जापानले विश्वकै सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटर निर्माण गरेको छ । जापानको राइकिन रिसर्च इन्स्टिच्युट तथा फुजित्सु लिमिटेड नामक कम्पनीले मिलेर दुनियाँकै तीव्र गतिको कम्प्युटर निर्माण गरेको हो ।
यो कम्प्युटर एउटा कोठाको आकारको छ । करिब ६ वर्षको अथक प्रयासपछि यसको निर्माण सम्पन्न भएको बताइएको छ।
यसअघि अमेरिकाको आइबिएम कम्पनीको समिट नामक सुपर कम्प्युटर विश्वको सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटरको रुपमा रहेको थियो । जापानको फुगाकु सो अमेरिकी कम्प्युटरभन्दा २.८ गुणा तेज छ । रिपोर्टअनुसार यस सुपर कम्प्युटरमा डेढ लाखभन्दा धेरै प्रोसेसर राखिएको छ । सुपर कम्प्युटरको गति मापन गर्ने इकाईअनुसार यसको क्षमता ४१५.५३ पेटाफ्लप्स छ ।
आगामी वर्ष सन् २०२१ मा यो कम्प्युटर पूर्ण रुपमा क्रियाशील हुनेछ । यसले कोरोना भाइरसको प्रभावकारी उपचारको खोजीका लागि समेत सहयोग गर्ने विश्वास गरिएको छ ।
पछिल्लो तथ्यांकानुसार आइबिएमको समिट सुपर कम्प्युटर दोश्रो तेज सुपर कम्प्युटरको रुपमा रहँदा आइबिएमकै अर्को सुपर कम्प्युटर तेश्रो स्थानमा छ। चौथो र पाँचौं तेज सुपर कम्प्युटर भने चीनमा रहेका छन् ।
-Onlinekhabar.com