Breaking News

सशस्त्र प्रहरीको मोवाइल एप्स

Feb Tue 2020 05:40:28

840 views

सशस्त्र प्रहरीको मोवाइल एप्स

सुरक्षा परिस्थितिलाई ध्यानमा राखेर सशस्त्र प्रहरी बलले सूचना प्रविधिमार्फत आफ्नो फिल्ड कमाण्डर तथा अन्य महत्वपूर्ण ड्युटीमा रहेका सशस्त्र प्रहरी कर्मचारीको ‘मुभमेन्ट’ लाई अनुगमन गर्न एपीएफको लोगो अंकित ‘मोवाइल एप्स’ संचालनमा ल्याएको छ । फिल्डमा एपीएफ टोलीको तैनाथी लगायतका गतिविधिहरुको ‘रिपोर्ट’ लिइराख्नुभन्दा केन्द्रमै बसेर ‘मोबाइल एप्स’ बाट उनीहरुको ‘मुभमेन्ट’ अनुगमन गरिदा समयको बचत हुनुका साथै झन्झट समेत नहुने भएकोले यस्तो एप्स संचालनमा ल्याएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए । संविधानसभाको निर्वाचनअघि निःशुल्क संचालन गर्न सकिने ‘लाइभ भिडियो स्ट्रिमिङ’ संचालनमा ल्याई हाल नियमित सशस्त्र प्रहरी कार्यसम्पादनमा उपयोग गरिरहेको र एप्सबाट पनि कार्यसम्पादनमा अझै सहजता र प्रभावकारिता आउने विश्वास लिएको छतकुलीले बताए । ‘एपीएफ लोकेशन सेन्टर’ नाम दिइएको सो ‘मोवाइल एप्स’ सशस्त्र प्रहरी बलको कम्प्युटर फिल्डका प्राविधिज्ञहरुले करीव दुई हप्ताको प्रयासमा निर्माण गरेका हुन् । सशस्त्र प्रहरीहरुले मात्रै उयपोग गर्न सक्नेगरी तयारी गरिएको सो एप्स उपयोगका लागि सशस्त्र प्रहरी बलले संगठनभित्र उपयोग गरिरहेको ‘इन्ट्रानेट’ प्रविधिमार्फत उक्त एप्स ‘डाउनलोड’ गर्नुपर्ने हुन्छ । एपीएफको लोगो अंकित सो एप्स ‘स्मार्ट फोन’ मा ‘डाउनलोड’ गरी ‘इन्स्टल’ गरेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले केन्द्रमै बसेर अनुगमन गर्न सक्छ । सशस्त्र प्रहरी बलका प्राविधिज्ञहरुले उक्त सफ्टवेयरलाई बलको प्रधान कार्यालयमा नेपालको नक्शामा ‘प्लटिङ’ गरेका छन् । यसैगरी सो नक्शामा एपीएफको तैनाथी रहेका सवै ठाउँहरुलाई समेत ‘प्लटिङ’ गरिएको छ । यसको अतिरिक्त ती ठाउँहरुमा सुरक्षा निकाय, अस्पताल, स्वास्थ्य चौकी, विद्यालय लगायत सरकारी तथा गैरसरकारी निकायहरुको विवरण, खोलानाला, जंगल, पुल, बाटोको अवस्था, एपीएफ इकाईबाट सदरमुकामको दुरी र बाटोको अवस्थाले त्यहाँ पुग्न लाग्ने समय लगायत सुरक्षा कामकारवाहीमा उपयोग हुने आवश्यक विवरण समेत सोही नक्शामा ‘प्लटिङ’ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?