[अशोक महर्जन] काठमाडौँ, २३ कात्तिक । ‘भारतमा नर्सिङ विषय नपढौं’ भन्दै भारतमा नर्सिङ विषय अध्ययन पुरा गरेर फर्किएका नेपाली विद्यार्थीहरु सोमबारदेखि आन्दोलनमा उत्रेका छन् । आन्दोलनको क्रममा विद्यार्थीहरुले सोमबार भारतीय दूतावास अगाडि धर्ना दिएका छन् । धर्नास्थल पुग्नुअघि नेपाली विद्यार्थीहरुले भद्रकालीदेखि ¥याली निकालेका थिए । नर्सिड विषयको चारवर्षे कोर्ष पुरा भएपछि भारतमा नर्सिङ काउन्सिलमा दर्ता हुने प्रक्रिया विगत दुईवर्षदेखि हटाएपछि त्यहाँ अध्ययनका लागि गएका हजारौं विद्यार्थीहरु अलपत्र परेका हुन् । वर्षेनी भारतको विभिन्न राज्यमा नर्सिङ विषयमा अध्ययनका लागि हजारौैं नेपाली विद्यार्थीहरु जाने गर्दछन् । भारतीय नर्सिड काउन्सिलमा दर्ता भएका नर्सहरुले मात्र त्यहाँ रोजगारी पाउने ब्यवस्था छ ।नेपालका अधिकांश विद्यार्थीहरु नर्सिङ पढ्न कर्नाटक राज्यको वैगलोरमा जाने गर्छन् । भारतीय नर्सिङ परिषद्ले २०७० फ्रेवुअरी देखि लागू गरेको नयाँ नियमानुसार गैरभारतीय नागरिकले भारतीय नर्सिड काउन्सिलमा दर्ता हुन पाउने छैनन् । यसरी भारतीय नर्सिङ परिषद्मा दर्ता हुन नपाएपछि उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीहरु समेत अप्ठ्यारोमा परेका हुन् । गत वर्ष अध्ययनका लागि अष्ट्रेलिया पुगेकी निशा सापकोटा त्यहाँ काम गर्नवाट वञ्चित भएकी छन् । उनले बैंगलोरको एक नर्सिड कलेजवाट अध्ययन पुरा गरेकी थिईन् तर भारतीय नर्सिड परिषद्ले दर्ता गर्न नमानेपछि उनी निराश हुदै रित्तो हात फर्केकी हुन् । त्यसैले उनी चाहन्छिन् उनले जस्तो दुःख अरु नेपालीले भोग्न नपरोस् । उनी सचेत हुन आग्रह गर्दै भन्छिन्, ‘अवदेखि कोही नेपाली विद्यार्थीहरुले पनि भारतमा गएर नर्सिड विषय पढ्न महँगो रकम खर्च नगरोस्, जसले पैसाको साथसाथै समयको पनि नाश गर्नेछ । निशाको जस्तै पीडा अन्य धेरै नेपाली विद्यार्थीहरुका छन् जो विदेशमा उच्च शिक्षा पढ्न गएका छन् वेलायतमा रहेका सजिना श्रेष्ठ, अष्ट्रेलियामा रहेका सजिता गौतम र अनिता कँडेल ।
विदेशी मुलुकमा काम गर्न जुन देशमा अध्ययन पुरा गरेको हो त्यो देशको नर्सिङ काउन्सिलमा दर्ता हुनु पर्ने मान्यता रहेको छ । यसले गर्दापनि भारतवाट नर्सिङ अध्ययन पुरा गरेका विद्यार्थीहरु थप मर्कामा परेका हुन् । हामी त भारतीय नर्सिङ काउन्सिलवाट ठगियौं अव उप्रान्त कोही पनि यस्तो पीडा भोग्न नपरोस् भनी सवैलाई सचेत गराउन यो अभियान थालेका हौं वैग्लोरवाट अध्ययन पुरा गरेका सुजिता महर्जनले दुःखेसो पोखिन् । अहिले पनि नेपालमा रहेका विभिन्न कन्सल्टेन्सीहरुले मीठो सपना देखाएर नेपाली विद्यार्थीहरुलाई विदेश अध्यनका लागि पठाउने गरेका छन् ।