मनमा पुर्वाग्रह राखेर यो वेबसाइट हेर्दै हुनुहुन्छ भने म आफ्नै बारेमा चैं एउटा कुरा भनिहालुँ – मलाई फेसबुकमा जाँगर मरेको छ, अनि यो पोष्ट लेखिसकेर म फेसबुक डिएक्टिभेट गर्छु। मेरो कुरा यत्ति नेै हो। तपाइँलाई झनक्क रिस उठ्न सक्छ, ‘कौन सा पहाड फुट्ने भो र? गर्नुहोस्। तपाइँले फेसबुक चलाउन छोडे थोडा मार्क जुकरबर्ग कङ्गाल हुने हो र?’ ए ए ए, मैले थोडा जुकरबर्गको सम्पत्तिको कुरा गर्या छु र ! खुल्केको कुरा गर्न पर्छ? बरु पढ्नुस्, मलाई किन फेसबुकमा मन मरेको छ?
फेसबुकमा मेरा कैयौं यस्ता साथीहरुसँग जम्काभेट भएको छ जोसँग वास्तविक जीवनमा एकपटक पनि दोहोरो कुरा भएको छैन। एउटै भोजमा सँगै भेटियो र मलाई गला लागेर हिक हिक हुदाँ पनि उसले मलाई पानी दिँदैन तर पनि उसले मलाई फ्रेण्ड रिक्वेष्ट पठाएको हुन्छ। अब भन्नोस्, म किन उसलाई मेरो साथीभाइ इस्टमित्र भएको फेसबुकमा भित्र्याउने ? मलाई कसले के भन्छ (कस्तो सम्बोधन गर्छ ), म कहाँ जान्छु (कहाँ गएको फोटो अपलोड गर्छु ), कोसित हिँड्छु (मेरो फोटोमा कसलाई ट्याग गर्छु ) यो सब खोजीनीति उसलाई किन दिने? तपाइँलाई दिन मन लाग्छ त दिनोस्। परिवार भित्र पनि के कुरो अमिल्दो लाग्छ भने- बाले फ्रेन्ड रिक्वेस्ट पठाम्चन् । बा, ससुरा वा मामा साथी कसरी बनुँ म ?
हो, फेसबुकले नयाँ नयाँ प्राइभेसी सेटिङ्ग ल्याएको छ, सबै कुरा सबैलाई देखाउनु पर्दैन, मन लागेकालाई मात्र देखा’ अरुलाई बाल’दे पनि भनेको छ र त्यसको आधार पनि दिएको छ। एउटा फोटो कुनै समुह वा व्यक्तिलाई मात्र लक्षित गरेर देखाउन सकिन्छ। तर अप्ठेरो के पर्छ भने तपाइँले फलानालाई फोटो देखाउनु भो तर ढिस्कानालाई देखाउनु भएन। अनि फलानाले ढिस्कानालाई तपाइँको नयाँ फोटो हेरिस् भनेर सोध्छ। अब परेन त फसाद, देखाएर त सुख थिएन थिएन, लुकाउदाँ नि सुख हुदैन। उल्टो ए ! मैले तेरो फोटो खाइदिन्थेँ? कि तेरो फोटो बेच्थेँ र मलाई नदेखा’को भनेर मनमा तुस पाल्ने मात्र हैन तपाइँलाई तुरुन्तै म्यासेज नै गर्छ, ‘सर हजुर त ठूलो मान्छे भइबक्सेछ नि आजकाल। फोटा पनि गोप्य हुन थालेछन्, हामीले हेर्नै नहुने फोटा हजुरका’ भनेर। ताइँ न तुइँमा हेर्नुस् त दुश्मनी।
पहिला पहिला कतै घुम्न जाँदा यादहरु सँगाल्न फोटो खिचौँ न भन्ने मानसिकता हुन्थ्यो भने आजभोलि फेसबुकमा हाल्नलाई फोटो खिचौँ भन्ने मानसिकता विकाश भएको छ। हाइकिंग जानुस् कि रोपाइँ गर्न, जसको पनि एउटै ध्याउन्न हुन्छ, ‘यो ब्याकग्राउन्ड राखेर एउटा गज्जप फोटो खिच्नुपरो, फेसबुकमा प्रोफाइल पिक्चर बनाउनु पर्छ।’ झन् महिलाहरुमा यो मानसिकताले नराम्रोसँग जरो गाडेको छ। एउटा कार्यमा लगाएको कपडा अर्कोमा लगाउन खोज्दैनन्। उता कपडा थुप्रिरहेको हुन्छ यता पैसा खर्च भइरहेको हुन्छ। अनि फोटो राम्रो आउने कपडा नभेटेकै झोँकमा कतिपय फङ्सनहरु स्कीप गरिएका उदाहरण पनि बिस्तारै हाम्रो समाजमा देखा पर्दै गएको छ।
फेसबुकको ‘मोटो’ सायद ‘सेयर योर ह्याप्पीनेस’ हो क्यारे। हेर्नुस्, तर यहाँ फेसबुककै कारणले गाला च्याती च्याती मुटुमाथि ढुङ्गा राखेर फिस्स हाँस्दिन पर्या छ। हेर्ने मान्छेले कस्तो दु:खी र’छ नभनुन् भनेर मनमा जति दु:ख भए नि लुकाऊँ भन्ने पार्या छ। यहाँ आफ्नो खुबिलिटी र औकातभन्दा बाहिर गएर देखासिकी र अरुलाई देखाउन फोटो खिच्ने, ठाउँ ठाउँ पुगेको भनेर चेकइन गर्ने प्रवृत्ति बढ्या छ। त्यसले प्राय:को घरमा फलानाका बुढाबुढी त उता गा’का र’छन्, फेसबुकमा हेरेको, कस्तो राम्रो फोटो, हाम्रो भने सधैँको घर भन्ने गनगन सुन्न पर्या छ। तपाइँ जहाँ जानुस् न बाबा तर अरुलाई किन सुनाउनू?
श्रीमान श्रीमतीमा माया हुनु आवश्यक छ। अझ कति अंतरंग समयहरु एक आपसका स्मृतिमै रहेको बेस। तर यहाँ कस्तो चलन चल्यो भने माया देखाउनु पर्ने, हनुमानले छाती चिरेर रामसीताको फोटो देखाए जस्तै एक अर्कालाई ‘म तिमीलाई माया गर्छु’ भनेर फेसबुकमा सारा संसारको अघि नाटक गर्नु पर्ने। ‘फलानाका जोडीले कस्तो रोमान्टिक फोटो हाल्याछन्, हजुरले किन नहाल्नुभा’? हजुरलाई मेरो फोटो हाल्दा लाज लाग्छ हो?’ तर १२ थरीको दाम्पत्य ब्यूरोले पत्ता लगाएको अर्को कुरो के पनि हो भने यसरी बुढाबुढीमा मेलमिलाप देखाउने जोडी नै व्यभिचारमा सबसे धुरन्धर हुन्छन्। अब घरमा, बेडरुममा एकले अर्कालाई जे भनेर बोलाए पनि भो तर समाजिक संजालमा ‘कालु’, ‘बाबा’, ‘सानु’, ‘मामु’ वा अन्य कुनै ‘पेट’ नामले बोलाउँदा गर्नेलाई भन्दा देख्नेलाई लाज हुने। अझ अत्यन्त व्यक्तिगत भावभंगी जस्तै चुम्मा खान थुतुनो चुचो पारेको, कतै सुताउन लैजान काखीमा बोकेको जस्ता पोजले त फेसबुकले कुनै कुनै पोस्टमा १८+ फिचर किन नल्याएको होला भनेर गम खान मन लाग्छ हेर्नुस् !
नेपाललाई लात हानेर पलायनवादी बनाउन फेसबुकको जस्तो ठूलो योगदान देशको राजनैतिक र आर्थिक दुरावस्थाको पनि छैन होला। पलायणवादीहरु काम चाहे जेसुकै गरुन्, हप्तामा एक दिन चट्ट पार्कमा गएर फोटा खिचाउँछन्। अरु दिन खद्दरको युनिफर्म र गमबुट लाए पनि एक दिन सुकिला मुकिला लुगा लाएर वाओssss फलाना सहर भन्दै फोटा पोस्टिन्छन्। अब मान्छेको जात न परो…. अरुले घोडा चढे आफु धुरी चढेर भएपनि ठूलो बन्न पर्ने। अनि यता थन्केर ‘देशलाई माया गरिरहेका’हरुमा जे सुकै होस्, विदेश जान परो भन्ने भुत सवार हुन थाल्छ। कति यताको हुँदाखाँदाको जागिर माया मारेर भासिन्छन्, कति यता राम्रै व्यापार गर्न मिल्ने पैसा दलाललाई खुवाएर विश्व भ्रमण गर्दै सपनाको त्यो संसारमा पुग्ने मिसनमा होमिन्छन्। तर उता गएपछि बल्ल झल्याँस्स हुन्छन्। फेसबुकको त्यो फोटो त मिथ्या पो र’छ। चिटिक्क परेको शहर त भ्रम पो रहेछ।
फोटो त आफ्ना रमाइला झणहरु अरुसँग शेयर गर्ने माध्यम पो हो त। तर फलानाको फोटाले यति लाइक पायो, मेरोले किन पाएन भनेर कतिपय प्रयोगकर्ता तनावमा आउने गरेको तथ्य पनि हाम्रो सामाजिक ब्यूरोले फेला पारेको छ। कतिले मेसेज गरेर ‘मेरो फोटो हेरिस्?’ भनेर घुमाउरो पारामा लाइक/कमेन्टको अपेक्षा पोख्छन्। त्यतिभन्दा पनि लाइक कमेन्ट आएन भने थप्छन्, ‘अँ, हेर्न फलाना ठाउँ घुम्न गएको, कस्तो रमाइलो ठाउँ र’छ, फोटो हेर्न अनि देख्छस्।’ अझै पनि लाइक आइन भने कतिले मुखै फोरेर ‘फोटो हेरिनस्? लाइक गर न, तँलाई पनि पछि चाहिँदा पर्म तिरौँला’ भने झैँ गर्छन्। अझ पट्याउन खोजेकी केटीको वा बुढीको फोटोमा अधिक से अधिक लाइक भेला पारिदिएर खुसी पार्ने ध्याउन्नमा कयौं बोकाहरु/लोग्नेहरु कम्मर कसेर लागेको पनि भेटिएको छ।
माथिको वर्गले आफ्ना फोटामा मात्र लाइक माग्छ, तर केही यस्ता विवेकले ठगेका स्वाँठहरु पनि हुन्छन् जो वाहियात वाहियात पोस्ट राखेर दिमाग चाट्छन्। ‘यो दुइमुखे सर्पलाई देखेको ५ सेकेन्ड भित्र लाइक गर्नुभयो भने मनोरथ पुरा हुन्छ, नभए परिआउने भवितव्य आफै बेहोर्नुस्’ भनेर तर्साएपछि हाम्रो जस्तो भेडा मानिसकताको जमातमा त्यसले राम्रै ढ्याङ्ग्रो ठोक्छ। अनि आफुलाई हेर्दै एलर्जी हुने भए पनि शेयर हुँदै आफ्नै ट्यामलाइनमा आइपुग्छन्। फलानो कुरालाई सम्मान गर्दै एक लाइक, भारत विरुद्ध गोल हान्ने नवयुगलाई एक लाइक, गुगल ब्वाइ आदित्यका लागि एक लाइक जस्ता नौटंकीबाजहरुको बिगबिगी छ हजुर, बिगबिगी। अझ सेन्सेसनल समाचार बनाएर ‘भिडियो सहित’ भन्ने टाइटल देखाएर लाइक बटुल्ने मगन्ते अनलाइन पनि यही वर्गमा पर्छन्।
आफ्ना छोरा, छोरी , बाउ, आमा आफैलाई मात्र प्रिय हुन्छन्। अरुलाई उति बिघ्न चासो हुँदैन। हुने कुरा पनि होइन, सबैको आफ्नो जीवन छ, आफ्नै टेन्सन। आफ्नै छोरी/छोरोले भात नखाएको हुनसक्छ। तर कहिलेकाहीँ कसै कसैको फेसबुक हेर्दा लाग्छ, तिनीहरुका ‘आफ्ना’ भनेका सारा संसारका आफ्ना हुन्। फलानोलाई उसको छोराछोरी अलिकति बिरामी पर्दा भक्कानो छुट्दो हो। अरुलाई बाल ! विदेशमा बस्ने कसैको बाबु आमा बिरामी हुदाँ चिन्ताले रातभर निन्द्रा नपर्दो हो। अरुलाई बाल ! कसैको फेसबुक हेर्दा लाग्छ, यो चराचर जगतको हृदय उसैको जस्तो छ। उसलाई रिस उठे अरुलाई पनि रिस उठ्न पर्ने, उसको मुड ठिक छ सबै नाची दिन पर्ने। त्यसरी फेसबुक चलाउनेलाई भन्न मन लाग्छ- ‘हु केयर्स?’
फेसबुकमा केही विलक्षण प्रतिभाका धनीहरु हुन्छन्। संसारका समग्र घटनाक्रमहरु तिनैले मात्र नियालिरहेका हुन्छन्। अर्जुननरसिंह केसी गगन थापाको उम्मेदवारीको कारणले हारेको हो हैन देखि अमेरिकामा हिलारी क्लिन्टनभन्दा डोनाल्ड ट्रम्पको राष्टपति हुने संभावनाको बारे पुरापुर जानकारी यिनैलाई हुन्छ। यिनीहरुले नपढेको कुनै साहित्यिक कृति हुँदैन। यिनीहरुको स्टाटस हेर्दा ‘फेसबुक संस्कार’ अनुसार कमेन्ट र लाइकको बाढी लाग्न पर्ने हो। तर उपलब्धि हातमा लाग्यो शुन्य। त्यसमा पनि त्यस्ताको स्टाटसको भाषा शैली हेर्न पर्छ- बढो जोडले दर्शनका कुरा व्यङ्गात्मक शैलीमा लेखेका हुन्छन्। त्यसरी फेसबुक चलाउनेलाई भन्न मन लाग्छ, ‘हजुरको जस्तो विलक्षण प्रतिभाको कदर कम्तीमा यो फेसबुकबाट हुनै सक्दैन। हजुर जानुस्, रत्नपार्कमा गएर मुकुन्देले जस्तो भाषण गर्नुस्।’
क्यान्डी क्रसका जति डल्ला नेपालीले बारीमा माटाका डल्ला फुटाको भए आज खेतखेतमा सुन फलिसक्थ्यो होला। हुन त यो गेम खेल्ने चलन अचेल अलि कम भा’को छ, तर गेमका रिक्वेस्ट भने आउन छाडेका छैनन्। यस बाहेक फार्म भिल्ले, क्ल्यास अफ क्लान्स पनि रिक्वेस्ट आउने अन्य गेम एप हुन सक्छन्। हाम्रो ब्युरोका धेरै सदस्यहरु खासै फेसबुकमा पनि नभिड्ने र गेम पनि नखेल्ने हुँदा खासै समस्या झेल्नु परेको छैन। तर ट्विटरतिर अरुलाई धारे हात लाउँदै/ हरिया बाँसाँsss चुँइकाउन पर्नी भन्दै सरापेको देख्दा यो समस्याले बनमारा झारले झैँ फेसबुक प्रदुषित गराएको अन्दाज लगाउन गाह्रो छैन। ए महान खेलप्रेमी जनसमुदाय, हजुरहरु फेसबुकमा जे जे मन लाग्छ खेल्नुस्, तर अरुलाई किन सास्ती दिनुहुन्छ?
यस टिप्पणीकारका एक प्रियजनका साख्यै मामा फेसबुक चलाउँदा रहेछन्। उनको छोरोको बिहे गर्ने बेला भा’ रहेछ। बुढा रहेछन् बढो खग्गु ! बुढा जहिले पनि षोडसीहरुको वक्षस्थल देखिने फोटालाई ‘भेरी ब्युटीफूल’ भनेर कमेन्ट गर्दा रहेछन्। ती प्रियजन भन्थे, ‘बुढाले बढो अप्ठेरोमा पारे यार। न मामा तपाइँ फेसबुकमा के गर्नु भएको भनेर गाली गर्न मिल्ने न उनलाई ठाडै अनफ्रेन्ड गर्न मिल्ने। एक चोटी त अनफ्रेन्ड गरेँ पनि, बुढाले फोन गरेर थर्काए।’ खासमा ती प्रियजनका मामा उनकै फेसबुकका केटी साथीहरुको टाइमलाइनमा चाहार्दा रहेछन्।
धेरैलाई फेसबुक स्टाटसको तलतिर कमेन्ट लेख्ने ठाँउमा आफ्नो फोटो देखेर ‘यो मेरो लागि मात्र हो भनेर त्यसको बलात्कार गर्न मन लाग्दो हो। तर छाडा भएर पेन्टको फस्नर खोलेको छोराछोरी नातागोता इस्टमित्र सबैले देखिरहेका हुन्छन्।’
फेसबुकप्रतिको मेरो वितृष्णा आजलाई यत्ति। तपाइँका अनुभव कमेन्टमा लेख्नुहोला। हामीलाई गाली गर्ने हो भने पनि मुख खोलेर गर्नुहोला। अँ, आफुले पढिसकेपछि आफ्नो फेसबुकमा सेयर गरेर अरुलाई पनि पढ्न लगाउन नबिर्सिनुस् नि।