मालीगाउँ, काठमाडौँको एउटा घरको नाम छ, जिरो माइल । लालुपाते फुलेर राताम्मे छ । भँगेरा, रुप्पी, परेवा, जुरेलीे आदि चराहरु यहाँ झुम्मिन्छन् । अम्बा, एभोकाडो आदि रुखका हाँगामा तिनैले खेलेको हेरेर बस्छन्, डा. शंकरप्रसाद उप्रेती । ८२ वर्षीय दीर्घसेवी डाक्टरको बिरामीसँग भेटघाट पातलो हुँदै गएको छ । बरु प्रकृति, रुखबिरुवा र चराचुरुंगीसँग नजिक भएका छन् । जीवनको चतुर्थ प्रहरमा डा. उप्रेती स्मृतिमय भएका छन् । भरखरै संस्मरणात्मक पुस्तक ल्याएका छन्, ‘जीवन एक सपना ।’
उनको जीवन साँच्चै सपनाजस्तो छ । कसैको घरमा भाँडा माझेर बसेको एउटा केटो कसरी डाक्टर भयो होला ? पढ्नेलाई त्यस्तै लाग्छ । उनी आफैँलाई जीवन फगत सपना लाग्छ । नलागोस् पनि किन ? इतिहास खोतल्ने हो भने डेढ सय वर्षअघिसम्म काभ्रेपलाञ्चोकको विर्ताबाट पूर्वी पहाडको आठराई, तेह्रथुम पुगेका हुन् उप्रेतीका पुर्खा । उनका बाजे अविचन्द्र उप्रेती वीरशमशेरकी कान्छी महारानीको कमलापुर विर्ता (सुनसरी)मा खरिदार रहेछन् ।
बीपी कोइरालाका पिता कृष्णप्रसाद अविचन्द्रका साथी रहेछन् । अविका छोरा मेदिनीप्रसादलाई विराटनगरमा राखेर अंग्रेजी पढाउनुका साथै कविवर धरणीधर कोइरालाको जिम्मामा दार्जीलिङको गभर्मेन्ट हाइस्कुलमा भर्ना गरिदिने तारतम्य पनि कृष्णप्रसादले नै मिलाइदिएछन् । पछि गएर मेदिनीप्रसाद आसामतिर भारतीय रेल्वेका लागि स्लिपर कटाउने पेटी ठेकेदारका साथै राजनीतिमा लागेर झापा जिल्ला पञ्चायतको सदस्य भएछन् । तीन दाजु र एक दिदीपछि पाँचौँ सन्तानका रुपमा तेह्रथुमको चुहानडाँडामा उदाएका हुन् शंकर । उनी पछि पनि सात भाइबहिनी जन्मिए ।
त्यतिबेला काठमाडौँमा दुइटा स्कुल थिए । दरबार हाइस्कुल र जुद्धोदय । दरबारमा फी नलाग्ने, जुद्धोदयमा फी लाग्ने । उनले दरबार हाइस्कुलमा सात क्लासको जाँच दिए । फेल भएपछि पश्चिम पहाडतिर भागे । २००५ पुसको प्रसंग हो यो । भागेकै रात बालाजुमा पाँच, ६ वटा घरबाट १० मोहोर बाटोखर्च उठाएर नुवाकोट, धादिङ हुँदै गोरखा पुगे । आँखु खोला पश्चिमको साल्दुङ सिंखडा गाउँमा नौ महिना पढाएर १४ वर्षको उमेरमा लागेछन् कानपुर, भारत ।
चुहानडाँडा कति रमणीय भने उत्तर पूर्व ताप्लेजुङ, पाथीभरा डाँडो थियो । ६ महिना हिउँले पुरिने । बिहान र बेलुकी रङ फेरिरहन्थ्यो कुम्भकर्ण हिमाल । पूर्वमा फिदिम जोरसाल बजार । गाउँ तल तमोर नदी । नदीपारि पाँचथर, नदीवारि आठराई । शंकरलाई ‘म को हुँ’ भन्ने प्रश्न आइरहन्थ्यो बाल्यकालमा । त्यही प्रश्न बारम्बार आइरहेको भए डाक्टर भएर जोगी या सन्न्यासी हुन्थेँ जस्तो लागिरहन्छ उनलाई । तहबिलदार बडीबाको घरमा हिउँदे पाठशाला खुल्थ्यो, त्यो पनि तीन, चार महिना ।
बखतप्रसाद मिश्रले क, ख सिकाए उनलाई । बाह्रखरी, चण्डी, रुद्रीका श्लोक र हिसाब त्यहीँ छिचोले उनले । त्यसपछि तमोर तरेर ’जोगवनी जुट मिलका पिएल भनिने पद्मलाल उप्रेतीकहाँ पुगे विद्याको लालसाले । तर, त्यहाँ उनी भान्छेमा मात्र दरिए ।
स्कुल पठाउने सुरसार नदेखेर शंकर एक रात दार्जीलिङ जान भनेर रेल स्टेसनतिर लागेछन् । तर, पिएलको पक्राउ खाइहाले । २००३ सालमा काठमाडौँ रवाना भए । जोगवनीले उनले पढ्न नपाएका मात्र हुन् । खाना पकाउन सिके, लुगा धुन सिके । रेल, मोटर, मिल, मजदुर हडताल । हिन्दी र बंगालीमा सामान्य बोलचाल गर्ने भए । जीवनको प्रथम पाठशाला त्यही भयो ।
काठमाडौँ आएपछि डेढ वर्षसम्म प्राइभेट पढे उनले । मथुराप्रसाद नेपाल थिए होम ट्युटर । गुरुले पाठ दिने, भोलिपल्ट छोपेर सुनाउने । दिनभरि घरको झ्यालमा बसेर ‘आरएटी ¥याट, ¥याट माने मुसो, सीएटी क्याट, क्याट माने बिरालो’ भट्याइरहन्थे । मान्छेहरु जिस्काउँथे, ‘¥याट माने मुसो कहाँ पुग्यो ?’ उनी पनि छिल्लिन्थे, ‘अब त टाइगर माने बाघको पेटमा पुगिसक्यो ।’
त्यतिबेला काठमाडौँमा दुइटा स्कुल थिए । दरबार हाइस्कुल र जुद्धोदय । दरबारमा फी नलाग्ने, जुद्धोदयमा फी लाग्ने । उनले दरबार हाइस्कुलमा सात क्लासको जाँच दिए । फेल भएपछि पश्चिम पहाडतिर भागे ।
२००५ पुसको प्रसंग हो यो । भागेकै रात बालाजुमा पाँच, ६ वटा घरबाट १० मोहोर बाटोखर्च उठाएर नुवाकोट, धादिङ हुँदै गोरखा पुगे । आँखु खोला पश्चिमको साल्दुङ सिंखडा गाउँमा नौ महिना पढाएर १४ वर्षको उमेरमा लागेछन् कानपुर, भारत ।
कानपुरमा सबभन्दा ठूलो मिलमा गएर नोकरी मागे तर गार्डले अर्कै बंगलातिर सोझ्याइदियो । संयोगवश आरएस (रामाशंकर) नारायणको घरमा पुगेछन् । दुई महिनापछि उनको तलब डबल भएर भारु २० पुग्यो । तर, उनले भने, ‘भाईजी मुझे तलब नहीँ चाहिए, मै पढना चहता हुँ । हो सक्ता है तो कोइए अफिसमे काम लगादो । मै दिनमै काम करुंगा, रातमे स्कुल पढुंगा ।’ नारायणपत्नी उनलाई ‘प्रसाद’ भनेर बोलाउँथिन् ।
विडम्बना के भने अन्तर्वार्ताको मिति आइपुग्दासम्म मार्कसिट आइपुगेन । उनीसँग थियो केवल टेलिग्राम । अन्तर्वार्तामा सोधियो, ‘मेडिसिन पढ्न नपाए के गर्छस् ?’ ‘अर्को वर्ष फेरि आउँछु ।’ ‘अर्को वर्ष पनि पाइनस् भने ?’ ‘म बूढो भएको छैन । वकिल पनि हुन सक्छु । लेखापाल हुन सक्छु । प्राध्यापक हुन सक्छु ।’
यसरी सज्जन नारायणले पढ्ने ढोका खोलिदिए । गुरुनारायण खत्री (जिएनके) इन्टर कलेजले अंग्रेजी, गणित र विज्ञान विषयको प्रवेश परीक्षा लियो । नारायणले प्रिन्सिपललाई भनसुन गरिदिए । मास्टरले ठीक छ भनेर सिफारिस गरे । काठमाडौँमा तीन घन्टा लेख्दा पनि सात क्लास पास नभएका शंकरले कानपुरमा सोधेका प्रश्नका जवाफै नदिईकन आठ कक्षामा भर्ना पाए ।
हाइस्कुल पढ्न थालेपछि नारायणको घरमा उनलाई ‘नोकर’ होइन ‘सहयोगी’ भन्न थालियो । उनको काम भान्सामा सघाउने अनि अखबार पढेर सुनाउने । चार वर्ष बस्दा त छोराजस्तो भए । एक दिन वृद्ध मास्टरले भने, ‘तिमी इज्जतदार परिवारबाट भागेर आएजस्ता छौ । घरमा बाआमा रोइरहेका होलान् । परिवारलाई चिठी लेखेर पठाऊ ।’
अब पत्र कसलाई पठाउने ? आमालाई पठाउँ त पहाडमा हुलाकै छैन । दाइलाई काठमाडौँ पठाउँ त डेरा सरिरहने । बुबालाई पठाउँ त विवाह गरेर नत्थी लगाइदेलान् भन्ने डर । बरु पिएलकहाँ जागवनी पठाइदिए । तिनैमार्फत बुबा आइपुगे । शंकरका बाबु मेदिनीप्रसादले सोधेछन्, ‘काइँला, म्याट्रिक सकेपछि के पढ्छस् ?’ ‘बिए, बिएल पढ्छु ।’
‘काइँला, साइन्स पढेर डाक्टर बन्नुपर्छ है ।’
‘डाक्टर बन्न त धेरै खर्च लाग्छ, काम गरेर साइन्स पढ्न सकिन्न ।’ ‘तँ मलाई गरिब सम्झन्छस् ? म जति खर्च लागे पनि पढाउँछु ।’
बाबुको सपनाबमोजिम शंकर लखनउको डिएभी कलेजमा आइएस्सी पढ्न थाले । त्यहाँ पनि नारायण परिवारले जस्तै सुव्रण्यम स्वामीले सघाए । २०११ सालमा पहिलो वर्ष सकिएपछि सिमराबाट २३ रुपियाँ भाडा तिरेर पिलाटस पोर्टर प्लेनमा काठमाडौँ उनी आएको सम्झिन्छन् । दोस्रो वर्षको परीक्षा सकिएपछि शंकर आफ्नो साथीलाई रोल नम्बर र काठमाडौँको ठेगाना टिपाएर हिँडे । साथीलाई उनले भनेका थिए, ‘रिजल्ट निक्लनेबित्तिकै टेलिग्राम र मार्कसिट पठाइदिनू ।’
केही महिनापछि सेकेन्ड डिभिजनमा पास भएको टेलिग्राम आइपुग्यो । त्यति नै बेला मेडिसिन पढ्नका लागि कोलम्बो प्लान छात्रवृत्तिको फाराम खुल्यो । ललितपुरका मेजिस्ट्रेट बद्रीप्रसाद थपलियाले विदेश सचिव, मेडिकल डाइरेक्टर, शिक्षासचिवसम्म पुगेर उनको सिफारिस गरे । विडम्बना के भने अन्तर्वार्ताको मिति आइपुग्दासम्म मार्कसिट आइपुगेन । उनीसँग थियो केवल टेलिग्राम । अन्तर्वार्तामा सोधियो, ‘मेडिसिन पढ्न नपाए के गर्छस् ?’
‘अर्को वर्ष फेरि आउँछु ।’ ‘अर्को वर्ष पनि पाइनस् भने ?’ ‘म बूढो भएको छैन । वकिल पनि हुन सक्छु । लेखापाल हुन सक्छु । प्राध्यापक हुन सक्छु ।’
मेडिसिन पढ्ने लिस्टमा उनले आफ्नो नाम देखेनन् । पछि शिक्षा मन्त्रालयले सूची सच्चायो । सूचीमा पहाडको विद्यार्थी नपरेकाले उनले चान्स पाएछन् । एक त सेकेन्ड डिभिजन ल्याएको, त्यसमाथि मार्कसिट नै नभए पनि कोलम्बो प्लानमा छनोट भएपछि शंकरले संकल्प गरे, ‘हे कृष्ण भगवान्, मैले नपाउने चिज पाएँ । म एमबिबिएसभन्दा ज्यादा पढ्दिनँ । म गाउँमै बसेर ५० वर्ष सेवा गर्छु ।’
हाइस्कुल पढ्न थालेपछि नारायणको घरमा उनलाई ‘नोकर’ होइन ‘सहयोगी’ भन्न थालियो । उनको काम भान्सामा सघाउने अनि अखबार पढेर सुनाउने । चार वर्ष बस्दा त छोराजस्तो भए ।
अन्ततः शंकरको जयपुर, राजस्थानको सरदार मानसिंह मेडिकल कलेज (एसएमएस) मा एमबिबिएस पढ्ने पक्का भयो । त्यसपछि भारतीय दूतावासबाट बाटोखर्च लिएर सीधै गए लखनउ । मार्कसिट लिएर नीमको रुखमा मयूर कराउने सहर जयपुर पुगे । एसएमएसका प्रोफेसरले सोधे उनलाई, ‘फस्र्ट डिभिजनवाला कोही थिएनन् ?’
एमबिबिएस सकियो २०१८ सालमा । एसएमएसका प्रिन्सिपल डा. कासरीवालले शंकरलाई एमडी या एमएस गर्न चाहे सघाउने बताएका थिए । तर, उनले थप नपढ्ने, गाउँमै फर्किएर सेवा गर्ने धारणा राखे ।
यसरी २०१२ सालमा कोलम्बो प्लानमा मेडिसिन पढ्न गएकामध्ये स्वास्थ्य विभागको सम्पर्कमा आउने पहिलो डाक्टर भए शंकर । डाइरेक्टर डा. दिनेशानन्द वैद्यले भने, ‘कैलाली अस्पताल खाली छ । त्यहाँ जाने ?’
कैलाली जिल्ला अस्पताललाई ‘कालापानी’ भनिन्थ्यो त्यतिबेला । जंगलको बीचमा रहेको अस्पतालमा गएका एक जना गिरी डाक्टर एक महिना पनि बस्न सकेनछन् । उनले वैद्यलाई आफू नभाग्ने वचन दिए । यसरी उनको पहिलो नियुक्ति भयो मेडिकल अफिसरका रुपमा ।
कैलालीमा डगौरा थारु ज्यादा । संयुक्त परिवारमा ७० जनासम्म बस्ने । तर, डाक्टरभन्दा गुरुबाको भर पर्ने । आफू जानासाथ अस्पतालमा उनले थुप्रै काम गरे । एक थारुको पिसाब थैलीको पत्थरी निकालिदिए । खुँडेका ओठ सिलाइदिए । स्यालले टोकेकालाई रेबिजको निशुल्क भ्याक्सिन दिए ।
उनले ६ वर्ष बिताए त्यहाँ । अरुको १०, १२ वर्षमा बढुवा हुन्न, उनको पाँच वर्षमै त्यो पनि पहिलो नम्बरमा पदोन्नति भयो सेकेन्ड क्लासमा । २०२३ सालमा उनलाई नयाँ स्वास्थ्य मन्त्री डा. त्रिवेणी श्रेष्ठले हप्काए ।
त्यतिबेला उनी दुई महिनाको घरबिदाबाट भरखर अस्पताल फर्किएका थिए । अस्पतालमा बिरामी रहेनछन् । मन्त्रीले सोधे, ‘बिरामी किन भर्ना नगरेको ?’ उनले ठाडै भने, ‘मन्त्री आउँछन् भनेर देखाउनकै लागि बिरामी नभएका मान्छेलाई भर्ना गर्ने त ?’
त्यसको केही दिनमै उनको हुम्ला सरुवा भयो । तर, उनलाई झापा पुगेर आफ्नो संकल्प पूरा गर्नु थियो । त्यसैले राजीनामा पठाए । पछि उनको हुम्ला सरुवा बदर भयो । जागिर नछोडोस् भन्ने बुबाको इच्छा अनुसार उनी भोजपुर गए २०२४ सालमा । त्यहाँ ठेकेदारको विवादले अधुरो रहेको जिल्ला अस्पताल भवन निर्माण सम्पन्न गराए ।
महिला स्वास्थ्य र जनसंख्या नियन्त्रणमा उनको जोड रह्यो । थुप्रै महिलालाई लुप लगाइदिए । धेरैजनाको प्रसूति गराए । धेरै अस्पतालमै, केहीको घरमै । सबभन्दा पहिले चार सन्तानका बाबु भइसकेका आफ्नै अफिसका पिउनको भ्यासेक्टोमी गराए । २४ वर्षदेखि ६५ वर्षसम्मका पुरुषको भ्यासेक्टोमी गराए उनले । पछि स्वास्थ्य विभागको रिपोर्टमा भ्यासेक्टोमी गराउनेमा पहिलो नम्बर काठमाडौँमा आयो भने दोस्रोमा भोजपुर ।
डेढ वर्ष भोजपुर बसेर उनले फेरि राजीनामा पठाए । विभागले हेटौँडा अस्पतालमा सिनियर मेडिकल अफिसरका रुपमा हाजिर हुन भन्यो । उनले नमानेपछि भद्रपुर अस्पतालमा काम गर्न भन्यो । तर, उनले झापामा स्वतन्त्र रुपमा सेवा गर्न चाहे ।
सुरुमा झापाको दुर्गापुर बसेर ग्रामीण क्षेत्रका किसान, मजदुर र गरिबको उपचार गरे उनले । २०२७ चैत २८ देखि २०६८ असार १४ सम्म शनिश्चरेमै बसे । दस कट्ठा जमिनमा रहेको घरमै थियो, उनको क्लिनिक । साइनबोर्ड पनि टाँगेका थिएनन् । कसैले आफैँ लेखिदिएको थियो भित्तामा डा. शंकरप्रसाद उप्रेती ।
गरिबहरु श्रीमती लिएर सुत्केरी गराउन आउँदा उनी भाले किनेर खुवाउन डाक्टर फिस नै फिर्ता गरिदिन्थे । उनले आफ्नो ढोकामा कहिल्यै ताल्चा लगाएनन् । बिरामी जतिखेर पनि स्वागत । कहिलेकाहीँ त २० घन्टासम्म खटिन्थे निरन्तर ।
आफू काठमाडौँ जाने भएपछि उनले भान्जा विशाल शिवाकोटीलाई भनेका थिए, ‘यो घर भाडामा लगाऊ या बेच ।’ भान्जाले बेचेनन् । भाडामा पनि लगाएनन् । बरु शंकर हस्पिटल एन्ड रिसर्च सेन्टरको बोर्ड लगाएर अस्पताल चलाएका छन् । शंकरले शनिश्चरेमा मेडिकल प्राक्टिस गर्दा अर्थात् २०३० को दशकमा झापा जिल्लामा दुई डाक्टर थिए । एक जना भद्रपुर अस्पतालमा ऋषिकेश डाक्टर थिए, अर्का उनी आफैँ । पछि सिलिगुडीका टिबी विशेषज्ञ माइकल सिन्हा भनिने कालु डाक्टर शनिश्चरेमै आए । तर, केही समयमै विर्तामोड सरे ।
झापामा शंकर डाक्टरलाई ‘डेलिभरी डाक्टर’का रुपमा चिन्छन् । साँच्चै भन्ने हो भने उनको क्लिनिकमा एक्सरे मेसिन समेत थिएन । तर, झापाको उत्तरी क्षेत्रदेखि इलामको दक्षिणी भेगका महिला डेलिभरी गर्न आउँथे । हुनेसँग फी लिन्थे, नहुनेलाई सित्तैमा उपचार गरिदिन्थे । तीन रुपियाँबाट सुरु भएको उनको फी १० रुपियाँभन्दा बढी कहिल्यै भएन ।
गरिबहरु श्रीमती लिएर सुत्केरी गराउन आउँदा उनी भाले किनेर खुवाउन डाक्टर फिस नै फिर्ता गरिदिन्थे । उनले आफ्नो ढोकामा कहिल्यै ताल्चा लगाएनन् । बिरामी जतिखेर पनि स्वागत । कहिलेकाहीँ त २० घन्टासम्म खटिन्थे निरन्तर । कतिपय ट्रकभरि मान्छे लिएर आउँथे व्यथा लागेकी महिलासँग । मरिहाले सद्गति माईमै गरेर जाने भनेर सेतो कपडासहित आउँथे । त्यस्तो थियो प्रसूतिको अवस्था । लामो प्राक्टिसक क्रममा पाठेघरमा तेस्रो परेर हात निस्केको शिशुसहित २०, २२ वर्षकी महिला ल्याइयो । उनले विराटनगर लैजान भने पनि परिवारले मानेन । आमा र बच्चा दुवैको ज्यान गयो ।
कुनै कुनै परिवारका तीन पुस्ता सासू, बुहारी र नातिनीको प्रसूति गराएका छन् उनले । उनलाई यस्तो थाहा पाउँदा लाग्थ्यो, म बूढो भएछु । उसो त शंकर सामान्य एमबिबिएस हुन्, उनले गाइनोकोलोजीमा विशेषज्ञता लिएका होइनन् । आखिर सुत्केरी गराउनेमा कसरी सिपालु भए त ? एमबिबिएस पढ्दा नै गाइनोकोलोजीमा ६ महिना अतिरिक्त मिहिनेत गरेका थिए त्यतिबेला । इन्टर्नसिपमा कम्तीमा ५० जनाको सुत्केरी गराउनु पथ्र्यो । जयपुर सानो आवादीको सहर, सबै विद्यार्थीले सुत्केरी नै नपाउने । त्यसैले उनी मुम्बई जान समेत तयार भए । उनले जयपुरमै साथीको साटो पनि आफैँ काम गर्थे । त्यहीँ नवजात शिशुलाई नुहाउने, नाल काट्ने, साल निकाल्ने, जनेन्द्रीय सिलाउने काम गरे । यति गर्दा पनि फेल भएकाले थप ६ महिना इन्टर्नसिप गरे ।
शंकर अपरेसन थिएटर, सर्जिकल कम्पाउन्डर, मेडिसिन, गाइनो वार्डमा २४ सै घन्टा बसिदिन्थे । नर्सलाई सोधेर दिक्कै लगाउँथे । एक अधबैँसे नर्सले झर्किएर भनेकी थिइन्, ‘यू विल नट बी अ डक्टर, यू विल बी अ कम्पाउन्डर ।’ हुन पनि अरु डाक्टरले कहिल्यै त्यसरी प्रश्न गरेका थिएनन् नर्सलाई । उनले भनिरहे, ‘म त गाउँमा जाने हो, त्यहाँ मेरा सहयोगी पनि हुँदैनन्, सिनियर पनि हुँदैनन् । एक्लै काम गर्ने हो । सिक्नेजति यहीँ सिक्नुपर्छ ।’
पूर्व–पश्चिम राजमार्गको ठेक्का एचसिसी नामक हिन्दुस्थानी कम्पनीले लिएको थियो । हजारौँ कामदारको विशेषज्ञसरह उपचार गरे उनले । त्यसमा त्यही ज्ञानले काम दियो । ती कामदारको उपचार गर्दा उनले महिनाकै पाँच, ६ हजार कमाए त्यतिबेला ।
जयपुर बस्दा नै बीपीलाई भेटेका उनलाई कांग्रेसको राजनीतिमा चस्का लागिसकेको थियो । धनगढी बस्दा अझ बाक्लियो । संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाको पक्ष लिए । तर, राजनीतिलाई ढोंग देखाएर धन कमाउने र चुनाव लडेर मन्त्री हुँला भन्ने सोच उनले राखेनन् । बरु राजनीतिक जीवनमा उनी दुईपटक जेल परे । २०४२ को जनजागरण अभियानका क्रममा रामबाबु प्रसाईंसँग २० दिन अनि २०४६ सालको जनआन्दोलनमा दुई महिना । बीपी कोइरालाको आदर्श बाकेका शंकरले झापा कांग्रेसको जिल्ला सदस्य र महासमिति सदस्य भएर काम गरे । ०४८ सालमा प्रतिनिधिसभाको टिकट दिँदा पनि लिएनन् ।
दुई वर्षपछि कांग्रेसले पूर्वाञ्चल विकास क्षेत्रबाट राष्ट्रियसभाका उम्मेदवार बनायो र निर्विरोध पनि भए । संसदीय दलको बैठक देखेर उनलाई ताजुब लाग्यो । सांसदहरु बोल्ने, मन्त्री कहिल्यै जवाफ नदिने । उनले भने, ‘के हामी मिठाई खान मात्र आएका हौँ ?’ भ्रष्टाचारको कुरा उठाउँदा सांसदले जिब्रो टोके । उनले बीचमै राजीनामा दिन लाग्दा नेताहरुले रोके ।
नेपाली कांग्रेसको कलबलगुडी महाधिवेशन (२०४८) मै जनसंख्या नियन्त्रणका बारेमा पार्टीको विधानमै समावेश राख्नुपर्ने पहिलो आवाज उठाए उनले । त्यसका लागि जनसंख्या मन्त्रालय गठन गर्नुपर्ने उनको भनाइ थियो । सभापति कृष्णप्रसाद भट्टराईले मजाक गरे, ‘सबै प्रतिनिधि होसियार हुनु होला । डा. शंकरले सबैको नसच्छेदन गर्ने भयो ।’
अहिलेको डाक्टरी पेसा बिजिनेस भइसकेजस्तो लाग्छ उनलाई । लाखौँ बुझाएर बनेका डाक्टरको अन्तस्करणमा सेवाको भावना छैन । एकपटक उनी कानको समस्या लिएर डाक्टरकहाँ पुगेछन् । युवा डाक्टरले ‘दबाई हालेर आउनोस् अनि हेरौँला’ भनेर पठाइदिएछन् । त्यसपछि उनी त्यो डाक्टरकहाँ फर्किएर गएनन् ।
त्यसो त २०४८ देखि ०५६ सम्म उनले नेपाल परिवार नियोजन संघमा रहेर काम गरे । विदेशी संसदमा गएर सम्बोधन गरे । राष्ट्रिय सभाको शून्य समयमा उनले ‘दम्पतीको अनुरोधमा दुई महिनासम्मको गर्भपतन गराउँदै आएको’ बताएर हंगामा मच्चाए । उनले गर्भपतनसम्बन्धी कानुन माग गरेपछि सांसद सुवासचन्द्र नेम्बाङले सोधेछन्, ‘तपाईंलाई गैरकानुनी काम गरेकामा कानुन लाग्दैन ?’ उनले हाकाहाकी भने, ‘सत्य बोल्दा कानुन लाग्छ भने लागोस् । म स्वीकार्छु ।’
२०५६ मा पदावधि सकिएपछि झापा फर्किएर मेडिकल प्राक्टिसलाई निरन्तरता दिए । उनलाई डाक्टरी पेसा पवित्र सेवाजस्तो लाग्छ । केटाकेटी देखेपछि काखमा लिइहाल्छन् । कतिपय त उनको प्यान्ट भिजाएर जान्छन् । सबैलाई आमा, दाजु, भाउजु, बहिनीको साइनो लगाउँछन् । साइनो लगाएर बोल्दा धेरै फरक हुने उनको अनुभव छ ।
अहिलेको डाक्टरी पेसा बिजिनेस भइसकेजस्तो लाग्छ उनलाई । लाखौँ बुझाएर बनेका डाक्टरको अन्तस्करणमा सेवाको भावना छैन । एकपटक उनी कानको समस्या लिएर डाक्टरकहाँ पुगेछन् । युवा डाक्टरले ‘दबाई हालेर आउनोस् अनि हेरौँला’ भनेर पठाइदिएछन् । त्यसपछि उनी त्यो डाक्टरकहाँ फर्किएर गएनन् ।
एमबिबिएस चौथो वर्ष पढ्दा उनले नेपाली परिवार भेटेछन् जयपुरमा । काठमाडौँबाट गोरखा हुँदै दोस्रो विश्वयुद्धताका बर्मासम्म पुगेको देहरादुनको चन्दनसिंह रावत परिवार । घरमा आउजाउ बाक्लिँदै जाँदा जयपुर विश्वविद्यालयबाट हिन्दी भाषामा एमए गरेकी त्यही घरकी दुब्लीपातली कन्या महेश्वरीसँग आधा हिन्दी मिसिएको नेपाली बोलीमा बातचित हुन थाल्यो । बिस्तारै उनको हित्तचित्त मिल्यो । एक दिन उनले महेश्वरीलाई जाँच्ने हिसाबले भनेछन्, ‘नेपालमा पानी, बिजुली, बाटो केही छैन ।’ महेश्वरीले उल्टै भनिन्, ‘म पनि तिमीजस्तै मान्छे हुँ । तिमी सक्छौ भने म किन सक्दिन ?’
तिनै कन्यासँग आर्य समाजी बिहे भयो जयपुरमै । महेश्वरी उनीसँगै झापा आइन् । क्लिनिकमा पेट जाँच्ने, डेलिभरी गराउने उनै हुन्थिन् । बच्चा सीधा छ वा उल्टो या तेर्सो, पेट छामेरै पत्ता लगाउँथिन् । महिलाहरु स्टेथेस्कोप नलगाए पनि महेश्वरीलाई भन्थे, ‘डाक्टर्नी साब, मेरो पेट हेरिदिनुप¥यो ।’
तिनै महेश्वरी अल्जाइमर रोगले थला परेर २०७० पुस २१ मा परमधाम भइन् । अल्जाइमर्सको कुनै दबाई छैन । डा. शंकरको आखिरी इच्छा थियो, ‘महेश्वरीभन्दा पहिले मैले लोक छोड्नु नपरोस् । उनी बाँचुन्जेल सेवासुश्रुषा गर्न पाऊँ ।’
यी डाक्टर जहिल्यै दुई सन्तानका पक्षमा छन् । छोरा हुन् वा छोरी । त्यही सूत्रका कारण आफ्ना दाजु, भिनाजुका पनि आफैँले भ्यासेक्टोमी गरिदिए । अझ उनको त एउटै सन्तान छन्, सञ्जीव । छोरा र बुहारी अर्चना थापा दुवै पिएचडी डाक्टर हुन् । दुई नातिनी सृष्टि र स्वस्ति पनि पढाइका लागि विदेशमा छन् ।
डा. शंकरमा जेनेटिक साइन्स र अध्यात्मको फ्युजन छ । उनी श्याम चैतन्य बाबाका चेला हुन् । उनलाई विश्वास छ, सिद्ध पुरुषहरु ध्यानमा संसार विचरण गर्छन् र भक्तहरुलाई दर्शन दिन्छन् । झनक्क रिसाउने, तत्काल ठन्डा भइहाल्ने अनि रिस देखाएकालाई फेरि माया गर्ने गुण छ उनमा । उनी यसलाई पैत्रिक सम्पत्ति मान्छन् ।
उनलाई सिगरेटको अम्मली बनाउने आफ्नै गुरु डा. सोगानी हुन् । सुरुमा उनलाई एक कस तान भने । एक कस तान्दातान्दै उनी चेनस्मोकर बने । गुरुले छाडे कि छाडेनन्, तर उनले गुरुले सिकाएको विद्या त्याग्न सकेका छैनन् ।
बुहारी अर्चनाका भनाइमा डा. शंकर बिरामीले विश्वास गरेका डाक्टर हुन् । त्यसैले हात समात्दैमा बिरामी ठीक हुन्छन् । समयको मानेमा आर्मीजस्तो छन् । कठोर किसिमको बाल्यकाल र आफ्नो पेसामा एकोहारो भएर लागेकाले उनमा अन्य रुचि छैनन् । ‘अर्काको घरमा भाँडा माझेर, भात पकाएर बसेको मान्छे । भगवान्ले डाक्टर बनाएर बेरोकटोक ५० वर्ष गाउँमा बसेर सेवा दिने हैसियत बनाइदिए,’ उनी भन्छन्, ‘मैले आफ्नो प्रतिज्ञा पूरा गरेँ । यसमा मलाई सन्तोष छ ।’