Breaking News

नेपाल टेलिकमको नेटवर्कमा फोन गर्दा शेयरधनी बन्ने यस्तो अवसर

Feb Tue 2020 05:40:10

223 views

नेपाल टेलिकमको नेटवर्कमा फोन गर्दा शेयरधनी बन्ने यस्तो अवसर

दूरसञ्चार प्रदायक नेपाल टेलिकमले चाँडै आफ्ना ग्राहकलाई शेयरधनी बन्ने अवसर दिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमै समावेश गर्ने गरी नेपाल टेलिकमको नेटवर्क प्रयोग गरी सोही नेटवर्कमा फोन गर्ने ग्राहकहरु लक्षित ‘एक कल एक शेयर’ वा ‘एक सीम एक शेयर’को नौलो अवधारणा आउन लागेको हो ।

बुधबार नेपाल टेलिकम कम्पनी लिमीटेडको भद्रकालीस्थित मुख्य कार्यालयमा ‘टेलिकम सुधारको मार्ग्चित्र’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यो कुराको जानकारी दिइएको हो । ‘एक कल एक शेयर’का अवधारणा संचारमन्त्री शेरधन राईले ल्याएका हुन् ।

कम्पनीको संचालक समिति अध्यक्ष तथा संचार मन्त्रालयका सचिव दिनेश थपलियाले अब नेपाल टेलिकमलाई जनताको कम्पनी बनाउन एक कल गर्दा त्यसबाट निश्चित रकम उसको शेयरमा रुपान्तरण हुने नौलो अवधारण ‘एक कल एक शेयर’ कार्यक्रम ल्याएको बताए ।

थपलियाले भने–‘उदाहरणका लागि एनटीसी प्रयोगकर्ताले एउटा लोकल कल गर्दा त्यसबाट ३ पैसा शेयरमा जम्मा हुने व्यवस्था हुन्छ । यस्तै सानो सानो रकम जम्मा हुँदै गएर ऊ केही वर्षपछि ठूलै कम्पनीको राम्रो शेयरधनी बन्छ ।’

यो कार्यक्रममा अहिलेका टेलिकम प्रयोगकर्तामध्ये ५० प्रतिशत मात्र सहभागी भए भने पनि ५ वर्षमा जम्मा भएको पैसाले ठूलै जलविद्युत आयोजना बन्नसक्ने सरकारी अध्ययनले देखाएको थपलियाको दाबी थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित संचारमन्त्री शेरधन राईले समेत आगामी बजेट कार्यक्रममै ‘एक कल एक शेयर’को नौलो कार्यक्रम आउने वचन दिए । ‘यो कार्यक्रममार्फत सेवाग्राहीलाई जोड्न सक्ने नौलो र सफल प्रयोग हुनसक्छ, यो दीर्घकालीन हिसाबले सेवाग्राहीलाई एनटीसीमै जोडिरहन समेत सफल प्रयोग बन्ने विश्वास छ’, उनले थपे–‘अब हामीले नयाँ–नयाँ अवधारणा ल्याएर टेलिकमलाई निर्विकल्प पहिलो नम्बरको दूरसंचार प्रदायक कम्पनी बनाउनुपर्छ ।’

नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यले मन्त्री राईको अवधारणालाई कार्यान्वयनका लागि आफूहरु हरदम तयार रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?