सो रिटमा मनाङेकोतर्फका वकिलले दीपक मनाङे र राजिव गुरुङ एकै व्यक्ति हैनन् भन्ने तर्कसँगै प्रहरीले मनाङे भनेर निर्दोष राजिव गुरुङलाई थुनेको बहस गरे । सर्वोच्चले सोही बहसको आधारमा दीपक मनाङेको साटो राजिव गुरुङलाई जेलमा राखेको देखिएको भन्दै उनलाई छोड्न आदेश दियो । आदेश आएकै दिन डिल्लीबजार कारागाराले दीपक मनाङेलाई दिपक मनाङे हैन भन्दै कारागारमुक्त गरायो ।
दीपक मनाङे र राजिव गुरुङ एकै व्यक्ति भएको र अदालतको आदेशको आधारमा राजिव बन्दै मनाङे छुटेको खुलेपछी प्रहरीले चार महिना लगाएर बल्ल बल्ल उनलाई पक्राउ गरेको थियो ।
मनाङेको राजनीतिक कनेक्सन
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट मनाङे नेपाली कांग्रेसका नेतासँग समेत उत्तिकै बाक्लो सम्बन्ध थियो । मनाङको तरुण दलको जिल्ला अध्यक्ष समेत भएका थिए, तर उनी कांग्रेसमा समेत टिक्न सकेनन् । २०६८ ताका उनी संघिय लोकतान्त्रिक राष्ट्रिय पार्टीको उपाध्यक्ष भएका थिए ।
२०६८ मा उनी आफ्नै पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चौधरीलाई कुटेको केसमा पक्राउ परे । सो केसमा समेत उनी धरौटीमा छुटे । २०७० मा उनीमाथी आपराधिक गतिविधीबाट १४ करोड ७३ लाख कमाएको भन्दै विशेष अदालतमा मुद्दा चल्यो । अदालतले मागेको २ करोड धरौटी नबुझाई २ महिना डिल्लीबजार कारागार बसेका उनीपछि धरौटी बुझाएर मुक्त भए । अकुत सम्पत्तिको मुद्दामा धरौटीमा छुटेपछि आफ्नो छोरालाई हिरो बनाएर उनले ‘वान वे’ नामको फिल्म समेत बनाए ।
अवैध सम्पत्तिको मुद्दामा मुक्त भएका उनी कहिले एमालेको चन्दा रसिदसहित जबरजस्ती चन्दा उठाएको अभियोगमा पक्राउ परे त कहिले व्यापारी धम्क्याएको अभियोगमा । जति पटक पक्राउ परे पनि प्राय सहजै धरौटीमा मुक्त हुँदै आएका उनीमाथी शुक्रबारको घटनामा भने प्रहरीले संगठित अपराधको अभियोग लगाएको छ ।
उनीमाथीको अभियोग पुष्टी भए उनलाई १० वर्षसम्म कैद सजाय हुनसक्छ ।
‘लामो समयदेखी संगठित रुपमा अपराधमा संलग्न रहेकाले उनीमाथी संगठित अपराधको अभियोग लगाएका हौं,’ काठमाडौं परिसरका प्रमुख एसएसपी थापाले भने, ‘यसपाली उनी जोगिनसक्ने अवस्था देखिन्न ।’
साभार: इकान्तिपुर