•बिनु पोखरेल
यति उमेर विताएँ भन्ने जनाउन मानिसहरु भन्ने गर्छन्– ‘यति बसन्त पार गरेँ ।’ वितेर गएको समयमा पनि किन मान्छेले बसन्तको मात्रै हिसाव गर्छ ? एकदिन यो प्रश्न लिएर पुगेँ वरिष्ठ संस्कृतिबिद सत्यमोहन जोशीको घरमा । बयोबृद्ध जोशी त्यति खुस मुडमा त थिएनन् तर, प्रश्नात्मक जवाफ दिए, ‘बसन्त ऋतु यो शहरमा बसेर कसरी अनुभुत गर्न सकिन्छ र ? शहरमा बस्ने मान्छेको जीवनमा बसन्त छैन ।’
‘कहाँ छ बसन्त ?’
‘गाउँमा, पाखा पखेरामा, जहाँ प्रकृतिलाई आफ्नो स्वभावमा बग्न दिइएको छ, त्यहाँ बस्ने मानिसको मनमा हुन्छ बसन्त ।’ मानिस पनि आफ्नो स्वभावमा बग्न पायो भने जीवनमा बसन्त आउँछ भन्छन् जोशी । मान्छेको स्वभाव र बसन्त ऋतुको सम्बन्ध कोट्याउँदै गर्दा यो मौसममा उन्मुक्त हुने मान्छेको मनका विषयमा पनि कुरा गर्न मन लाग्यो । पूर्वीय दर्शनले बसन्तलाई प्रणय, प्रेम र मधुमासको यामका रुपमा चित्रण गरेको छ । परापूर्व कालमा बिवाहका लगन बसन्त ऋतुमै जुराउनुको कारण पनि यही हो । वालवालिकाको अक्षरारम्भ गर्ने संस्कृति पनि त्यसैको उपज हो । प्रकृतिको सहायताले मानिसको मन नै सिर्जनात्मक उद्वेलनमा हुन्छ, त्यसैले यसलाई सिर्जनाको याम पनि भनिन्छ ।
बसन्तमा मानिस उल्लासपूर्ण हुनुको पनि कारण छ । शिशिरमा पात झरेका बनस्पतीमा पालुवा यही समयमा पलाउँछ । फूलले पराग लिने समय र पंक्षी रुखका हाँगामा आलिंङगनमा रमाउने समय यही हो । मानिस जव परिवार संस्कृतिसम्म आइपुगेको थिएन, त्यसबेला मानिसको पनि प्रणयऋतु हुन्थ्यो र यही समयमा मात्रै समागम हुन्थ्यो । तर, मानिसले प्राकृतिक जीवन छोडेर समाज निर्मित चरित्र अंगाल्न पुग्यो तव हरेक समय मानिसमा ऋतुराग सुरु भयो । प्रकृतिका अरु जीवहरुको प्रणयकाल भने प्राकृतिक नै छ र उनीहरु बसन्तमा समागम गर्छन् । मानिस प्रकृतिको एक अंग भएकाले त्यसको प्रभाव पर्छ र यो मौसममा मानिस उल्लासित हुन्छ । प्रकृतिसँग बग्ने संबेग मानिसमा जति मात्रामा हुन्छ बसन्त ऋतुमा मानिस भावनात्मक, उत्तेजक र प्रेमिल पनि त्यति नै हुन्छ ।
वनस्पतीमा मात्रै होइन बसन्त ऋतुमा मानिसको शरीरमा पनि प्राकृतिक परिवर्तन हुन्छ । बयस्क मानिसको गालामा गुलावी रंग देखिनु, विपरित लिङ्गीप्रति प्रेम, प्रणय र समागमको भाव जागृत हुनु यसको लक्षण हो । गीतकारले पनि यस्ता भावनात्मक आलाप आफ्ना गीतमा यसरी देखाउँछन्ः
सिन्का सिन्का जोडेर परेबीले गुण लायो,
दिन आयो दिन आयो मिलनको दिन आयो
झनन झनन धून गुञ्जियो रनन रनन ऋतु रागमा
चमन चमन प्रित फैलियो मगन मगन भइ बागमा
हाँगा हाँगा डालीमा बसन्ती रङ्ग छायो
दिन आयो दिन आयो मिलनको दिन आयो
दयाराम पाण्डेको रचनामा संजीवनी र सोहमले गाएको यो गीतले बसन्तमा बगैचामा बसन्ती रङ्गमा रङ्गिदै गरेका चराको प्रेमको आलाप गरिएको छ ।
यो यस्तो मौसम हो, खुसी हुन वा भावनात्मक उडानमा मान्छेलाई यही मौसमले लैजान्छ । मान्छेमा चञ्चलपन आउँछ, गाला गुुलाबी देखिन्छन् । अलि बढी कामुक, मायालु, भावुक, हंसिलो, रसिलो यहीबेला हुन्छ मान्छे । कसैले यो बेलालाई लेखाइमा उतार्छन् । कोही एकान्तमा गएर बस्छन् । यसलाई कतिले देखाउछन्, ब्यतm गर्छन त कतिले गर्दैनन् ।
प्रकृतिको उपज कसैले रोकेर रोकिन्न । केही समय थेगिएला तर, कुनै न कुनै तरिकाले पोखिन्छ । यदी कसैले म यस्तो म होइन, छैन भन्छ भने त्यसले आफूभित्र कुण्ठा गुम्स्याएर बसेको हुन्छ र मनोरोगी हुनपुग्छ । मान्छे प्रकृतिको देन हो । यसलाई प्रकृतिसँगै बग्न दिनुपर्छ ।
प्रकृतिसँग प्रभावित भएर गजल लेख्नेहरुले ऋतुका स्वभावहरुलाई अनुभुत गरेका हुन्छन् । गजलकार प्रकट पंगेनी शिब भन्छन् ‘बसन्त मात्र होइन अरु ऋतुको प्रभाव पनि मान्छेमा हुन्छ । पुस–माघ महिनामा मान्छे चुपचाप हुन्छ, बर्षातको समयमा बढी बोल्ने हुन्छ । शिशिर मौसममा प्रकृति नाङ्गिन्छ । त्यो बेला प्रकृतिमा मात्र होइन चराचुरुङ्गी पशुपंन्छी र मान्छेमा पनि एक प्रकारको नैराश्यता आउँछ । उदासीन हुन्छ प्रकृति । कता कता मन दुःखे जस्तो, नमज्जा लागे जस्तो हुन्छ ।’
प्रकटका अनुसार यो बेला चराले गुँड बनाइसकेको हुन्छ, यही मौसममा उनीहरु समागम गर्छन्, फुल पार्छन् र चल्ला कोरल्छन् । प्रकट चरालाई प्रेमका प्रतिक मान्छन् र चराहरु हेरेरै बसन्तको पदचाप महसुस गर्छन् । भन्छन्– सकिन्छ भने कहिल्यै चरा नमार, ती प्रेमका प्रतीक हुन् । सकिन्न भने कम्तिमा यो मौसममा चरा नमार । किनभने बसन्तऋतु चराहरुको ओथारो बस्ने बेला हो, समागमको बेला हो । एकअर्काप्रति सर्मपण भएको बेला हो । ढुकुर, कालीज जस्ता कति चरा हरु यस्ता छन् जस्ले भाले वा पोथी मरेको बियोगमा जीवनभर एक्लै जिउँछन् । त्यसैले माया गर्नेहरुको हत्या नगर ।’
उनी आफूलाई प्रेमको पूजारी ठान्छन् र बसन्तऋतु नभएको भए आफूबाट गजल सिर्जना हुनै नसक्ने वताउँछन् । ‘ मेरा प्रायः सबै कृतिहरुको रचना यहीबेला गरेको छु । यो मौसमले मलाई कोमल बनाउँछ । भावुक र नसालु बनाउँछ । भोलि छिप्पिएर हात काट्ने खरको पनि कलिला मुना हुन्छन् । गाईले भरर्खरै जन्माएका बाच्छा बाच्छी, बुरुक्क बुरुक्क उफ्रँदै ओल्लो छेउ र पल्लो छेउ कुद्ने गर्छन् । बाख्राका बुकुना पाठा, कति मायालु ! एक–दुई कुरा मात्रै होइन हरेक चिज मायालु हुन्छ यो बेला ।
फागुन बित्दै गर्दा लेखेको रचना भन्दै पंगेनीले केही गजलका सेर सुनाए– संझना तिम्रो आएर मलाई उठायौ बिहानै
सातै र फन्को नाचँुकी जस्तो बनायौ बिहानै ।
उता तिमीले सम्झ्यौ क्यारे यता मलाइ बाडुल्की लाग्यो
भित्री मनको चौकुनामा पिरतीको भाव जाग्यो ।
मनको खेतमा तिम्रो माया छुपूछुपु रोपी
पटुकीमा राखेँ तिम्लाई पच्छेउरिले छोपी ।
शास्त्र, कला र पूर्वीय दर्शनले मात्र होइन आधुनिक विज्ञान शास्त्रले पनि ऋतु अनुसार मान्छेको मनोविज्ञानमा परिवर्तन हुने कुरा स्वीकार गर्छ । मानिसको मनोबिज्ञानमा पनि यो मौसमको प्रत्यक्ष प्रभाव हुने वताउँछन् मानसिक अस्पताल पाटनका मनोचिकित्सक अनन्त अधिकारी । ‘मनोरोगी हुनलाई एकै फ्याक्टरले काम नगर्ने भए पनि वातावरणीय प्रभाव निक्कै हुन्छ’ उनी भन्छन्, ‘यो बेला बिरामी नै कम हुने त होइन मनोरोगसँग लड्ने क्षमता बढी हुन्छ ।’