Breaking News

तिहारको लक्ष्मीपूजाको रात आकाशबाट सयौं उल्का झर्दै

Feb Tue 2020 05:40:45

809 views

तिहारको लक्ष्मीपूजाको रात आकाशबाट  सयौं उल्का झर्दै
आकाशबाट पाँच रात उल्का वर्षा हुँदैछ। विश्वका सबै देशबाट देख्न सकिने यो शुक्रबार रातिदेखि लक्ष्मीपूजाको रातसम्म देखिनेछ।
खगोलविद् जयन्त आचार्यका अनुसार शुक्रबार राति ११ बजेदेखि सूर्योदय अघिसम्मका पाँच रात प्रत्येक रात १० देखि २० वटासम्म उल्का खसेको देख्न सकिनेछ। उनले शुक्रबार  भने, ‘आकाशलाई बाह्रवटा राशिमा विभाजित गरिएको हुन्छ, जसमध्ये यसपटक वृष राशिबाट झर्ने टुक्रे तारा देखिन्छन्।’
उनले पुच्छ्रेताराले वृष राशिमा छोडेका कणहरू पृथ्वी नजिक देखिने जानकारी दिए। उनका अनुसार तिहारको लक्ष्मीपूजाको रात सबैभन्दा बढी उल्का वर्षा हुनेछ। जुन दिन बीसभन्दा बढी उल्का खस्नेछन्। रातको समयमा अँध्यारो बढी भए प्रस्ट देख्न सकिन्छ।
अँध्यारोमा ससाना उल्का पनि देखिन्छन्। यसका लागि टेलिस्कोपलगायतका कुनै यन्त्र नचाहिने र जुनसुकै राशिका मानिसले नांगो आँखाले हेर्न मिल्ने खगोलविद्हरूको भनाइ छ।
खगोदविद्का अनुसार आकाशबाट वर्षमा ६ पटक पृथ्वीतिर उल्का वर्षा हुन्छ तर यति धेरै मात्रामा झर्दैन । जसअनुसार पुसमा मिथुन, फागुनमा कर्कट, वैशाखमा तुला, असारमा धनु र असोजमा मेष राशिबाट पृथ्वी नजिक पुग्दा उल्का वर्षा हुन्छ।
उल्का सामान्यतया सौर्यमण्डलबाट झर्दा वायुमण्डलमै घर्षण हुने क्रममा खरानी भएर बिलाउँछ। तर कुनैकुनै उल्का भने वायुमण्डलमा जलेर बचेको अत्यन्तै साना टुक्रा पृथ्वीसम्म आइपुग्छन् जसलाई उल्कापिण्ड भनिन्छ।
यस्तो घटना अत्यन्तै न्यून हुन्छ। पृथ्वीसम्म आइपुगेका कतिपयले खसेका ठाउँमा ध्वस्त बनाउने त कतिपयले ठूला खाल्डा बनाउने खगोलविद्को भनाइ छ । धार्मिक दृष्टिकोणले भने यसलाई अशुभ मानिन्छ।
वैज्ञानिक दृष्टिले उल्का वर्षा दुर्लभ विषय भएकाले अति महत्वको हुन्छ । बीपी कोइराला प्लानेटोरियमका कार्यकारी निर्देशक सनत शर्मा भने नोभेम्बर पाँच (बिहीबार) देखि १२ सम्म पूरै एक साता उल्का वर्षा हुने बताउँछन्।
उनले भने, ‘प्रतिघन्टा पाँचदेखि १० वटासम्म खस्छन्। दिउँसो पनि खस्छ तर उज्यालोका कारण देखिन्न।’ उनका अनुसार वृष राशिबाट उत्पत्ति हुने उल्का वर्षा (टोराइड मेट्रियोसावर) र नोभेम्बर १७ र १८ मा सिंह राशिबाट उत्पत्ति हुने उल्का वर्षा (लियोनिड मेट्रियोसावर) हुँदैछन्।
सिंह राशिबाट हुने उल्का वर्षामा प्रतिघन्टा २० वटा झिल्का झर्छन् तर वृषबाट भने आगोका गोलाजस्ता उल्का खस्ने शर्माको भनाइ छ। उनले भने, ‘वृष राशिमा एन्के पुच्छ्रेताराले सूर्यवरिपरि घुम्ने बेला छोडेका अवशेषहरूको बीचमा पृथ्वी पुग्दा र सिंह राशिमा टेम्पलटटल पुच्छ्रेताराले छोडेका अवशेषहरूबीच पृथ्वी पुग्दा यसरी उल्का वर्षा हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?