Breaking News

स्मार्टफोनमा भाइरस छ छैन ?

Mar Tue 2023 01:58:00

213 views

स्मार्टफोनमा भाइरस छ छैन ?

स्मार्टफोन प्रयोग गर्नका लागि जति सहज छ त्यति नै यसको सुरक्षा जोखिम पनि छ । यसमा प्रयोग हुने बहुसङ्ख्यक एपको उपस्थिति गुगल प्ले र एप स्टोरमा निकै छन् । सहज र सस्तो मूल्यमा उपलब्धताले गर्दा आमप्रयोगकर्ताको पहुँचमा स्मार्टफोन आएको छ ।

स्मार्टफोनमा आफूलाई चाहेको कुरा डाउनलोड गर्ने इन्टरनेटमार्फत् विभिन्न काम गर्न सहज भएको छ । तर स्मार्टफोनमा भाइरस लागेपछि विभिन्न किसिमका समस्या आउने गर्छन् जसले गर्दा तपाईंको फोन असुरक्षित भइदिन्छ । प्रारम्भिक चरणमा यस्ता साना समस्या हुँदाहुँदै पनि हामीले स्मार्टफोन प्रयोग गरिरहेका हुन्छौँ । फोनमा भाइरस लागेपछि भने फोनको गतिविधि फरक हुन्छ ।

भाइरस छ वा छैन, कसरी थाहा पाउने त ?

गति सुस्त हुनु

स्मार्ट फोनमा भाइरस लागेको छ भने फोन निकै सुस्त गतिमा चल्न थाल्छ । यस्तो अनुभव भएमा फोनमा भाइरस भएको पहिलो लक्षण हो । त्यसो त फोनको इन्टरनल मेमोरी भरिएमा पनि क्यामरा, ब्राउजर लगायतका सेवा सुस्त गतिमा चल्छन् । मोबाइल डिभाइसमा भाइरस भएमा फोनमा कल, म्यासेज, एप लगायतका ससाना काममा समेत गति सुस्त हुन्छ ।

मोबाइल डाटा छिटो सकिनु

स्मार्ट फोनमा भाइरस आउने मुख्य कारण भनेकै इन्टरनेट हो । इन्टरनेटबाट मोबाइल डिभाइसमा अधिक भाइरस आउने भएकाले भाइरस आक्रमणको स्थितिमा डाटाको खपत ह्वात्तै वृद्धि हुन्छ । भाइरसका कारण मोबाइलमा अनावश्यक अनेकन साइट खोलिनुका साथ एप डाउनलोड हुने भएकाले प्रयोगकर्ताले थाहा नपाउने गरी मोबाइल डाटा सिद्धिन्छ ।

फोन तात्नु

स्मार्ट फोन तात्नुका पछाडि अनेकन कारण हुन्छन्, यसमध्ये भाइरस पनि मुख्य कारण हो । सामान्य अवस्थामा फोन चार्जमा राखेको बेला वा कुनै भिडियो हेर्दा वा गेम खेल्दा फोन तात्ने गर्छ तर भाइरस लागेपछि भने मोबाइल प्रयोग नगरेका बेलासमेत आफैँ तात्ने हुन्छ । त्यसैले तपाईंको मोबाइल सामान्य कल आएको वा एसएमएस प्रयोग गरेको अवस्थामा समेत तात्छ भने यो सब काम भाइरसले गर्दा भएको बुझ्नुपर्छ ।

ब्याट्री छिट्टै सकिने

स्मार्टफोनमा भाइरस लागेको छ भने फोनको ब्याट्री छिटो छिटो सकिन्छ । फोनको सामान्य प्रयोग गरेका बखतमा समेत छिटो छिटो ब्याट्री खपत हुन्छ भने तपाईंको फोनमा भाइरस हुनसक्छ । भाइरसले फोन धेरै प्रयोग नभएको बेलामा पनि अधिक ब्याट्री खपत गराउँछ ।

पपअप विज्ञापन देखिनु

मोबाइलबाट इन्टरनेट सर्फ गर्दा, कुनै एप अथवा मोइलमा इन्टरनेट चलाउँदा अधिक मात्रामा पपअप विज्ञापन देखिन्छ भने तपाईंको स्मार्ट फोन भाइरसको शिकार भएको हुन सक्छ ।

फाइल करप्ट हुने वा डाटा हराउने

यदि तपाईंको मोबाइलमा रहेका फाइल तथा डाटा आफैँ डिलिट वा करप्ट हुन्छन् भने भाइरस लागेको हुन सक्छ । भाइरसले फाइलको फम्र्याट परिवर्तन गरिदिने, कन्टेन्ट बिगारिदिने र कुनै बेला फाइल नै डिलिट गरिदिने लगायतका कार्य गर्ने गर्छ ।

गोप्य जानकारी, पासवर्ड र डाटा चोरी हुने स्मार्टफोनमा भाइरस लागेको छ भने सतर्क हुनुपर्छ । यस्ता भाइरसले मोबाइलमा सेभ भएका गोप्य जानकारी, पासवर्ड र डाटासमेत चोर्ने गर्छन् । मोबाइलमा सेभका जानकारी जस्तैः इमेल एकाउन्ट, बैङ्क एकाउन्ट, अनलाइन पेमेन्ट एकाउन्ट, ब्राउजर वा एपमा सेभका पासवर्डलगायतका जानकारी भाइरसको माध्यमबाट ह्याकरले लिने गर्छन् ।

-अजय शर्मा/आइटी पाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?