Breaking News

किन बढ्दैछ साइबर अपराध ?

Feb Tue 2020 05:40:39

471 views

किन बढ्दैछ साइबर अपराध ?

मनोज र कविता विगत तीन वर्षदेखि एउटै कलेजका मिल्ने साथी हुन्। अध्ययनकै क्रममा उनीहरूबीच प्रेम मौलायो। जब कविताको विवाह अर्कैसँग हुने निश्चित भयो त्यसपछि मनोजले नक्लली फेसबुक एकाउन्टमार्फत कवितालाई विभिन्न किसिममा अश्लील सन्देश पठाउन थाले। अश्लील अडियो आउन थालेपछि कविताले प्रहरीमा उजुरी दिइन्। अनुसन्धानपछि मनोजले पठाएको पत्ता लग्यो। यस्तै उजुरी दिनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ।

प्रहरीका अनुसार चार वर्षयता साइबर अपराध बढ्न थालेको छ। सामाजिक सञ्जालबाट ब्ल्याकमेलिङ गर्ने, इमेलबाट थ्रेट गर्ने, ह्याक गर्ने, एटिएम ह्याक गर्नेको संख्या बढ्न थालेको छ। अपराध अनुसन्धान महाशाखाका प्रमुख एवं एसएसपी सर्वेन्द्र खनालले सूचना प्रविधिको विकाससँगै साइबर अपराधबारे उजुरी आउने क्रमबढेको बताए।

‘इन्टरनेटमा सबै मानिसको पहुँच भएपछि साइबर अपराधको संख्या पनि बढ्न थालेको छ,’ उनले भने, प्रहरीका लागि यो नयाँ चुनौती हो। प्रविधिमा दक्षताप्राप्त प्रहरीले मात्र अब यस्ता अपराधको अनुसन्धान गर्न सक्छ।’ महाशाखाका अनुसार साउनयता साइबर अपराधसम्बन्धी १ सय ७१ वटा उजुरी परेका छन्। त्यसैगरी आर्थिक वर्ष २०६७/०६८ मा सामाजिक सञ्जालमार्फत धम्की १२ वटा, इमेल थ्रेट ३ वटा, गैरकानुनी रूपमा तथ्यांक चोरी गरेकोबारे १ उजुरी परेका छन्।

आर्थिक वर्ष २०६८/०६९ मा सामाजिक सञ्जालमार्फत थ्रेट ३२ वटा र इमेल थ्रेटबारे ५ वटा उजुरी छन्। सामाजिक सञ्जाल थ्रेट ५८ वटा र इमेल थ्रेट ८ वटा २०६९/७० मा उजुरी परेको महाशाखाको तथ्यांकमा छ। २०७१ मा सामाजिक सञ्जालमार्फत ९१ वटा, इमेलमार्फत २ वटा थ्रेटबारे उजुरी परेका छन्। त्यसैगरी ०७२ मा सामाजिक सञ्जालमार्फत थ्रेट गरेका ३ सय ९ वटा उजुरी परेका छन्। महाशाखा प्रहरी निरीक्षक पशुपति रायले प्रत्येक वर्ष साइबर अपराध गर्नेको संख्या बढ्दै गएको जानकारी दिए। ‘विशेष युवा पुस्ताले सामाजिक सञ्जालबाट धम्क्याएको र ब्ल्याकमेल गरेको उजुरी आउँछन्,’ उनले भने, ‘इन्टरनेटमा पहुँच नै युवा पुस्ताको छ।’

हालसम्म १६ वटा मुद्दा दायर भएको उनले बताए। नेपाल प्रहरी सूचना प्रविधि महाशाखाका डीआईजी महेश कठायतले साइबर अपराधको संख्या बढ्दै गएको उल्लेख गर्दै साइबर पुलिसको छुट्टै सेल बनाउनुपर्ने बताए। ‘प्रविधिसँग परिचित प्रहरीको सेल निर्माण गर्नुपर्छ,’ उनले भने, ‘जब छुट्टै सेल हुन्छ, प्रहरीलाई त्यही किसिमको दक्ष जनशक्ति पनि चाहिन्छ।’

डिजिटल फोरेन्सिक प्रविधि, सूचना प्रमाणीकरण, ई–गभर्नेन्स र सुरक्षित पूर्वाधार, सूचना सुरक्षामा नयाँ चुनौती बढ्दै गएको उनको दाबी छ। साइबर अपराध अनुसन्धानका लागि सरकारी प्रणाली कमजोर हुन नहुने उनले बताए। साइबर अपराधलाई न्यूनीकरणमा ध्यान नदिए आगामी दिन विकराल समस्या ल्याउने उनको भनाइ छ। ‘अबको १० वर्षभित्र प्रत्येक व्यक्तिको पहँुच इन्टरनेटमा हुन्छ, साइबर अपराध पनि त्यसै किसिमले बढ्छ,’ उनले भने, ‘त्यही चुनौतीको सामना प्रहरीले गर्नुपर्छ।’

साइबर अपराधबारे विशेष कानुन नभएको प्रहरीको भनाइ छ। अधिवक्ता चन्द्रप्रसाद काफ्लेका अनुसार विद्युतीय कारोबार ऐनले अपराधीलाई प्रशस्त दण्ड सजायको व्यवस्था नगरेको बताए। ‘साइबर ल बनाउनपर्छ किनभने सूचना र प्रविधिले ठूलो फड्को मारेको छ,’ उनले भने। ऐनअनुसार अपराधीलाई ५ वर्ष कैद वा १ लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?