Breaking News

भूकम्पको तीब्रता रोक्ने ड्यामिङ प्रविधिको विकास सफल परीक्षण नेपालमै

Feb Tue 2020 05:40:17

261 views

भूकम्पको तीब्रता रोक्ने ड्यामिङ प्रविधिको विकास सफल परीक्षण नेपालमै

नेपालकै बैज्ञानिकको अग्रसरतामा भूकम्पको तिव्रता रोक्ने ‘ड्यामिङ प्रविधि’ विश्वमै पहिलो पटक विकास भई सफल परीक्षण समेत भैसकेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ललितपुरको खुमलटारमा गरेको परीक्षणपछि भूकम्पको तीव्रतालाई रोक्ने प्रविधि पत्ता लागेको हो ।

भूकम्प मापन केन्द्र र नास्टको सहकार्यमा थालिएको यस परीक्षणमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.जीवराज पोख्रेल, प्रविधि संकायका प्रमुख वरिष्ठ वैज्ञानिक सुरेशकुमार ढुँगेल, भूकम्प मापन केन्द्रका भूगर्भविद् लोकविजय अधिकारी, मुकुन्द भट्टराई लगायत संलग्न छन् । करिब ५० प्रतिशत भूकम्पको तीव्रता कम गर्न यो प्रविधि सफल भएको नास्टको प्रतिनिधि इनु प्रधान सालिकेले बताउनुभयो ।

ईसिमोडको सहकार्यमा नास्टले लमजुङ सदरमुकाम बेसीशहरमा यो प्रविधिबारे जानकारी गराएको थियो । बेसीशहरमा यो प्रविधिबारे जिल्लास्थित राजनीतिक दलका प्रमुख, कार्यालय प्रमुख, सञ्चारकर्मी आदिलाई प्रयोगात्मक रुपमा जानकारी गराइएको थियो । यस प्रविधि अन्तर्गत जमिनको चारैतिर २० गुणा २० को जमिनलाई लिएर १.८ मिटर गहिरो र १.२ चौडा खाल्डोमा प्लाष्टिक राखी नदीमा पाइने गोला ढुङ्गा राख्नुपर्छ ।

नास्टले गरेको परीक्षणमा यो प्रविधि प्रयोग गरेर घेरिएको जमिन भित्र र बाहिर जमिन हल्लिने मात्रामा फरक देखिएको हो । सालिकेका अनुसार घेरिएको भागभित्र भुकम्पका बेला बाहिरभन्दा ५० प्रतिशत कम कम्पन महशुस गरिएको छ । तिव्रता नाप्नको लागि उक्त संरचनाको भित्र र बाहिर भूकम्प मापन केन्द्रबाट ल्याइएका दुईवटा यन्त्र जडान गरिएको सालिकेले जानकारी दिनुभयो । ती यन्त्रमा गरिएको रेर्कड अनुसार भित्र र बाहिर तिव्रतामा फरक पाइएको उहाँको जिकिर छ । नेपालले विकास गरेको यो प्रविधि विश्वमै पहिलो भएको समेत सालिकेले दावी गर्नुभयो । विशेषगरी भूकम्पको सतही कम्पनबाट अधिकांश भौतिक संरचनामा क्षति हुने गरेको छ ।

यो प्रविधिबाट ५० प्रतिशत कम गर्न सफल भएको बताउदैँ सालिकेले यो प्रविधिको प्रतिलिपि अधिकारका लागि उद्योग मन्त्रालय अन्तर्गतको बौद्धिक सम्पत्ति शाखामा आवेदन समेत गरेको जानकारी दिनुभयो ।

News Source : http://www.news24nepal.tv/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?