुन्छ ? निराशा मात्र ।’ त्यसैले उनी गुनासा र निराशा दुवै पाल्दैनन् । कहिलेकाहीँ शुभेच्छुकको काम र आशा गरिएका कामहरु सम्पन्न हुँदैनन् त्यतिबेला केही दिक्दारी हुनु स्वाभावीकै हो । त्यसो त अटेर प्रशासन, अन्यायी प्रशासक र झण्झटिलो कामकारवाहीले निकै सताउँछ नि । कुराकानी गर्दैगर्दा उनको मोबाइल दर्जनौपटक बज्यो । ती मध्ये क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीका आफन्त तथा रोजगारी एवं प्रशासनिक कामका सिलसिलामा उनको सहयोगका लागि अनुरोध आएको थियो । सिन्धुपाल्चोक, लागचेका उनको घर भुँइचालोले ध्वस्त भएको छ र पनि आफ्नो सीप र जाँगरलाई उनी जीवन्त बनाइरहेकै छन् । देशभरिका तथा अन्तराष्ट्रिय रूपमा पनि क्यान्सर रोगका उपचारका लागि बाक्लो आवतजावत भैरहने भरतपुर, चितवनको क्यान्सर अस्पतालको प्राङ्गणमा फुलेका फूलहरू हाँसीरहे, जब विकासको स्वच्छ हाँसोले बाईबाई गरिरह्यो ।
ईमेल: al_anurag@yahoo.com

Source - Chakrapath.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?