Breaking News

जर्नेलको बयान : छत्रमानसिंह गुरुङको सैनिक जीवनयात्रा

Feb Tue 2020 05:40:40

312 views

जर्नेलको बयान : छत्रमानसिंह गुरुङको सैनिक जीवनयात्रा

सीताराम बराल

तनहुँ, पुलिमराङदेखि सुरु भएको छत्रमानसिंह गुरुङको जीवनयात्रा शशीभवन ( प्रधानसेनापति निवास)सम्म कसरी पुग्यो भन्ने प्रसंगबाट सुरु भएको छ आत्मकथा जनताको छोरो । गुरुङका पिताको ००७ को क्रान्तिमा संलग्नता र मुक्ति सेना हुँदै नेपाल प्रहरीको सब इन्स्पेक्टरसम्म बनेको तथ्यले उनी राजनीतिक–फौजी परिवारका रहेछन् भन्ने तथ्य थाहा हुन्छ । ०१७ को फौजी कूपछि प्रजातन्त्रवादीलाई सहयोग गरेकै कारण उनका पिताको पक्राउको वर्णन र कांग्रेसको सशस्त्र संघर्षको मूल्यांकन गर्ने क्रममा व्यक्त विचारले उनी लोकतन्त्रकै पक्षधर देखिन्छन् ।

गुरुङको जीवनको सबैभन्दा महत्त्वपूर्ण र रोचक पाटोचाहिँ ०६६ वैशाखको प्रधानसेनापति काण्ड र त्यस क्रममा रथीका हैसियतमा उनले खेलेको भूमिका हो । पुस्तकमा उनले उल्लेख गरेको तथ्यले तत्कालीन राष्ट्रपति रामवरण यादवले गर्दै आएका कतिपय दाबीलाई असत्य ठहर्‍याउँछन् । जस्तो : यादवले रुक्मांगद कटवाललाई हटाउने सरकारको निर्णय संविधानसम्मत नभएको र व्यवस्थापिका–संसद् का बहुमत दलको समर्थन पनि नरहेकाले आफूले कटवाललाई थमौतीको पत्र पठाएको दाबी गर्दै आएका छन् । तर, त्यस दिन राष्ट्रपति कार्यालय र गुरुङबीच पटक–पटक भएको संवादले फरक चित्र प्रस्तुत गर्छ । प्रधानसेनापति कटवाल बर्खास्त र पुन:बहाली भएको २० वैशाख ०६५ का दिन गुरुङ र राष्ट्रपति यादवका स्वकीय सचिव ललित बस्नेतबीच भएका फोन संवाद पढौँ : -राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतको फोन आयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिज्यूले त्यहाँ (जंगी अड्डा)को स्थिति के छ, राइट इन्फरमेसन के छ भनेर जान्न चाहनुभएको छ ।’ -ललित बस्नेतले फोनमा केही बेरमा फेरि फोन गर्नुभयो, ‘के छ, (सेना) तपार्इंकै कन्ट्रोलमा छ हैन त ?’ मैले भनेँ, ‘छ । हामी सबै मेरै अफिसमा छौँ । कुलबहादुर (खड्का)लाई भेट्न कोही गएको छैन ।’ -केही समयपछि फेरि ललित बस्नेतको फोन आयो । सोध्नुभयो, ‘राष्ट्रपतिज्यूले केही कदम चाल्नुभयो भने सेनाले थेग्न सक्छ कि सक्दैन ?’ मैले भनेँ, ‘सक्छ ।’ -केही बेरपछि ललित बस्नेतले मलाई फेरि फोन गर्दै भन्नुभयो, ‘हामी तपाईंमाथि भर परेका छौँ । सफल भएन भने राष्ट्रपतिज्यू नैतिक संकटमा पर्न सक्नुहुन्छ । मैले आश्वस्त तुल्याएँ, ‘हामी सक्छौँ ।’ फोनमा हरेक १५ मिनेटमा यस्ता कुरा भइरहे । अन्त्यमा अबेर राती ललित बस्नेतले भन्नुभयो, ‘राष्ट्रपतिबाट उहाँ ( कटवाल)लाई पत्र आउँछ ।’ (पृष्ठ १४० र १४१) यो तथ्यले तत्कालीन राष्ट्रपति यादवले जंगी अड्डाभित्रको शक्ति सन्तुलन हेरेर मात्र कदम चालेका रहेछन् भन्ने पुष्टि गरेको छ । यदि जंगी अड्डाभित्रको शक्ति सन्तुलन खड्काको पक्षमा भएको भए यादवले त्यो कदम चाल्ने रहेनछन् भन्ने गुरुङ–बस्नेतबीचको यो संवादबाट सहजै अनुमान गर्न सकिन्छ । माओवादी लडाकूहरूको समायोजन तथा लडाकू, हतियार र शिविर नेपाली सेना मातहत कसरी आएका थिए भन्ने कुराको भित्री पाटोसमेत पुस्तकमा छ । २८ चैत ०६८ मा सेना परिचालन गरी लडाकू, हतियार र शिविरहरू सेना मातहत ल्याइएको थियो । रातारात गोप्य रूपमा नेपाली सेना माओवादी लडाकूका शिविर वरिपरि घेरा हाल्न पुगेको कुरा पुस्तकमा उल्लेख छ । पूर्वप्रधानसेनापति कटवालले आफ्नो आत्मकथामार्फत गरेका कतिपय दाबीलाई गुरुङको आत्मकथाले खण्डनसमेत गरेको छ । जस्तो : दुई वर्षअघि प्रकाशित आत्मकथामा कटवालले गुरुङलाई प्रधानसेनापतिको जिम्मेवारी हस्तान्तरण गरेको तस्बिर राखेर भनेका छन्, ‘जन्मकालदेखि नै जनजातिसहित नेपालीको रगत पसिनाले बनेको नेपाली सेनाको नेतृत्व आधुनिक नेपालमा पहिलोपटक जनजाति जर्नेललाई हस्तान्तरण गर्न पाउनु अविस्मरणीय क्षण हो ।’ गुरुङका कुरा पत्याउने हो भनेचाहिँ कटवालले गुरुङलाई आफ्नो उत्तराधिकारीका रूपमा जिम्मेवारी हस्तान्तरण गर्न खोजेका थिएनन् भन्ने लाग्छ । गुरुङले आत्मकथामा के दाबी गरेका छन् भने रथी कुलबहादुर खड्काले अवकाश नपाउँदासम्म कटवालले उनको साथ खोजेका थिए । तर, जब ५ असार ०६६ मा खड्काले अवकाश पाए, त्यसपछि गुरुङप्रति कटवालको रवैया फरक देखिन थाल्यो । गुरुङमा नेतृत्व क्षमता नभएको बताउँदै आफ्नै पदावधि थप गर्न कटवाल लागे । कटवालको पदावधि थप नगरिदिएकामा पुस्तकमा गुरुङ तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालप्रति आभारी देखिन्छन् । यदि प्रधानसेनापतिमा खड्काले बाजी मारेका भए गुरुङ प्रधानसेनापति हुन सक्ने थिएनन् । त्यसैले त्यो प्रकरणपछि उनको त्यति राम्रो सम्बन्ध रहेन । तर, पुस्तक पढ्दा खड्का–गुरुङ सम्बन्धबारे एउटा रोचक प्रसंग भेटिन्छ । त्यो हो, क्याम्पस जीवनमा यी दुवै त्रिचन्द्र क्याम्पसमा सहपाठी मात्र थिएनन्, दुवै एउटै घरमा डेरावाल पनि थिए । चिनियाँ प्रधानमन्त्री वेन जिआबाओको ३० पुस ०६८ को नेपाल भ्रमण अघिल्लो दिनसम्म कसरी गोप्य राखिएको थियो भन्ने कुराको रोचक विवरण पनि पुस्तकमा छ । र, त्यस क्रममा सिंहदरबारमा आयोजना गरिएको भोजमा आफू बस्ने सिटको व्यवस्थापन नगरी कसरी आफ्नो अपमान गरियो भन्ने सन्दर्भ पनि उल्लेख गरेका छन् । गुरुङले आफू प्रधानसेनापति हुँदाका घटनाबारे जे जति विवरण दिएका छन्, अधिकांश सार्वजनिक भइसकेका विषयवस्तु हुन् । बरू, ०६७ चैतमा अकस्मात् भएको चिनियाँ राजदूत क्यु गोहोङको फिर्ती प्रकरणबारे अहिलेसम्म सार्वजनिक नभएको नयाँ तथ्यको उद्घाटन गरेका छन् । नेपाली सेनाले प्राप्त चिनियाँ सहयोगबाट सैनिक अस्पतालको ओपीडी भवन बनाउने कि मेडिकल उपकरण उपलब्ध गराउने भन्ने विषयमा नेपाली सेना र चीनबीच देखिएको मतभेदका कारण गोहोङ फिर्ता बोलाइएका रहेछन् । पुस्तकमा उल्लेख भए अनुसार चीनको प्रस्ताव ओपीडी भवन बनाइदिने भन्ने थियो भने प्रधानसेनापति गुरुङले मेडिकल उपकरणमा जोड गरेका थिए । यदि ओपीडी भवन बनाउने सहयोग स्वीकार नगरे आफू फिर्ता हुनुपर्ने स्थिति आइपर्ने जानकारी गुरुङलाई गराएका थिए, राजदूत गोहोङले । जब चिनियाँ जनमुक्ति सेनाका प्रमुख चे विङ्देको नेपाल भ्रमण (९–११ चैत ०६७) भयो, त्यस क्रममा नेपाली सेनाको जोडबमोजिम नै मेडिकल उपकरणलगायत विकास निर्माण उपकरणको सम्झौता हुन पुग्यो, चीनको चाहना अनुसार ओपीडी भवनका लागि होइन । विङ्दे ११ चैतमा फर्के, त्यसको भोलिपल्ट १२ चैतमा राजदूत गोहोङले गुरुङसँग भेट गर्न चाहे । गोहोङ सैनिक सहचारीका साथ छत्रमानलाई भेट्न पुगेका थिए । गोहोङ भेट्न आउने भएपछि गुरुङलाई के लागेको रहेछ भने जनरल विङ्देको भ्रमणबारे जानकारी दिन गोहोङ आउन लागेका हुन् । तर, भेटपछि गुरुङ छक्क परे । राजदूत गुरुङसँग भन्छन्, ‘मलाई कलब्याक भयो । म भोलि नै फर्कंदैछु । गुडबाइ भन्न आएको हुँ ।’ आफूलाई चीन सरकारले फिर्ता बोलाएको भन्दै गुरुङसँग बिदा माग्न पो जंगी अड्डा पुगेका रहेछन् । गुरुङको आत्मकथामा जताततै खड्कने कमजोरी के भने आफूले उठाएको विषयवस्तु र तथ्यबारे उनले कहीँ पनि कुरा छिचोलेर पाठकलाई सन्तुष्ट पार्ने गरी विवरण दिएका छैनन् । जस्तो : चीनले ओपीडी भवन नै बनाउन किन चाहेको थियो र त्यो हुन नसक्दा किन राजदूत फिर्ता गराइयो ? सेनाको आवश्यकताबमोजिम मेडिकल उपकरणको साटो भवन बनाउनमा किन चीनले जोड गर्‍यो ? यसको कारण खुलस्त रूपमा राख्न गुरुङ चुकेका छन् । यसै गरी माओवादी लडाकू, हतियार र क्यान्टोनमेन्टलाई सेनाको मातहत ल्याइएको दिन (२८ चैत ०६८) प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई भनेको कुरालाई गुरुङले पुस्तकमा यसरी उद्धृत गरेका छन्, ‘शिविरहरूमा हतियारका कन्टेनर आदिको सुरक्षाको विषय निकै गम्भीर भई राखेको सूचना आइराखेको छ । चाँडै नै....गर्नुपर्ला जस्तो छ ।’ (पृष्ठ २७६) यति कुरा उल्लेख गरिसकेपछि भट्टराई चाँडै नै के गर्न चाहन्थे र त्यो गरियो कि गरिएन भन्ने कुरा उनले उल्लेख गरेका छैनन् । कतिपय प्रसंगमा गुरुङ आफ्ना पूर्ववर्ती कटवालको आत्मकथामा जत्ति पनि खुलस्त हुन सकेका छैनन् । कतिपय प्रसंगमा राम्रा कामको एक्लो जस लिन र आफूलाई निर्णायक देखाउन ‘ गफ’ दिने सन्दर्भमा उनले कटवाललाई उछिनेका समेत छन् । जस्तो : कटवालले प्रधानसेनापति काण्डअघि प्रधानमन्त्री प्रचण्डसँगको सुमधुर सम्बन्धबारे खुलस्त रूपमा राखेका छन् । तर, गुरुङले आफू नेपाली सेनाको रथी छँदा रक्षामन्त्री रामबहादुर थापासँग भएको चीन भ्रमणको चर्चा कतै गरेका छैनन् । पुस्तकको मूल्य बढ्ने गरी दर्जनौँ झिनामसिना कुरासमेत आत्मकथामा घुसाएका गुरुङका लागि रक्षामन्त्री थापासँगको चीन भ्रमण किन पुस्तकमा समेट्न नमिल्ने विषय बन्यो, बुझिनसक्नु छ । कुनै पनि सेनापतिको सफलता/असफलता टिमवर्कमा निर्भर हुन्छ । तर, आफ्नो कार्यकालको राम्रा कामको थोरै पनि जस अरूलाई दिन चाहेका छैनन् गुरुङले । कतिसम्म भने सेना समायोजन हुँदा भएका घटनाबारे सेनाका पूर्वअधिकृतहरूले कतिपय ठाउँमा गरेका सार्वजनिक चर्चाप्रति समेत आरिस देखिन्छ उनमा । उनी लेख्छन्, ‘०६८ चैत २८ गतेपछि यदाकदा स्टाफहरूले आफ्नो व्यक्तिगत स्वार्थका लागि, जस लिनका लागि, प्रचारमा आउनका लागि यो मेरो आइडिया हो, मैले पत्र लेखेको हुँ, मैले भनेको हुँ आदि भनेर जनमानसमा भ्रमको प्रचार गरिराखेका छन् ।’ (पृष्ठ २८१) जनताको छोरो

लेखक       :    छत्रमानसिंह गुरुङ प्रकाशक    :    श्रीमती कमला गुरुङ पृष्ठ          :    ३७८ मूल्य       :    ५०० रुपियाँ

Source : http://nepal.ekantipur.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?