Breaking News

आन्तरिक पर्यटन प्रवद्र्धन नै पर्यटन विकासको आधार

Feb Tue 2020 05:40:40

626 views

आन्तरिक पर्यटन प्रवद्र्धन नै पर्यटन विकासको आधार
  • भरतराज उप्रेती

पर्यटन क्षेत्रको विकासका लागि पब्लिक पार्टनशीपको नीति आवश्यक छ । पीपीको अवधारण र नीतिलाई राज्यले व्यवसायिक बनाउन नसक्दा नेपालको पर्यटन क्षेत्रले फड्को मार्न सकेको छैन । जसको बाधक हो नेपालको राजनीतिक अस्थीरता । जसले नेपालको पर्यटन क्षेत्रको घाँटी अठ्याउने काम मात्र गरेको छ र नत गति दिन सकेको छ न त व्यवसायिक रुप नै । नीजि क्षेत्रबाट पर्यटन क्षेत्रमा भएका लगानी पनि व्यवसायिक हुन नसक्दा पर्यटन क्षेत्र अन्योलताको बादलभित्र रुमलिइरहेको छ । यति भन्दा नेपालको पर्यटन क्षेत्रको भविष्य संकटमा छ भन्न खोजिएको भने पक्कै होइन । नेपालको पर्यटन क्षेत्रमा समस्या र चुनौती भन्दा सयौ गुणा अवसरहरु छन् । जसलाई व्यवसायिक रुप बनाउन नीजि स्तरबाट ठूलो योगदान छ । व्यवसायिक सर्कलमा लगानी भइरहेका छन् । पर्यटन क्षेत्रबाट देशको अर्थतन्त्र धान्न सकिन्छ भने सिद्धान्तमा पर्यटन व्यवसायिहरु जुट्न थालेका छन् । बैशाख १२ को भुकम्पले नेपालको नाम झन अन्तराष्टियस्तरमा चिनाइदिएकोले भुकम्पले नेपालमा के भयो ? नेपाल कस्तो देश रहेछ भन्ने जिज्ञासा विश्वस्तरबाट आइरहेका छन् भने वर्तमान संकटको अवस्थाले पनि नेपालको नाम विश्वसामु परिचित गराइदिएको अवस्था छ । यो असहज अवस्थाले नेपालको पर्यटन क्षेत्रमा केही असहजता थपे पनि पर्यटन क्षेत्रमा लगानीका अवसरहरु थपिदिएको छ । यसलाई राज्यले नीतिगत तवरबाट सम्बोधन गर्दै पर्यटन क्षेत्रको नीजि व्यवसायिक लगानीको ग्यारेन्टी र सुरक्षाको प्रत्याभुति दिएमात्र नेपालको पर्यटन क्षेत्रमा नसोचेको सफलता हात मिल्नेमा कसैको दुइमत छैन । नेपालको पर्यटन क्षेत्रको सरकारी निकाय नेपाल पर्यटन बोर्डको सञ्चालक राजेन्द्र प्रसाद सापकोटा र कार्यकारी अधिकृत दीपकराज जोशीको आगमनले पर्यटन व्यवसायीहरु उत्साहित छन् ।

समसामयिक पर्यटन क्षेत्रको अवस्थालाई मनन गरेर बोस्टर मिडियाले पर्यटकीय क्षेत्र ठमेलको हिमालयन पिज्जा रेस्टुरेन्ट एण्ड क्याफेमा पर्यटन क्षेत्रको समस्या, समाधान र अवसर विषयक कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीलाई बोस्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले स्वागत गरेका थिए । दीपकराज जोशीको प्रमुख आतिथ्यतामा पर्यटन व्यवसायी संस्थाका प्रमुख, आइसिटी र पर्यटन पत्रकारबीचको गरेको छलफलको संक्षिप्त विवरण : राजनीति देश विकासको मानेमा ठीक हो तर दाउपेच र झगडामा राजनीति केन्द्रित रहनु नेपालको विडम्बना हो । जसलाई अहिले सबैले घृणाको रुपमा हेर्न थालेका छन् । विकासका लागि स्वच्छ राजनीतिक हुनुपर्ने भएता पनि नेपालमा राजनीतिको ट्रेण्ड गलत रुपमा बस्दै आएकोले सबै संयन्त्र त्यसको शिकार बनेका छन् । लडाई, झगडा, सत्ता र शक्तिका लागि होइन विकासका लागि राजनीति गर्रौ भन्नुहुन्छ, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी । पर्यटन क्षेत्रको विकास लागि बोर्ड र आफू एकलले केही गर्न नसक्ने बताउदै पर्यटन व्यवसायी र मिडियाको सहयोग साथ आवश्यक छ जोशीले भने । पर्यटन क्षेत्रको नीतिलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धताका साथ पर्यटन व्यवसाय क्षेत्रमा देखिएका समस्या नीतिगत रुपबाट सम्बोधन गर्न तयार रहेको र पर्यटन प्रवद्र्धनलाई सबैको सहकार्य र सहयोगमा मात्र आफू अगाडी बढ्ने उद्घोष समेत जोशीले कार्यक्रममा गरे ।

व्यवसायीको सहकार्यमा पर्यटन प्रवद्र्धनको नीतिलाई नेपाल पर्यटन बोर्डले कार्यान्वयन गर्नेछ

  • राजेन्द्र प्रसाद सापकोटा सञ्चालक सदस्य/ नेपाल पर्यटन बोर्ड

पर्यटन बोर्डले सक्षम नेतृत्व पाएको छ र पर्यटन व्यवसायीहरु उत्साहित छन् यो क्षेत्रमा लगानी बढाउन । यस कुरालाई बोर्डले मनन गर्दै लगानीको अवसर बढाउने, बाह्य पर्यटनसँगै आन्तरिक पर्यटन बढवाको नीतिलाई कार्यान्वयन गर्ने, पर्यटन व्यवसायीहरुसँग हातेमालो गर्दै पर्यटन व्यवसायिक संघ संस्थासग सहकार्य र सोसल मिडियामार्फत पर्यटन प्रबद्र्धनलाई अगाडी बढाउनेछौ सापकोटाले भने । छिमेकी मुलुक चीन र भारतको पर्यटन हाम्रो मुख्य लक्ष्य हो, कसरी छिमेकी मुलुकको पर्यटन नेपालमा भित्र्याउने भन्ने योजना बनाउनु अब आवश्यक छ त्यसपछि एशियाको पर्यटन, त्यसपछि युरोप अमेरिकाको पर्यटन योजनाको भिजन सरकारले बनाउन आवश्यक छ भने पर्यटन व्यवसायीहरुले पनि यसलाई फ्लोअप गर्न जरुरी । म भन्छु पर्यटन व्यवसायी साथीहरुको सहकार्यमा सरकारले आन्तरिक पर्यटन नीतिलाई प्रबद्र्धन गर्नुको अर्को विकल्प छैन । यसका लागि हामी सबै एकजुट होऔं । पर्यटन बोर्डको सञ्चालक सदस्यको हैसियतले यसका लागि मेरो उपस्थिती तपाइहरुले खोजेको जुनसुकै बेला सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, सापकोटाले भने ।

आन्तरिक पर्यटनलाई प्रबद्र्धनसँगै ठमेललाई विशुद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जरुरी छ

  - रामशरण थपलिया अध्यक्ष, ठमेल पर्यटन विकास परिषद

पर्यटन विकासको वाधक राजनीतिक अस्थीरता र जारी संबिधानले दिन नसकेको शान्ति सुव्यवस्था भएकोमा कोही अनभिज्ञ छैनन् । यति भन्दै हामी आरोप र विवाद मात्रै गर्ने प्रवृत्तिलाई नै अँगाल्न थाले कहाँ बाट हुन्छ विकास । त्यसैले विकासका मोडल र योजना बनाउने निकायमा निस्कलंक राजनीतिक चरित्रभन्दा बाहिरका बुद्धिजीवि वर्गलाई जिम्मेवारी दिनु आवश्यक छ र सम्बन्धित क्षेत्रका सरोकारवालला व्यक्तिहरुसँग छलफल र परामर्श गरी बनाइएको योजना नै दीर्घकालीन हुने हुदा अबको अभ्यास पर्यटन क्षेत्रमा यसरी सुरुवात गरौ भन्न चाहन्छु सरकार, नेपाल पर्यटन बोर्डका सञ्चालक, अधिकृत र पर्यटन व्यवसायी साथीहरुलाई । ठमेल पर्यटन विकासको बाधक ठमेलमा पूर्वाधार विकास योजना कुन सरकारी निकायको संयन्त्रले गर्ने भन्ने अन्योल र आन्तरिक पर्यटन प्रबद्र्धन नीति नै भएकोले यसलाई गम्भीरतापूर्वक समाधान गर्न नेपाल पर्यटन बोर्डले भुमिका खेल्नुपर्ने थपलियाले बताए । फ्री भिसाको नीतिलाई पनि सरकारले प्राथमिकता दिनु आवश्यक छ । राज्यले पर्यटन व्यवसायी र पर्यटकको सुरक्षा र ग्यारेण्टी दिन सके पर्यटन क्षेत्रमा नसोचेको सफलता हात मिल्नेछ । पर्यटन विकासका लागि पर्यटन व्यवसायीहरुको भ्वाइस एउटै बनाउने वातावरण हामीबाटै शुरु गर्न जरुरी छ । जसको लागि एकता र एकजुटको भावनाको विकास गरौं ।

पर्यटन क्षेत्रमा लगानी र खर्च गर्ने अभ्यासको सुरुवात आफैबाट गर्न जरुरी छ

  • चन्द्र रिजाल अध्यक्ष, टान 

विकासको सम्भावना बोकेका हजारौ पर्यटकीय स्थल, सास्कृतिक सम्पदा, ऐतिहासिकताले नीजि स्तरको लगानी पर्यटन व्यवसायमा बढ्ने संकेत देखिएको छ । भुकम्प र वर्तमान असहज राजनीतिक अस्थीरताले नेपालको पर्यटनक्षेत्र धरासायी बन्यो भन्ने होइन समस्या समाधान र पर्यटनको सम्भाव्यता विश्वस्तरसम्म पुर्याउन सजिलो बनाउनेछ भन्नेतर्फ हामी सबैको मानसिकता जानुपर्यो । पर्यटनको गफ हाँकिरहदा हामी आफैले पर्यटनको उपयोग गर्न चुकेका छौ, प्राकृतिक सम्पदा, साँस्कृतिक विविधता, ऐतिहासिक पर्यटन स्थल मात्र भनेर हामी भनिरहेका छौ तर यसको हामी आफैले उपयोग गर्न सकेका छैनौं । जे कुरा पनि सित्तैमा पाइन्छ भन्ने मानसिकता हामीमा छ र सरकारी पर्यटन नीति पनि त्यस्तै । लगानी गरे पो त्यो चीजको माया हुन्छ, हामी लगानी नै गर्दर्नौ ठीक सरकारको नीति पनि त्यही छ, पर्यटन क्षेत्रको मुख्य चुनौती भनेको नै आन्तरिक पर्यटन प्रवद्र्धनको नीति हो । सबै व्यवसायिक साथीहरुको एउटै आवाज छ आन्तरिक पर्यटन प्रबद्र्धन नीतिलाई बढवा दिऔं । पर्यटन बारेको जानकारी स्कुलिङदेखि नै गराउनु आवश्यक छ । व्यवसायिक पर्यटन प्रवद्र्धनका लागि अब सोसल मिडियाको प्रयोग र पत्रकारीतामार्फत पर्यटन प्रबद्र्धनको मेसेज सबैमा पुर्याउन जरुरी छ । व्यवसायिक पर्यटन पत्रकारीताको ट्रेण्ड बसाल्नु पनि पर्यटन विकासको अहिलेको आवश्यकता हो भन्नुहुन्छ चन्द्र रिजाल ।

पब्लिक पार्टनरशीपको अवधारणा पर्यटन क्षेत्रमा लागू हुनुपर्दछ

  • दीपक महत अध्यक्ष, नीट नेपाल

विकासको सफल मोडेल नै पब्ल्कि पार्टनरसीप भएकाले पर्यटन विकसका लागि पीपीको अवधारणालाई अब लागू गर्न ढिलाइ गर्नु नहुने बताउदै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् नीट नेपालका अध्यक्ष तथा टानका पूर्व अध्यक्ष दीपक महतले । नीजि क्षेत्रको झगडा, राजनीतिक अस्थीरता, सरोकारवाला निकायमा राजनीतिक प्रवृत्ति हावी नै पर्यटन क्षेत्रका चुनौती र समस्या हुन्, महतले भने । पर्यटन क्षेत्रका विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्नुपर्नेमा महतले जोड दिए ।

नीजि क्षेत्रको सहकार्यमा पर्यटन बोर्डको अभ्यास सुधार्न पर्यटन क्षेत्रका संघ संस्थाको अग्रसरताको खाँचो देखिन्छ । राजनीतिकलाई दोष दिइरहनु भन्दा पनि पर्यटन व्यवसायीहरु आ आफू नै झगडामा लाग्नुभएन । सोसल मिडियामार्फत देशको आन्तरिक पर्यटन प्रवद्र्धनसँगै बाह्य पर्यटनको बिस्तारमा राज्य, पर्यटन बोर्ड, पर्यटन संघ संस्था, पर्यटन व्यवसायी र व्यवसायिक पत्रकारीताको विकास पर्यटनमा लागू गर्न सके नेपालको पर्यटन क्षेत्रमा लगानीको स्रोत र रोजगारीका अवसरहरु बढ्नेछ । जसले देशको अर्थतन्त्र मजबुत बनाई युवा रोजगारीको सिर्जना देशभित्रै गराउनेमा कसैका दुइमत छैन । अब पनि हामीले नसोचे कसले सोच्ला पर्यटन क्षेत्रको विकास र बिस्तारमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?