Breaking News

प्रगतिशील पत्रकार संघको राष्ट्रिय भेला चैतको दोस्रो साता हुने, नारायण गिरी संघको केन्द्रिय समितिमा चयन

Feb Tue 2020 05:40:17

440 views

प्रगतिशील पत्रकार संघको राष्ट्रिय भेला चैतको दोस्रो साता हुने, नारायण गिरी संघको केन्द्रिय समितिमा चयन

काठमाडौं, प्रगतिशील पत्रकार संघ नेपालको तेस्रो राष्ट्रिय भेला रुपन्देहीको बुटवलमा आगामी चैत १२ र १३ गते सम्पन्न हुने भएको छ । काठमाडौंमा सम्पन्न संघको केन्द्रीय समितिको बैठकले उक्त भेलाको मिति र स्थान तय गरेको अध्यक्ष नारायण शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका अनुसार केन्द्रीय समितिको बैठकले अध्यक्ष नारायण शर्माकै संयोजकत्वमा ७ सदस्यीय राष्ट्रिय भेला व्यवस्थापन समिति गठन गरेको छ । उक्त समितिमा महासचिव उदय जीएम (दाङ), कोषाध्यक्ष महेश रिजाल (दाङ), सल्लाहकार सुमन अधिकारी (रुपन्देही), केन्द्रीय सदस्य श्यामलाल पोख्रेल (रुपन्देही), शशि सापकोटा (कपिलवस्तु) र विनोद गैरे (अर्घाखाँची) सदस्य रहनु भएको छ । सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्नका लागि अन्य आवश्यक निर्णयहरु पनि गरिएको विज्ञप्तिमा उल्लेख छ । बैठकले राष्ट्रिय भेलाका लागि “सम्पूर्ण पत्रकारहरुको हक, हितको रक्षा र सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रता ः राष्ट्रिय अखण्डता र स्वाधीनताको पक्षमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नारा तय गरेको छ ।

त्यसैगरी बैठकले २०६२÷०६३ सालको महान् जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै २०७२ असोज ३ गते जारी भएको नेपालको संविधान २०७२ मा प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने खालका केही प्रावधान र नागरिकता सम्बन्धी कमजोर व्यवस्था तथा सङ्घीयताको विषय बाहेक अन्य कुराहरुलाई ऐतिहासिक उपलब्धि भन्दै नयाँ संविधानको स्वागत पनि गरेको छ । जनताको हक, हितसित जोडिएका संविधानमा रहेका सकारात्मक प्रावधानहरुलाई छिटो लागु गर्नुपर्ने आवश्यकतामा जोड दिनुका साथै भारतले नेपालमाथि लगाएको नाकाबन्दीको घोर भत्र्सना गर्ने निर्णय पनि गरिएको विज्ञप्तिमा उल्लेख छ । नाकाबन्दी तत्काल फिर्ता गर्न जोड दिँदै नाकाबन्दी विरुद्धको जनताको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने निर्णय पनि बैठकले गरेको बताइएको छ ।

बैठकले अन्नपूर्ण पोष्ट दैनिकले पत्रिकामा लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारहरुलाई अन्यायपूर्वक निकाल्ने कार्य गरेकोमा त्यसको घोर निन्दा र भत्र्सना गरेको छ । सङ्घका महासचिव उदय जिएम (दाङ), भानुभक्त आचार्य (हेटौडा), खगेन्द्र घिमिरे (धनकुटा) र जनार्दन घिमिरे (गुल्मी)लाई अन्यायपूर्वक निकालिएको भन्दै चारै जनालाई पुनर्बहाली गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्ने निर्णय समेत गरेको छ । बैठकले अन्नपूर्ण पोष्ट दैनिकबाट निकालिएका पत्रकारहरुको हकहितको पक्षमा उभिने निर्णय पनि गरेको छ ।

प्रगतिशील पत्रकार सङ्घ, नेपालका केन्द्रीय सदस्य सूर्य वि.क. को गत २०७१ भदौ २९ गते कार दुर्घटनामा परी असामयिक निधन भएकोमा एक मिनेट मौनधारण गर्नुका साथै शोक प्रस्ताव पनि बैठकले पारित गरेको छ । स्व. विकको निधनपछि रिक्त केन्द्रीय सदस्य पदमा वैकल्पिक सदस्य नारायण गिरीलाई पूर्ण सदस्यमा चयन गर्नुका साथै त्यसमा रिक्त रहेको बैकल्पिक सदस्यमा भाषा शर्मा (काठमाडौं)लाई चयन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?