Breaking News

सर्वोच्चका तीन महिला न्यायाधीश यस्ता छन्

Feb Tue 2020 05:40:28

338 views

सर्वोच्चका तीन महिला न्यायाधीश यस्ता छन्

सुशीला कार्की एक महिनापछि मुलुकको पहिलो महिला प्रधानन्यायाधीश हुँदैछिन्। राज्यका तीनै अंगमा महिला प्रमुख हुँदै गरेका बेला सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा समेत दुई जना महिला छन्। न्यायाधीशका लागि सिफारिस गरिएका ११ जनामध्ये मुख्य न्यायाधीशबाट मीरा खड्का र वकिलबाट वरिष्ठ अधिवक्ता सपना मल्ल प्रधान परेका छन्।

उनीहरूलाई संसदीय सुनुवाई समितिले पास गरे अब सर्वोच्च अदालतमा तीन जना महिला न्यायाधीश हुनेछन्।

राज्यका हरेक अंगमा महिला सहभागिता बढाउनुपर्ने दबाब भैरहेका बेला अदालत मात्रै यस्तो अंग थियो जहाँ सहभागिताका नाममा जसलाई पनि न्यायाधीश बनाउन सकिँदैन। योग्यता, क्षमता र विवादीत छवि नभएका व्यक्ति मात्रै सर्वोच्च अदालतसम्म पुग्छन्।

यसअघि पनि सर्वोच्च अदालतको न्यायाधीशसम्म पुग्ने महिला नगन्य छन्। शीलु सिंह, शारदा श्रेष्ठ, गौरी ढकाल गरी ३ जना महिला न्यायाधीश मात्रै सर्वोच्चबाट अवकाश पाएर गए।

न्यायक्षेत्रमा महिला सहभागिता कम छ भन्ने गुनासो सुनिरहन्छ। यस्तो बेला सर्वोच्च अदालतमा तीन जना महिला न्यायाधीशको उपस्थितिले सकारात्मक सन्देश जाने सर्वोच्चकै पूर्व न्यायाधीश शारदा श्रेष्ठ बताउँछिन्।

‘महिला सहभागिताको दृष्टिले एकदमै पछि परेको न्यायक्षेत्रमा उहाँहरू जस्तो राम्रो र क्षमतावान महिलाको उपस्थितिले निकै राम्रो सन्देश दिने छ,’ उनले भनिन्, ‘हामीलाई त महिला न्यायाधीश जति धेरै हुन्छन् त्यति राम्रो लाग्छ। महिलाहरु यो क्षेत्रमा आइदिए हुन्थ्यो, क्षमता विकास गरे हुन्थ्यो भन्ने लागिरहन्छ।’

सुशीला कार्की

उनी अहिले सर्वोच्चकी वरिष्ठतम न्यायाधीश हुन्। एक महिनापछि उनी प्रधानन्यायाधीश हुँदैछिन्। सर्वोच्चमा राम्रो छवि र निर्णय लिन नडराउने न्यायाधीशका रुपमा चिनिन्छन्। इन्टरनेसनल एसोशियसन अफ वुमन जज की सदस्य छन्। २०६५ सालमा कार्कीलाई वकिल तर्फबाट अस्थायी न्यायाधीशको रुपमा सर्वोच्च अदालतमा ल्याइएको थियो। त्यसको दुई वर्षपछि उनी स्थायी न्यायाधीश भइन्। २०६१ सालमा उनले सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाएकी थिइन्। २०३५ सालमा अधिवक्ता भएकी हुन्। आफैले बिएल पास गरेको महेन्द्र बहुमुखि क्याम्पस धरानमा केही वर्ष उनले पढाएकी थिइन्। पुनरावेदन अदालतको बार अध्यक्षका रुपमा उनी निर्वाचित भएकी थिइन्।

सपना मल्ल प्रधान

भर्खरै उनलाई न्याय परिषदले सर्वोच्चको न्यायाधीश पदका लागि वकिल तर्फबाट सिफारिस गरेको छ। २०७० सालमा सर्वोच्च अदालतले उनलाई बरिष्ठ अधिवक्ताको उपाधि दिएको थियो। महिलाका पक्षमा वकालत गर्ने नेपालकी चर्चित वकिल हुन्। महिलासम्बन्धी विधिशास्त्र निर्माणमा उनको वकालतको महत्वपूर्ण योगदान छ।उनी अन्तराष्ट्रिय न्यायकर्ताका रुपमा चिनिन्छिन्। उनी अन्तराष्ट्रिय यातना विरुद्धको क्षतिपूर्ति समितिको सदस्य छिन्।

नेपाल ल क्याम्पसबाट बिएल गरेकी उनले १९८९मा दिल्ली युनिभर्सिटिबाट एलएलएम गरेकी हुन्। अमेरिकाको हार्वड यूनिभर्सिटिबाट २०१३मा पोष्ट ग्र्याजुएसन गरेकी छन्। छोरीलाई पैतृक सम्पत्तिमा समान अधिकार,पिडीतलाई क्षतिपूर्ति लगायत चर्चित मुद्दा उनले लडेकी छन्। उनको पक्षमा फैसला मात्रै होइन पछि संविधान र कानुन समेत निर्माण भएका छन्। साक्षी र पीडितको गोपनियता संरक्षणका पक्षमा उनले लडेको मुद्दा माथि फैसला हुँदा निर्देशिका नै जारी भएको छ, जुन अहिले कानुनसरह मानिन्छ। उनी पहिलो संविधानसभाको समानुपातिक सभासद पनि थिइन्। संविधानसभामा पनि मस्यौदा समिति सदस्यका रूपमा उनले काम गरिन्।

मिरा खड्का

पुनरावेदन अदालत इलामकी मुख्य न्यायाधीश हुँदाहुँदै उनी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकी छिन्। २०३५ सालमा नेपाल ल क्याम्पसबाट बीएल पास गरेकी थिइन्। महिला तर्फको बोर्डफस्ट भएको भन्दै ऐश्वर्य विद्यापदक पाएकी थिइन्। लगत्तै उनले ल क्याम्पसमै दुई वर्ष पढाइन्। २०३८ सालमा शाखा अधिकृतबाट न्यायसेवा प्रवेश गरेकी उनलाई न्यायाधीश हुन १० वर्ष कुर्नुप¥यो। २०४८ सालमा काठमाडौं जिल्ला न्यायाधीशमा नियुक्ति पाइन्। त्यसको १५ वर्षपछि उनी पुनरावेदन अदालतको न्यायाधीश भइन्। पुनरावेदन अदालत पाटनमा न्यायाधीश छँदाछँदै २०६८ सालमा वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष भइन्। २०७१ सालमा उनी इलाम पुनरावेदन अदालतको मुख्य न्यायाधीश बनेकी हुन्। ३५वर्ष न्यायसेवामा खर्चेकी खड्कालाई स्वच्छ छवि र काविल न्यायाधीशका रुपमा न्यायक्षेत्रमा चिनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?