Breaking News

संकटमा प्रचण्ड, गम्भीर निर्णय लिन किन पुगे सुनकोशी किनारको एकान्तमा ?

Feb Tue 2020 05:40:47

466 views

संकटमा प्रचण्ड, गम्भीर निर्णय लिन किन पुगे सुनकोशी किनारको एकान्तमा ?
  • विजय केसी

प्रचण्ड अहिले सिन्धुपाल्चोक सुनकोशी किनारको सुकुटे स्थित एक रिसोर्टमा फ्रेस हुन पुगेका छन् । उनी फ्रेस हुन र तिहार परिवारका साथ शान्त वातावरणमा विताउन त्यहाँ पुगेको वताइए पनि उनको विगतको इतिहासलाई नजिकवाट बुझ्नेहरुले उनी केही गम्भीर निर्णय लिन र गम्भीर आत्मसमीक्षा गर्न त्यहाँ पुगेका हुन् भन्न थालेका छन् ।

गिरिजाप्रसाद कोइराला आफ्नो जीवनकालको उत्तरार्धमा केही गम्भीर निर्णय लिन पर्दा, केही गम्भीर विषयमा बोल्नु पर्दा र केही संकटको वेला गम्भीर आत्मसमीक्षा गर्न गृहनगर विराटनगर पुग्ने गर्दथे । प्रचण्ड पनि विगत १० बर्षे शान्तिकालमा गम्भीर निर्णय लिन पर्दा शान्त ठाउँहरु पुग्ने गरेका छन् । विगतमा प्रधानसेनापति कटुवाललाई हटाउँदा उत्पन्न विवादमा राजीनामा दिने निर्णय लिन तथा अरु वेला पनि उनले यस्तै एकान्त ठाउँमा गएर आत्म मन्थन गर्दै विभिन्न निर्णयहरु लिने गरेका छन् ।

यसपालीको राजनैतिक गेममा प्रचण्ड किंग बन्न नसकेपनि किंग मेकर बनेका छन् । उनले यसपाली ठूलै राजनैतिक गेम खेलेका छन् । यो गेम जनयुद्धको सुरुवात गर्ने निर्णय भन्दा कम गम्भीर छैन । उनको एक निर्णयले नेपाली जनता दशबर्षे गृहयुद्धमा प्रवेश गरेको थियो भने अहिलेको उनको निर्णयले भारतले नेपालमाथि नाकावन्दी रुपी अमानवीय युद्ध थोपरेको छ । अवश्यपनि यसमा ओली लगायत अन्य नेताहरुको पनि साथ छ तर प्रचण्डले राष्ट्रिय स्वाधीनताको पक्षमा अडान नलिएको भए र बाबुराम कै बाटोमा लागेको भए अहिले नेपालमा संविधान पनि बन्दैनथ्यो र नयाँ राजनैतिक समिकरण र ध्रुबीकरण पनि हुँदैनथ्यो तथा नाकावन्दी पनि हुँदैनथ्यो ।

भारतलाई खुशी पार्ने ढंगले जातीय क्षेत्रीय राज्य सहितको कार्यदिशा प्रचण्डले तत्कालका लागि भएपनि नत्यागेका भए संविधान पनि बन्दैनथ्यो, भारत पनि रिसाउँदैनथ्यो, मधेशमा विद्रोह पनि हुँदैनथ्यो, नाकावन्दी पनि हुँदैनथ्यो । तर अब के गर्ने ? यो प्रश्नको उत्तर खोज्दैछन् प्रचण्ड । शायद प्रचण्डले भारत यति निकृष्ट ढंगले आउला भन्ने नसोचेको पनि हुन सक्दछ । अथवा सोचेर जे होला होला भनेर आँटेका पनि हुन सक्दछ । नाकावन्दी भनेको एक खालको युद्ध नै हो भन्ने कुरा सरकारका र दलहरुका नेताहरुले कहिले बुझ्ने हुन् ?

परिवारका साथमा सुनकाेशी किनारमा प्रचण्ड । तस्वीर : प्रकाश दहालकाे फेसबुक

अहिलेको विश्वमा ठूला शक्ति राष्ट्रले अरु देशहरुलाई आफ्नो कुरा मान्न लगाउन आर्थिक नाकाबन्दी रुपी नयाँ ढंगको लो इन्टेन्सीटी वार फेयरको सहारा लिइरहेका छन् । दश बर्षे जनयुद्धमा देशभरीका सबै जनतालाई हदै सम्म समस्या हुने गरी यो खालको कारवाही दुबै पक्षवाट भएको थिएन । तर अहिले भारतले चालेको कदम युद्ध भन्दा पनि निकृष्ट र अमानवीय ढंगको छ । युद्धमा शत्रुलाई पनि नगरिने काम भारतले नेपाली जनतामाथि गरिरहेको छ ।

नाकावन्दीको प्रतिरोध गर्ने सरकारी निकायका मुख्य मन्त्रालयहरु एमाओवादी संग छ । गृह, आपुर्ति, उर्जा, बन, सामान्य प्रशासन आदि मन्त्रालयहरु प्रचण्ड कै जिम्मामा छन् भन्दा फरक पर्दैन । मन्त्रीहरु सामु पनि पहिला सिक्ने र अनि काम गर्न थाल्ने समय छैन, अहिले पहिला काम गर्ने अनि सिक्ने उल्टो समय छ । प्रधानमन्त्री, अर्थमन्त्री एमालेका छन् । कमल थापा देखि चित्रबहादुर केसी सम्म सरकारमा छन् । सबैसंग प्रचण्डले संयोजन गर्नु छ । उनी सरकार पक्षीय दलहरुका नेताहरुको संयोजक पनि हुन् ।

तर काठमाडौंमा प्रचण्डलाई देशको विकराल समस्या समाधान गर्न सहयोग गर्न आउने भन्दा लोभी पापीहरुको समुहले घेर्न थालेको थियो । एमाओवादीले बिचको अवधीमा सत्तामा नरहँदा भोकाएका सबै अहिले प्रचण्डलाई घेर्न पुगेका छन् । बाबुरामले अनेक भ्रमहरु दिंदै पार्टी चोक्टा पार्दै छन् । प्रचण्डलाई आफू विरुद्धको बाबुरामको अभियानलाई कसरी डिफेन्स गर्ने भन्ने चिन्ता थपिएको छ । प्रचण्ड अहिले एक्लो बनेका छन् । वैद्य, बादल, बाबुराम कोही छैनन् अहिले उनी संग आफ्नो पुस्ताका नेताहरु । नारायणकाजीले जनयुद्ध लडेनन् । अर्कोतिर भारतले अन्तराष्ट्रिय मञ्चमा समेत पनि प्रचण्ड लगायतलाई कारबाहीको कुरा उठाएको छ अप्रत्यक्ष रुपमा । यो भारतले धम्की दिएको हो भन्ने उनलाई राम्रो थाहा छ ।

यस्तो बेला भारतको आर्थिक युद्ध विरुद्ध कसरी मुकाविला गर्ने भन्ने खाका कोर्न र लागु कसरी गर्ने भन्ने कार्ययोजना वनाउन प्रचण्ड गम्भीर आत्म समीक्षामा छन् । उनलाई केही भारत निकटहरुले भारतसंग जोरी नखोजी बिचको सम्झौता गर्न दबाब दिइरहेका छन् भने केही शुभचिन्तकहरुले भने भारतीय हैकम तोडेर अघि बढ्न सल्लाह दिइरहेका छन् । प्रचण्डलाई अहिले प्रधानमन्त्री समेतको लोभ देखाइएको छ । तर यो प्रधानमन्त्री खाएपछि जनताले के भन्ने हुन भन्ने डर पनि छ उनलाई । सम्झौता गर्दा आफ्नो राजनीति बाबुरामको जस्तै हुने र केही समय पछि बाबुरामलाई नै एमाओवादीको अध्यक्ष बनाएर आफूले सन्यास लिन पर्ने स्थितिमा पुग्ने तथ्य पनि प्रचण्डलाई राम्रैसंग थाहा छ ।

अर्को तर्फ अहिलेको नाकाबन्दीलाई चिर्न सक्यो भने नेपाली जनताको हिरो बन्ने र एक हदसम्म विश्व राजनीतिमा मोदीलाई हराएर प्रचण्ड स्थापित हुने मौका पनि छ । नेपाली जनताको अपेक्षा प्रचण्डलाई हिरो बनाउने अझै छ । जति गाली गरेपनि नेपाली जनता यति महान र सहनशील छन् कि गिरिजा प्रसादको जति पुत्ला पनि नेपालमा कसैको जलेन र उनी जति बारम्बार प्रधानमन्त्री पनि कोही भएनन्, एक पटक कार्यवाहक राष्ट्रप्रमुख सहित । प्रचण्डमा अतिवाद र अति लचकता छ । उनी कहिले कटुवालसंग दाइ भन्दै खानपीन पनि गर्दछन् र कहिले को हो त्यो कटुवाल पनि भन्छन् । उनी कहिले बाबुराम यस्तो उस्तो पनि भन्छन्, कहिले दक्षिणपन्थी पनि भन्छन् । उनी कहिले भारतसँग लड्छु भन्छन्, कहिले भारतमै बस्छन् र मजाले हाँस्दै भारतसंग कुरा भैरहेको छ पनि भन्छन्, नेपाल आएपछि भारतीय दुतावासमा पनि विना संकोच पस्छन् ।

भारतीय सचिव अस्ति भर्खर आएर चित्त दुख्ने गरि के के भने भन्ने कुरा प्रचण्डले एमाओवादी बैठकमै भने । जाबो सचिवले त्यतिकै त्यसरी भन्ने हिम्मत गरेको पक्के पनि होइन । प्रचण्डको त्यहि अतिवाद थाहा पाएर गरेका हुन् । नेपाली जनतामा प्रचण्डको त्यहि अतिवादको डर छ । कतै प्रचण्डले फेरि भारतसंग झुकेर सम्झौता गर्ने त होइन भन्ने डर छ । प्रचण्ड सुनकोशी किनारको सुकुटेवाट कुन निर्णय लिएर फर्कने हुन् ? त्यसैले नेपालको भावी राजनीति निर्धारण गर्नेछ ।

- Nepalsandesh.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?