Breaking News

चटपटेको जिन्दगीभित्र गन्तव्य नभेटेका मानबहादुर बस्नेतको जीवन संघर्षको कहानी यस्तो

Feb Tue 2020 05:40:10

422 views

चटपटेको जिन्दगीभित्र गन्तव्य नभेटेका मानबहादुर बस्नेतको जीवन संघर्षको कहानी यस्तो

काठमाडौं । राजधानीको सडकमा एकजना युवक गीत गाउँदै बदाम भरिएको डालो बोकेर हिँड्छन् । पुख्यौली घर रामेछाप भएका यी युवक हुन्- मानबहादुर बस्नेत, जो विगतमा पत्रिका बेच्दाबेच्दै माओवादी लडाकू बने । माओवादी नेताहरु सिंहदरबार छिरेपछि उनी फेरि सडकमै ओर्लिए ।

मानबहादुर आफैँमा एउटा किताब हुन्, ‘मिखाइल सोलोखोभ’ को ‘मान्छेको भाग्य र दोनका कथाहरु’ जस्तै । मानबहादुरको अन्तरकथा उनकै शब्दमाः

बुबा ‘चौकीदार’ हुनुहुन्थ्यो, म ‘हकर’ भएँ

मेरा बुवा मोहनबहादुर बस्नेत सानै छँदा हजुरआमा खस्नुभएछ, हजुरबुवाले दोस्रो बिहे त गर्नुभएन, तर बुवालाई हेला गर्न थाल्नुभएछ । त्यसपछि बुवा पुख्र्यौली घर रामेछाप, बिजुरकोट खोल्मागाउँ छाडेर मावलीमा बस्न थाल्नुभयो । सुरुमा बुवाले लहानको राइस मिलमा चौकिदारको जागिर गर्नुभयो । पछि बिहे गरेर जनकपुर चुरोट कारखानामा चौकिदारकै जागिर गर्नुभयो ।

हामी जनकपुरमै जन्म्यौँ । हामी दुई दाजुभाइ मात्र हौँ । भाइ अहिले साउदीमा छ ।

मेरो जन्म ०३५ सालको हो । पहिले भाडामा बस्थ्यौँ । अहिले बुवाले पाँच धुर जग्गा किनेर घर बनाउनुभएको छ । हाम्रो रामेछापमा पुख्र्यौली सम्पत्ति थियो, बुवाले घरको सम्पत्तिमा दाबी गर्नुभएन । मैले जनकपुरकै सरस्वती माविमा पढेँ । टेस्ट फेल भएपछि जनकपुरमै पत्रिका बेच्न थालेँ- जनकपुर टुडे । हेडलाइनहरू भट्याउँदै पत्रिका बेच्थेँ । हेडलाइन त्यति मार्मिक नभएका बेला आफैँ अनेकथरी भन्थेँ, ‘आयो-गयो बिहे भयो, छोराछोरी जन्मियो । बाटैमा लड्यो-मर्यो सिद्धियो । भालेले अन्डा पार्यो, चल्ला निस्क्यो । हुक्र्यो, मान्छेले काट्यो खायो इत्यादि ।’

मान्छेहरूले लौ के भयो भनेर पत्रिका किन्थे । पत्रिका बेचेर म हिँडिहाल्थेँ ।

त्यतिबेला जनकपुर टुडेको दुई रुपैयाँ पथ्र्यो, एउटा बेच्दा ३० पैसा आउँथ्यो । घरमा बुवालाई महिनाको १५ सयमा काम गरेको छु भनेको थिएँ, तर कमाइ ७ सय पनि भएन ।

पत्रिका बेच्दा एकजनाले भनेका थिए, ‘यति राम्रोसँग भट्याएर पत्रिका बेच्दारहेछौ, पोखरा वा काठमाडौं गएर यसरी भट्यायौ भने त धेरै राम्रो गर्न सक्छौ ।’ त्यसपछि भागेर पोखरा गएँ- ०५४ तिर । साथमा ८/९ सय रुपैयाँ थियो ।

आली गुरुङको दिल

पोखरा पुगेर दिनभरि सडकमा ‘हजुर, मलाई काम दिनुस्’ भन्दै हिँडेँ । राति चिउरा र दालमोठ खाएर शिवचोकको प्रतीक्षालयमा बिताउँथेँ । तेस्रो साँझ चिउरा खाएर प्रतीक्षालयमा सुत्न लागेको थिएँ, एकजनाले मोटरसाइकलमा आएर मेरोबारे सोधे । मैले सबै कुरा बताएँ । उनले ‘के काम जानेका छौ’ भनेर सोधे । जनकपुरमा पत्रिका बेच्ने गरेको बताएँ । उनले मलाई मोटरसाइकलमा घर लिएर गए, मियाँपाटनमा । उनको नाम आली गुरुङ हो, पछि विदेशतिर गए । त्यस रात उनका घरमा मासुभात खाएर सुतेँ ।

आली गुरुङले ‘आदर्श समाज दैनिक’का एकजना पत्रकारसँग भेटाइदिए । तिनै पत्रकारसँग बसेर ‘आदर्श समाज’ पत्रिका बेच्न थालेँ- एक रुपैयाँमा किनेर दुई रुपैयाँमा । पहिलो दिन दुई सय पत्रिका बेच्न भ्याएँ ।

एकदिन पृथ्वीचोकमा पत्रिका बेच्दै थिएँ, पोखरामै रहेका माइलाबालाई भेटेँ । माइलाबाले एउटा कोठा खोजिदिनुभयो, शान्ति वन वाटिकामा, दीपक पहारी भन्नेको घरमा । त्यहाँ बसेर ४५ दिनजति आदर्श समाज बेचेँ ।

आदर्श समाज कल्याण पालिखेको पत्रिका हो । उनले उधारोमा पत्रिका दिँदैनथेँ । कहिलेकाहीँ मैले भन्थेँ, ‘आज पैसा छैन, उधारो पत्रिका दिनु, बेचेर दिन्छु ।’ तर, उनले मान्दैनथे । कल्याण पालिखे धेरै धनी थिए, पालिखे चोकमा घर थियो । तर, उनले गरिबलाई त्यति मतलब राख्दैनथे । पछि अर्कै पत्रिका बेच्न थालेँ ।

माइलाबाको चिनजानको राजकुमार सुवेदी हुनुहुन्थ्यो, एक दिन उहाँले माओवादीसँग सम्पर्क गराउनुभयो । ०५८ सालको अन्त्यतिर म माओवादीमा लागेँ ।

कुखुरा फार्ममा काम, क्षेत्रीमाथि छुवाछुत

मेरा माइलाबाका साढुदाइ, कमल बराल, मैले ठुल्बुवा भन्छु, उहाँको घर चितवन हो । पोखराबाट म काम खोज्दै उहाँको घरमा गएँ । पोखराको सडकमा चिच्याउँदै पत्रिका बेच्नुमा भविष्य देखिँन । चितवन कैलाशनगरमा काम गरेँ, पोल्टी र्फममा, कुखुराको अन्डा बटुल्ने, चारो हाल्ने काम । त्यहाँ काम गर्ने चार-पाँचजना थियौँ । साहु आचार्य थरका हुन् । खानामा दूध-दही पनि दिन्थे । म क्षेत्री-बाहुन भन्ने थाहा थियो, तर मलाई छुवाछुत गर्थे । मैले खाएर माझेको भाँडा चोख्याएर मात्रै भित्र लैजान्थेँ, भित्र भान्सामा छिर्न दिँदैनथे । हामी काम गर्नेहरू पोल्टी र्फमछेउको टहरामा बस्थ्यौँ । उनको खेतीको काम पनि गर्नुपथ्र्यो ।

साहु बोलीमा त ठीकै थिए । उनकी आमाले भने घर-परिवारले खाएर रहेको झुटो भात हामीलाई दिने गर्दिरहिछन् ।  छुवाछुत गरेको पनि मलाई मन परेको थिएन, त्यहाँ काम छाडेँ ।

ठुल्बुवाले गीतानगरमा काम लगाइदिनुभयो, घनश्याम देवकोटाको पोल्टी र्फममा । त्यहाँ पनि अलिअलि छुवाछुतको व्यवहार गरे, भान्सा छोइन्छ भनेर टाढैबाट दिन्थे । यो मलाई मन परेन । मैले त्यहीँकी छिमेकी बहिनीलाई सुनाएँ- कैलाशनगरमा ममाथि भएको छुवाछुतदेखिका घटना । त्यस्तै गरे भने यहाँ पनि काम नगर्ने बताएँ ।

यो कुरा ती बहिनीले सुनाइछन् । भरे घनश्याम दाइले भन्नुभयो, ‘आज राम मसँग एउटै टेबलमा बसेर खाना खान्छ ।’ मेरो बोलाउने नाम राम हो । उहाँकोमा १६ महिना काम गरेर छाडेँ, पैसा कम थियो ।   माओवादी भन्दै आर्मीले दुःख दियो

पोखरामा हुँदा मैले पत्रिकासँगै पुस्तकहरु पनि बेच्न थालेको थिएँ, कार्ल माक्र्स, लेनिन, माओत्सेतुङ, चे ग्वेभाराका । त्योबीचमा पुस्तक पसलसँग पनि सम्पर्क भइसकेको थियो । पत्रिका बेच्ने मात्रै नभएर पढ्न पनि थालेँ, खासगरी जनादेश पत्रिका पढ्थेँ । देशको अवस्था बुझ्न थालेँ ।

कम्युनिस्टका किताब बेच्न हिँडेका बेला मलाई आर्मीले पक्रियो । तर, एक दिनमै एकजना नजिकको भूपू आर्मी दाइले छुटाउनुभयो ।

कुखुरा फारमको काम छाडेपछि मैले फेरि पत्रिका बेच्न थालेँ- चितवन पोस्ट, कान्तिपुर, अन्नपूर्ण पोस्ट । साइकलमा तेलौरीसम्म पुगेर पत्रिका बेच्थेँ । राति अबेला र्फकन्थेँ । राति हिँड्दा माओवादी भनेर फेरि आर्मीले दुःख दिन थाल्यो । माओवादी समर्थित गाविस रहेछ, शान्तिनगर । त्यहाँ म साइकलबाट लडेँ । त्यहीबेला आर्मीले सोध्दै आएको थियो, त्यहाँका स्थानीयले जोगाए । मलाई अलिअलि चोट लागेको थियो, स्थानीयले उपचार पनि गरिदिए । गीतानगरका रामलाल गुरुङले काम लगाइदिए, चितवन पुल्चोकको सन राइज क्याफेमा ।

त्यो क्याफेमा भाँडा माझ्ने काम गर्थें, तर कुक नभएका बेला चाउमिन पनि बनाउँथेँ । त्यो क्याफे रामलाल गुरुङलगायत पाँचजना मिलेर खोलेका रहेछन् । सबैले माया गर्थे । त्यहाँ काम गर्दागर्दै बेसरी बिरामी भएँ, उनीहरूले नै उपचार गराए ।

फेरि पोखरा, अनि फेरि चितवन

म फेरि पत्रिका बेच्न पोखरा गएँ । पुरानै घरबेटीकहाँ गएँ । पोखरामा सँगै बस्ने साथी थिए- उदयपुरका भैरव आले र स्याङ्जाका मोहन गुरुङ । मोहन क्याम्पस पढ्दै पत्रिका बेच्ने गर्थे, अहिले टिचर भएका छन् भन्ने सुन्छु । सामान त्यसै छाडेर गएको थिएँ, भैरव त्यही घरमा रहेछन् । लेबर काम गर्दा धेरै पैसा हुन्छ भन्ने कुरा आयो । तनुहँको साँखे भन्ने ठाउँमा लेबर काम गर्न गएँ । तर, जसले लगेका थिए, उनीहरूले मलाई केही नजान्ने भनेर हेप्न थाले ।

फेरि चितवनको सनराइज क्याफेमा फर्किएँ । तर, त्यो क्याफे अर्कैलाई बेच्न लागेका रहेछन् । रामलाल गुरुङले भन्नुभयो, ‘म तिमीलाई फलफूल पसल खोल्न लगानी गरिदिन्छु, यतै बस ।’

त्यहीबेला घरबाट फोन आयो, बुवा बिरामी हुुनुहुन्छ भनेर । घर गएँ । मेरो नागरिकता सविता पुस्तक पसल नारायणघाट पुल्चोकमा धरौटी राखेको थिएँ । मैले कतिलाई पत्रिका उधारोमा दिन्थें, पैसा उठेन । त्यो पसलमा ऋण थियो । बुवाले ३५ सय दिएर नागरिकता लिन पठाउनुभयो र फर्केर घरतिरै केही गरेर बस्न भन्नुभयो ।

तर, म नागरिकता उकास्न आएको, चितवनबाट फर्किनँ । भारत मोतिहारीको रुस्तम खान भन्ने ठेकेदार थियो, मुसलमान । दिनको सय रुपैयाँ दिन्छु भनेको थियो । डेढ वर्ष मजुदरी गरेँ । तर, त्यो ठेकेदार एक वर्षजतिको पैसा खाएर भाग्यो ।

त्यसपछि फेरि पोखरा नै गएँ, यो ०५७ साल अन्त्यतिरको कुरा हो । पोखरा गएर मजदुरी नै गरेँ, दिनको डेढ सयमा । ओखलढुंगातिरको ठेकेदार थियो, तर पैसा दिने बेला गुण्डा ल्यायो । मैले एकजना साथीलाई सुनाएँ । उनले गुण्डा ल्याउन हामी पनि सक्छौँ भनेपछि ठेकेदारले पैसा दियो ।

त्यसपछि मार्बल टायल ठेकेदारसँग काम गरेँ, त्यो ठेकेदार इन्डियन थियो, दिनको डेढ सय दिन्थ्यो । ऊ त राम्रै थियो, पछि उसको भतिजसँग काम गर्नुपर्‍यो, उसले तीन महिनाको पैसा नदिई गयो ।

माओवादीतिर मन

अनेक विभेद सहेँ- धनी र गरिब, जातभात । पत्रिका बेच्दा पत्रिका पढ्ने पनि गर्थें । माओवादीबारे पढ्थेँ, कुरा सुन्थेँ । मलाई माओवादी मन पर्न थालेको थियो ।

माइलाबाको चिनजानको राजकुमार सुवेदी हुनुहुन्थ्यो, एक दिन उहाँले माओवादीसँग सम्पर्क गराउनुभयो । ०५८ सालको अन्त्यतिर म माओवादीमा लागेँ ।

सुरुमा पोखरा नजिकै कसेरी जंगलमा लुकेर बस्यौँ । ८-१० जनाको सेक्सन थियो । तालिम लिन्थ्यौँ । पछि पाल्पा आएँ, तानसेन रामबजारदेखि माथिको जंगलमा ।

दिनमा गाउँतिर डुल्थ्यौँ । कमान्डरले गाउँलेलाई शोषण, विभेदको विरोध गर्दै समानताका कुरा बताउँथे । गाउँलेका घरमा गएर काम गरिदिन्थ्यौं । जे दिन्छन्, त्यो खाएर हिँड्थ्यौँ । साँझमा खाना खाइसकेपछि कमान्डरको आलोचना गर्न पाइन्थ्यो । कमान्डरको यो बानी ठीक भएन भन्न पाइन्थ्यो ।

म फ्रन्ट गार्ड लिडर हुँदै सेक्सन भीसी र त्यसपछि सेक्सन कमान्डरमा प्रमोसन भएँ । ०६३ सालमा मलाई पोखरा पठाइयो । आन्दोलनका लागि जनता जगाउन सक्रिय भएँ । सीआईडी बनेर पनि हिँडेँ ।

शान्ति सम्झौतापछि घरजम

जनकपुरमा ८ कक्षा पढ्दादेखि मैले कसैलाई माया गरेको थिएँ । उनी एसएलसी पास भइन्, जनकपुरमै कलेज पढ्न थालिन् । पोखराबाट मैले उनलाई चिठी पठाउँथेँ, कलेजको ठेगानामा । उनले पनि पठाउँथिन् । त्यस्तै, २२/२५ वटा पत्र आदान-प्रदान भयो । उनलाई भेट्न म घर गइरहन्थेँ । हाम्रो सम्बन्ध राम्रै थियो । ०५७ तिरै म जनकपुर गएँ, केही पैसा जम्मा गरेर । उनलाई बिहे गर्ने सोचेको थिएँ । तर, उनले अर्कैसँग बिहे गरिछन् ।

शान्ति सम्झौतापछि मैले स्वेच्छिक अवकाश रोजेँ, पाँच लाख पाएको थिएँ । सेनामै जान पनि सक्थेँ, तर मनमा अनेक नकारात्मक कुरा खेले । के हो, के हो ? त्यत्रो रिसिबी छ, तितर-बितर पारेर मार्छन् कि भन्ने सोचेँ ।

अवकाशपछि चितवनमा तरकारी बच्न थालें, साइकलमा । तर, बिरामी भएँ, कोखो दुख्न थाल्यो । उपचारमा ४० हजार खर्च भयो । त्यसपछि तरकारी र चटपटेको पसल खोलेँ । चाउमिन, चाउचाउ पनि पकाउँथेँ ।

एउटी युवती चटपटे खान आउँथिन् । छेउतिर बसेर रुँदै चटपटे खान्थिन् । मैले अरुलाई सोध्थेँ, यो केटी कस्तो भनेर, सबैले ‘दिमाग ठीक छैन’ भन्ने कुरा गर्थे । एक दिन मैले सोधेपछि उनले आफ्नो कथा भनिन्-

‘हाम्रो पुरानो घर कास्की हो । म ६-७ वर्षकी छँदा मेरो बुवा बेपत्ता हुनुभयो । दुई दाइ हुनुहुन्छ । दाइले यहीँ चितवनमा विवाह गर्नुभयो र यतै व्यवसाय गरेर बस्न थाल्नुभयो । दाइहरुले पुख्र्यौली सम्पत्ति बेच्नुभयो । मेरो भागमा नौ लाख, आमालाई पाँच लाख परेको थियो । बाँकी दुई दाजुभाइले लिनुभयो । पछि आमालाई कान्छोदाइले र मलाई जेठोदाइले पाल्ने कुरा भयो । पैसा बैंकमा थियो, मेरै नाममा । दाइले ‘तेरो नाममा जग्गा किनौँ, पैसा निकाल’ भन्नुभयो । पैसा दिएँ । तर, दाइले जग्गा किनिदिनुभएन । मैले आफ्नो पैसा मागेँ । तर, मलाई दाइ-भाउजूले शारीरिक, मानसिक यातना दिन थाले । म मानसिक रोगीजस्तै भएँ । एकजनासँग जबर्जस्ती विवाह पनि गरिदिए । मलाई घर मन परेन र बिहे गरेकै रात भागेर आएँ ।

मेरो उपचार त भयो, अहिले पनि सबैले मलाई ‘बौलाही’ भन्छन् ।’

उनले सुनाएको कथा साँचो वा झुटो, मलाई थाहा भएन । जेहोस्, उनको कथाले मलाई छोयो, उनको माया लागेर आयो । उनले पनि मलाई मन पराएको थाहा पाएँ । जिग्दगीले कता-कता पुर्याएर मैले बिहे गर्न पाएको थिइनँ । उनको कथा सुनेर पग्लेँ । यति दुःखसुख बुझेकी केटीलाई बिहे गर्दा राम्रै होला भन्ने सोचेँ र उनैसँग बिहे गरेँ । त्यसपछि हामी घरमा गयौँ । बुवाले राम्रैसँग बुहारी भित्र्याउनुभयो, छिमेकीलाई भोज खुवाएर ।

कमाउने अधुरो सपना

चितवन फर्केपछि उनले भनिन्- ‘म चटपटेको पसल चलाउँछु, हजुरले अरु केही गर्नुस्, दुवैको कमाइ भयो भने केही जोड्न सकिएला ।’ उनको सल्लाह राम्रो थियो ।

लडाकूबाट अवकाश लिँदा दुई किस्तामा पैसा लिएको थिएँ । दोस्रो किस्ताको दुई लाखले चितवन चम्पानगरमा जग्गा किनेको थिएँ । बाँकी ५० हजार सहकारीमा एक वर्षका लागि राखेको थिएँ । त्यो पैसा झिकेर डिप पि|mज किनेँ, कुल्फी बनाउनका लागि ।

उनको सबै राम्रै थियो । तर, सामान बिर्सने, एउटा काम गरेपछि अर्को काम गर्न बिर्सने समस्या देखियो । उनले मानसिक औषधि बीचमै खान छाडेकी रहिछिन् ।

पसलमा चटपटेका सामान तयार पारेर म कुल्फी लिन जान्थेँ । केटाहरु चटपटे खान आउँथे । केटाहरुले ‘दाइले दुईटा चाउचाउ हाल्नुहुन्थ्यो, कति मीठो बनाउनुहुन्थ्यो भाउजू, हजुरले बनाएको मीठो भएन’ भन्दारहेछन् । उनले बढी सामान हालेर चटपटे बनाउन थालिन्, फेरि कति राखेँ भन्ने पनि भुल्थिन् । पसलमा घाटा लाग्न थाल्यो ।

जाडो सिजनमा कुल्फी नबिक्ने भएपछि मैले चटपटे बेच्न थालेँ । व्यापार त्यति राम्रो भएन । एकजना हिमाल घिमिरे हुनुहुन्थ्यो, मलाई चटपटेका सामान उधारो दिनुहुन्थ्यो । उहाँले काठमाडौं गएर भुजा बेच्ने सल्लाह दिनुभयो । उनलाई चटपटेकै पसलमा छाडेर काठमाडौं आएँ ।   पोखराको भुजा कुरुम-कुरुम

सानैदेखि गायक हुने रहर थियो । स्कुल पढ्दा जनकपुर कलापरिषद, मिथिला नाट्य कला परिषदबाट गीत गाउँथेँ । तर, मेरो गाउने कला पत्रिका, बदाम, तरकारी, चटपटे, कुल्फी, बदाम बेेच्न प्रयोग गर्नुपर्‍यो ।

काठमाडौंमा भुजा बेच्दा दुईवटा डर छ, एक त ठेलालाई गाडीले हान्ला भन्ने, अर्को नगरपालिकाले खोसिदिने । नाफा पनि थोरै आउँछ । तैपनि पिठ्युँमा बोकेर भुजा बेच्न थालेँ । भुजा वीरगन्जको हो, तर मैले त्यतिकै गीत बनाएँ- पोखराको भुजा कुरुम-कुरुम… ।

भिडियो हेर्नुस्

पोखरामा मैले संघर्ष गरेँ, त्यो सहर सफा छ, पोखरालाई संसारका मान्छेले राम्रो मान्छन् भन्ने मलाई थाहा छ । त्यसैले मैले गीत बनाएको त हो । जुन ठाउँको पनि बनाउन सक्थेँ, तर पोखराको मायाले पनि मैले पोखराको गीत बनाएँ ।

कमाइ ठीकै थियो । उता श्रीमती दुई जिउकी थिइन् । उनले छोरा पाइन्, ७ कात्तिक ०७० मा । काठमाडौंमा म भुजा साहु राजकुमार सापकोटाकहाँ बस्थेँ, उनको अनुग्रह खाद्यान्न सप्लायर थियो । उनको कोठामा बसेवापत दिनको अलिअलि पैसा दिनुपथ्र्यो ।

अर्काे पनि भिडियो हेर्नुस्

उता श्रीमतीलाई फेरि मानसिक रोगले च्याप्यो । काठमाडौं ल्याएँ, पाटन हस्पिटलमा उपचार गरेँ, २० हजार खर्च भयो । साहुसँग ऋण लिएँ । साहु क्रिस्चियन धर्मावलम्बी थिए । उपचारपछि पनि म साहुकैमा बसेँ । श्रीमतीलाई साहुले धर्म परिवर्तन गर्न भनेँ ।

भुइँचालोले हल्लाएपछि कन्तबिजोग

उपचारपछि उनी माइत जान्छु भनिन् । म पनि चितवनमै गएर चटपटे बेच्न थालेँ । तर, व्यापार राम्रो भएन । फेरि काठमाडौं आएँ, श्रीमतीलाई लिएर । साहुकहाँ बसेको पैसा बढी लिन थालेपछि छुट्टै कोठा लिएर बसेँ ।

मीनभवन ठूलो खरिबोटमा सटर लिएर भुजा बेच्न थालेँ । तर, त्यति राम्रो व्यापार भएन । साहुलाई सामानको पैसा दिन सकिनँ ।  सटरको भाडा पनि बाँकी रहन थाल्यो । जग्गासमेत बेच्नुपर्ने अवस्था आयो । चितवनमा दुई लाखमा किनेको जग्गा दुई लाखमै भुजा साहुलाई बेचेँ ।

मीनभवनको सटरमा चटपटे, पानीपुरी, खाद्यान्न पनि राखेँ । तर, देशमा भुइँचालो आयो र व्यापारमा घाटा हुन थाल्यो । त्यसपछि हामी जनकपुर गयौँ । यता बस्न सक्ने अवस्थै थिएन । भुइँचालो आइरहन्थ्यो ।

घरमा दुई महिना बसेर काठमाडौं आयौँ । यता, चार महिनाको सटर भाडा थियो । साहुले भाडा मागे । मैले ‘भुइँचालोले व्यापारै भएन, केही महिना पर्खनुस्’ भनेँ । सुरुमा त घरबेटीले मानेका थिए । पछि उनका छोराले अत्त्याइरहे । मैले सटरमै ताल्चा लगाउनुपर्यो । भाडा खप्टिरह्यो ।

घरबेटीले भने, ‘अब तैंले पैसा तिर्न सक्दैनस्, तेरो डिफ्रिज, इलेक्ट्रोनिक तुलो, डाइनिङ टेबललगायत सामान छाड्, पछि पैसा दिएर लैजालास् ।’

मैले सटर छाडेँ । अहिले टहरोमा बस्दैछु, मीनभवनमै । भाडा तीन हजार छ । त्यसयता सडकमै बदाम, चटपटे बेच्दैछु । भाडा तिर्न हम्मे छ । हिजो पनि सटरका घरबेटी भाडा माग्न आएका थिए । टहरो रोडमा परेकाले भत्काउने कुरा छ । वैशाखमै कोठा खोजेर सर्नुपर्ने छ, घरबेटीलाई दुई महिनाको भाडा तिर्न बाँकी छ । श्रीमती दुई जिउकी छिन् ।

प्रस्तुतिः ध्रुवसत्य परियार

- साभार: अनलाइनखबर डटकम 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?