Breaking News

गलत कार्यविरुद्ध लडिरहेकी प्रहरी अफिसर पूर्णिमा के चन्द्रको चर्चा

Feb Tue 2020 05:40:39

331 views

गलत कार्यविरुद्ध लडिरहेकी प्रहरी अफिसर पूर्णिमा के चन्द्रको चर्चा

जिम्मेवारी बोध र इच्छाशक्ति भए जहाँ पनि राम्रो काम गर्न सम्भव छ । त्यसैको उदाहरण बनेकी छन् काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्क प्रहरी प्रभाग प्रखुम पूर्णिमा कुमारी चन्द ।   उनी बसपार्क क्षेत्रमा हुने गलत कार्यविरुद्ध लडिरहेकी छन् । बसपार्कस्थित प्रहरी प्रभागको जिम्मेवारी समालेपछि प्रहरी निरीक्षक चन्दको प्राथमिकतामा बसपार्क क्षेत्रमा राति हुन्ने हल्ला, सार्वजनिक रुपमा हुने मदिरापान र धुम्रपान, खुला रुपमा सञ्चालनमा आएका क्याबिन रेस्टुरेन्ट, डर, धम्की, लागु औषधको कारोबार, मानव तस्करी, रात्रीकालिन व्यवसायको नाममा हुने गलत धन्दा, अव्यस्थित रुपमा गरिने सवारी साधन पार्किङ परे ।

कालिमाटीस्थित महिला प्रहरी सेलमा रहँदा राम्रो काम गरेर चर्चा कमाएकी चन्दले आफ्नो प्राथमिकतालाई कडाईपूर्वक कार्यान्वयनमा लगेपछि खराब सोच राख्नेहरु सल्बलाइरहेका छन् । तापनि उनले आफ्नो सुधार अभियानलाई रोकेकी छैनन् ।   यहाँको जिम्मेवारी लिएर आउनेलाई व्यवसायको नाममा गलत कार्य गर्नेहरुले प्रभावमा पार्दै आएजस्तै सुरुका दिनमा चन्दलाई पनि प्रभावमा पार्ने प्रयास नगरेका होइनन्, तर प्रयास विफल भएपछि त्यही समूह संगठित रुपमा विरोधमा लागेको छ ।

 बसपार्क क्षेत्रमा राम्रो इमान्दारितापूर्वक व्यपार व्यवसाय गर्नेहरु चन्द बसपार्क प्रभागमा आएदेखि खुशी छन् । स्थानीयका अनुसार होटलमा बसेर लागु औषधदेखि मानव तस्करहरुको चहलपहलमा कमी आएको छ । बसपार्क क्षेत्रमा अवैध रुपमा सञ्चालन गरिएका क्याबिन रेस्टुरेन्ट बन्द भएका छन् । लुट धन्दाको नयाँ तरिकाको रुपमा विकसित भइरहेका करिब १ सय ५० त्यस्ता क्याबिनहरु सञ्चालनमा थिए । रात्रीकालिन व्यवसायको रुपमा लिइने दोहरी साँझ तथा बारमा हुने हल्ला नियन्त्रणको लागि निरीक्षक चन्दले विशेष अभियान नै चलाएकी छन् । दोहरी साँझ तथा बारलाई ‘साउण्ड प्रुफ’ गर्न भनेपछि मर्का परेको भन्दै केही व्यवसायीको समूह चन्दकै कार्यकक्षमा पुगेर विरोध समेत गरिरहेको प्रहरीले बताएको छ । समूहका केही मानिस  शक्तिकेन्द्र समेत धाइरहेका छन् ।

निरीक्षक चन्दले चालेका अर्को महत्वपूर्ण सुधारको काम हो धुम्रपान नियन्त्रण । बसपार्क क्षेत्रमा सार्वजनिक ठाउँमा धुम्रपान गर्न पूर्णरुपमा रोक लगाइएको छ । कसैले धुम्रपान गरेको भेटिएमा प्रहरीले नियन्त्रणमा लिएर सम्झाईबुझाई गरेर छाड्ने र सोही कसुर दोहोर्याइएमा जरिवाना गर्दै आइरहेकी छन् । यो अभियानपछि अहिले बसपार्क क्षेत्रको सार्वजनिक ठाउँमा मदिरापान र धुम्रपानमा निकै कमी आएको स्थानीयहरु बताउँछन् । निरीक्षक चन्दको कामप्रति स्थानीय मात्र नभई यातायात व्यवसायी र चालक, कर्मचारी पनि खुशी छन् ।

बस पार्कमा हुने अव्यवस्थित पार्किङ नियन्त्रणमा आएको छ । एक चालकका अनुसार अहिले बसपार्क निकै व्यवस्थित भएको छ ।   निरीक्षक चन्दको कार्यशैली सन्तोषजनक रहेको र सुरक्षा प्रबन्ध चुस्ता तुल्याउन आफूहरुले सक्दो सहयोग गर्ने स्थानीय अगुवाहरुले बताए । यस क्षेत्रमा चन्दको आगमनले शान्ति सुरक्षामा वृद्धि भइरहेको उनीहरुको भनाई छ ।   महिलाले पुरुष जति गर्न सक्दैनन् भन्ने सोच राख्नेहरुलाई चन्दले व्यवहारबाटै जवाफ दिएकी छन् । के महिला के पुरुष जसले जिम्मेवारी र कर्तव्यबोध गर्छ उसले राम्रो गर्न सक्छ भन्ने यो उदाहरण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?