Breaking News

पेट्रोल-डिजेल विना चल्ने विद्युतिय कार नेपालमा

Feb Tue 2020 05:40:12

593 views

पेट्रोल-डिजेल विना चल्ने विद्युतिय कार नेपालमा
सर्भिसिङ र सवारी करको झन्झट नहुने
नेपालमा भारतको अघोषित नाकाबन्दीका कारण अटोमोबाइल व्यवसायमा पनि ठूलो असर परेको छ। एकातिर इन्धनको अभाव अर्कोतिर गाडिहरु ल्याउन नसक्नु अटो व्यवसायका लागि ठूलो चुनौती बनेको छ।
मानिसहरु हरेक कुरामा इन्धनको विकल्प खोज्न थालेका छन्। नेपालमा इन्धनबाट चल्ने गाडिहरुको विकल्प नै नभएको होइन। विना इन्धन चल्ने टेम्पो, इलेक्ट्रिक स्कुटर र साइकलहरुले सवारीसाधनको गर्जो टारिरहेका छन्।
नेपालमा विद्युतिय कारको बजार पनि धेरै समयदेखि चलिआएको छ। हामीले सडकमा सानो आकारको विद्युतिय कार रेभा देख्दै आएका छौँ। तर दुई वर्षअघि रेभालाई महिन्द्राले किनेपछि यसको आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले विद्युतीय कार महिन्द्रा ईटुओ नेपाली बजारमा विक्रीवितरण गर्दै आएको छ ।
महिन्द्राले सानो आकारको रेभालाई बजारमा अन्य साना ह्याचब्याक कारहरुसँग प्रतिस्पर्धा गर्नसक्ने हिसावले ठूलो आकारमा ईटुओको रुपमा पछिल्लो समयमा नेपाल भित्र्याएको हो।
सामान्यअवस्थामा पनि नेपालमा पेट्रोल र डिजेलको समस्या भइरहने हुनाले कार चालकहरुका लागि महिन्द्रा ईटुओ एक सहज सवारीसाधन हुने अग्नि इनर्जीका मार्केटिङ म्यानेजर सिजन न्यौपाने बताउँछन्।
पेट्रोल र डिजेल अभावको समस्यामा परेर ग्राहकहरुले सास्ती नपाऊन् भन्ने उद्देश्यका साथ गुणस्तरिय र वातावरणमैत्री ईटुओ विद्युतिय कार नेपाली बजारमा ल्याएको कम्पनीको भनाइ छ।
नेपालमा यो गाडीको विक्रीवितरण भएको २ वर्षभन्दा बढी भइसकेको छ । सुरुसुरुमा भने यो कारका बारेमा बुझेका ग्राहकहरु र जसले पहिले यस्ता गाडिहरुको उपयोग गरिसकेका छन् त्यस्ता ग्राहकहरु मात्र आउने गरेको न्यौपानेले बताए। तर पछिल्लो समयमा भने इन्धन अभावको बेलामा यो कार विशेष उपयोगी सावित हुँदै आएको र ग्राहकहरुले पनि यो कारको महत्व र सहजपनाको बारेमा बुझ्दै आएका कारण विस्तारै ईटुओको बजार गति फस्टाउँदै गएको न्यौपानेको भनाइ छ।
हालसम्म ७० वटाभन्दा बढी ईटुओ गाडी विक्री भइसकेको छन् भने पेट्रोलियम पदार्थको अभाव सुरु भएयता मात्र पनि स्टकमा भएका करिब १० वटा कारहरु विक्री भइसकेको न्यौपानेको भनाइ छ। यो बाहेक गाडिको बुकिङ गर्ने ग्राहकहरु पनि थुप्रै रहेको उनले बताए।
‘अहिले ईटुओ खोज्न आउने थुप्रै ग्राहकहरु हुनुहुन्छ। हामीले हामी कहाँ भएका सबै स्टक गाडिहरु विक्री गरिसक्यौँ। ८ वटा भन्दा बढी बुकिङ पनि गरिराखेका छौँ। तर अर्डर गरेका कारहरु नाकामा अड्किएर रहेका कारण डेलिभरी गर्न भने सकेका छैनौँ,’ उनले भने।
नेपाली बजारमा महिन्द्रा ईटुओ विद्युतिय कारको मूल्य २४ लाख ३५ हजार रुपैँया तोकिएको छ । भन्सार करमा सरकारले सुविधा दिने हो भने यो कार सस्तो मूल्यमा विक्री गर्न सकिने कम्पनीको भनाइ छ।
न्यौपाने भन्छन्, ‘सरकारले पेट्रोलियम पदार्थबाट चल्ने कार र विद्युतिय कारमा उत्तिकै कर लगाएको छ । सरकारले विद्युतिय कारको करमा सहुलियत दिने हो भने विद्युतिय कारको मूल्य इन्धनबाट चल्ने कारभन्दा सस्तो पर्ने र यसको प्रयोग पनि बढी हुने थियो।’
महिन्द्रा ईटुओमा भएका फिचर, विशेषता तथा सुविधाहरुः
१९ किलोवाटको शक्ति र ५३.९ एनएम टर्क उत्सर्जन गर्ने यो कारमा ४८ भोल्टको मर्मत गर्न नपर्ने लिथियम आयोन ब्याट्री छ। यसमा यार्क र पिनिओन इलेक्ट्रिक पावर स्टेरिङ, पूर्ण स्वचालित (अटोमेटिक) ट्रान्समिसनको प्रयोग गरिएको छ ।
चार जना यात्रुहरु आरामसँग बस्न मिल्ने यस कारमा ढोका भने दुईवटा मात्र रहेको छ। करिब ५ घण्टामा फुल व्याट्री चार्ज हुने यो कार एकपटकको फुल  चार्जपछि १२० किलोमिटरसम्म चल्ने कम्पनीको दावी छ।  यस हिसावले एक किमी यात्रा गर्न करिब एक रुपैयाँ मात्र लागत लाग्ने पनि मार्केटिङ म्यानेजर सिजन न्यौपानेले बताए।
कम्पनीका अनुसार महिन्द्रा ईटुओ विद्युतिय कारमा अन्य ह्याचब्याक कारमा हुने प्रायः सबै सुविधाहरु रहेका छन्। यसको कूल लम्बाइ ३२८० मिमि, चौडाइ १५१४ मिमि र उचाइ १५६० मिमि रहेको छ।
कम्पनीका अनुसार ८१ किमी प्रतिघण्टा अधिक गति भएको यो विद्युतिय कार ईटुओको अगाडिको भागमा ग्यासले भरिपूर्ण म्याकफर्सन स्टुट र पछाडिको भागमा ट्रेलिङ लिङ्क सस्पेन्सन प्रयोग गरिएको छ । अगाडि २१५ मिमि×१०मिमि सोलिड डिस्क र पछाडि १८० मिमि ड्रम ब्रेक प्रयोग गरिएको यो गाडिमा ट्युबलेस टायर रहेको छ। यसले यात्रुलाई आरामदायी र सुरक्षित यात्रा दिने कम्पनीको दाबी छ ।
मनोरञ्जनका लागि गाडिमा सीडी, डीभिडी, एमपीथ्री प्लेयरसहित ब्लुटुथ र आइपड कनेक्टिभिटी पनि छ। महिन्द्रा ईटुओमा स्मार्टफोन जोड्न मिल्ने व्यवस्था पनि रहेको छ । गाडिमा चालकलाई सूचना दिने सूचक यन्त्र र पार्किङमा सहज होस् भनेर पछाडि हेर्न मल्निे क्यामरा पनि छ । १८० मिमि ग्राउण्ड क्लियरेन्स भएको यो कारको ह्वील बेस १९५८ मिमि छ। हाल यो कार पहेँलो, रातो र हरियो गरी तीन रंगमा नेपाली बजारमा उपलब्ध छन्।
विद्युतिय कार एकपटक किनेपछि यसमा बारबार खर्च गर्नुनपर्ने न्यौपाने बताउँछन्। ‘यसलाई बारम्बार सर्भिस गर्नुपर्दैन, इन्जिन नै हुँदैन, त्यसैले लुब्रिकेन्टहरुको झन्जट पनि हुँदैन। यसका साथै यो अटोमेटिक हुन्छ, यसमा गियर, क्लच केही हुँदैन। त्यसैले यो चलाउन पनि सजिलो हुन्छ,’ उनले भने।
यो पूर्ण रुपमा हाइटेक हुने पनि न्यौपाने बताउँछन्। उनी भन्छन्, ‘सम्पूर्ण काम प्रविधिबाट हुन्छ। एपको माध्यमबाट हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ।’ यो कार पूर्णरुपमा कम्प्यूटरको प्रविधिमा आधारित हुनाले यसलाई अपग्रेड गर्न पनि सहज हुने उनले बताए।
यसको ब्याट्री लाइफ ५ देखि ७ वर्षको हुने कम्पनीको दावी छ। यसबीचमा यसमा कुनै पनि किसिमको लागत नलाग्ने पनि कम्पनीको भनाइ छ। त्यस्तै यसमा रेसिङ कारमा प्रयोग गरिने स्टिलको प्रयोग गरिने भएकाले यसको बाहिरी कभर हत्तपत्त नकिचिने पनि कम्पनीको दावी छ। यसका पाटपूर्जाहरु पनि सहज रुपमा उपलब्ध हुने न्यौपानेको भनाइ छ।
‘यसलाई मर्मत सम्भारको आवश्यकता नै पर्दैन तर यदि त्यस्तै अवस्थामा पाटपूर्जा तथा मर्मतको आवश्यकता परेमा पनि हामी सहजै उपलब्ध गराउन सक्छौँ,’ न्यौपानेले भने। यो कार खरिद गरिसकेपछि वार्षिक रुपमा सवारी कर पनि तिर्नुपर्दैन। यसले उपभोक्ताको धेरै मात्रामा समय र पैसाको बचत गर्ने कम्पनीको तर्क छ।
नेपाली समाजमा यसका बारेमा धेरैलाई जानकारी र यसको उपयोगिताका बारेमा थाहा नहुनाले यसको बजार धेरै मात्रामा फस्टाउन नसकेको न्यौपाने बताउँछन्। ‘यसका लागि हामी प्रयास गर्दैछौँ। विगत ६ महिनादेखि हामी अस्पताल, आइएनजिओ-एनजिओ, हाउजिङ कम्पनी आदीमा गएर सेमिनार तथा टेस्ट ड्राइभका कार्यक्रमहरु गर्दै आएका छौँ। हाम्रा ग्राहकहरुलाई प्रत्यक्षरुपमा सहभागि गराएर यसबाट हामीले सफलता पनि हासिल गर्दै आएका छौँ,’ उनले भने।
कुनै पनि किसिमको धुँवा तथा प्रदुषण उत्सर्जन नगर्ने, वातावरणमैत्री हुनुका साथै मर्मत खर्च र समय दुवैको वचत हुने र मुख्य कुरा नेपाल जस्तो इन्धनमा परनिर्भर भएर बेलाबेलामा इन्धनको समस्या भोग्नुपर्ने देशमा विद्युतिय गाडि एकदमै उपयूक्त हुने कम्पनीको भनाइ छ। - सेतो पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?