Breaking News

भूकम्पको क्षति कम गर्ने यस्तो प्रविधि नेपाली वैज्ञानिकले पत्ता लगाए

Feb Tue 2020 05:40:59

341 views

भूकम्पको क्षति कम गर्ने यस्तो प्रविधि नेपाली वैज्ञानिकले पत्ता लगाए

घर वरिपरि ढुंगा थुपारेर जोखिम कम गर्न सकिने

  • रविन्द्र घिमिरे

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले भूकम्पको जोखिमलाई आधा कम गराउने गरी सजिलो प्रविधिको विकास गरेको छ । परीक्षणबाट यो प्रविधिको प्रयोगले भूकम्पका कारण जमीन हल्लिने मात्रा (इन्टेन्सिटी) लाई आधा कम गरिदिने पुष्टि भएको छ ।

नाष्टका उपकुलपति डा. जीवराज पोखरेलले विकास गरेको प्रविधिलाई अमेरिकी भुगर्भशास्त्रीको संस्था युएसजीएसले पनि चासो साथ हेरेको छ । युएसजीएसको टोलीले नै यो प्रविधिमाथि थप अनुसन्धान गरेर निश्कर्षमा पु¥याउन नाष्टलाई हौसाएको छ ।

कस्तो हो यो प्रविधि ?

नाष्टको खुमलटारस्थित कार्यालय हाताभित्र अहिले यो प्रविधिमाथि अनुसन्धान भइरहेको छ । यसका लागि खुला चौरमा एउटा घर बन्न पुग्ने जग्गा छुट्याइएको छ ।

nasts-technology-6 सो जग्गालाई घेरेर चारैतिरबाट जग खने जसरी २ मिटर गहिरो र १.५ मिटर फराकिलो खाल्डो बनाइएको छ । यसमा गोला आकारका ढुंगाहरु राखेर भरिएको छ । यसलाई माथिबाट नपुरी त्यतिकै छोडिएको छ ।

यति गर्दा नै भूकम्पको आधा जोखिम कम हुने दाबी नेपाली वैज्ञानिकहरुको छ । अहिलेसम्म यसको परीक्षणले दिएको नतिजा उत्साहजनक रहेको  नाष्टका टेक्निकल अफिसर रोशन पाण्डे बताउँछन् ।

जमिनको कम्पन आधा कम

उनकाअनुसार भूकम्पको जोखिम कम हुने कुरा नाष्टले बिनाआधार भनिरहेको छैन । यसमा विभिन्न प्राविधिक आधारहरु छन् ।

ढुंगाले घेरिएको जग्गाभित्र एउटा ड्रममा भूकम्पको तरंग नाप्ने सिस्मोमिटरसहितका उपकरण जडान गरिएको छ । घेराबन्दी गरिएको क्षेत्रभन्दा बाहिर पनि यस्तै ड्रममा अर्को भूकम्प र त्यसको इन्टेन्सिटी नाप्ने यन्त्र राखिएको छ ।

नाष्टले बेला–बेलामा भूकम्प तथा परकम्पन आउँदा यि दुई ड्रमभित्रका उपकरणमा रेकर्ड भएका डाटाका आधारमा अनुसन्धानमाथि विश्लेषण गरिरहेको छ । तर, थोरै दुरीमा रहे पनि यी दुईभित्रका उपकरणले भूकम्पको रेक्टर स्केल र इन्टेन्सिटी फरक देखाइरहेका छन् । कारण, त्यही ढुंगाले गरिएको घेराबन्दी नै हो ।

nasts-technology-5 अफिसर पाण्डेकाअनुसार भूकम्प गएका समयमा रेकर्ड भएका डाटाले देखाइरहेको छ कि ढुंगाले घेरिएको क्षेत्रभित्र बाहिरको भन्दा भूकम्पको धक्का आधा कम हुन्छ । अर्थात ढुंगाले घेरिएको क्षेत्र त्यसभन्दा बाहिरको तुलनामा झण्डै आधा कम हल्लिने पुष्टि तिनै यन्त्रले गरिसकेका छन् ।

बाहिरको यन्त्रले कम्पनको मात्रा ठूलो देखाउँछ भने भित्रकोले सानो । यसैका आधारमा यसमाथि थप अनुसन्धान चलिरहेको छ । ‘जमीन नै कम हल्लिने भएपछि भूकम्पका कारण हुने दुर्घटनाका जोखिम पनि स्वतः घट्छन् । घर, भवनर भौतिक संरचनालाई यसैगरी चारैतिरबाट ढुंगाले घेरेर बनाइयो भने जोखिम न्युन हुने निश्चित छ’ अफिसर पाण्डेले भने ।

ढुंगाको घेराभित्र कसरी घट्छ कम्पन ?

खाल्डो बनाएर हालिएको ढुंगा गोला हुन्छन् । यि ढुंगालाई एकअर्कासँग माटोको जोडाइले नसमातोस भनेर प्लाष्टिक बिछ्याइएको हो ।

सर्फेस अर्थात सतहीरुपमा आएको भूकम्प बढी खतरनाक र जोखियुक्त हुने भएकाले ढुंगाको घेराबन्दीलाई त्यसैविरुद्ध प्रयोग गरिएको हो ।

भूकम्प आउँदा तरंगको गति जब यी ढुंगामा पर्छ, यी एकअर्कामा कसिलोरुपमा नबाँधिएका कारण भूकम्पलाई नै प्रभावित गरिदिन्छ । आवाजको मात्रालाई कुनै अवरोधक वस्तु लगाएर कम गरेजस्तै भूकम्पका तरंगलाई पनि ढुंगा लगाएर कम गरिएको हो ।

यसमा ढुंगालाई बीचमा नजोडिनुको पछाडि पनि केही प्राविधिक कारण छन् । ढुंगा जोडिए भने कम्पन एकनासले प्रवाह हुनसक्छ । त्यसैले यसमा माटो पस्न नदिन प्लाष्टिक प्रयोग गरिएको हो । ढुंगाबीचका ‘ग्याप’ले भूकम्पको तरंगलाई आधा कमजोर र निश्प्रभावी बनाइदिन्छन् ।

लगातार सतहमा बहिरहेको भूकम्पको तरंगलाई घेरबन्दी गरिएका नमिलेका ढुंगाहरुले केही हदसम्म रोकिदिन्छन् र भित्र जमिनको हल्लिने मात्रा नै कम भइदिन्छ ।

बस्ती नै घेर्दा सस्तो

यो प्रविधि एउटै घरले मात्रै प्रयोग गर्दा केही खर्चिलो हुन सक्छ । ढुंगा उपलब्ध भएका ठाउँमा भने यो खासै महंगो पनि पर्दैन । तर, गाउँ वा बस्तीलाई नै भूकम्पको जोखिमबाट मुक्त राख्ने प्रण स्थानीले गरे भने यो खासै महंगो नपर्ने अफिसर पाण्डेले बताए ।

‘एउटा बस्तीले आफ्नो वरपर सबै घरलाई घेर्नेगरी चारैतिरबाट ढुंगाको घरेवाबन्दी गरे भने यो निकै सस्तो पनि पर्छ । यो प्रविधि प्रयोगबारे नाष्टले भूकम्प प्रभावित क्षेत्रमा पनि जनचेतनामूलक कार्यक्रमहरु गरेको छ । भूकम्पप्रभावित ९ जिल्लामा यो प्रविधिबारे नाष्टले जनचेतना फैलाउने काम गरेको हो ।

nasts-technology-2 बस्तीका केही घरहरुले मिलेर पनि ढुंगा ओछ्याए भूकम्पीय जोखिम कम हुने अध्ययनबाट पुष्टि भइसकेको छ । नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र भएकाले सर्वसाधारणले यो प्रविधिको प्रयोग गरे जोखिम घटाउन निकै सहयोग पुग्ने दावी वैज्ञानिकहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?