यसपालिदेखि मेडिकल शिक्षामा प्रवेश गरेर आफ्नो मेडिसिनमा करिअर बनाउनेहरूको लागि निर्णय लिन अबको केही दिन मात्र बाँकी छ। जसको लागि विद्यार्थी तथा अभिभावक दुवैले एकदमै बुद्धि पुराएमा विद्यार्थीको भविष्य, समाज र राष्ट्र सबैकाे हित हुनेछ।
डा.अभिषेक राज सिंह Email singhars2608@gmail.com
मेडिकल शिक्षाको यथार्थ दुईचार वर्षपहिलेसम्म मेडिकल शिक्षा र मेडिकल क्षेत्रबारे त्यहाँभित्रका विकृति विसंगतिहरु खासै बाहिर आउँदैनथे। यसले गर्दा आम अभिभावक र विद्यार्थीहरूलाई खासै थाहा हुँदैनथ्यो। उनीहरू जब त्यहाँ पुग्थे, त्यतिबेलासम्म समयले धेरै बाटो काटिसकेको हुन्थ्यो।
मेडिकल शिक्षाको वर्तमान अवस्था अहिले कस्तो छ भनेर स्पष्ट हुन केही दिनअघि मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गर्ने चिकित्सकहरुको अनुपात हेर्दा अझ छर्लङ्ग हुन्छ । शनिबार भएको परीक्षामा ५१० जना सहभागी थिए। त्यसमध्ये २५२ जना विद्यार्थीले मात्र मेडिकल अभ्यास गर्न पाउने परीक्षा उत्तीर्ण गर्न सकेका छन्। दन्त चिकित्सामा ४१ जना विद्यार्थीमध्ये जम्मा ६ जना मात्र उत्तीर्ण भएका छन्।
त्यसैले यसपालिको नयाँ भर्ना हुनुभन्दा पहिले नियामक निकायले (विश्वविद्यालय, मेडिकल काउन्सिल र शिक्षा मन्त्रालय) मेडिकल कलेजहरूको गुणस्तर, शुल्क र मेरिटका आधारमा भर्ना हुनुपर्छ भन्ने परिपाटी बसाउने प्रयास भएको थियो। अभिभावक र विद्यार्थीको गलत कदमले फेरि पुरानै परिपाटी नबस्ला भन्न सकिन्न। किनकि अभिाभावक र विद्यार्थीको यस ज्यानमारा कर्ममा न्यायालयले पनि उनीहरूकै पक्षमा निर्णय नगर्ला भन्न सकिँदैन। हाम्रो न्यायालय के निर्णय गर्छ, कसरी निर्णय गर्छ भन्ने कुराका लागि उसका विगतका नजिरहरु हेर्दा स्पष्ट हुन्छ। न्यायिक निर्णयहरु पूर्ण रुपमा मेडिकल माफियालाई पोस्ने किसिमले भएका छन्।
कसका लागि डाक्टर बन्ने? मेडिकल शिक्षामा लाखौँ लगानी गर्ने अभिभावकहरूले पनि यथार्थता नबुझिकन आफ्नो सन्तानले डाक्टरी पढिदिए समाजमा राम्रो मानसम्मान हुने, प्रतिष्ठा बढ्ने जस्ता बुझाइले गर्दा विद्यार्थीहरु आफ्नो रुचिभन्दा अभिाभावकको सपना पूरा गर्न पढिदिएको पनि पाइएको छ। मेरा दुईजना सिनियरहरुले यसबारेमा मसँग अनुभव साटेका थिए।
१. यो विषय एनाटोमी प्राक्टिकलको हो। एकजना विद्यार्थीलाई प्रथम दुई वर्षमा क्याडेभर (चिरफार गरेर पढाइको प्रयोजनको लागि प्रयोग हुने लास) डाइसेक्सनको (चिरफार) लागि जति सम्झाउँदा पनि मानेनन् अनि मात्र उनले भन्थे,'मलाई घिन लाग्छ।' अनि मलाई ती सिनियरले भन्दै थिए,'म उसलाई कसरी सिकाऊँ ?'
२. अर्को एकजना शल्यचिकित्सा विभागका सिनियरले अनुभव सुनाए, 'एकजनालाई पिआर एक्जामिनेशन (मलद्वारमा औँला राखी गरिने जाँच) गर्नभन्दा घिनलाग्छ भन्दै गरेनन्। अनि ती विद्यार्थीलाई उनले वार्डबाटै बाहिर पठाइदिए।
यी दुई त उदाहरण मात्र हुन्। यस्ता कैयौँ उदाहरणहरू छन्, जो यथार्थता नबुझेर क्षणिकतामा बहकिएर मेडिसिन पढ्न आएका कारण उत्पन्न भएका हुन्।
३. यो क्षेत्रमा तपाईं प्रवेश गर्न लग्दैहुनुहुन्छ र विज्ञ बन्छु भन्ने सोचमा हुनुहुन्छ भने तपाईंको यात्रा कम्तिमा दश वर्ष लामो हुनेछ। त्यो पनि यो वर्षदेखि गणना गर्दा। यसो भन्नुको अर्थ हो तपाइँका सहपाठीहरुले विश्वविद्यालय तहको अध्ययन सकेर व्यवसायिक रुपमा स्थापित भइसक्दा पनि तपाइँ विद्यार्थी नै हुनुहुनेछ। त्यसैले मेडिकल विद्यार्थीका लागि धैर्यता ठूलो विषय हो।
४. घरपरिवार अनि साथीभाइसँग मोजमस्तीका लागि समय निकाल्न निकै गाह्रो हुनेछ। किनकि तपाइँले अधिकांश समय अस्पतालमा बिताउन पर्नेहुन्छ। तपाइँका धेरै आफन्त र साथीभाइहरु चाडबाडको उल्लास मनाइरहेका बेला तपाइँको भेट दुःखी पीडित बिरामीसँग हुनेछ। अर्थात् तपाइँका बाडबाडहरु अस्पतालमै बित्नेछन्।
५. अन्य कार्यालयहरुमा जस्तो ड्युटी चिकित्सकको हुँदैन। फगत १०–५ को निर्धारित तालिकामा अस्पताल चलेको हुँदैन। 'अडआफर', रात्रीकालीन ड्युटीमा पनि तपाइँको जीवन ब्यतित हुनेछ।
६. आरामका लागि तपाइँले पाउने सुत्ने समय, परिवार, साथीभाइभन्दा तपाइँको ड्युटी महत्वपूर्ण हुनेछ। तपाइँको पेशाको विशेषता बिरामी जीवनसँगको सोझो सम्पर्क पनि हो। आकस्मिक रुपमा बिरामीलाई तपाइँको खाँचो परेमा जुनसुकै बेला तपाइँ उपस्थित हुनुपर्नेछ। यी सामान्य र कमन चुनौतीहरु हुन्। यहाँ उल्लेख नभएका र भोग्नुपर्ने अन्य थुप्रै चुनौतीहरु समेत तपाइँका सामु हुनेछन्।
तपाईंको भविष्य तपाईंकै निर्णयमा भर पर्ने हुन्छ। तसर्थ सोचविचार पुर्याएर अभिभावक र विद्यार्थी दुवैले मेडिकल शिक्षामा प्रवेश गर्नुभन्दा पहिले यी विभिन्न विषयहरूबारे बुझ्न जरुरी देखिन्छ। न कि अभिभावकहरूको पैसाको भर नियामक निकाय, अदालत अनि मेडिकल कलेज सबैलाई आफ्नो पक्षमा पारेर गलत परिपाटी बसाई उत्कृष्ट सूचिमा नपरेका विद्यार्थीहरूलाई भर्ना गरेर।
त्यसैले विद्यार्थी, अभिभावकले क्षणिकतामा बहकिन हुँदैन। पैसाको भरमा मेडिकल शिक्षामा प्रवेश गर्नु भनेको अभिभावक, विद्यार्थी र समाजको लागि गम्भीर हानी हो। त्यसले विद्यार्थी, समाज, सम्पूर्ण राष्ट्रलाई नोक्सानबाहेक केही पुर्याउने छैन।