Breaking News

भारतीय नाकाबन्दी बिरुद्ध ब्रिटिस गोर्खा सैनिक उत्रियो बिज्ञप्तीसहित

Feb Tue 2020 05:40:40

539 views

भारतीय नाकाबन्दी बिरुद्ध ब्रिटिस गोर्खा सैनिक उत्रियो बिज्ञप्तीसहित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वेलायत भ्रमणको पूर्वसन्ध्यामा व्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगोसो) ले वेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई एक पत्र लेख्दै बद्नियतपूर्ण तरिकाले भारतले नेपालमाथि गरिरहेको नाकाबन्दी रोक्न पहल गरिदिन आग्रह गरेको छ । विगोसले वेलायती प्रधानमन्त्री क्यामरुनको ध्यानाकर्षण गराउन लेखेको पत्रको ६ बुँदे पृष्ठभूमिमा नेपालले लोकतान्त्रिक विधिद्वारा नयाँ संविधान जारी भएपछि भारतले नाकाबन्दी गरेको लगायतका सन्दर्भ उल्लेख छन्। बिगेसोले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई लेखेको पत्र यस्तो छ । बिगेसोले भन्यो– ‘नाकाबन्दीले कस्मिर  युद्धमा जीवन आहुती दिने नेपालीको अपमान’ सम्माननीय प्रधानमन्त्री डेभिड क्यामरुन संयुक्त अधिराज्य बेलायत १० डाउनिङ स्ट्रीट लण्डन  एसडब्लु १ए २एए विषय : भारतले नेपालविरुद्ध गरेको गैरकानुनी, गलत र बदनियतपूर्ण नाकाबन्दी रोक्नका लागि अनुरोध । सम्माननीय प्रधानमन्त्रीज्यू, हामी यही १२ नोभेम्बर २०१५ का दिन लण्डनमा हुन लागिरहेको भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको भ्रमणको पूर्वसन्ध्यामा निम्नलिखित विषयमा यहाँको ध्यानाकर्षण गर्दछौँ । (क) पृष्ठभूमि १. भारतका प्रधानमन्त्री मोदीले गत २० अगष्ट २०१५ का दिन जारी भएको नयाँ संविधानको विरोधमा तीन महिनादेखि नेपालका विरुद्ध कथित अघोषित नाकाबन्दी गरेका छन् । २. कारणका हकमा भारत सरकारका अभिव्यक्तिअनुसार भारतसँग सिमाना जोडिएको दक्षिणी तराईका संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाका केही नेताका मागहरू पुरा गर्न हालै जारी संविधानमा संशोधन हुनुपर्दछ । ३. यी नेताका मागहरूमध्ये नयाँ संघीय संरचनाअन्तर्गत तराईमधेशको सिमाना बाँकी सम्पूर्ण नेपालबाट अलग राखी एउटै प्रदेश हुनुपर्ने भन्ने छ, यसलाई पहाड र हिमाल भनेर बुझिन्छ जसका कारण यस भारतवेष्ठित (सन् १९५४ मा सम्पन्न कोशी ब्यारेज सम्झौताको धारा १० ले गलत रूपमा कोसी/गङ्गा नदीमा सीमित गरिएको नेपालको जलयातायातको अधिकार स्थापित गर्ने हो भने नेपालको भूपरिवेष्ठित अवस्था सजिलै हट्छ) मुलुकको अवस्था स्वतः मधेशवेष्ठित हुन पुग्नेछ । ४. यस मागलाई नेपालमा व्यापकरूपमा हाम्रो मातृभूमिलाई आफू अधिनस्थ राख्ने तथा अथाह जलस्रोत सँधैका लागि कब्जा गर्ने भारतीय रणनीतिका रूपमा हेरिएको छ । यस्ता कदमले नेपाल सिक्किमीकरण (मतदानमार्फत भारतमा सिक्किमको विलय, फिजीकरण (भारतीय आप्रवासीहरूलाई प्रयोग गरी फिजी कब्जा) तथा हालैको क्राइमिया (जनमत संग्रहमार्फत रुसमा समाहित) को अवस्था सिर्जना हुनसक्ने खतरा छ । ५. भारतले नेपाल र भारतबीच विद्यमान मानवरहित अन्तर्राष्ट्रिय दशगजा सिमानालगायत पारिपट्टि आफ्नै भूमिसमेत ढुङ्गा र पेट्रोल बम हान्न तथा नेपालभित्र सार्वजनिक तथा निजी सम्पत्ति ध्वस्त गर्ने प्रयोजनका लागि प्रदर्शनकारीहरूलाई खुलारूपमा प्रयोग गर्ने छुट दिइरहेको छ । ६. भारतीय भूभागपारिको नेपाली भूभाग आवतजावत तथा ढुवानीका लागि असुरक्षित छ भन्ने भारत सरकारको दाबी झुठा छ जबकि १,८०० किलोमिटर लामो खुला अन्तर्राष्ट्रिय सिमानाका केही मुख्य नाकाहरूमा मात्र केही बाधा उत्पन्न गरिएको स्थिति हो । (ख) परिणामहरू ७. इन्धन र पेट्रोलियम पदार्थको अभावले नेपालभित्र आवतजावत ठप्प भएको छ । खाद्यान्न र औषधिको अभावले गत अप्रिल २०१५ को नरसंहारकारी भूकम्पबाट तङ्रिँदै गरेको देशमा गम्भीर मानवीय सङ्कटहरू उत्पन्न भइरहेका छन् । ८. नेपालमा बढ्दो भारतविरोधी भावना छिमेकीहरूबीच हुनुपर्ने सुमधुर सम्बन्ध, सहयोग र ऐक्यबद्धताविपरीत छ । ९. नेपाल व्यापार तथा पारवहनका लागि अति विकट उच्च हिमाली भेग र लामो दूरीबीच चीनमार्फत अन्य देशहरूसँग विकल्प खोज्न बाध्य भएको छ ।  १०. व्यापारलगायतका अन्य गतिविधिहरू ठप्पबराबर भएकाले देशको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ । (ग) अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन ११. भारतका यी कदमहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा २, ३३ र ४१ (जसले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई मात्र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने प्रयोजनका लागि नाकाबन्दीलगायतका शक्तिको प्रयोग गर्ने अधिकार दिएको छ), समुन्द्रसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिको धारा १२५ (जसले नेपालजस्ता भूपरिवेष्ठित राष्ट्रहरूको समुन्द्रसम्म पहुँचको अधिकार सुरक्षित गरेको छ) तथा व्यापारमा बाधाअड्चन खडा गर्न नपाइने बारेमा भएका विश्व व्यापार संगठनका कानुनी प्रावधान र नजिरहरूको उल्लङ्घन गरेका छन् । १२. यस्तो कार्य दक्षिण एसियाली राष्ट्रहरूको क्षेत्रीय सङ्गठन (सार्क) तथा व्यापार, पारवहन तथा वाणिज्यसम्बन्धी अन्य विभिन्न द्विपक्षीय, बहुपक्षीय/क्षेत्रीय सम्झौताहरूका भावना र उद्देश्यहरूको प्रतिकूलसमेत छ । (घ) गुनासाहरू १३. संयुक्त अधिराज्य बेलायत सरकारले ध्यान दिन जरुरी छ कि सन् १८१६ को सुगौली सन्धिताकादेखि नेपालले भोगिरहेको कथित भूपरिवेष्ठित हुनुको पीडा बृटिश–भारत सरकारले अवलम्बन गरेको औपनिवेशिक राजनीतिको परिणाम हो । १४. भारत सरकार तथा उसका सत्ताधारीहरू नेपालका युवाहरूले भारतीय सेना (गोर्खा राइफल आदि) मार्फत पाकिस्तान र चीनजस्ता नेपालका मित्र राष्ट्रहरूविरुद्ध भएका विभिन्न रक्तपातपूर्ण युद्धमैदानहरूमा गरेका अत्यन्तै दर्दनाक त्यागप्रति अनभिज्ञ भएझैँ देखिन्छ । नेपाली युवाहरूले विवादित काश्मिरमा भइरहेको भारत–पाकिस्तान द्वन्द्वमा अहिले पनि भारतको रक्षाका लागि आफ्नो जीवन आहुति दिइरहेका छन् । १६. नयाँ पुस्ताका नेपाली युवाहरूलाई महशुस भइरहेको छ कि नेपाल भूपरिवेष्ठित हुनु तथा अन्यायपूर्ण एवं गैरकानुनी सुगौली सन्धि (१८१६) तथा आजसम्म पनि कायम गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सम्झौता (१९४७) का कारण नेपाल अविकसित हुनुका पछाडि बेलायत नैतिकरूपमा जिम्मेवार छ । जसले आफ्नो जीवन दिए उनीहरूलाई निवृत्तिभरण र सुविधाका सवालमा असमान व्यवहार गर्नु भनेको उनीहरूको त्यागमाथि भएको धोका हो । १७. नेपाललाई सुनियोजित ढङ्गले भौगोलिक रूपमा बाहिरी संसारबाट पूर्णतः अलग राख्न बेलायतले भारत छोड्नेबेलामा सँधैका लागि भारतवेष्ठित तथा भूपरिवेष्ठित अवस्थामा राख्दासमेत नेपाल र नेपाली जनताले भारत र संयुक्त अधिराज्य बेलायतमाथि पूर्णरूपमा विश्वास र भरोसा गरे । दुवै देशले नेपाल र नेपाली जनतालाई उनीहरूका रणनीतिक स्वार्थहरू पुरा गर्ने प्रयोजनका लागिमात्र उपयोग गरे । (ङ) अनुरोध १८. हामी सम्माननीय प्रधानमन्त्रीसमक्ष नेपालका विरुद्ध लादिएको नाकाबन्दी तथा अन्य बाधाअवरोधहरू प्रचलित द्विपक्षीय तथा बहुपक्षीय सम्झौता तथा अन्तर्राष्ट्रिय कानुन (संयुक्त राष्ट्रसङ्घ तथा विश्व व्यापार संगठनका कानुनी दस्ताबेजहरू जसमा दुवै देश राज्यपक्ष छन्) नैतिक तथा कानुनीरूपमा बाध्यात्मक दायित्वविपरीत भएकाले तत्काल हटाइने कार्यका लागि अनुरोध गर्दछौँ । १९. प्रचलित युरोपेली तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानुन, सिद्धान्त र व्यवहारविपरीत कायम सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी पाउँ । २०. विनाशकारी भूकम्प तथा हालैको नाकाबन्दीका कारण उत्पन्न हृदयविदारक अवस्था र कमजोर स्थितिबाट तङ्रिनका लागि नेपाललाई आवश्यक मानवीय सहयोग तथा सहायता उपलब्ध गराई पाउँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?