Breaking News

अबदेखि कलर आईडी फोनसेवा निःशुल्क, कल ट्रान्सफरको पनि पैसा नलाग्ने

Feb Tue 2020 05:40:13

937 views

अबदेखि कलर आईडी फोनसेवा निःशुल्क, कल ट्रान्सफरको पनि पैसा नलाग्ने

नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फोन गरेको नम्बर देखिने सुविधा (कलर आईडी) सेवा निःशुल्क प्रदान गर्ने भएको छ । साथै कल डाइभर्ट लगायतका पुरक सुविधाको पनि पैसा नलाग्ने भएको छ । ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवाहरु लिँदा लाग्ने शुल्क साउन १ गतेबाट हटाइएको नेपाल टेलिकमले जनाएको छ । जसअनुसार अब ल्याण्डलाइन टेलिफोनमा कलर आईडी सेवाका लागि लाग्ने पैसा हटाइएको छ ।

यस्तै आइएसडी सेवा आफैंले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी त्यही दुई अंक थिचेर नम्बर डायल गर्न सकिनेछ । साथै एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट हुने र कल ट्रान्सफर सुविधा पनि निःशुल्क भएको छ ।

त्यसैगरी टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभर्ट हुने बिजी कल ट्रान्सफर, ६ पटकसम्म घण्टी बजेपनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट हुने ‘नो एन्सर ट्रान्सफर’, आवश्यक पर्ने समयमा अलार्मको रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने ‘वेक अप कल’ र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने ‘कल वेटिङ’ सुविधा पनि निःशुल्क लिन सकिने नेपाल टेलिकमले जनाएको छ ।

टेलिफोन सेटमा आफूले राखेको लकिङ कोड आफैले टेलिफोन सेटबाट परिवर्तन गर्दा समेत अब शुल्क नलाग्ने भएको छ ।

कलर आईडी सुविधा लिनका लागि दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्छ । अन्य सुविधा भने ग्राहकले आफै नै लिन सक्नेछन् । यसका लागि विभिन्न कोडको व्यवस्था गरिएको नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?