आर्य भन्नाले पुरेत्याइँ गर्ने बाहुन बुझिन्छ र संस्कृत भाषामा ब्राम्हण भनिन्छ । बाहुनको परिवारमा विधुवा वा कुमारी आमाबाट जन्मिएको सन्तानलाई जैसी भनिन्छ । त्यस्तै जनजाति, दलित र खस क्षेत्री महिलाबाट जन्मिएकालाई जात खसाई दिएर खत्री क्षेत्री बनाउने प्रचलन भेटिन्छ । खत्री क्षेत्रीका थरहरु बाहुनसँग मिल्ने अनगिन्ती रहेका हुन्छन् ।
खस क्षेत्री पश्चिम नेपालका खसान प्रदेशका आदिवासी जाति हुन । यस जातिलाई झर्रो क्षेत्री र खसान इलाकामा पावई खस पनि भन्ने गरिन्छ । यद्यपि खस जाति नेपालभर छरिएर रहेका छन् । खस क्षेत्रीका थरहरुः कार्की, कटुवाल, खड्का, बस्नेत, थापा, राउत, रावत, विष्ट, सिंजापति, डाँगी, बुढाथोकी, खाती, कुवँर, बोगटी, धामी, बानिया, रायमाझी, अरिरि, कठायत, खडायत, खाँड, बम, महतारा, महरा, बुढा, सेन, वर्मा, शाही आदि पाइन्छन् । यी उल्लेखित थरीहरु बाहुन हुँदैनन् ।
खस र आर्य अर्थात बाहुन र क्षेत्री एकै हुन भन्ने भ्रमहरु हुनसक्छन तर बाहुन र क्षेत्रीबीच कुटुम्बेरी चल्दैन । त्यसैबाट प्रष्ट हुन्छ यी दुई जाति ऐतिहासिक कालबाटै हरेक कोणमा बेग्लाबेग्लै हुन । त्यस्तै खस क्षेत्री र खत्री क्षेत्रीबीचको भिन्नतालाई पनि बुझ्न अनिवार्य हुन्छ । ‘क्षेत्री’लाई हिन्दीमा ‘क्षत्री’ लेख्ने गर्दछन् ।
को हुन खस ?
पश्चिम नेपालको खसान क्षेत्रमा आदिमकालदेखि बसोवास गर्दै आएका प्रकृति पुजक आदिवासी खस हुन । उनीहरु ‘मष्टो’ धर्म मान्दछन् । उनीहरुको पुजा गर्ने ठाँउलाई ‘थान’ भन्दछन र उनीहरुको प्राचीन भाषा ‘वाल्हीकी’ हो । उनीहरुको लिपिलाई ‘खरोष्टि’ भनिन्छ । खस राजाको दरबार जुम्लाको सिंजामा थियो । दक्षिण उत्तरप्रदेशको कन्नौजबाट आएका कान्यकुब्ज र मैथिली बाहुनहरुले खसहरुलाई हिन्दुकृत गरेका हुन् । खसहरुले सुंगुरको मासु खाने गरेको इतिहास पाइन्छ ।
खसहरु हिन्दु नभएकोले वर्णब्यवस्था मान्दैनन् । तर, जनै लगाई दिएर हिन्दुकरणमा परेसँगै क्षेत्री पदवी अन्ततः जातको रुपमा स्थापित हुन पुगेको हो । घरज्वाइँ बस्ने, जेठाले अलि बढी अंश पाउने प्रथा, मष्टोलाई बलि दिने देवाली पुजा, गोठपूजा, माघी मनाउने र टेकुवा वा नाठोको चलन खसका मौलिक संस्कृति हुन् ।
खस (क्षेत्री) जाति अहिले पनि नेपालको माथिल्लो निकायमा अत्यन्तै न्यून छन् । बाहुनसँग रङ्गरुप धेरै मिल्नाले जनजाति तथा मधेसीहरु आफूलाई शोषण गर्ने ठूलाबडा बाहुनसँगै क्षेत्रीलाई पनि जोडेर गाली गर्ने गर्छन् । वास्तवमा ठूलाबडा बाहुनबाट सबैभन्दा धेरै खस क्षेत्री शोषित छन् ।
१. आफ्नो स्थापित थरको नाम नै जात खसाइएको नाम ‘खत्री क्षेत्री’ मिसाई दिई क्षेत्री जाति सबै दोस्रो दर्जाका हुन भन्ने भ्रम छरी जातीय अन्यायमा पर्यो ।
२. खस (क्षेत्री) को जनसंख्या लगभग १८ % र आर्य (बाहुन) को जनसंख्या १२ % जोडेर राज्यवाट लिने अवसर र सुविधामा ३० % प्रतिशत लिने र त्यसमा सबैजसो बाहुनले मात्र उपभोग गरी खस (क्षेत्री)लाई पूर्ण शोषण गरेका छन् । त्यसै कारण संवैधानिक ब्यवस्थामा पनि ‘खस आर्य’ भनिएकोमा खस क्षेत्रीको असहमति र आपत्ति हो । खस र आर्य प्राचीन सभ्यता देखि नै विल्कुल भिन्नाभिन्नै हुन ।
पहिला झनै थोरै जनसख्या रहेका बाहुन र त्यसमा पनि एकाधले मात्र अन्य जातिको विवाह गरी ‘खत्री क्षेत्री’ बनेका कति होलान अनुमान गर्न सकिन्छ । त्यसैले पश्चिमदेखि पूर्वसम्म बसोबास गरेको पाइने सबैभन्दा ठूलो जनसंख्या भएका खस क्षेत्रीको सच्चा इतिहास र हैसियत खोज्न ‘खस क्षत्री एकता समाज’ क्रियाशील भएको देखिन्छ । क्षेत्री समुदायभित्रै यो चेतना छर्ने अभियानको क्रममा हाल ५ वटा भन्दा बढी ‘थान’ निर्माण भइरहेको कुरा पनि आएको छ ।
अन्य जातिहरु शोषित भनी घोषित छन् र सरकारबाट विशेष ब्यवस्था छ । तर, लामो समयदेखि हरेक हिसाबमा शोषित (धार्मिक, सांस्कृतिक, राजनीतिक, जातिगत र भौगोलिक रुपमा पीडित रहेका (हेर्नुहोसः कर्णालीको विकास) खस जाति अझै अघोषित छन् । त्यसैले उनीहरु पनि अनदेख्खा चरम शोषण र अतिक्रमणमा छन् । विडम्बना, केही खस युवाहरु आफै यसबारे अनभिज्ञ देखिन्छन् । अब खस युवाहरु स्वयं आफूमाथिको शोषणविरुद्धमा किन नउठ्ने ?
स्रोतः (१) वराल, इन्द्रबहादुर, खस जातिको मौलिक पहिचान र आर्य सभ्यता,
(फेसबुक पोष्ट: facebook.com/thaha.rajesh/posts/1308712192504063(1 Mar 16),
(२) पश्चिमेसियामा कस अर्थात खस जातिको विवरण चर्चित ज्ञानकोष, पृ ९६८, १५औ संस्करण सन् १९७३ ।
(३) योगी नरहरिनाथ, इतिहास प्रकाश, अंक २, भाग १, (वि.स. २०१३), पृ. १०९ र १४६ ।
(४) सिजापति, विपुल, को हुन खस ?, http://esamata.com/2015/history, (1 Mar 16)