अब कुनै पनि डेविट कार्डबाट २५ हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने
Feb Tue 2020 05:40:28
791 views
नेपाल राष्ट्र बैंकले सीमा तोकेर विद्युतीय भुक्तानी प्रणालीलाई कसिलो बनाउँदै नयाँ निर्देशन जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार डेविट तथा क्रेडिट कार्डबाट रकम निकाल्ने सीमा घटाइएको छ। अब कुनै पनि डेविट कार्ड एटिएममा प्रयोग गर्दा एक पटकमा २५ हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने भएको छ। यसअघि नविललगायत केही बैंकहरुको कार्डबाट एक पटकको कारोबारमा ३५ हजारसम्म निकाल्न सकिन्थ्यो।
डेविट कार्ड एटिएममा प्रयोग गर्दा दैनिक १ लाखसम्म निकाल्न सकिने सीमालाई भने यथावत राखिएको छ। यद्यपी दैनिक रुपमा अधिकतम ४ पटकसम्म मात्रै एटिएमबाट पैसा निकाल्न पाइनेछ।
त्यस्तै क्रेडिट कार्डबाट २५ प्रतिशत बढी रकम निकाल्न नपाइने भएको छ। हाल क्रेडिट कार्डबाट निकाल्ने रकममा सीमा तोकिएको थिएन। रकम सीमा सकिएमा जम्मा भएको रकमभन्दा बढी झिक्न वा खर्च गर्न नपाइने व्यवस्था गरिएके छ।
त्यस्तै प्रिपेड कार्डबाट नेपालभित्र नगद झिक्दा अधिकतम १० हजारसम्मको सीमा तोकिएको छ। मोबाइल बैंकिङबाट एक पटकमा भुक्तानी गर्दा ५ हजार रुपैयाँसम्म र अधिकतम दैनिक १० हजारसम्म गर्न पाइने व्यवस्था गरिएको छ। महिनामा ५० हजारसम्मको सीमा तोकिएको छ।
इन्टरनेट बैंकिङबाट भुक्तानी गर्दा दैनिक १ लाखसम्म र मासिक १० लाखसम्मको कारोबार सीमा कायम गरिएको छ। जसअनुसार विदेशबाट आफन्तले पठाएको रेमिट्यान्स पनि एक पटकमा एक लाखसम्म मात्रै नगद भुक्तानी हुनेछ। बाँकी रकम भुक्तानी गर्नुपरेमा बैंक खातामार्फत गर्नुपर्नेछ।
विभिन्न वालेटहरुमार्फत हुने कारोबारको अधिकतम सीमा तोकिएको छ। एक पटकमा ५ हजारसम्म, प्रतिदिन १० हजारसम्म र मासिक २५ हजार रुपैयाँसम्म वालेटमार्फत कारोबार गर्न सक्ने सीमा कायम गरिएको छ।