२०४६ सालको संयुक्त जनआन्दोलनले प्रजातन्त्र पुर्नस्थापित नगरेको भए अर्जुन नरसिंह केसी र शरतसिंह भण्डारीहरु अहिलकै जस्ता खांटी गणतन्त्रवादी रहन्थे वा पंचायतकालिन क्रान्तिकारी कामरेड केशरजंग रायमाझीका उत्तराधिकारी बन्थे ? यो सवालको जवाफ इतिहासकै गर्भमा रहिरह्यो । तर समाकालिन राजनीतिको जर्वरजस्त सच्चाई हो की नेपाली कांग्रेसको १३ औं महाधिवेशनको चुनावी महासमरमा अर्जुननरसिंह केसी एक प्रभावशाली नेता हुन जो आफूलाई महामन्त्रीको दावेदारका रुपमा अनौपचारिक रुपमा प्रस्तुत गरिरहेका छन । यदि कुनै आठौं आश्चर्य भएन भने सभापतिमा कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले सिंगौरी खेलिरहँदा नेता केसी देउवा पक्षबाट महामन्त्रीमा निर्वचित हुन प्रतिनिधिहरुसंग मत माग्न ढवांग थापिरहने छन । यो अन्मित वा औपचारिक घोषणा नै भएको हैन तर लविंङ भने त्यसैका लागि भैरहेको छ । निसन्देह कांग्रेस महामन्त्रीका लागि चुनावी खालमा भिड्न योग्य पात्र नै हुन अर्जुननरसिंह केसी तर उनी किन देउवा खेमाबाटै लड्न चाहे ? यो निकै चाखलाग्दो विषय हो । खासमा संस्थापन भनिने कोइराला प्यानलका रुपमा नै कपाल पकाएर सेतै बनाएका केसीलाई हाल उत्तराद्र्ध जीवनकालमा शक्तिशाली पदाधिकारी बन्नु नै छ मर्ने बेलामा हरियो काक्रो भने जस्तै शायद । दक्षिण छिमेक सधैभरी दाहिना राख्न सफल केसीलाई हाल मियोविनाको बन्दै गरेको कोइराला समूहले पत्याउने वा महत्वपूर्ण पद दिने संभावना शून्यप्रायः हुदै गरेका कारण अवसरवादी राजनीतिक चरित्रका चतुर खेलाडी केसीले देउवा क्याम्पमा डेरा सार्न खोजेको तथ्य नभनेरै पनि आम कांग्रेसजनले बुझेको तथ्य हो । त्यसो त देउवाले आफू बाहेक आफ्नो प्यानल कुनै सार्वजनिक नगरिरहेका बेला र सहमतिमै जोड दिदै सबैलाई मिलाएर आफू सबैको नेता अर्थात सभापति हुने बताईरहेका बेला कसरी रातारात केसी देउवाका महमन्त्री उम्मेद्धवार हुन पुगे त ? आफू शक्तिमा पुग्न जुनसुकै हत्कण्डा प्रयोग गर्न माहिर केसीले संस्थापन भनिने कोइराला समूहलाई देउवा प्यानलमा जाने कार्ड देखाएर घुर्की धम्की दिएको वा देउवालाई आफूसंगको छोटेमोटे समूहले सघाउने लोभ देखाएर जसरी पनि पद पड्काउने खेल खेलेका हैनन होला त ? कांग्रसी त्यसमाथि नुवाकोटे भनेपछि कसरी शक्ति हत्याउनुपर्छ भन्ने चाणक्य नीति राम्रै हेक्का भएका यी पाका नेता केसीले मनैदेखि देउवालाई एक पटक सभापति बनाउन र आफू पनि सम्मानित महामन्त्री हुन चाहेका हुन भनेर स्वयं कांग्रेस कार्यकत्र्ताले पनि पत्याउने अवस्था छैन । उनले आफू महामन्त्री हुने केसी सूत्रका रुपमा मात्रै देउवालाई सघाउन खोजेका हुन भन्ने त प्रकाशशरण महतहरुले देउवालाई पक्कै बुझाएका होलान । फेरि कोइराला प्यानलबाट पछि कुनै आकर्षक पद पाएमा हैन म त संस्थापन समूहको असली पात्र हुं देउवा पक्षले मलाई प्रलोभन मात्रै दिएको हो भनेर तेल पानी एकै पिना बाहिर हुने स्थिति यिनले देउवा पक्षलाई नबनाउलान भन्ने ग्यारेन्टी पनि त छैन नी, छ र ? पक्कै पनि केसी नामले मात्रै अर्जुन हुन कर्मले भने सामान्य स्तरका नेता हुन । महाभारतमा देखिएका, पढिएका वा सुनिएका जस्ता सुरवीर अर्जुन भएका भए उनी अहिले आफै सभापतिका प्रत्यासी हुने स्तरमा पुगिहाल्थे शायद । विचारको व्याख्याता वा साँगठनिक योग्यतामा पोख्त वा सबैका हाईहाई हुने खालका नभए पनि उनी साम, दाम, दण्ड आवश्यकतानुसार परिचालन गर्न माहिर भएका कारण उनले धेरैपटक जननिर्वाचित हुने अवसर पाए । शक्ति र सत्ता उनको लागि पानी पधेरो सधै किन भैरहयो भने जता मल्को उतै ढल्को गर्न उनी जति सिपालु अरु कम थिए । उनले महामन्त्री जितेमा चाहे त्यो देउवा पक्षबाटै किन नहोस, कांग्रेसलाई नयां बनाउने हैनन, उनले एक कार्यकाल कांग्रेस आन्तरिक सत्ताको डाडूपन्यूमा एकाधिकार जमाएर केसी वंशको उत्थानमा योगदान गर्ने बाहेक के नै पो गर्ने हुन र ? फेरि सतहमा आएको अर्को ताजुक लाग्दो तथ्य के हो भने महामन्त्रीमा केसीले देउवा पक्षको फेर समाउने चर्चाले बजार गर्माउदै गर्दा उनका सहोदर ज्वाई अर्थात कहलिएका यूवा नेता गगन थापा पनि महामन्त्रीमै लड्ने फर्मान गरिरहेका छन । अनि राजनीतिमा परिवारवाद र फरियावादका कट्टर हिमायती केसीले आफ्नै ज्वाईसंग त्यो पनि राजनीतिक योग्यताका हिसावले हजुर बा र नाति पुस्ताको भिड्न्त झै किन गर्न खोजेका हुन त ? यो अपत्यारिलो तथ्य यसकारण हो कि अर्जुनले आफ्नो धनुष तीर ज्वाईको खिलाफमा सोझ्याउने कुरो असंभव झै छ । त्यसैले पनि यो चर्चा आफ्नो स्थान सुरक्षित गर्ने चालवाजी मात्रै हैन भनेर कसरी विश्वस्त पार्छन त अर्जुन दाईले जयनेपालपन्थी आम प्रतिनिधि कार्यकर्ताहरुलाई महाधिवेशनको मैदानमा ? विशेषत, बाचुन्जेल स्वर्गवासी गिरीजाका दाहिने हात रहेका केसी व्यक्तिगत रुपमा अझै पनि कट्टर राजावादी विचारका हिमायती हुन । यस हिसावले उनको वैचारिक सहकार्य प्रकाश कोईरालाहरुसंग हुनुपर्ने तर लोभी पदले उनलाई किन हुत्याईरहेको छ त देउवा प्यानलमा ? सधै दक्षिण छिमेकका विश्वासपात्र रहेका अर्जुननरसिंह केसीले दक्षिणकै ईशारामा क्याम्प बदलेको मान्ने हो भने उनका प्रत्याशी हुने भनिएका ज्वाई गगन पनि दक्षिणले पालनपोषण गरेका उदीयमान नेता हुन भन्नेमा देश दुनियां जस्तै आम कांग्रेसीहरु पनि जानकार नै छन । त्यसो त पौडेल–देउवा दुवैले प्यानलको आखिरी घोषणा गर्दासम्म आन्तरिक समीकरण र ध्रुवीकरणहरु पक्कै आश्चर्यलाग्दा भैसक्ने छन । किन की कांग्रेस महाधिवशेन आम कांग्रेसजनको नयां नेतृत्व चुन्ने महाकुम्भ मात्रै हैन देशी विदेशी र खासगरी दक्षिणले रुचाएकोलाई नेता स्थापित गर्ने राजनीतिक नाट्यशाला पनि हो । त्यसैले अहिल्यै यसै होला भन्ने अनुमान गर्नु हतारो हुनेछ । तथापि देउवा समूहमा खुलेका नेताहरुलाई पदीय हिसावले व्यवस्थापन गर्न संस्थापन समूहको तुलनामा देउवालाई सजिलो भएका कारण अर्जुननरसिंह केसीहरुले वार्गेनिङ गर्ने मौका भने सहजै प्रशस्त पाएका छन । जताबाट लडे पनि लडाकु अर्जुनदाई लडाएर मात्रै छोडिदिने की जिताएर पदमा आसिन गराउने त्यो भने न्यायाधीशको भुमिकामा रहने १३ औं महाधिवेशनका प्रतिनिधिहरुले नै फैसला गरुन ।