Breaking News

पुरानो सिम जथाभावी नफाल्नुहोस्, नत्र यसरी फसिएला

Feb Tue 2020 05:40:48

519 views

पुरानो सिम जथाभावी नफाल्नुहोस्, नत्र यसरी फसिएला
काठमाडौं : भक्तपुरको सानो ठिमीमा बस्ने १८ वर्षीय राधिका श्रेष्ठ (नाम परिवर्तन) एक वर्षअघि एनसेलको सिमकार्ड किनेकी थिइन्। सोही नम्बर प्रयोग गरेर फेसबुक, जिमेललगायत सामाजिक सञ्जालको अकाउन्ट पनि खोलिन्। केही समयपछि उनलाई नेपाल टेलिकमको नम्बर चलाउन मन लाग्यो। उनले एनसेलको सिम फ्याँकेर एनटीसीको सीम चलाउन थालिन्। एनसेलको सिमकार्ड धेरै समय प्रयोग नगरेकाले फोन त्यति आउँदैनथ्यो। उनले यत्तिकै एनसेल सिम फ्याँकिदिइन्, कम्पनीमा गएर ब्लक गर्न आवश्यक ठानिनन्। सिम फालेको ६ महिनासम्म खासै केही समस्या आइपरेन। उनलाई पुरानो सिमको महत्व पनि त्यति भएन। तर, सिमकार्ड फ्याँकेको सात महिना के बितेको थियो, एकदिन उनको फेसबुक अकाउन्ट ह्याक भयो। फेसबुक ह्याक भएपछि उनको अकाउन्टमा अनेकथरी पोस्टहरू आउन थाले। त्यो बेलासम्म पनि पुरानो सिमको याद थिएन। उनले फेसबुक अकाउन्ट ब्लक गर्ने धेरै प्रयास गरिन्। तर, अकाउन्ट ह्याक गरेर अर्कैले चलाउन थालिसकेको हुनाले ब्लक गर्न सम्भव भएन। अकाउन्टमा अनेकथरी पोस्ट आउन थालेपछि प्यारामाउन्टका लिगल एड्भाइजर प्रविन सुवेदीलाई घटना सुनाइन्। वकिल सुवेदीले सो घटनालाई उजुरीको रूपमा महानगरीय प्रहरी प्रभाग टेकु पु¥याए। उनलाई प्रहरीले फेसबुकमा सेक्युरिटीका लागि कुन मोबाइल नम्बर र इमेल अकाउन्ट राखेको छ भनेर सोधपुछ ग¥यो। फेसबुकमा प्रयोग गरेको एनसेल नम्बर सात महिना अगाडि नै फालिसकेको उनले प्रहरीलाई जानकारी गराइन्। लगत्तै प्रहरीले सोही नम्बरमा फोन गर्दा केटा मान्छेले फोन उठायो। प्रहरीले उसलाई तत्काल टेकुमा उपस्थित हुन निर्देशन दियो। तर त्यो युवा टेकुमा उपस्थित भएन, बरु तुरुन्तै ह्याक गरेको फेसबुक अकाउन्ट ब्लक गरिदियो। नेपाल दूरसञ्चार प्राधिकरणको नियमअनुसार प्रयोगकर्ताले ६ महिनासम्म सिम प्रयोग नगरे कम्पनीले आफै ब्लक गर्न पाउँछ। यसरी ब्लक गरिएको सिमकार्ड दूरसञ्चार सेवाप्रदायक कम्पनीले पुनः अर्को ग्राहकलाई प्रदान गर्छ। पीडित श्रेष्ठले ६ महिनासम्म सिमकार्ड प्रयोग नगरेपछि कम्पनीले त्यो नम्बरको सिम अर्कैलाई दिइसकेको थियो। सोही सिमको नम्बर फेसबुकमा हुँदा केटोले गलत फाइदा उठाउँदै फेसबुक ह्याक गरेर उनलाई दुःख दिइरहेको थियो। दूरसञ्चार प्राधिकरणको नियमअनुसार प्रयोगकर्ताले ६ महिनासम्म सिम प्रयोग नगरे कम्पनीले ब्लक गर्न पाउँछ। यसरी ब्लक गरिएको सिमकार्ड दूरसञ्चार सेवाप्रदायक कम्पनीले पुनः अर्को ग्राहकलाई प्रदान गर्छन्। ‘फसेबुक अकाउन्ट ब्लक गरेपछि हामीले पनि त्यति चासो दिएनौं’ वकिल सुवेदीले भने, ‘हामीले प्रहरीमा थप प्रगति के भयो भनेर सोधेका पनि छैनौं।’ नेपालमा एउटा व्यक्तिले दुई वा सोभन्दा बढी सिम लिन्छन् र सेक्युरिटीको ख्याल नगरी सिमकार्ड मिल्काउँछन्। यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने श्रेष्ठको उदाहरणबाट प्रष्ट हुन्छ। सिमकार्ड केही पनि होइन भनेर ब्लक नगरी फ्याँकीदिँदा नै यस्ता समस्या आइपरेको नेपाल टेलिकमका सहप्रवक्ता सोभन अधिकारी बताउँछन्। प्राधिकरणको नियमअनुसार नै सेवा प्रदायक कम्पनीले सिमकार्ड प्रयोग गर्न छाडेको ६ महिनापछि त्यो नम्बर अर्कालाई दिने गरेका हौं। ‘नम्बर अर्कालाई प्रदान गर्दा त्यो नम्बर कुन सामाजिक सञ्जलसँग जोडिएको छ भनेर हामीले हेर्न मिल्दैन। यसमा सेवाप्रदायकको केही समस्या पनि होला’, उनले भने, ‘त्यो भन्दा पनि समस्या ओटीटी (ओभर दी टप)ले गर्दा भएको हो। ओटीटी अर्थात फेसबुक, भाइबर, ट्विटरलगायत सञ्जाललाई निगरानीमा ल्याउन नसक्नुले पनि यस्ता समस्या देखा परेका हुन्। ‘अर्को एउटा प्रयोगकर्ताले कतिवटा सम्म सिमकार्ड किन्न पाउँछन् भनेर नतोकिनाले पनि यस्ता समस्या आउने गरेका हुन्’, अधिकारिले भने, ‘नेपालमा जुन दिनबाट सय रुपैयाँमा सिमकार्ड पाउन थाल्यो त्योदिनबाट सिमको प्रयोगमा ठूलो संख्याले वृद्धि भएको छ। अहिले जनसंख्याभन्दा बढी सिमकार्ड प्रयोगको कारण पनि त्यहीँ हो। दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनाको तथ्यांकलाई आधार मान्दा नेपालमा कुल जनसंख्याको १३५.५५ प्रतिशत मानिसमा मोबाइल सेवा पुगिसकेको छ। यसको प्रमुख कारण प्रयोगकर्तामा एउटा सिम किन्यो एक पटक प्रयोग ग¥यो अनि फालिदिने प्रचलन छ। तर, त्यसबाट हुन सक्ने दुर्घटनाबारे जानकारीको कमी छ उनीहरूमा। यो समस्याबारे हामीले प्राधिकरणमा जानकारी गराएका छौं। प्राधिकरणले पनि यो कामलाई अघि बढाइसकेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन्। उनका अनुसार ग्राहकको जानकारी संकलन गर्न अहिले केवाईसी तयार गर्ने क्रममा छ। त्यसमा ग्राहकले कतिवटासम्म सिमकार्ड निकाल्न पाउँछन् भनेर निर्धारण गरिनेछ। त्यसका लागि कमिटी गठन भइसकेको अर्यालले जानकारी दिए। एनसेलका अधिकारीले पछिल्लो समय यो समस्याका रूपमा देखा परेको बताए। यस्ता कुरामा टेलिकमभन्दा पनि प्रयोगकर्ता बढी सजग हुनुपर्ने हो। कम्पनीले ग्राहकलाई कुनै पनि सिमकार्ड प्रदान गर्दा त्यसमा कुनै अघिल्ला डाटा बाँकी रहेका हुँदैनन्। अघिल्लो प्रयोगकर्ताले त्यहीँ नम्बरबाट आफ्नो सामाजिक सञ्जाल चलाइरहेका छन् भने त्यो कम्पनीभन्दा बाहिरको विषय भएको एनसेल अधिकारीको भनाइ छ। एनसेलले आफूले विगतमा प्रयोग गरेको नम्बर नयाँ व्यक्तिले प्रयोग गर्ने भएकाले ग्राहकलाई हाल आफ्नो स्वामित्वमा नरहेको यस्तो नम्बर विगतमा कुनै पनि सामाजिक सञ्जाल तथा वेबसाइट आदीमा प्रयोग गरेका भए हटाउन अनुरोध पनि गर्दै आएको बताए। साभार: Annapurnapost.com बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?