Breaking News

एक किलो प्लास्टिकबाट ७ सय मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिने

Feb Tue 2020 05:40:20

654 views

एक किलो प्लास्टिकबाट ७ सय मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिने
तपाइँले एक पटक प्लास्टिकको सामग्री प्रयोग गरेर त्यसलाई फोहरमा फाल्ने गर्नुभएको छ? प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नु भएको छ? अब भने त्यसो नगर्नु होला किनकी सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने योजना अगाडि सारेको छ। निकट भविष्यमा नै नेपालमा प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिको विकास गरिन लागेको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रणाली जडान गर्ने कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ। फालिएका प्लास्टिकबाट पनि डिजेल निकाल्न सकिन्छ। नेपालमा यो प्रविधि नयाँ भएपनि संसारका विकसित मुलुकका लागि भने पूरानो हो।
नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याउने उद्देश्यका साथ आवश्यक उपकरण ल्याउने काम अन्तिम चरणमा पुगेको छ। सामान्यतः एक किलोग्राम प्लास्टिकबाट ७ सय मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिन्छ। नास्टका वैज्ञानिक डा रवीन्द्रप्रसाद ढकालका अनुसार सामान्य पानीको बोतल एक किलो प्रशोधन गर्दा सात सय मिलिटिर पेट्रोल उत्पादन हुन्छ भने सोही बोत्तलको बिर्को प्रयोग गर्दा आठ सय मिलिटरसम्म पेट्रोल उत्पादन हुन सक्छ।
विगतमा सरकारले प्रयास नगरेका कारण प्लास्टिकले वातावरण प्रदूषण गरेको भएपनि आगामी दिनमा नास्टले इन्धन निकाल्ने प्रविधि ल्याएपछि प्लास्टिक सार्वजनिक स्थानमा नफाल्न र पुनः प्रयोगका लागि सङ्कलन गर्न सकिन्छ। प्लास्टिकजन्य फोहर जलाउँदा निष्कासन हुने कार्बनडाइअक्साइड तथा फ्यूरानजस्ता विषाक्त ग्यासले क्यान्सरजन्य रोग निम्त्याउने, माटोको उर्वराशक्ति घटाउने, जमिनमा पानी रिचार्ज हुन नदिने, सहरको सौन्दर्य घटाउने, नाला तथा ढललाई जाम गरी वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले नजलाउन आग्रह गर्दै इन्धन निकाल्न प्रेरित गर्नुपर्ने छ।
काठमाडौँ महनागरपालिका वातावरण विभाग प्रमुख हरि कुँवरका अनुसार दैनिक काठमाडौँ उपत्यकामा एक हजार मेट्रिक टन फोहर उत्पादन हुन्छ। त्यसमा महानगरको मात्रै ५ सइ ५० टन फोहर उत्पादन हुन्छ। उत्पादित फोहर मध्ये २० प्रतिशतभन्दा बढी फहोरको मात्रा प्लास्टिक तथा प्लास्टिकजन्य हुन्छ। यस हिसाबले २० टन भन्दा बढी प्लास्टिकजन्य फोहर त काठमाडौँ उपत्यकाबाटै उत्पादन हुन सक्छ। “एक हजार किलो प्लास्टिकको फोहरबाट करिब ७ सय लिटर इन्धन उत्पादन गर्न सकिन्छ” डा ढकालले भने।
काठमाडौँ उपत्यकाबाट मात्रै दैनिक एक लाख ४० हजार लिटर पेट्रोल उत्पादन हुन्छ। विराटनगर, वीरगन्ज, नारायगढ, पोखरा, दाङ, नेपालगन्ज, महेन्द्रनगर जस्ता ठूला सहरबाट सङ्कलन हुने प्लास्टिकजन्य फोहरबाट पनि दैनिक तीन लाख लिटरभन्दा बढी इन्धन उत्पादन गर्न सकिने डा ढकालले बताए।
वातावरण विभाग प्रमुख कुँवर प्लास्टिकको फोहरबाट इन्धन निकाल्ने विषयमा महानगरमा छलफल भएको बताए। कुनै लगानीकर्ता आए आफूहरुले सङ्कलन गरेको प्लास्टिकजन्य फोहर इन्धन उत्पादनका लागि दिन सकिने उनको भनाइ रहेको छ। “महानगर आफैले पहल गरेको छैन, नास्टले अनुसन्धान गरिरहेको भए राम्रो भयो। त्यसले हामी सबैलाई प्रेरित गर्छ नै, नसड्ने फोहरलाई इन्धन बनाउन सके त त्यसले फोहर व्यवस्थापन पनि हुन्छ। विकल्प पनि तयार हुन्छ” कुँवरले भने।
भूकम्पपछि काठमाडौँ उपत्यकामा प्लास्टिकजन्य फोहर वृद्धि भएको थियो। भूकम्पपीडितका लागि राहत बाँड्न प्लास्टिकमा राखिएको सुक्खा खाना वितरण गरिएकाले प्लस्टिकजन्य फोहर अत्यधिक बढेको फोहरमैला व्यवस्थापन प्राविधिक केन्द्रको अध्ययनले देखाएको थियो। त्यसका आधारमा पनि पछिल्लो दिनमा प्लास्टिकजन्य फोहरको मात्रा बढेको अनुमान गर्न सकिन्छ।
काठमाडौँ उपत्यकामा उत्पादित फोहरमध्ये ६० प्रतिशत फोहर कुहिने हुन्छ। जसबाट प्राङ्गारिक मलको अर्को व्यवसाय गर्न पनि सकिन्छ भने २० प्रतिशत प्लास्टिकजन्य फोहर हुन्छ। केही पुनः पुनः प्रयोग गर्न सकिन्छ। प्लास्टिकजन्य फोहरबाट डिजल, पेट्रोल, मट्टीतेल उत्पादन गर्न सकिन्छ। प्लास्टिकबाट डिजल मात्रै निस्कन्छ भन्ने होइन भन्ने जानकारी दिँदै डा ढकाल विभिन्न उत्प्रेरक राखेर फर्नाइस तेल पनि उत्पादन गर्न सकिने बताए। व्यावसायिक उत्पादनका लागि सरकार र निजी क्षेत्रलाई मार्ग प्रशस्त गर्न नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याउन लागेको उनले बताए।
आगामी डेढ महिनाभित्र नास्टमा प्रयोगशाला स्थापना हुने डा ढकालले जानकारी दिए। दक्षिण अफ्रिका, अमेरिका, क्यानडा जस्ता मुलुकमा प्लास्टिकबाट व्यावसायिक रुपमा इन्धन उत्पादन गरिएको उनले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?