आइसिटी अवार्ड 2018, ९ जना सम्मानित : नेपाल प्रहरीलाई वेष्ट आइसिटी अवार्ड
Feb Tue 2020 05:40:31
996 views
सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित लिभिङ विथ आइसिटीको आयोजनामा आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । विभिन्न ७ विधामा सर्वोत्कृष्ट भएकाहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विशिष्ट अतिथिहरुले आइसिटी अवार्ड प्रदान गरेका थिए ।
नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड
आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स अवार्ड प्राप्त गर्न सफल भएको छ । सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गरिने यो अवार्डमा नेपाल प्रहरी उत्कृष्ट भएको हो । नेपाल प्रहरीको कार्यालयमा कागजको प्रयोग ८० प्रतिशतले घटिसकेको छ । चाँडै नै नेपाल पुलिस नामको इन्टिग्रेटेड एप्लिकेशन पनि ल्याउने तयारीमा प्रहरी जुटेको छ । अवार्ड ग्रहण गर्दै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले सरकारको डिजिटलाइजेसनको अभियानसँगै प्रहरी सूचना प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढेको बताए ।
आइसिटी मिडिया रिकग्निसन अवार्ड साउद र न्यौपानेलाई
त्यसैगरी आइसिटी मिडिया रिकग्निसन अवार्ड पत्रकारद्वय सन्तोष न्यौपाने र गोपाल साउदलाई प्रदान गरिएको छ । साउद नयाँपत्रिका दैनिकमा कार्यरत छन् भने न्यौपाने नागरिक दैनिकमा कार्यरत छन् ।
आइसिटी पायोनियर अवार्ड सञ्जीव राजभण्डारीलाई
तीन दशकदेखि नेपालको सूचना प्रविधिको विकास र विस्तारमा अनवरत लागिरहेका मर्कन्टाइल कम्युनिकेशनका संस्थापक सञ्जीव राजभण्डारीले आइसिटी पायोनियर अवार्ड प्राप्त गरेका छन् ।
आइसिटी आन्ट्रप्रेनर अवार्ड विश्वास ढकाललाई
एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले आइसिटी आन्ट्रप्रेनर अवार्ड प्राप्त गरे । विद्यार्थी जिवनमा एउटा कोठाबाट सुरु भएको एफ वान सफ्टमार्फत् उनले ४५० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएका छन् ।
पिपुल डेभलपमेन्ट ल्याबलाई आइसिटी स्टार्टअप अवार्ड
मल्टिनेश्नल कम्प्युटर नेटवर्किङ कम्पनी नेटगियरले शीर्ष प्रायोजन गरेको यस संस्करणको आइसिटी स्टार्टअप अवार्ड पिपुड डेभलपमेन्ट ल्याब प्रालिले जित्न सफल भएको छ ।
आइ-सोलुसन्स लाइफलाई आइसिटी प्रडक्ट अवार्ड
दर्शन टेकले केही महिनाअघि विकास गरेको इन्सुरेन्स म्यानेजमेन्ट सफ्टवेयर आइ-सोलुसन्स लाइफले आइसिटी प्रडक्ट अवार्ड जित्न सफल भयो ।
सारथीलाई जुरी स्पेसल मेन्सन अवार्ड
अनलाइनबाट ट्याक्सी सेवा प्रदान गर्दै आइरहेको सारथी प्रालीले जुरी स्पेसल मेन्सन अवार्ड जित्न सफल भएको छ ।
आइसिटी डायस्पोरा अवार्ड हिमाल कर्माचार्यलाई
त्यसैगरी अन्तराष्ट्रिय तहमा रही सूचना प्रविधिमा उदाहरणीय काम गरेको भन्दै लिपप|mग टेक्नोलोजीका कार्यकारी प्रमुख हिमाल कर्माचार्यलाई आइसिटी डायस्पोरा अवार्ड प्रदान गरियो ।