Breaking News

नयाँ शक्ति नेपालको चन्दा नीति व्यक्तिलाई ५० हजार र संघ संस्था कम्पनीलाई २० लाख विज्ञप्तिसहित

Feb Tue 2020 05:40:55

249 views

नयाँ शक्ति नेपालको चन्दा नीति व्यक्तिलाई ५० हजार र संघ संस्था कम्पनीलाई २० लाख विज्ञप्तिसहित

बाबुराम भट्टराई नेतृत्वको  नयाँ शक्ति अभियानले उनीहरुकै शब्दमा ‘सांगठनिक, राजनीतिक तथा सामाजिक बिषयका महत्वपूर्ण प्रस्तावहरुमाथि गहन र बिस्तृत छलफल गरी महत्वपूर्ण निर्णयहरु’ गरेको छ ।  केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले निम्न निर्णय गरेको हो । हेर्नुस बिज्ञप्ति सहित  । नयाँ शक्ति, नेपाल केन्द्रीय सचिवालय, बबरमहल, काठमाडौं प्रेस विज्ञप्ति मितिः २०७२ फाल्गुण १८ गते नयाँ शक्ति नेपालको केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा यही मिति २०७२, फाल्गुण ६, ९, १० र ११ गते ४ दिनसम्म बस्यो । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले सांगठनिक, राजनीतिक तथा सामाजिक बिषयका महत्वपूर्ण प्रस्तावहरुमाथि गहन र बिस्तृत छलफल गरी महत्वपूर्ण निर्णयहरु गरेको छ । पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक, सुशासित र जनमुखी बनाउने हाम्रा निर्णयहरुले नेपालको राजनीतिक ईतिहासमै नवीनतम् अभ्यास र संस्कृतिको थालनी हुनेमा हामी विश्वस्त छौं । हामी भनिरहेका छौ कि नयाँ शक्ति नेपाल समकालीन नेपाली राजनीतिलाई महत्वपूर्ण आयाम दिन चाहन्छ । विकास, समृद्धि र सुशासन सहितको समावेशीता, सामाजिक न्याय र सदाचार हाम्रो राजनीतिक अभियानको मुख्य प्राथमिकता हो । हामी नेपाली जनताको एकता, समावेशी अधिकार र स्वामित्व सहित आधुनिक समाजवादका लागि प्रतिवद्ध छौं । पार्टीभित्रको लोकतन्त्र, पारदर्शिता, जवाफदेहीता र विधिको शासन हाम्रा लागि निकै महत्वपूर्ण छन् । जसको पूर्ण पालनागर्न हामी वचनवद्ध छौं । हामी हाम्रा निर्णयहरुको कार्यान्वयनमा जनताको तहबाट निगरानी चाहन्छौं । यसैकालागि सचिवालयको बैठकका केही महत्वपूर्ण निर्णयहरु यो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्न गइरहेका छौं । हामीलाई थाहा छ नेपाली जनता वैकल्पिक राजनीतिक पार्टी निर्माण भएको हेर्न चाहन्छन् । यो हाम्रालागि निकै ठूलो जिम्मेवारी र परीक्षाको समय हो । यो परीक्षामा हामी सम्पूर्ण चेतना र जिम्मेवारी साथ सामेल भईरहेका छौं । अतः हामी सबै नेपाली जनतालाई हाम्रा कामहरुप्रति रचनात्मक सुझाव, सकारात्मक खवरदारी र ऐक्यवद्धताकालागि हार्दिक आह्वान गर्दछौं । बैठकका मुख्य निर्णयहरु निम्नानुसार छन्: १. बैठकले राष्ट्रियमामला विभागको कार्यक्षेत्र र तहबारे थप स्पष्टता दिने निर्णय गरेको छ । जसअनुसार पार्टीमा एक राष्ट्रियमामला तथा सामाजिक समावेशीकरण संयन्त्र हुनेछ । यो संयन्त्रले राष्ट्रियमामलाहरु, विभिन्न जाति, भाषा र क्षेत्रको सामेलीकरण, एकता र सामाजिक सद्भाव बृद्धिका लागि काम गर्नेछ । हाम्रो पार्टीले यो भन्दा अगाडिनै मधेसी-थारु, आदिवासी जनजाती, खस–आर्यतथा महिला र दलित समुदायको समानुपातिक समावेशीकरणको नीति लिएको सबैमा जानकारी नै छ । सो नीति कार्यान्वयनको अवस्था, सवलपक्ष र सुधार गर्नुपर्ने पक्षहरुबारे अनुगमन र आवश्यक सिफारिश गर्ने अधिकार यो संयन्त्रलाई दिइएको छ । २. बैठकले कमला हेमचुरी, कर्णध्वज के.सी., गणेश राई, चिनक कुर्मी, ध्रुव पराजुली, नाथुप्रसाद चौधरी, रामरिझन यादव, लिली थापा, वीरेन्द्रकुमार पोख्रेल, सरुण बाठा मगर र सुशिला सिरपाईलीलाई सचिवालय सदस्यमा मनोनयन गर्दै केही विभागीय संयोजकहरुको मनोनयन र केही जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । जसअनुसार सामाजिक अभियान परिचालन विभागको जिम्मेवारी हेरफेर गरी सो विभागमा ध्रुब पराजुलीलाई संयोजकको जिम्मेवारी दिने, संघीय मामला तथा स्थानीय विकास विभागको संयोजकमा पासाङशेर्पालाई जिम्मेवारी दिने, महेन्द्र पासवानलाई दलित तथा अल्पसंख्यक समुदाय विभागको संयोजक, नाथुप्रसाद चौधरीलाई कृषि तथा भूमीमामला विभाग र सुकुम्वासी ब्यवस्थापन तथा सामाजिक सुरक्षा विभागमा सुशीला सिरपाईलीलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरियो । ३. बैठकले केही विषयगत समिति र राजनीतिक अभियान संचालनकालागि केन्द्रीय वक्ताहरुको टोली निर्माणगर्ने निर्णय गरेको छ । जसअनुसार बैठकले डा. बाबुराम भट्टराईको संयोजकत्वमा १२ सदस्यीय राजनीतिक विभाग गठन गरेको छ । यो विभाग अन्तरगत वहाँकै संयोजकत्वमा राजनीतिक दस्तावेज लेखन समिति, देवेन्द्र पौडेलको संयोजकत्वमा विधान तथा संगठनात्मक नीति लेखन समिति, रामेश्वर खनालको संयोजकत्वमा आर्थिक–सामाजिक नीति तथा कार्यक्रम र समृद्धिको कार्ययोजना तर्जुमा समिति गठन गरेको छ । यी समितिहरुलाई दुई महिनामा पार्टीका विभिन्न तह र आम शुभेच्छुकहरुसम्म बिषयगत छलफल गरी दस्तावेजको मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको छ । यसैगरी बैठकले देशब्यापी राजनीतिक अभियान सञ्चालन गर्न १३ जना केन्द्रीय अभियन्ताहरुलाई केन्द्रीय वक्ताको रुपमा देशव्यापी पठाउने निर्णय गर्नुका साथै, अन्य पार्टी र समूहसँग संवाद गर्न नवराज सुवेदीको संयोजकत्वमा ४ सदस्यीय वार्ता संवाद समितिको समेत गठन गरेको छ । ४. बैठकमा विभिन्न विभागीय संयोजकहरुले आ-आफ्नो विभागका अवधारणा र दुईमहिने कार्ययोजना प्रस्तुत गर्नुभयो । प्रस्तुत योजनाहरुमाथि बिस्तृत छलफल गरी सुझाव सहित पारित गरियो । यसै सन्दर्भमा बैठकले पार्टीको आन्तरिक आर्थिक कार्यविधि ०७२ पारित गरेको छ । पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक, सुशासित र जनमुखी बनाउने अभिष्टबाट बनाइएको आर्थिक कार्यविधिले हाम्रो पार्टीलाई आर्थिक रुपमा निकै समृद्ध, सुशासित, नयाँ र फरक बनाउने हाम्रो अपेक्षा छ । नयाँ शक्ति नेपाललाई सर्वसाधारणको नजरमा एउटा स्वच्छ, सदाचारयुक्त र वित्तीय अनुशासन भएको संगठनकोरुपमा स्थापित गर्न हाम्रो आर्थिक कायविधिले सहयोग गर्नेछ । यो कार्यविधिको प्रयोगले नेपाली राजनीतिको आर्थिक अराजकतालाई अन्त्य गर्ने हाम्रो बिश्वास छ । जसकालागि हामी ब्यवहारिक रुपमै नेपाली राजनीतिको अगुवाइ गरिरहेका छौं । नयाँ शक्ति नेपाल आफ्नो संगठन सञ्चालनका आधारभूत खर्चहरु धान्न पराश्रित हुनु हुँदैन भन्ने धारणा राख्दछ.। त्यसैले सदस्यहरुले गर्ने आर्थिक योगदान नै हाम्रो संगठन सञ्चालन र खर्चको महत्वपूर्ण स्रोत हुनेछ । जसकालागि नयाँ शक्ति नेपालको सदस्यता शुल्क रु. १०० तोकिएको छ । प्रत्येक सदस्यले साउन १ गते देखि मङ्सिर मसान्त भित्रमा रु. १०० वार्षिक सदस्यता नवीकरणशुल्क बुझाउन पर्नेछ । यसैगरी पार्टीका विभिन्न तहमा उम्मेद्वार हुन चाहनेले निश्चित शुल्क तिर्नुपर्ने कार्यविधिले ब्यवस्था गरेको छ । जसअनुसार पार्टीको गाउँपरिषद् सदस्यको उम्मेदवारले रु. २००, नगरपालिकापरिषद् सदस्यका लागि रु.५००, जिल्लापरिषद् सदस्यका लागि रु. २,००० र केन्द्रीयपरिषद सदस्यको उम्मेदवार हुनकालागि रु. ५,००० शुल्कको ब्यवस्था गरिएको छ । यसैगरी राज्यको गाउँ सभा, नगर सभा, प्रदेश सभा, प्रतिनिधि/राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुन चाहनेले क्रमशः रु. ५००, रु. १,०००,रु. ५,००० र रु. २०,००० शुल्क तोकिएको छ । यो शुल्क तिरेपछि उम्मेदवार हुने सदस्यहरूको निर्वाचन आयोगले तोकेअनुसारको शुल्क भने सम्वन्धित तहको पार्टीले नै बुझाउने छ । नयाँ शक्ति नेपालले चन्दा संकलनका बिषयमा समेत विधि र सीमा निर्धारण गरेको छ । जसअनुसार विनाशर्त एक आर्थिक वर्षमा व्यक्तिबाट रु. ५०,०००।०० (रु. पचास हजार) र संस्था, फर्म, कम्पनीबाट रु. २०,००,०००।०० (रु. बीस लाख) भन्दा धेरै चन्दा लिइने छैन । यसका साथै विदेशी नागरिक, वहालवाला सरकारी कर्मचारी तथापूर्णतः नेपाल सरकारको अनुदानमा आश्रित वा नेपाल सरकारको ५१ प्रतिशत भन्दा बढी स्वामित्व भएको संस्थाका कर्मचारी,प्रचलित कानुन बमोजिम बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी वा सार्वजनिक ठेक्कामा गलत काम गरी कालो सूचीमा परेको व्यक्ति, फौजदारी अभियोगमा जेल परेको व्यक्ति, भ्रष्टाचारको अभियोगमा छानबिनको क्रममा रहेको, मुद्दामा रहेको वा अदालतले भ्रष्टाचारी भनी फैसला गरेको व्यक्ति, विदेशमा दर्ता भएको संस्था, नेपालमा दर्ता भएको भएपनि बिदेशी सरकारको ५१ प्रतिशत भन्दा बढी स्वामित्व भएको कम्पनीको सब्सिडीयरी संस्था, फर्म वा कम्पनी, धार्मिक, साम्प्रदायिक उद्देश्य भएका र त्यस्ता गतिविधि गर्ने संस्थाबाट पार्टीले चन्दा लिने छैन । यसैगरी चन्दा दिने व्यक्ति, संस्था, फर्म, कम्पनीको नाम, ठेगाना र दिएको रकमको अभिलेख राखिनेछ । यस्तो विवरण प्रत्येक छ महिनामा नयाँ शक्ति नेपालको वेबसाइटमा सार्वजनिक गरिनेछ । प्रत्येक आर्थिक वर्षको वित्तीय विवरणमा चन्दा संकलनको पूर्ण विवरण प्रकाशित गरिनेछ । नयाँ शक्ति नेपालले दाताको नाम र ठेगाना नखुलेको स्रोतबाट चन्दा, दान, दातव्य ग्रहण गर्ने छैन । यदि कुनै दाताले व्यक्तिगत सुरक्षाका कारण आफ्नो नाम सार्वजनिक नगर्न चाहेमा नयाँ शक्ति नेपालको आन्तरिक अभिलेखमा जनाई नाम सार्वजनिक गरिने छैन । तर नेपालको संविधान र प्रचलित कानून बमोजिम अधिकार प्राप्त निकायले यस्ता दाताको विवरण माग गरेमा उपलब्ध गराइनेछ । पार्टीको चन्दा संकलन पारदर्शी, उत्तरदायी र सहभागितामूलक हुनेछ । यस प्रयोजनका निम्ति दश हजार भन्दा माथिको चन्दा बैंक चेकबाट मात्र लिइने छ । चन्दाको लागि कसैलाई कुनै किसिमको दबाब दिइने छैन । प्रत्येक वर्षको बैशाख र कात्तिक महिना समय तोकी चन्दा संकलन अभियान चलाइने छ । नयाँ शक्ति नेपालको आधिकारिक परिचयपत्र, प्रचार सामग्री र चन्दाको लागि गरिएको अपिल सहित कम्तिमा पाँच जनाको समूहले घरदैलो कार्यक्रम गरी चन्दा संकलन गर्ने छन् । चन्दा लिएपछि चन्दाको रसिद दिइने छ र दर्ता पुस्तिकामा विवरण चढाई चन्दा दाताको दस्तखत लिइने छ । प्रत्येक नगरपालिका तथा बजार र आर्थिक क्षेत्रहरूमा व्यवसायीहरूलाई ‘असल राजनीतिकालागि लगानी गरौं’ भन्ने समूहमा आबद्ध हुन प्रेरित गरिनेछ । यस्ता समूहसँग नयाँ शक्ति नेपालले आर्थिक नीतिहरू, लगानी तथा व्यवसायकालागि असल वातावरण निर्माण गर्न आवश्यक सुधारका कार्यक्रम बनाउने र निरन्तर संवाद गर्नेछ । नयाँ शक्ति नेपालका कुनै पनि तहका सदस्यले आफ्नो निवासमा वा एक्लै चन्दा संकलन गर्न पाउने छैन । यसैगरी नेपाली नागरिकले नयाँ शक्ति नेपालको लेखा तथा हिसाबकिताब सम्बन्धी विवरण हेर्न चाहेमा निश्चित दिन र प्रक्रियाअनुसार उपलब्ध गराईने छ । नयाँ शक्ति नेपालले पार्टी कार्यकर्ताहरुका लागि एक कल्याणकारी कोषको सञ्चालन गर्नेछ । यो कोष सञ्चालनका लागि छुट्टै ‘कल्याणकारीकोष सञ्चालन कायविधि’ निर्माण गरिनेछ । सदस्यहरुको सार्वजनिक उत्तरदायित्व अन्तरगत नयाँ शक्ति नेपालले उपहार र चन्दा जस्ता बिषयमा पनि सदस्यहरुको लागि सीमा निर्धारण गरेको छ । नयाँ शक्ति नेपालका सबै तहका पार्षदले एक वर्षमा एकै पटक वा पटक पटक गरी रु १,०००।०० भन्दा बढीको नगद वा जिन्सी उपहार लिन पाउने छैन । तर एकाघर परिवारका सदस्यले दिएको उपहार स्वीकार गर्न बन्देज हुने छैन । सबै तहका परिषद् सदस्यले भ्रष्टाचार निवारण ऐनमा तोकिएको ढाँचा र समयभित्र प्रत्येक वर्ष सम्पत्ति विवरण सीलवन्दी गरी केन्द्रीय सचिवालयमा बुझाउनु पर्नेछ । ५ बैठकले तत्काल सामाजिक अभियानहरु सुरु गर्ने निर्णय गरेको छ । पार्टीको राजनीतिक अभियानसँग जोडेर देशब्यापी रुपमा सामाजिक अभियानहरु सञ्चालन गर्न स्थानीय सबै परिषद्हरुलाई बैठकले निर्देशन गरेको छ । शिक्षा/स्वास्थ्य क्षेत्रका विकृति, विसंगति विरुद्धका अभियानहरु महंगी, कृत्रिम अभाव, कालोबजारी विरुद्धका अभियानहरु, भूकम्प–पीडित जनताका समस्यासँग सम्बन्धित अभियानहरु, भ्रष्टाचार बिरुद्धका सामाजिक अभियानहरु, महिला, वालवालिकार दलित हिंसा विरुद्धका सामाजिक अभियानहरु, सरसफाइ अभियानहरु, बृक्षरोपण अभियानहरु, सामाजिक सद्भाव र एकताका अभियानहरु देशैभरी सञ्चालन गर्न आवश्यक पहल गर्ने निर्णय साथ आगामी दुई महिनाकालागि निम्नानुसार केही सामाजिक अभियानहरु सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । क. हरियो काठमाडौं, सफा काठमाडौं (Green Kathmandu, Clean Kathmandu) अभियानः यो अभियान तत्काल सुरु गरिनेछ । काठमाडौंलाई सफा र हराभरा बनाउने अभिष्टवाट यो अभियान सुरु हुनेछ र यसमा उपत्यकाका सम्पूर्ण अभियन्ता र सहयोगीको सलग्नता हुनेछ । यो अभियान अन्तरगत हरेक हप्ता नयाँ शक्तिका संयोजक, केन्द्रीय सचिवालय सदस्यहरु, युवा, विद्यार्थी, मजदुर, किसान र आम समर्थक, सुभेच्छुक र सहयोगीहरु काठमाडौ सफा गर्न सहभागी हुनेछन् । यो अभियान काठमाडौलाई सफा र हराभरा बनाउनमा केन्द्रित हुनेछ । ख. भ्रष्टाचार विरुद्ध हेल्प डेक्स स्थापनाः देशका मुख्य शहर र जनताको अधिकतम् सहभागिता हुने र दैनिक हजारौं जनताले सेवा लिनुपर्ने सरकारी कार्यालयलाई जनमैत्री बनाउन र सुशासन कायम गर्न नयाँ शक्ति नेपालको जिल्ला कार्यालयहरुमा ‘हेल्प डेक्स’ राखिने छ । सांकेतिक रुपमा पहिलो चरणमा मालपोत कार्यालयहरुमा हुने अनियमितता र भ्रष्टाचार विरुद्ध यो अभियान केन्द्रित गरिनेछ र क्रमशः अन्यत्र विस्तारित गरिनेछ । नयाँ शक्ति नेपालको सामाजिक स्वयंसेवकहरु जनतालाई सहयोग गर्न परिचयपत्र साथ उल्लेखित कार्यालयमा जाने र जनतालाई ‘हेल्प डेक्स’ मार्फत सहयोग गर्ने छन् । ग. नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने अभियानः नयाँ शक्ति नेपालले देशको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा बल पुर्याउन नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिनेछ । सबै अभियन्ताहरुलाई सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोग गर्न अभिपे्ररित गरिनेछ । यसको सुरुवातको रुपमा पार्टीको सदस्यता आवेदन फारमलाई नेपाली कागजमा प्रकाशन गरिनेछ । घ. राष्ट्रिय र सामाजिक एकताकालागि सद्भाव अभियानः मधेस, पहाड र हिमालका विभिन्न जाति/भाषालाई जोड्न र बलियो राष्ट्रियएकता कायम गर्नको लागि नयाँ शक्ति नेपाल क्रियाशील हुनेछ । हामीले देखेका छौं विभिन्न जातीय/क्षेत्रीय/भाषिक विविधता भएको मुलुकमा संकीर्ण आग्रह तथा पूर्वाग्रहहरुले हाम्रो राष्ट्रिय र सामाजिक एकतालाई कमजोर बनाउने प्रयत्न गरिरहेको छ । एकातिर एकल जातीय राष्ट्रवादले हाम्रो विविधतायुक्त राष्ट्रिय एकतालाई विभाजित गर्दैछ भने अर्कोतिर यसको विरोधका नाममा हाम्रो मुलुकको भौगोलिक अखण्डतालाई कमजोर बनाउने प्रयत्नहरु पनि भैरहेका छन् । नयाँ शक्ति नेपाल वैज्ञानिक र न्यायपूर्ण संघीय संरचना र समावेशी, समानुपातिक प्रतिनिधित्वका आधारमा बलियो राष्ट्रियएकता र प्रगतिशील राष्ट्रवादको स्थापना गर्न चाहन्छ । यसकालागि सामाजिक सद्भाव र एकताका लागि प्रदेश र स्थानीय रुपमा अभियानहरु सञ्चालन गरिनेछ । ङ. ‘महिलाविरुद्ध हिंसामा शून्यसहनशीलता’ अभियानः यो अभियानमा देशैभरी महिला तथा वाल हिंसामा शून्यसहनशीलता अपनाइने छ । नयाँ शक्तिका सामाजिक अभियन्ताहरुले महिला र वालवालिका विरुद्ध हिंसाका घटनाहरुको अभिलेखन गर्ने र त्यस्ता घटनाहरुको कानूनी उपचारकालागि पीडित पक्षलाई सहयोग गर्ने छन् । स्थानीय तहमा पारालीगल कमिटीहरुसँग मिलेर सञ्चालन गरिने यस्ता अभियानहरुको थप कानूनी उपचारका लागि सहयोग गर्न पहिलो चरणमा नयाँ शक्ति नेपालको केन्द्रीय महिला विभागले महिला हेल्प डेक्स र कानुन ब्यवसायीको ब्यवस्था गर्नेछ । यो अभियानलाई देशब्यापी बनाइने छ । यो अभियान मार्च ८ बाट सुरुगरिने छ । हामी नेपाली राजनीतिमा नयाँ इतिहास बनाउन चाहन्छौं । हामी स्पष्ट छौं यो सजिलो हुनेछैन । किनभने हामीसँग अनेकौं पुरातन उल्झन र अप्ठ्यराहरु छन् । तर यो असम्भव पनि छैन । हामी युगको आवाज सुनिरहेका छौ । त्यसैले हामी हाम्रो युगको सबैभन्दा उन्नत राजनीति निमार्ण गर्न गईरहेका छौ । हामी यो महान अभियानमा सबैको रचनात्मक सहयोग र सहकार्यको अपेक्षा गर्दछौं । धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?