Breaking News

युएईकी पहिलो नेपाली महिला ट्याक्सी चालकको साहस :अवसर दिनुस्, प्रमाणित गर्ने काम मेरो

Feb Tue 2020 05:40:12

400 views

युएईकी पहिलो नेपाली महिला ट्याक्सी चालकको साहस :अवसर दिनुस्, प्रमाणित गर्ने काम मेरो
  • उमाकान्त पाण्डे/उज्यालो । युएई

संयुक्त अरब इमिरेट्स युएईको राजधानी आबुधाबी । सिटबेल्ट कसेर फराकिलो सडकमा स्टेरिङ घुमाउँदै आकाशे पुल, सबवे, जेब्राक्रस र ट्राफिक संकेत पार गर्दै १ सय २० किलोमिटर प्रतिघण्टाको गतीमा दौडिनुहुन्छ करुणा अधिकारी राई । अर्थात युएईको पहिलो नेपाली महिला ट्याक्सी चालक । यही पेशाले साहसी महिलाका रुपमा उहाँको परिचय उँचो बनाएको छ ।  दृढ इच्छाशक्ति भए मानिसले हरेक काममा सफलता पाउँछ भन्ने उदाहरण बनेकी झापाको काँकडभिट्टाकी ३३ वर्षे करुणा अधिकारी राई दुई वर्षअघि मात्र युएई आउनु भएको हो । झापाको मेचिनगर नगरपालिका १० बर्मेली टोलकी करुणा अहिले युएईको व्यस्त सडकमा ट्याक्सी चालकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ युएईमा पहिलो महिला ट्याक्सी चालकको रुपमा मात्रै होइन्, साहसी र राम्रो आम्दानी गर्न सफल महिलाको रुपमा पनि चिनिनुहुन्छ ।  युएईमै कार्यरत श्रीमानले बोलाएपछि भिजिट भिसामा आएकी करुणाले नेपालमा स्कुटर चलाए पनि चारपाङ्गे्र सवारीको स्टेरिङ समाउनु भएको थिएन । तीन महिने भिजिट भिसामा आएकी उहाँको जब भिसाको अवधि सकिँदै गयो काम नभेटेर नेपाल फर्कनुपर्ने हो कि भन्ने चिन्ताले सताउन थाल्यो ।  १२ वर्ष युएईमा बसेर पछिल्ला चार वर्ष यता बहुराष्ट्रिय कम्पनी अलसाया ग्रुपको आइसक्रिम बेच्ने ब्राण्ड पिंक वेरीमा डेलिभरी म्यानको काम गर्दै आएका उहाँका श्रीमान राना अधिकारी सुनिलको मासिक आयस्ताले श्रीमतीलाई युएई राख्न पुग्दैनथ्यो । त्यसैले उहाँ करुणाका लागि कामको खोजीमा हुनुहुन्थ्यो । लेडिज सेल्सको काम पाए पनि त्यस प्रति करुणाको झुकाव भएन ।  फिलिपिनो महिलाले कुदाउँदा मैंले किन नसक्ने ?  ‘एक दिन फिलिपिनो महिलाले ट्याक्सी चलाएको देखें ।’ करुणाले विगत सम्झनुभयो ‘सकिँदो रहेछ नि  महिला भएर पनि गाडी हुँइक्याउन । मैंले किन नसक्ने भन्ने सोचेर श्रीमानलाई ट्याक्सी चलाउन मन लागेको बताएँ ।’  मन भए पनि युएईमाKaruna rai मोटर चलाउन त्यति सजिलो छैन । करुणाका श्रीमानको पहिलो प्रतिक्रिया थियो । ‘

युएईको ट्राफिक र नौ लेनसम्मको सडकमा मोटर चलाउन त्यति सजिलो छैन । तिमी त एकपटक पनि स्टेरिङ नसमाएको मान्छे ।’ श्रीमानसँग जसरी भएपनि ट्याक्सी ड्राइभर बनेरै छाड्ने बताएपछि दुवैले ट्याक्सी कम्पनीको खोजी सुरु गरे । इन्टरनेटमार्फत ट्याक्सी कम्पनी खोजेर आवेदन दिने काम भयो । तर सुरुमै कहिल्यै मोटर नचलाएको मानिसलाई कम्पनीले पत्याउने कुरा भएन ।  उहाँले कम्पनीलाई प्रस्ताव राख्नुभयो ‘मलाई अवसर दिनुस्, काम गरेर प्रमाणित गर्नेछुु ।’ कागजपत्र बुझाएको केहि दिनपछि आबुधाबीमा रहेको अरेबियन ट्याक्सी कम्पनीले करुणालाई कार्यालयमा बोलायो । कम्पनीले आधा पैसा आफैं बोहोर्नु पर्ने सर्तमा सवारी चालक अनुमती पत्र निकाल्न सहयोग गर्ने जनाएपछि ट्याक्सी कुदाउने ढोका खुल्न थाल्यो ।  सवारी चालक अनुमती पत्र लिन उहाँले झण्डै ६ महिना मेहेनत गर्नुपर्‍यो । आबुधाबीको मुसाफामा रहेको इमिरेट्स ड्राइभिङ स्कुलमा ड्राइभिङ सिकेर दोस्रो पटकको प्रयासमा उहाँले सवारी चालक अनुमती पत्र लिनुभयो र सन् २०१४, अगष्टदेखि आबुधाबीको सडकमा ट्याक्सी गुडाउनु सुरु गर्नुभयो । कम्पनीलाई दिएको वचन पूरा गरेपछि उज्यालो अनलाइनसँग कुरा गर्दै उहाँले भन्नुभयो ‘आँट राखेर मेहनत गरे जे काम पनि गर्न सकिने रहेछ ।’  हिजोआज महिनामा एक लाख रुपैयाँ भन्दा बढि कमाउने करुणा भन्नुहुन्छ ‘जति मेहनत गर्यो, उति कमाई हुन्छ । मेरो अहिलेको कमाई श्रीमानको भन्दा धेरै हुन्छ ।’ नियमित काम त छँदैछ, सँगसँगै करुणा दम्पतीलाई ११ महिनाकी छोरी पनि परदेशमा नै हुर्काउनुपर्ने जिम्मेवारी पनि छ । त्यसका लागि दुवै जनाले समय व्यवस्थापन गरिरहेको उहाँहरु बताउनुहुन्छ । करुणालाई साहसी र उदाहरणीय महिलाका रुपमा कास्की आदर्श सेवा समाज युएईले सम्मानसमेत गरेको छ । लोक गायिका सावित्री गिरीको सहयोगमा नेपाली दूतावासकी द्वितिय सचिव बिष्णु अधिकारी र नेपाली समाजका पूर्व अध्यक्ष कृष्णबहादुर ढकालले उहाँलाई सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको हो । - Ujyaaloonline.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?