Breaking News

क्यान इन्फोटेक मेला राजधानीमा सुरु भयो

Feb Tue 2020 05:40:13

259 views

क्यान इन्फोटेक मेला राजधानीमा सुरु भयो
क्यानकाठमाडौं । सूचना प्रविधि क्यान इन्फोटेक मेला शुक्रबारदेखि शुरु भएको छ । क्यान इन्फोटेक मेलाको यो २२ औं संस्करण हो । कम्युटर तथा सूचना प्रविधि सम्बन्धी सामग्रीहरुको प्रदर्शन स्वरुप कम्प्युटर एशोसियन अफ नेपाल (क्यान)ले हरेक वर्ष क्यान इन्फोटेक मेला सञ्चालन गर्दै आएको छ ।
 
शुक्रबारदेखि शुरु मेला ६ दिन सम्म चल्ने क्यान अध्यक्ष विनोद ढकालले बताए । यसपटक मेलाको नाम ‘सुविसु क्यान इन्फोटेक–२०१६ इन एसोसिएसन विथ हुवावे’ तय गरिएको छ । महोत्सवमा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा तथा हल बाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहने तथा ट्रसमा १ सय ४, ओपन स्पेसमा १४, फुड स्टल १० गरी कुल १ सय ८० वटा स्टल रहने आयोजक क्यान महासंघले जनाएको छ ।
 
मेलामा करिब १ सय कम्पनीले आफ्ना उत्पादन तथा प्रविधिका बारेमा उपभोक्ताहरूलाई जानकारी गराउनेछन् । प्रदर्शनीमा कम्प्युटर हार्डवेयर विक्री तथा मर्मत, पावर सोलुसन्स, नेटवर्किङ उपकरण तथा प्रविधि, मोबाइल एसेसरिज, डिलर डिस्ट्रीब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, सफ्टवेयर सोलुसन्स लगायतका प्रविधिहरुका स्टल राखिएका छन् ।
 
मेलामा डेस्कटप एवं ल्यापटप कम्प्युटर, नोटबुक, मोबाइल फोन सेट, ट्याब्लेट–फ्याब्लेट पिसी, प्रिन्टर, क्यामेरा, मोनिटर, प्रोजेक्टर लगायतका उपकरणहरुको विक्री तथा जानकारी दिइनेछ । आइसिटी कलेजले पनि सूचना प्रविधि सम्बन्धी जानकारी दिने उद्देश्यले स्टल राखेको छ ।
 
प्रदर्शन अवधिमध्ये माघ १७ गते आइतबार ‘विजनेस डे’ का रुपमा व्यवसायिक समूहले आफ्नो व्यवसाय प्रवद्र्धनका निम्ति आफ्ना डिलर तथा लक्षित उपभोक्तासँग सोझै डिल गर्न पाउने बताइएको छ ।
 
इन्फोटेक अवलोकनका निम्ति सर्वसाधारणलाई प्रवेश शुल्क १ सय तथा विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । मेला अवलोकनका लागि अनलाइन टिकटको व्यवस्था मिलाइएको छ । अनलाइन टिकटमा २० प्रतिशत छुट प्रदान गरिएको छ । क्यान डट ओआरजी डट एनपी तथा क्यानइन्फोटेक डट ओआरजी डट एनपीमा लग इन गरी टिकट खरिद गर्न सकिने ब्यवस्था मिलाइएको छ ।
 
मोबाइलको म्यासेज बक्समा क्यान स्पेस आफूले खरिद गर्न चाहेको सामान, ब्रान्डको नाम वा सर्भिसको नाम टाइप गरेर ५००१ मा सन्देश पठाए तत्कालै त्यसको प्रतिउत्तर पाइने ब्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?