Breaking News

डन दीपक मनाङेको संगठित अपराध प्रोफाइल यस्तो

Feb Tue 2020 05:40:26

285 views

डन दीपक  मनाङेको संगठित अपराध प्रोफाइल यस्तो
ठमेललाई आधार क्षेत्र बनाएर संगठित अपराधमा संलग्न गुन्डा नाइके दीपक मनाङे (राजिव गुरुङ)लाई प्रहरीले संगठित अपराध ऐनको अभियोग लगाएको छ । पाँचजना मिलेर व्यापारीलाई धम्क्याएर रकम असुली गरेको अभियोगमा प्रहरीले मनाङेलाई संगठित अपराधको अभियोग लगाएको हो । मनाङे शुक्रबार सहयोगी राजनकुमार सिंहसहित पक्राउ परेका थिए । अन्य तीनजना फरार रहेको भन्दै प्रहरीले उनलाई संगठित अपराधको अभियोग लगाएको हो । व्यपारीलाई धम्क्याएर रकम असुलेको आरोपमा शुक्रबार बेलुका ठमेलमा सहयोगीसहित पक्राउ परेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा संगठित अपराधको अभियोगमा अनुसन्धानका लागी न्यायिक हिरासतमा राख्ने अनुमती मागेको हो । अदालतले परिसरलाई आइतबार पहिलो चरणको अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी गराए । मनाङेको अपराध यात्रा डिस्को खोलेर रात्रीकालिन मनोरञ्जक व्यापारमा प्रवेश गरेका मनाङे ठमेललाई आधार बनाएरपछि संगठित आपराधिक समुहका नाइके बनेका हुन् । चक्रे मिलन, राजु गोर्खाली, लगायतकाहरुले ठेक्कापट्टा, बालुवा र ढुंगाखानीलाई आम्दानीको आधार बनाउँदा उनी भने पूर्ण रुपमा रात्रीकालिन व्यापारमा केन्द्रीत थिए । २०५९ सालबाट प्रहरीसँग लुकामारी खेल्दै आएका उनी विशेष अदालतमा आपराधिक गतिविधीबाट अकुत सम्पत्ति कमाएको अभियोग खेप्दै छन् । तै पनि उनको पक्राउको श्रृंखला रोकिएको छैन । प्रहरी रेकर्ड अनुसार मनाङे पहिलोचोटी २०५९ भदौ १७ मा लोचनप्रसाद विमलीको १ लाख २८ हजार रुपैंया लुृटेको आरोपमा पक्राउ परेका थिए । होटल उडल्यान्डमा बोलाएर डकैती गरेको अभियोगमा उनी पक्राउ परेका थिए । सो अभियोगमा धरौटीमा छुटेका उनी लगत्तै २०६० पुस ९ मो हायात होटलमा नगेन्द्र श्रेष्ठलाई खुकुरी हानेको केसमा पुन पक्राउ परेका थिए । सो आरोपमा उनीमाथी सार्वजनिक अपराधको मुद्दा लाग्यो र सहजै १० हजार धरौटीमा मुक्त भए । छुटे लगत्तै चैत १४ गते उनी याक एण्ड यती होटलमा सुनील श्रेष्ठलाई कुटपिट गरेको आरोपमा पक्राउ परेर सार्वजनिक अपराधको मुद्दा खेपे र पुन: धरौटीमा मुक्त भए । २०६१ बैशाख ३१ मा महाराजगंजमा प्रतिद्वन्द्वी अर्का गुन्डा नाइके चक्रे मिलनलाई तरबारले हानेर बायाँ हात छिनाई दिएका घटनामा उनीमाथी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भयो । उनी २०६१ चैत १८ मा सोही अभियोगमा पक्राउ परे । सो घटनामा भने उनी पूर्पक्षका लागि थुनामा गए र कैद भुक्तान गरी २०६३ माघ ९ मा मुक्त भए । प्रहरीसँगको उनको लुकामारी यत्तिमै रोकिएन । कारागारमुक्त भएको एक महिनामै उनलाई अर्का गुन्डा नाइके काजी शेर्पालाई गोली हानेको केस लाग्यो । सो घटनामा फरार रहेका उनी २०६४ असोज १७ मा अदालतमा हाजिर भए र २५ हजार मागेको धरौटी नबुझाई डिल्लीबजार जेलमा गए । ‘म मनाङे हैन’ भन्दै यसरी छुटे मनाङे अभिशेष विक्रम शाहलाई कुटेको केसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई १ वर्ष कैद सजाय सुनायो । २०६५ साउन २४ मा उनी पक्राउ परेर डिल्लीबजार कारागार पठाइए । प्रहरीले उनलाई दीपक मनाङे उर्फ दिपक गुरुङ भनेर कारागार पठाएको थियो । उनको नागरिकतामा नाम राजीव गुरुङ थियो । यसैलाई टेकेर निर्दोष व्यक्तिलाई जेलमा राखेको भन्दै उनको नाममा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट पर्‍यो । सो रिटमा मनाङेकोतर्फका वकिलले दीपक मनाङे र राजिव गुरुङ एकै व्यक्ति हैनन् भन्ने तर्कसँगै प्रहरीले मनाङे भनेर निर्दोष राजिव गुरुङलाई थुनेको बहस गरे । सर्वोच्चले सोही बहसको आधारमा दीपक मनाङेको साटो राजिव गुरुङलाई जेलमा राखेको देखिएको भन्दै उनलाई छोड्न आदेश दियो । आदेश आएकै दिन डिल्लीबजार कारागाराले दीपक मनाङेलाई दिपक मनाङे हैन भन्दै कारागारमुक्त गरायो । दीपक मनाङे र राजिव गुरुङ एकै व्यक्ति भएको र अदालतको आदेशको आधारमा राजिव बन्दै मनाङे छुटेको खुलेपछी प्रहरीले चार महिना लगाएर बल्ल बल्ल उनलाई पक्राउ गरेको थियो । मनाङेको राजनीतिक कनेक्सन राष्ट्रिय प्रजातन्त्र पार्टी निकट मनाङे नेपाली कांग्रेसका नेतासँग समेत उत्तिकै बाक्लो सम्बन्ध थियो । मनाङको तरुण दलको जिल्ला अध्यक्ष समेत भएका थिए, तर उनी कांग्रेसमा समेत टिक्न सकेनन् । २०६८ ताका उनी संघिय लोकतान्त्रिक राष्ट्रिय पार्टीको उपाध्यक्ष भएका थिए । २०६८ मा उनी आफ्नै पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चौधरीलाई कुटेको केसमा पक्राउ परे । सो केसमा समेत उनी धरौटीमा छुटे । २०७० मा उनीमाथी आपराधिक गतिविधीबाट १४ करोड ७३ लाख कमाएको भन्दै विशेष अदालतमा मुद्दा चल्यो । अदालतले मागेको २ करोड धरौटी नबुझाई २ महिना डिल्लीबजार कारागार बसेका उनीपछि धरौटी बुझाएर मुक्त भए । अकुत सम्पत्तिको मुद्दामा धरौटीमा छुटेपछि आफ्नो छोरालाई हिरो बनाएर उनले ‘वान वे’ नामको फिल्म समेत बनाए । अवैध सम्पत्तिको मुद्दामा मुक्त भएका उनी कहिले एमालेको चन्दा रसिदसहित जबरजस्ती चन्दा उठाएको अभियोगमा पक्राउ परे त कहिले व्यापारी धम्क्याएको अभियोगमा । जति पटक पक्राउ परे पनि प्राय सहजै धरौटीमा मुक्त हुँदै आएका उनीमाथी शुक्रबारको घटनामा भने प्रहरीले संगठित अपराधको अभियोग लगाएको छ । उनीमाथीको अभियोग पुष्टी भए उनलाई १० वर्षसम्म कैद सजाय हुनसक्छ । ‘लामो समयदेखी संगठित रुपमा अपराधमा संलग्न रहेकाले उनीमाथी संगठित अपराधको अभियोग लगाएका हौं,’ काठमाडौं परिसरका प्रमुख एसएसपी थापाले भने, ‘यसपाली उनी जोगिनसक्ने अवस्था देखिन्न ।’ साभार:  इकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?