Breaking News

ज्योतिषशास्त्रः वैज्ञानिक कि अवैज्ञानिक ?

Feb Tue 2020 05:40:36

406 views

ज्योतिषशास्त्रः वैज्ञानिक कि अवैज्ञानिक ?

भूमिका

photo_sanjay
                        सञ्जय खड्का

 मानवशास्त्री इ.बि. टायलरका अनुसार ‘संस्कृति त्यो जटिल सम्पूर्णता हो जसमा ज्ञान, विश्वास, कला, नैतिकता, कानुन, प्रथालगायत अन्य सामथ्र्य र आनिवानीहरु पर्दछन् । जुन मानवद्वारा समाजको सदस्यका रुपमा रही प्राप्त गरेको हुन्छ । संस्कृति मानवद्वारा संस्कार वा परिष्कृत गरिएको कृति हो । ज्ञान, विश्वास, काल आदि सबै मानव निर्मित भएकाले यी सबै समय र स्थान सापेक्ष हुन्छन् । विश्वास संस्कृतिको एक अभिन्न अङ्ग हो ।ज्ञान र विश्वास एक अर्कासँग अन्तरसम्बन्धित छन् । कुनै व्यक्ति वा विचार वा चिजप्रति भएको विश्वासमा परिवर्तन आउन शुरुमा ज्ञानमा परिवर्तन आउन जरुरी हुन्छ । ज्ञान परिवर्तनशील, परिमार्जित र परिष्कृत नहुने हो भने विश्वासको दायरा पनि साँघुरो घेराभित्र कुँजिएर बस्छ । कुनै पनि विश्वास समयानुकुल परिमार्जित तथा परिष्कृत हुन सकेन भने त्यही विश्वासले कालन्तरमा अन्धविश्वासको रुप लिन्छ । हाम्रो समाजमा अन्धविश्वासले डेरा जमाएको छ । अन्धविश्वासमा आधारित धेरै कुरीति तथा कुसंस्कृतिहरु विद्यमान रहँदै आएका छन् । समालोचनात्मक दृष्टिकोणबाट हेर्ने हो भने हाम्रो समाजलाई मोटो रुपमा नकारात्मक प्रभाव पार्र्ने धेरै विषयवस्तुहरु रहेका छन् । नेपाली समाजमा नकारात्मक प्रभाव पार्ने विषयवस्तुको लामो सूची मध्ये ज्योतिषशास्त्र पनि एक हो ।

ज्योतिषशास्त्र आफैंमा एउटा व्यापक तर अस्पष्ट विषयवस्तु हो । सामान्यतया ज्योतिषशास्त्रलाई गणित ज्योतिष र फलित ज्योतिष गरी सरल रुपमा दुई भागमा विभाजन गरिएको पाइन्छ । यहाँ गणित ज्योतिषबारे तटस्थ भई फलित ज्योतिषबारे मात्र समालोचना गरिएको छ । के ज्योतिषशास्त्र साँच्चै वैज्ञानिक र मानवहित केन्द्रित छ? भन्ने मूलभूत प्रश्नलाई केन्द्र विन्दु बनाएर उक्त विषयवस्तुको बहुआयामिक कोणबाट समालोचना गर्ने प्रयत्न यस लेखमा गरिएको छ ।

२. के ज्योतिषशास्त्र विज्ञान हो ? मानिसको मानस–पटलमा ज्योतिषशास्त्रबारे गहिरो विश्वास रहेको पाइन्छ । आम मानिसदेखि ठुलाठुला राजनीतिज्ञ, अभिनेता तथा ठुला घरानाका व्यापारी समेत ज्योतिषशास्त्रको भर पर्ने गरेका छन् । नेपाल र भारतका उच्च पदाधिकारीहरुले (प्रधानमन्त्री लगायत) आध्यात्मिक सल्लाहकारको रुपमा व्यक्तिगत ज्योतिषीहरु राख्ने गरेका धेरै उदाहरणहरु छन् । यसरी सुप्रसिद्ध व्यक्तित्वहरुद्वारा ज्योतिषशास्त्रप्रति देखाइएको आकर्षणले गर्दा पनि ज्योतिषशास्त्रको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । ज्योतिषशास्त्रले भूत, वर्तमान र भविष्य पनि बताउने दावा गरिन्छ । साथै भविष्यमा हुन सक्ने दुर्दशा तथा दुर्घटनालाई रोक्न सक्ने दावा पनि गरिन्छ र मानिसहरु पनि यो तर्क प्रति विश्वस्त भएको पाइन्छ । तर के हाम्रो जीवन ग्रह, ताराकै नियन्त्रणमा छ त ? ज्योतिषशास्त्र विज्ञान हो कि फलित विज्ञान हो ? यी लगायतका अन्य प्रश्नहरु ज्योतिषशास्त्रको औचित्यमाथि उठ्नु स्वभाविक नै हो । आजका मितिसम्म गरिएका अनेकौं वैज्ञानिक अध्ययन अनुसन्धानले ज्योतिषशास्त्रको सिद्धान्त, व्याख्या तथा भविष्यवाणी विधिमा कुनै पनि वैज्ञानिक आधार देखाउन सकेनन् । ज्योतिषशास्त्रलाई यदि वैज्ञानिक मान्ने हो भने यसले केही आधारभूत विशेषताहरु धारण गर्नु पर्ने हुन्छ । वैज्ञानिक सिद्धान्तका केही आधारभूत विशेषताहरु हुन्छन् । यहाँ वैज्ञानिक सिद्धान्तका ६ आधारभूत विशेषताको चर्चा गरिएको छ जुन फलितविज्ञानमा अभाव हुने गर्छ ।१

१. समानता (consistency/uniformity) वैज्ञानिक सिद्धान्तको रुपमा योग्य हुनका लागि कुनै पनि अगाडि सारिएको तर्क वा विचार, भित्री र बाह्य दुवै रुपमा, समान वा परस्पर सङ्गति (consistent) हुनुपर्छ । कुनै पनि विचार वा तर्क विज्ञानपरक सिद्ध हुनका लागि अहिलेसम्म विश्वव्यापी रुपमा स्वीकारिएको वा प्रमाणित सिद्धान्तसँग समान वा परस्पर सङ्गति (consistent) हुनुपर्छ । तर विडम्बना भन्नुपर्छ ज्योतिषशास्त्रका तर्क वा विचार आधुनिक विज्ञानका सर्वमान्य सिद्धान्तसँग बाझिन्छ । कुनै विचार बीच बेमेल हुँदैंमा गलत हो भनेर बुझ्नु गलत हो । त्यसैले विचार वा तर्क बाझिनु प्रमुख कुरा होइन । प्रमुख कुरा त ज्योतिषशास्त्रीहरुले तार्किक रुपमा ब्रह्माण्डको नियम, स्वभाव र स्वरुपबारे प्रस्ट्याउनु पर्ने हो । तर उनीहरुले व्याख्या गर्न तथा प्रस्ट्याउन नसकेका कारण उनीहरुका दावीहरुको औचित्यतामाथि प्रश्न उठ्ने गरेको छ, जुन स्वाभाविक पनि हो ।

दोस्रो कुरा, ज्योतिषशास्त्र भित्री रुपमा पनि समान (consistent) देखिँदैन । ज्योतिषशास्त्रमा जे जति दावा गरिन्छ, त्यो सबै अस्पष्ट (vague) हुने गर्छ । ज्योतिषशास्त्रीहरुबीचको भिन्नता र विभिन्न समुदायमा व्याप्त विविध किसिमका ज्योतिषशास्त्रीय विधिले पनि ज्योतिषशास्त्र भित्री रुपमा पनि कन्सिस्टेन्ट नभएको देखाँउछ ।

२. के ज्योतिषशास्त्र पर्सिमोनियस (parsimonious) छ ? विज्ञानमा कुनै पनि सिद्धान्त पर्सिमोनियस छ भन्नाले कुनै पनि प्रक्रिया वा प्रश्नको व्याख्या गर्दा अनावश्यक कुराको चर्चा नगरी वस्तुको ठोस विश्लेषण गर्नुपर्छ भन्ने बुझिन्छ । यसरी हेर्दा ज्योतिषशास्त्र पर्सिमोनियस (parsimonious) देखिदैन किनभने यो शास्त्र अनावश्यक शक्ति वा बल (force) को मान्यतामा आधारित छ ।

ज्योतिषशास्त्रलाई समर्थ (valid) र सत्यसाबित गर्न मान्छे र आकाशीय पिण्डबीचको बलरुपी सम्बन्ध स्थापित गर्नुपर्ने देखिन्छ । त्यो बल स्थापित वा परिभाषित बल जस्तै गुरुत्वाकर्षण बल हुन सक्दैन, त्यो बल पक्कै पनि अर्कै प्रकृतिको हुनुपर्छ । अतः ज्योतिषशास्त्र पर्सिमोनियस हुनका लागि ज्योतिषशास्त्रीहरुले अविष्कार वा पत्ता नलागेको बल (force) को तथ्य अगाडि सार्नुपर्छ जसले अन्तरिक्षमा भएका पिण्ड र धर्तीमा भएका मानिसबीचको स्पष्ट सम्बन्ध स्थापित गर्न सकोस् । तर बिडम्बना ज्योतिषीहरुले आजको मितिसम्म सम्बन्ध हुन्छ मात्र भनेका छन् तर कार्यकारण सम्बन्ध स्थापित गर्न सकेका छैनन् ।

३. के ज्योतिषशास्त्र प्रमाणमा आधारित (evidence based) छ ? विज्ञानमा दावा गरिएका कुरा परीक्षण गरिन्छ र प्रमाणित गरिन्छ अनि मात्र स्वीकार्य सिद्धान्त बन्छ । वैज्ञानिक दृष्टिकोणले के चाहिँ सर्वविदित छ भने तथ्यमा आधारित नभएको कुनै पनि सिद्धान्त जुन प्रमाणित हुँदैन, त्यहाँ सत्यसँग कुनै सम्बन्ध छ भनी गरिएको दावाको कुनै तुक हुँदैन । कुनै पनि कुरा धेरैले स्वीकार गरेको वा विश्वास गरेको भन्दैमा असत्य कुरा कहिल्यै सत्य हुँदैन । सत्य हुनका लागि अवलोकन, परीक्षण र प्रमाणित हुन अनिवार्य छ । ‘असाधारण दावाका लागि असाधारण तथ्य चाहिन्छ’ भन्ने भनाई यहाँ धेरै सान्दर्भिक र तार्किक देखिन्छ । ज्योतिषशास्त्र असाधारण दावाको एउटा सुन्दर उदाहरण हो । ज्योतिषशास्त्रको सिद्धान्तलाई सही मान्ने हो भने अन्तरिक्षमा रहेका पिण्ड (ग्रह्र÷तारा) ले मानिसको चरित्र, जीवन र भविष्यमा प्रभाव पार्छ भने भौतिक, जिवविज्ञान तथा खगोलशास्त्र असत्य ठहरिन्छन् । किनभने अप्रमाणित कुरालाई सत्य मान्ने हो भने अहिलेसम्मका प्रमाणित कुरालाई स्वतः असत्य मान्नुपर्ने हुन्छ । अतः ज्योतिषशास्त्रका दावालाई स्वीकारयुक्त बनाउनका लागि सो शास्त्रका असाधारण दावाका लागि असाधारण तथ्य प्रस्तुत गर्नुपर्ने देखिन्छ जुन आजसम्म हुन सकेको छैन ।

४. के ज्योतिषशास्त्र नियन्त्रण र पुनरावृत्ति परीक्षण (controlled and repeatable experiment) मा आधारित छ ? वैज्ञानिक सिद्धान्त नियन्त्रण र पुनरावृत्ति परीक्षणमा आधारित हुन्छ । नियन्त्रण र पुनरावृत्ति (controlled and repeatability) विज्ञानका प्रमुख दुई विशेषताहरु हुन् । नियन्त्रण (control) भन्नाले परिणाममा असर वा प्रभाव पार्ने तत्वलाई हटाउन सकिन्छ भन्ने बुझिन्छ । जति असरदायी तत्व हटाइन्छ, कुनै कार्यको कारक तङ्खव यही हो भनी दावा गर्न त्यति नै सजिलो र प्रभावकारी हुन्छ । पुनरावृत्ति (Repeaitability) भन्नाले कुनै समयमा कुनै व्यक्तिले गरेको परीक्षण अर्को व्यक्तिले पुनः गर्न सक्छ र उस्तै वा एउटै निष्कर्षमा पुगिन्छ भन्ने बुझिन्छ । यसो हुँदा हाम्रो दावा र सिद्धान्त अझ बढी पक्का (confirmed) हुन्छ । ज्योतिषशास्त्रमा Repeatability नगन्य छ किनभने ज्योतिषशास्त्रमा विश्वास गर्नेहरुको अनुमानित findings दोहो¥याउन मुस्किल हुन्छ । एउटा ज्योतिषको तर्क वा दावा अर्का ज्योतिष भन्दा फरक हुँदा ज्योतिषीमित्रबीच पनि पुनरावृत्ति (Repeatability) को सम्भावना नगन्य देखिन्छ । ज्योतिषशास्त्रमा न नियन्त्रण न पुनरावृत्तिको विशेषता पाइन्छ । ज्योतिषशास्त्रमा नियन्त्रणको विशेषता सतहीमा देखिए पनि उक्त पक्रियामा न कुनै तर्क छ, न त कुनै विश्वासनियता । अतः ज्योतिषशास्त्रीहरुको व्याख्यामा नियन्त्रण र पुनरावृत्ति नदेखिएकोले उनीहरुको दावा वा व्याख्या सत्यबाट धेरै टाढा देखिन्छ ।

५. के ज्योतिषशास्त्र संशोधनीय (correctable)  छ ? विज्ञानमा सिद्धान्तहरु परिवतर्नशील (dynamic) हुन्छन् । नयाँ सूचना तथा तथ्य (data)को आधारमा विज्ञानका सिद्धान्तहरु परिमार्जित तथा परिवर्तनीय हुन्छन् । तर फलितविज्ञानमा परिवर्तन तथा परिमार्जित हुँदैन वा नगण्य परिवर्तन हुन्छ । परिवर्तन तथा परिमार्जनको दृष्टिकोणबाट हेर्दा ज्यातिषशास्त्र संशोधनीय (correctable) देखिँदैन । आफ्नो विषयवस्तु प्रस्तुत गर्ने प्रक्रियामा केही परिवर्तन भएको देखिए तापनि ज्योतिषशास्त्रको मूलभूत आदिम सिद्धान्तमा कुनै फेरबदल भएको छैन । प्राचीन कालदेखि अहिलेसम्म पनि राशी चिन्हका विशेषताहरुमा केही परिमार्जन भएको छैन । पछिल्लो समय नयाँ खोजको क्रममा नयाँ ग्रहरु थपिए पनि कुनै पनि ज्योतिषीले नयाँ ग्रह पत्ता लगाउनु भन्दा अगाडि अनुमान गरिएका राशीफल तथा भविष्यवाणी गलत थिए भन्न सकेका छैनन् । अतः ज्योतिषशास्त्र समयानुकूल अर्थात् विज्ञानको नयाँ खोजको नयाँ सत्य र तथ्य अनुरुप संशोधनीय देखिँदैन जुन विज्ञानको मूल विशेषता विपरीत हो ।

६. के ज्योतिषशास्त्र टेन्टेटिब (tentative) छ ? टेन्टेटिव (tentative) भन्नाले ट्रायल वा परीक्षा रीतिको प्रयोग सम्बन्धी भन्ने बुझिन्छ । विज्ञानमा वैकल्पिक व्याख्याको अभावमा कुनै सिद्धान्तलाई सही भनी तर्क गर्न मिल्दैन । तर फलित विज्ञानमा सधैं त्यस्ता तर्कहरु अगाडि सारिन्छन् । यो विज्ञान र फलित ज्योतिषबीचको मूल फरक हो किनभने विज्ञानको मान्यता अनुसार कुनै विकल्प पत्ता लगाउन नसक्नुले कुनै प्रश्नरुपी सिद्धान्तलाई सत्य छ भन्न मिल्दैन । अतः विज्ञानको मान्यतामा कुनै सिद्धान्तलाई अपरिमार्जित, अपरिवर्तनीय रुपमा होइन अहिलेसम्म उपलब्ध भएका सूचना र तथ्यको आधारमा हालको सिद्धान्त नै सर्वोत्कृष्ट भनेर व्याख्या गरिन्छ ।

ज्योतिषशास्त्रमा गरिने दावालाई सामान्यतया नकरात्मक ढङ्गमा प्रयोग गरिन्छ । ज्योतिषशास्त्रमा परीक्षणको उद्देश्य सिद्धान्त व्याख्या गर्न सक्ने तथ्यको खोज गर्नु नभएर त्यस्ता तथ्य खोज्नु हो जसको व्याख्या गर्न नसकियोस् । अन्ततोगत्वा, कुनै वैज्ञानिक व्याख्याको अभावमा नतिजालाई अलौकिक शक्तिसँगै जोडेर निष्कर्ष निकालिन्छ । यस्ता तर्क विज्ञानपरक छैनन् । ज्योतिषशास्त्रलाई साँघुरो घेरामा परिभाषित गरिएको छ र ज्योतिषशास्त्रले तथ्य सत्यको दायरा भित्र नपर्ने कुरालाई मात्र व्याख्या गर्ने गरेको देखिन्छ । यस्ता तर्कमा आधारित विधि अवैज्ञानिक हुन् किन भने यसले दुई विधिलाई विपरीत दिशातिर लैजान्छ । वैज्ञानिक सिद्धान्त बढी भन्दा बढी तथ्य संलग्न गराउने ढाँचामा आधारित हुन्छ । वैज्ञानिकहरु धेरै सिद्धान्त र कम व्याख्या भन्दा थोरै सिद्धान्त तर प्रक्रिया सम्बन्धी बढीभन्दा बढी व्याख्या गर्न सक्ने विधा रुचाउँछन् । तर ज्योतिषशास्त्रको व्याख्या विज्ञानको भन्दा ठीक विपरीत देखिन्छ ।

विज्ञानका मूलभूत मान्यतासँग तुलनात्मक रुपमा हेर्दा फलित ज्योतिषकुनै पनि कोणबाट वैज्ञानिक देखिँदैन । परिकल्पना गरिएको प्रक्रिया वा अनुमान परीक्षण गर्न सकिँदैन भने ज्योतिषशास्त्रीय विधि कसरी वैज्ञानिक हुनसक्छ ? परीक्षण सम्बन्धी कुनै पनि मापदण्ड अपनाउन वा लागू गर्न नसकिने ज्योतिषशास्त्रीय विधि वैज्ञानिक हुनै सक्दैन ।

३. केही समालोचनात्मक प्रश्न  जन्म कुण्डली तथा चिना मान्छेको मात्र हुन्छ कि जनावरको पनि हुन्छ ?

यदि हुन्छ भने कुनै जनावरको सही जन्म मिति, स्थान र समय दिइए, कुन जनावर हो वा उक्त जनावरको आयु कति हो भनेर भन्न सकिन्छ ? कुनै जनावर र मानिस एकै स्थान र समयमा जन्मिए के यी दुईको चिना एउटै हुन्छ ? भाग्य र ग्रहदशा एउटै हुन्छ ?

जुम्ल्याहाको चिना एउटै हुन्छ कि फरक ? एउटै हुन्छ भने भिन्न दुई व्यक्तिको जिवनभरी भाग्य र ग्रह दशा कसरी एउटै हुन्छ ? चिना फरक हुन्छ भने ज्योतिषशास्त्रको कुन सिद्धान्त वा विधिद्वारा फरक हुन्छ ?

एकै अस्पतालको एउटै कोठामा एकै समय जन्मिएका बच्चाहरुको चिना एउटै हुन्छ कि फरक ?

भनिन्छ ज्योतिषशास्त्र त्रिकालदर्शी हुन्छ । के ज्योतिषशास्त्रले सबै थाहा पाउँछ ? के ज्योतिषशास्त्रको कुनै सीमा हुँदैन ?

चिना गर्भधारणको समय (time of conception) को आधारमा नभएर जन्म समयको आधारमा बनाइन्छ । यी दुई मध्ये कुन चाँहि सही जन्म समय हो ? टाउको देखिएको वा खुट्टा देखिएको समय ? के ग्रहले आफ्नो प्रभाव जन्म भएपछि मात्र देखाउन शुरु गर्छ ? गर्भ अवस्थामा नौ महिनासम्म बच्चाको विकासक्रममा ग्रहको कुनै प्रभाव नै हुँदैन ? के जन्मनु भन्दा अगाडि (नौ महिनासम्म) ग्रहको प्रभाव शून्य र जन्मेपछि शतप्रतिशत बढ्ने हो ? त्यो के कारण हो ज्योतिषशास्त्रमा जसले जन्म समयलाई महत्वपूर्ण बनायो र गर्भधारणको समयलाई (time of conception) असान्दर्भिक बनायो ? कतै गर्भधारणको समय पत्ता लगाउन कठिन भएकोले ज्योतिषशास्त्रमा जन्म समयलाई नै आधार बनाइएको त होइन ?

जन्म समयको आधारमा जन्म कुण्डली बन्ने गर्छ । त्यसो हो भने साइत हेरेर २—३ दिन अघि (सिजरिङ) चिरफार गरेर जन्मिएको बच्चाको जन्म कुण्डलीमा ग्रहको प्रभाव फरक पर्छ कि पर्दैन ?

टेस्ट्यूब बेबीको सवालमा ज्योतिषशास्त्रीय विधि कस्तो छ ?

तेस्रो लिङ्गीय सवालमा ज्योतिषशास्त्रीय विधिले के भन्छ ?

ज्योतिषशास्त्र अनुसार ग्रहहरुबीचको प्रभावलाई त मानिन्छ तर ग्रहबीचको दूरीलाई कुनै पनि मापदण्डको रुपमा मानिएको देखिँदैन । यो ब्रह्माण्डमा अगन्य आकाशीय पिण्डहरु रहेका छन् । तर ती पिण्डहरुको प्रभावलाई नजरअन्दाज गरेर ज्योतिषशास्त्रमा किन नौ ग्रहमा मात्र सिमित गरिएको हो ?

ज्याोतिषशास्त्रमा मानिएका दुई ग्रह राहु र केतु वास्तवमा ग्रह नै होइनन् । तिनीहरु त केबल ग्रहकक्षहरुको मिलन विन्दु मात्र हो, कुनै पिण्ड होइनन् । पिण्डरहित कथित ग्रह राहु र केतुले हाम्रो जीवनमा कसरी प्रभाव गर्न सक्छ ? जुन ग्रहको भौतिक अस्तित्व नै छैन भने उक्त ग्रहको ग्रहशान्ति गराउनुको औचित्य के छ ?

ज्योतिषशासत्रमा ग्रहको गलत अवधारणा रहेको पाइन्छ । चन्द्रमा उपग्रह हो, सूर्य तारा हो र राहु र केतु ग्रहकक्षको मिलन विन्दु हो– कुनै पिण्ड होइन । तर यी सबैलाई ज्योतिषशास्त्रमा ग्रह मानिएको छ । यस्तो गलत अवधारणामा आधारित ज्योतिषशास्त्र कसरी सही हुन सक्छ ?

ज्योतिषशास्त्र जियोसेन्ट्रिक सिद्धान्तमा आधारित छ अर्थात् ग्रह पृथ्वीको वरिपरि घुम्छ भन्ने मान्यतामा आधारित छ । अर्थात् ज्योतिषशास्त्रमा पृथ्वीलाई ग्रहहरुको केन्द्रको रुपमा लिने गरिन्छ । तर यो सिद्धान्तलाई कोपरनिकसले धेरै समयअघि नै गलत साबित गरेका थिए । उनले सूर्य पृथ्वीको वरिपरि होइन, पृथ्वी चाँहि सूर्यको वरिपरि घुम्छ भनेर पहिलो पटक प्रमाणित गरेका थिए । यसलाई हेलियोसेन्ट्रिक थेउरी भनिन्छ ।

के ज्योतिषशास्त्रले प्राकृतिक प्रकोपबारे पनि भविष्यवाणी गर्न सक्छ ? विख्यात ज्योतिषीहरुले भूकम्प तथा सुनामी जस्ता प्राकृतिक प्रकोप जानुभन्दा अगाडि किन पूर्व जानकारी दिन सकेनन् ? ज्योतिषशास्त्रीय विधि अनुसार प्राकृतिक प्रकोपबारे गरिएका भविष्यवाणी पनि किन गलत साबित भए ?

पूजापाठ तथा बाहुनलाई दान दिएर ग्रहदशा कसरी हट्न सक्छ ? यो सम्भव छ भने कसरी हुन्छ ? त्यसले काम गर्ने प्रक्रिया, संयन्त्र वा विधि के हो ? पूजाआजा गर्दा, अमुक पत्थर लगाउँदा वा बाहुनलाई दान गर्दा ग्रहले हाम्रो जीवनमा पारेका वा पार्ने कुप्रभावलाई सुप्रभावमा कसरी परिवर्तन गर्छ ? के कर्मकाण्डीय प्रक्रियाले ग्रह दशाद्वारा हामीलाई प्रभाव पार्ने बल (force) (अहिलेसम्म परिभाषित हुन नसकेको) को दिशा नै परिवर्तन गरिदिने हो या उक्त बललाई बाटो मै रोकिदिने हो ? कि गलत दिशा वा स्थानमा रहेको ग्रहको स्थान नै परिवर्तन गरिदिने हो ?

राहु र केतु मानिएका ग्रहको अस्तित्व नै छैन भने यस्ता ग्रहको नाममा ग्रह शान्ति गर्नुको औचित्य के छ ?

चिना वा कुण्डलीमा देखिएको ग्रह दशा पूजापाठबाट हटाइन्छ । तर अर्को पटक अर्का ज्योतिषीले सोही चिना पढ्दा फेरि त्यही ग्रह दशा लागेको देखाउँछ । त्यसकारण फलानो मितिमा फलानो ग्रह दशा हटाइयो भनेर लिपिबद्ध रुपमा संविधान संशोधन गरिनु पर्छ कि पर्दैन ?

प्राचीन कालमा मानिसले अन्तरिक्षमा अवस्थित ग्रह, तारा वा अरु प्राकृतिका आकाशीय पिण्डबीच खाली आँखाले कसरी छुट्याउन सके ? खुल्ला आकाश मुनी र घर वा बिल्डिङ्ग भित्र जन्मेका बच्चामा ग्रहको प्रभाव उही मात्रामा हुन्छ या कम वा बढी हुन्छ ? यदि कम वा बढी हुन्छ भने कसलाई कम वा बढी हुन्छ ? र किन ?

हुन नसकेको वा असफलताको दोष कसलाई लगाउने ? ग्रहदशालाई लगाउने ? केही काम बिग्रँदा मैले बिगारेको होइन, ग्रह दशाले बिगारेको हो भन्ने ? कसैलाई कुटियो भने मैले होइन, मेरो दोष छैन, सब ग्रह दशाले गर्दा भएको हो भन्ने ? के यसले दोष जति अरुलाई थोपार्ने प्रवृत्ति सिकाउँदैन र ? हामीलाई भाग्यवादी हुन सिकाउँदैन र ?

एउटै चिना लिएर दुई ज्योतिषीकोमा जाँदा किन जीवन व्याख्या फरक फरक हुन्छ ?

ज्योतिषशास्त्रका व्याख्या अस्पष्ट (vague) र साधारण हुने गर्छन् । सामान्यतः ज्योतिषशास्त्रमा गरिएका व्याख्या निम्नलिखित प्रकृतिका हुने गर्छन् ।

१. साधारण किसिमको चरित्र बताइन्छ जुन प्रायः धेरै मानिससँग मिल्न जान्छ । जस्तोः तपाईं परिवार प्रेमी वा परिवार केन्द्रित हुनुहुन्छ । तपाईं आफ्नो आर्थिक अवस्थाबारे सचेत रहनु हुन्छ । तपाईं सानो हुँदा चोट पटक लागेको थियो ।

२. दुई अर्थ राख्ने व्याख्या जुन सधैं सही हुन्छ । किनभने ती व्याख्याले सबै किसिमका सम्भावनाहरु बोकेका हुन्छन् । जस्तोः तपाईं निर्णायक बन्न चाहनु हुन्छ तर कहिले काँही आफूलाई निर्णय लिन मुस्किल भएको पाउनु हुन्छ । पैसा कमाउनु हुन्छ तर खर्च हुन्छ ।

३. सधैं सबैलाई मिल्ने खाले सुझाव । जस्तोः फल प्राप्त गर्नका लागि अलिक मिहेनत गर्नुपर्ने देखिन्छ । सकरात्मक सोच राख्नु, जीवन सकरात्मक नै हुन्छ ।

४. अस्पष्ट (vague) किसिमका अभिव्यक्ति जसलाई धेरै तरिकाले व्याख्या तथा विश्लेषण गर्न सकिन्छ । जस्तोः तपाईंले सोचे जति भइराखेको छैन ।

५. ग्राहकले ग्रहण तथा श्रवण गर्न इच्छाएको कुराको व्याख्या । जस्तोः अहिलेको समयमा ग्रहदशाले गाह्रो पारे पनि पछि विस्तारै काम बन्दै जानेछ । पछिको जीवनमा नाम र दाम दुवै प्राप्तिको योग रहेको छ ।

४. ज्योतिषीलाई हार्दिक आह्वान ४.१ भविष्यवाणी गर्नुृहोस्, करोडौं जित्नुहोस्

भूत, वर्तमान र भविष्य बताउन सक्ने दावा गर्ने ज्योतिषीहरुलाई हार्दिक निमन्त्रणा गर्दछु । यो खुल्ला प्रतिस्पर्धामा कुनै पनि व्यक्ति सहभागी हुन सक्छन् र सही भविष्यवाणी गरेर करोडौं जित्न सक्नेछन् ।

(Note: कुनै पनि चमत्कार वा दैवी÷ईश्वरीय शक्तिद्वारा भविष्यवाणी गर्ने जस्ता अलौकिक कार्य यो संसारमा संभव छैन भन्ने युक्तिवादीहरुको तर्क छ । तसर्थ त्यसता कार्य गर्नेलाई विश्वभरि धेरै युक्तिवादीहरुले आह्वान गरी पुरस्कार राशी राखेका उदाहरण धेरै छन् । जस्तोः प्रा. डा. नरेन्द्र नायकले भारु दस लाख नगद राखेका छन्, जेम्स ¥यान्डिले एक लाख अमेरिकन डलर राखेका छन्, आइएचईयूका साथै धेरै व्यक्ति तथा संस्थाले आकर्षक पुरस्कार राशी राखेका छन् । इच्छुक व्यक्तिले लेखकको ईमेल ठेगाना sanjaykhadka17@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ । लेखकले त्यस्ता अद्भूत प्रतिभाशाली व्यक्तिलाई सम्बन्धीत संस्थासँग जोड्ने सेतुको काम गर्नेछन् । साथै संस्थाको शर्त अनुरुप कार्यविधि अगाडि बढाइने जानकारी गराइन्छ ।)

भविष्यवाणी गर्नुपर्ने

हामी बीसजना बालबालिकाको सही जन्म समय (ठीक मिनट सहितको) र जन्म स्थान (latitude / longitude सहितको) उपलब्ध गराउने छौं । ज्योतिषशास्त्रीहरुले उनीहरुको कुण्डली बनाएर उनीहरु पुरुष वा महिला हुन् र मृत हुन् वा जिवित छन् मात्र भन्नुपर्ने छ ।

४.२ निर्वाचन परिणाम भविष्यवाणी गर्नुहोस्, करोडौं जित्नुहोस

हामी इश्वरीय शक्ति प्राप्त त्रिकालदर्शी तथा अद्भूत क्षमतवान ज्योतिषीहरुलाई हार्दिक निमन्त्रणा गर्न चाहन्छौं कि अब हुने आम निर्वाचनको नतिजाबारे सही भविष्यवाणी गरेर करोडौं लैजानुहोस् ।

भविष्यवाणी गरिनु पर्ने सवालहरू १. अबको आम निर्वाचनपछि नेपालको प्रधानमन्त्री को बन्लान् ? २. आम निर्वाचनपछि कृषि मन्त्री, शिक्षा मन्त्री, विज्ञान तथा प्रविधि मन्त्री, स्थानीय मन्त्री र युवा तथा खेलकुद मन्त्री को बन्लान् ? ३. कुन कुन दलको सत्तारुढ गठबन्धन बन्ला ? ४. सबैभन्दा बढी र कम मत प्रतिशत ल्याएर विजय हासिल गर्ने उम्मेदवार को हुने छन् ? ५. निम्नलिखित दलले प्राप्त गर्ने जम्मा सिट संख्या (प्रत्यक्ष र समानुपातिकको योगफल) कति होला ?

 नेपाली काँग्रेस नेकपा एमाले नेकपा एमाओवादी राप्रपा नेपाल राप्रपा नेकपा माले राष्ट्रिय जनमोर्चा मधेसी अधिकार फोरम (लोकतान्त्रिक)

५ंं  निष्कर्ष  कुनै पनि कुरा धेरैले स्वीकार गरेको वा विश्वास गरेको भन्दैमा असत्य कुरा कहिल्यै सत्य हुँदैन । सत्यताका लागि अवलोकन, परीक्षण र प्रमाणित हुन अनिवार्य छ । ज्योतिषशास्त्रले हामीलाई कर्मवादी नभएर भाग्यवादी बन्न सिकाउँछ । सक्रिय होइन निष्कृय जीवन जिउन सिकाउँछ । आफ्ना सबै दोष जति अरुमाथि थोपर्न सिकाउँछ । भाग्यमा कुनै कुरा पाइन्छ भनी लेखिएको छ भने किन काम गर्ने ? त्यो त त्यसै पाइन्छ किन कि भाग्यमा स्पष्ट पाउने लेखिएको छ । यदि भाग्यमा प्राप्त योग लेखिएको छैन भने किन परिश्रम गर्ने ? आखिर जति परिश्रम गरे पनि त्यो त भाग्यमा लेखिएको छैन । अतः पाउने त संभव नै छैन । एकछिनका लागि ज्योतिषशास्त्र चमत्कारिक सत्य र साँचो नै हो भने पनि भविष्य देखाउनुको औचित्य के छ ? भोलीको कुरा किन आज थाहा पाउने ? के भविष्यका कुरा सबै थाहा पाउँदा हामी सुखमय रुपमा बाँच्न सकौंला ? वास्तवमा भोलीको कुरा आज थाहा नपाउनु नै जिन्दगीको रहस्यमयात्मक मजा हो । यो नै जिन्दगीको आत्मा हो । यथार्थमा भोलिका सर्वस्व कुराको ज्ञात हुनु त सजा हो । अब हामीले भाग्यवादी र कर्मवादी बीच चुनाव गर्नुपर्ने बेला भएको छ । हामी कथित पूर्व निर्धारित भविष्य अन्तर्गत दास बन्ने कि आफ्नो भाग्यविधाता आफैं बन्ने हो ? यो निर्णय हामी स्वयँमा निर्भरछ ।

- Koselinews.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?