रियल स्टोरी : १७ वर्षपछि न्याय पाउदा सावित्रीको न्यायलयप्रतिको विश्वास यसरी पलायो
Feb Tue 2020 05:40:23
357 views
काठमाडौं- उनी सर्वोच्च अदालत छिर्नासाथ एकजनाले भने, 'दिदी, तपाईंको पक्षमा मुद्दा फैसला भयो नि!' केही समय उनी अलमल परिन्। सोचिन्, अरु कसैको होला। केही पछि थाहा पाइन्, आफ्नै रहेछ। भाइको हत्याराले सजाय पाउने फैसलाको खबरले सावित्री श्रेष्ठको मुटु ढक्क फुल्यो। केही बोल्न सकिनन्। १७ वर्षदेखि रोइरहेकी एउटी दिदीलाई न्यायले खुसीको आँसु खसालिदियो। हत्तपत्त न्यायको खबर ८० नाघेका बुबाआमालाई पुर्याइन्। २०६८ सालदेखि उनी तारेखका लागि अदालत धाइरहिन्। खुट्टा थाके, उनको न्यायप्रतिको विश्वास थाकेन।
रातो पछ्यौरीमा श्रेष्ठ सर्वोच्च अदालतको प्रांगणमा हँसिलो मुद्रामा थिइन्। भाइको हत्यारालाई कारबाही गराउन निरन्तर लडिरहेकी उनले बिहीबार न्यायको लडाइँ जितिन्। मुद्दा फैसला भएपछि उनलाई फोन आइरहेका थिए। उनले 'सबैको जित, न्यायको जित' भएको सुनाउँदै थिइन्।
ओखलढुंगा कोकनीमा कुटानी पिसानी मिल, पसल गरेर एउटा संयुक्त परिवार मिलेर बसेको थियो। सावित्री विवाहपछि काठमाडौं आइन्। भाइ उज्जन श्रेष्ठ पर्यटन क्षेत्रमा काम गर्थे। सोही क्रममा दिदीसँगै बस्थे। बुबाको प्यारालाइसिस भएपछि सघाउन उनी काठमाडौंबाट घर गएका थिए। रोपाइँको बेला थियो। सामान लिन दुईजना भरियासहित रामेछाप हाटबजार जाँदै थिए। बाटोमै उनको हत्या भयो। २०५५ असार १० गते दिदीबाट भाइ हराएको खबर पाइन्। त्यस दिनै काठमाडौंबाट ओखलढुंगा पुगिन्।
आमा बेहोस थिइन्। भाइको अत्तोपत्तो थिएन। रगतको टाटा देखिएको खबर पाएपछि भाइको आस मारेकी थिइनन्। उज्जन हराएको सात दिनपछि प्रहरीले जिउँदो छैन भनिदियो। काजकिरिया सुरु गरे। त्यो दिनदेखि परिवार छिन्नभिन्न बन्यो। परिवार ओखलढुंगाबाट रामेछाप विस्थापित भयो। दुईजना भरियाले गाउँकै चिनजानेको व्यक्तिले हत्या गरेको देखेका थिए। हत्यापछि सावित्रीका दाजु गणेशकुमार श्रेष्ठले प्रहरीमा जाहेरी दिए।
उनी हत्यारा खोज्न लागिन्। भाइलाई मार्ने हत्यारा आँखैअगाडि छाती फुलाएर हिँडिरहँदा उनी आफ्नो पीडा आँसुले बगाउँथिन्। हत्याराहरु लुकेर बसेको खबर प्रहरीसमक्ष पुर्यािउँदा पनि पक्राउ गरिएन। कतिबेला आशा हराउँथ्यो। उनले भनिन्, 'हत्याराहरु बसेको ठेगाना दिँदासमेत प्रहरीले समाउन सकेन।' मुद्दा दर्ता गराएपछि उनका दाजु गणेशलाई धम्की आउन थाले। 'मुद्दा फिर्ता नलिए ज्यान लिने धम्की आउन थाले।' धम्की आए पनि दाजुबहिनीले उज्जनको हत्यारालाई सजाय दिलाउने अठोट लिएका थिए।
२०५९ मंसिर ६ गते। उनका दाजु गणेश घरपछाडि काम गर्दै थिए। गणेशकी छोरी रञ्जना सात कक्षा पढ्दै थिइन्। बुबाको साथी भएको बताउँदै अपरिचितले सोध्यो, 'तिम्रो बुबा खोइ!' उनले सत्य बताइन्। तिनै व्यक्तिले बुबा देखाइदिन गएकी छोरीकै अघि गोली हानी मारिदिए। श्रेष्ठ परिवारमा अर्को बज्रपात पर्योग। रञ्जना बेहोस भइन्। दाजुको खबरपछि उनी बसेको धर्ती भासिएजस्तै भयो। आकाश खसेजस्तै भयो। परिवारमा एकपछि अर्को विपत्ति थपिँदै गयो। जेनतेन उनले एसएलसी पास गरिन्। बुबालाई आँखैअघि गोली हानिएको दृश्य सहन नसकेर रञ्जनाले तीन वर्षपछि आत्महत्या गरिन्।
मुद्दा फिर्ता लिन परिवारमा धम्की आइरह्यो। केही समय कुनै आँट आएन। न्यायको आशा हरायो। परिवार कहाँ बस्ने? कुनै बेला विचार आउँथ्यो। आँसु पुछ्दै भनिन्, 'खाल्डो खनेर सबै परिवार एकै ठाउँमा मरौं जस्तो हुन्थ्यो।' दुई छोराको हत्यापछि आमाले निद्रा लाग्ने औषधि सेवन गर्न थालिन्। सावित्रीले बुबाआमा, भाउजू, बुहारी, भतिजभतिजीलाई सम्हाल्न निकै गाह्रो थियो।
भक्कानिँदै भन्छिन्, 'मेरा दाजुभाइले कसैको केही बिगारेका थिएनन्। कुनै दलमा आबद्ध थिएनन्।' अहिलेसम्म उनका दाजुको हत्यारा पक्राउ परेका छैनन्। तर, दाजुका हत्यारालाई कारबाही गरेरै छाड्ने अठोट लिएकी छन्। उनले भनिन्, 'हत्याराको बाउबाजेको ठेगानासहित अदालत पुग्छु।'
सरकार परिवर्तनपिच्छे कुनै पनि मन्त्री भेट्न बिराइनन्। पूर्व प्रधानमन्त्रीदेखि पूर्व राष्ट्रपति रामवरण यादवसम्म भाइका हत्यारालाई कारबाहीका लागि सहयोग गरिदिन हात जोडिन्। हरेक पार्टी कार्यालयको ढोका चहारिन्। न्यायको आस मारेका बूढा बाबुआमालाई पूर्व राष्ट्रपति यादवकोमा पुर्यारइन्। भन्छिन्, 'त्यसपछि बल्ल बुबाआमा अलि ढुक्क हुनुभयो।'
यादवले भनेका थिए, 'हामीभन्दा सर्वोच्च माथि छ। पीडितलाई न्याय दिन्छ।'
माओवादीका उच्च नेतासम्मले उनलाई भेट्ने, फकाउने, धम्काउने, थर्काउने केही बाँकी राखेनन्। तर, उनी हिम्मत हारिनन्। अझै पनि चाडबाड आउँदा उनका आँखा ओभानो हुन्नन्। हत्या भएको महिना आउँदा मुटु ढुकढुक हुन्छ।
घरपरिवार सबै छाडेर न्यायका पक्षमा लडिरहन उनका श्रीमानले निकै सघाए। उनी भन्छिन्, 'श्रीमानले साथ नदिएको भए सम्भव थिएन।' भाइको हत्या भएको १७ वर्षपछि सर्वोच्च अदालतले फैसला तत्काल कार्यान्वयनमा ल्याउन सरकारका नाममा आदेश जारी गरेपछि न्यायप्रतिको आशा पलाएको छ। उनी भन्छिन्, 'यो मेरो मात्र होइन, सम्पूर्ण पीडितको जित हो।' उनलाई आफू जस्तै पीडितका पक्षमा कानुन रहेको विश्वास भएको छ।