Breaking News

बायोस्टोरी :अपराध महाशाखा सम्हालेका ६ महिनामा एसएसपी सवेन्द्र खनालको जता हात, उतै सफलता

Feb Tue 2020 05:40:35

403 views

बायोस्टोरी :अपराध महाशाखा सम्हालेका ६ महिनामा एसएसपी सवेन्द्र खनालको जता हात, उतै सफलता
  • प्रस्तुतिः हरि गजुरेल/ दैनिक नेपाल

कसैले उनलाई नरम भन्छन्, कसैले कडा मिजासको । ‘डन’ कुमार घैंटेको इन्काउन्टर पछि धेरैबाट ‘ताली’पाए, केही बाट ‘गाली’ । नेपाली जनताबाट ताली पाए भने गाली तिनै गुण्डा पाल्दै आएका र तिनकै भरमा चल्दै आएका मुठ्ठीभरका केही नेताबाट ।

प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल महानगरीय अपराध महाशाखाको प्रमुख भएर गत असार ३ मा आएपछि उनले नयाँ अपराधको ‘ट्रेन्ड एनालाइसिस’ गर्न थाले । नयाँ अपराधको पहिचान र अनुसन्धान गर्नुमा खनालको औधी रुचि रहेको उनी स्वयम् बताँउछन् । त्यही कारण नै उनी फरक फरक ढंगले अपराधीहरुको पहिचान गर्दछन् र तिनलाई घोक्रेठ्याक लगाउन सफलता समेत प्राप्त गर्दै आएका छन् ।

जता हात, उतै सफलता

यसको सिलसिला सुरु हुन्छ, रणजित तामाङमाथि बेबिलोन डिस्कोमा गरिएको गोली प्रहारबाट । चलाखीपूर्ण ढंगले आफ्नो कैद सजाय ‘खेताला’लाई कैदी बनाइ अर्कैलाई भुक्तान गराएर खुला आकाशमुनि चैनको जीवन बिताइरहेका रणजितलाई पक्राउ गरेसँगै एसएसपी खनाल चर्चामा छाए । त्यसपछि उनले दोस्रो निशाना बनाए, कुमार घैंटेलाई । घैंटे फिल्मी शैलीको इन्काउन्टरमा मारिएपछि राजनैतिक संरक्षणमा हुने गुन्डाराजमा ठूलो खैलाबैला मच्चियो । ‘घैटे’प्रकरण पछाडि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । सर्वेन्द्र खनालले जहाँ हात हाल्छन, त्यहाँ उनको निशाना चुकेको छैन र निशानाले फेल खाएको क्षण उनको स्मरणमा पनि छैन ।

महानगरीय अपराध महाशाखाको नेतृत्व समाल्न सर्वेन्द्र खनाल आइपुगेको पुस तीनमा ६ महिना पुग्दैछ । यो वीचमा उनले जहाँ–जहाँ हात हाले त्यहीँ–त्यहीँ एक खालको ‘आँतंक’ मच्चिएको छ ।

महानगरीय अपराध अनुसन्धन महाशाखाले वैदेशिक शिक्षाको आवरणमा मौलाइरहेको ठगी धन्दा रोक्न कदम चाले । उपत्यकामा सञ्चालित कन्सल्टेन्सीमा छापा हान्यो । डरलाग्दो नतिजा हात लाग्यो । झण्डै ११ सय कन्सल्टेन्सी दर्ता नभई सञ्चालनमा भइरहेका रहेछन् । यही कन्सल्टेन्सीका आडमा कति किशोर किशोरी वेचविखन हुँदै आएका थिए । अहिले ती सबै कन्सल्टेन्सी दर्ता हुने प्रक्रियामा छन् । महाशाखाले स्पेस टाइम नेटवर्क एवं च्यानल नेपालका सञ्चालक जमिम शाहको हत्यामा संलग्न भई फरार रहेका अभियुक्त नेपाल प्रहरीकै पूर्वडीएसपी जगदीश चन्दलाई पक्राउ ग¥यो । अर्काे सफलता हो, हुण्डी कारोवारीलाई अँठ्याउनु । अवैधानिक तवरबाट रकम विदेशबाट पठाउने हुण्डी कारोबारमा संग्लग्न नौ वटा ठूला÷ठूला हुण्डी कारोबारीलाई अँठ्ठाएसँगै अहिले यस्ता कारोबारीहरु निस्तेज छन् । त्यस्तै, खनालले राष्ट्रिय गौरवसँग जोडिएको नेपाली फुटबल खेलाडीले राष्ट्र, राष्ट्रियता र खेलप्रेमीमाथि गरेको घातको विषयलाई अनुसन्धानको दायरामा ल्याए । प्रतिस्पर्धी टिमबाट चर्को रकम असुलेर फुटबल खेल हार्न पल्किएका नेपाली फुटबलरहरूलाई पक्राउ गरे । र जनताबाट वाहवाही र स्यावासी पाए । म्याच फिक्सिङको मुद्दालाई प्रहरी संगठनकै प्रतिष्ठाको विषय मानेर अनुसन्धान गरे ।

म्याच फिक्सिङले महिमा

०६३/६४ सालमा काठमाडौं प्रहरी प्रमुख छँदा उपत्यकाका जनतामाझ चिनिएका खनाललाई फुटबल खेलाडीको मुद्दाले थप उचाइ दियो । खनालको चर्चा ‘म्याच फिक्सिङ’ कान्डले थप उचाइमा पुर्‍याएको छ ।

अन्तरराष्ट्रिय फुटबल खेलमा भएको फिक्सिङ र त्यसमा संलग्न भएको आरोपमा नेपाली फुटबल टिमका क्याप्टेन सागर थापासहितका खेलाडीलाई पक्राउ गरी मुद्दा चलाए । अन्ततः एसियाली फुटबल महासंघ (एएफसी) ले कप्तान थापासहित पाँच खेलाडीलाई आजीवन फुटबल खेलबाट प्रतिबन्ध लयागो । म्याच फिक्सिङको अनुसन्धानले उनको छविलाई उचों त बनायो नै प्रहरीको छवि समेत उँचो बन्न सघाउ पुर्‍यायो ।

सह–सचिवलाई चिसो खोर

भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ अभाव झेलिरहेका बेला उपत्यकामा पेट्रोल पम्पबाट हुने गरेको कालोबजारीलाई समेत उनले रोक्ने प्रयास गरे । खनालले पेट्रोलियम पदार्थ वितरणमा अनियमितता गर्ने पेट्रोल पम्पका सञ्चालकहरूलाई पक्राउ गरे । ती पेट्रोल पम्पका सञ्चालकहरू जेलचलान भइसकेका छन्

नेपाल सरकारको सह–सचिव जस्तो गरिमामय पदमा रहेका व्यक्तिलाई जेलमा कोच्न समेत उनी सफल भए । रामआधार शाह विज्ञान मन्त्रालयका सह सचिवका हैसियतमा काम गर्दैथिए । पेट्रोलियम पर्दाथमा ठगी काण्डमा उनी पक्राउ परे । जस्का पक्षमा मुद्धा लड्ने वकिलको संख्या मात्र १४ जना राखिएको थियो । उनीसँगै थानकोट डिपोको प्रमुख रविन शर्मालाई जेलमा कोचिएको छ । त्यस्तै उपत्यकामा सञ्चालित पेट्रोलपम्पहरुमा छानविन पछि ठगी प्रकरण बाहिर आएसँगै ३२ वटा पेट्रोलपम्पहरुमा सिल गरिएको छ । यही बीचमा युनिटी काण्डका नाइकेलाई समाइ जेल पठाइएको छ । खनाल उपत्यकाको अपराधको ट्रेन्ड मज्जैसँग विश्लेषण गर्न सक्छन् । प्रहरीको पछिल्लो पुस्तामा खनाल अनुसन्धानमा अब्बल ठहरिएका छन् ।

गुण्डागर्दी ?!? सोच्यो कि गयो

महानगरीय अपराध अनुसन्धान शाखामा उनको आगमनसँगै राजधानीको गुन्डाराजमा ठूलो झट्का लागेको छ । र, भन्छन्– उनी ‘गुण्डागर्दीरहित समाज बनाउने नै मेरो मुख्य लक्ष्य हो । त्यसका लागि त अपराध हुन रोक्न प¥यो ।’ कसैको डर, त्रास र भयमा नरही काम गर्दा जनताबाट स्यावासी पाइने रहेछ उनको अनुभवले भन्दछ ।

‘मान्छेको जीवनमा सबैभन्दा ठूलो कुरा भनेको सुरक्षाको अनुभुति हुनु र आफ्नो (‘लिवर्टी’) स्वतन्त्र अधिकार उपयोग गर्ने पाउनुपर्दछ । त्यो काम गर्ने वातावरण अपराधी समूहको प्रभुत्व र दबदबा रहनाले सर्वसाधारण नागरिकले दुःख पाइरहेको अवस्था थियो । अहिले उपत्यकामा गुण्डाराजको अन्त्य भएको उनको विश्लेषण छ । भन्छन् – ‘हिजोको गुण्डाराजको अवस्थाबाट हामी अर्काे अवस्था अर्थात स्वतन्त्रपूर्वक काम गर्न पाउने अवस्था आइपुगेका छौं । यी घटनाहरुमा स्वाट्टै कमी आएको छ भन्दिन तर कसैले आँट गर्न नसक्ने अवस्थामा चाँहि पुगेको छ । कसैले गुण्डागर्दी गर्छु भन्ने सोच्दैछ भने सम्झे हुन्छ, त्यो गयो ।’

‘गुण्डागर्दी गर्नेलाई समाजमा तिरस्कार गर्ने खालको वातावरण बनिसकेको छ ।,’ दैनिक नेपालसँगको कुराकानीमा खनाल भन्दै थिए,– ‘अव मलाई लाग्छ यस्ता गलत मान्छे समाजमा बसिरहन्छन् जस्तो लाग्दैन । ’

जता उनी, उतै हाई–हाई

तौलेर बोल्न रुचाउने खनाल काठमाडौंमा मात्र होइन्, खनाल जनकपुर, नारायणी, विराटनगर जता जता पुग्छन् त्यही ‘चर्चा’ र जनताबीच हाईहाई र लोकप्रिय बन्ने गर्दछन । कतिसम्म भने तराई आन्दोलनको समयमा जनकपुरमा कोही जान मान्दैनथ्यो । प्रमुख जिल्ला अधिकारी र एसपी नै भाग्ने अवस्था थियो । त्यस समय गृहमन्त्री थिए, भीम रावल । उनै रावलले जनकपुरको ‘कमाण्ड’ सम्हाल्न अनुरोध गरे । हासीखुसी उनी एक्लै जनकपुर पुगी कमाण्ड सम्हाले र सफलतापूर्वक काम फत्ते गरेका थिए । फ्ल्यासव्याकमा कहिलेकाँही आफ्नो विगतका कहानी सम्झन्छन्– ‘पहिला संविधान सभाको निर्वाचन ताका माओवादीको ‘प्यारालल सरकार जस्तै थियो । एकदिनमै सात/आठ वटासम्म अपहरणको मुद्दा पर्दथे । ती सबै मुद्दा फत्ते गर्दथे । समय यस्तो थियो कि अपराधिक समूहबाट बन्दुक मात्र ७३ नाल समातिएको थियो । त्यही अवस्थामा पहिलो संविधान सभाको चुनाव गराइयो । दोश्रो संविधानसभाको चुनाव गराउन नारायणी पुगेको थिए । जनकपुरमा रहँदा अपराधिक समूहका नाइके ‘टक्ला’ लाई तह लगाए । इतिहासमा कहिल्यै नभएको घटना त्यही ठाउँमा भयो । अण्डरवल्र्ड समूहसँगको मिलेमतो रहेको चाल पाएसँगै त्यहाँको डिएसपीलाई घटुवा गराई इन्सपेक्टर बनाइयो । अण्डरवल्र्ड समूहको धुजा उडाइयो ।’

‘नगरदहा भन्ने स्थानमा एक जनाले आठ जनालाई मा¥यो । त्यही मान्छेलाई मैले ढालेँ, त्यस पछाडि त्यहीका मान्छेहरुले मलाई अविरजात्रा नै गरेको अहिले पनि सम्झन्छु ।– खनालले विगतलाई सम्झिए । बारा, जनकपुर र पर्सामा एसपी रहेका उनी कामकै कारण नारायणीमा हुँदा एसएसपी भए ।

कतिसम्म भन्ने गरिन्थ्यो भने, तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच खासै राम्रो सम्बन्ध नभए पनि अपराध महाशाखामा खनाललाई लैजाने विषयमा दुवैले समान धारणा बनाएका थिए । खनाललाई अपराध अनुसन्धान महाशाखामा ल्याइएसँगै राजधानीवासीले अपराध र सुरक्षाका मामलामा ‘चैन’को सास फेर्न पाएका छन् । विगतको एउटा ट्रेन थियो चन्दा नाममा आतंक थियो । चन्दा उठाउँदै हिँड्ने कसैलाई पनि छोडिन्न । ‘कसैलाई परेको पीडा हामीलाई भन्नुपर्‍यो कसैलाई छाडिन्न । कुनै पनि अनुसन्धान केही बाँकी छैन । एक हप्ता भित्रमा सबै अनुसन्धान सकाएका छौं ।’

सुरु देखि नै ‘खरो’

काठमाडौं दरवारमार्गमा इन्स्पेक्टर थिए उनी । उनले केही गुण्डाहरु समाए । तत्कालिन यूवराज दिपेन्द्र शाहले छोड्न आदेश दिए तर उनले अड्डी लिए ‘यी गुण्डा हुन सरकार छोड्न मिल्दैन ।’ कार्यशैली हेर्दा ‘खरो’ लाग्ने एसएसपी खनाल निजी जीवनमा भने शान्त, सौम्य र शालिन छन् । सर्वसाधारणदेखि भीभीआइपीसम्मको सुरक्षा र चैनका लागि अहोरात्र खटिनुपर्ने उनी आफैं यस्तो स्थानमा विराजमान छन, जसलाई चारैतिर तनावनै तनावले घेरेको छ । यही तनावले रातमा समेत उनको निन्द्रा बिथोल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?