Breaking News

भागी बिहे भएको ३ दिन नबित्दै जेल परेका कैदी पति छुटाउन आठ वर्षीया बालिकाको अपहरण बाटो रोजेकी श्रीमती पनि जेल घरमा पुगेपछि

Feb Tue 2020 05:40:21

451 views

भागी बिहे भएको ३ दिन नबित्दै जेल परेका कैदी पति छुटाउन आठ वर्षीया बालिकाको  अपहरण बाटो रोजेकी श्रीमती पनि जेल घरमा पुगेपछि
धुलिखेल कारागारमा कैदी रहेका पति छुटाउन एक महिलाले योजना नै बनाएर बालिका अपहरण गरेकी छन्। चोरी मुद्दामा काभ्रे जिल्ला अदालतले मागेको धरौटी रकम जुटाउन आफूले काम गर्ने मालिककै छोरी अपहरण गरेको आरोपमा प्रहरीले एक महिला र एक पुरुषलाई पक्राउ गरेको हो। अपहरणपछि बन्धक बनाएर राखेकी आठ वर्षीया बालिकाको होटलको कोठाबाट सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ।
महानगरीय प्रहरी परिसर ललितपुरले च्यासलमा कोल्ड स्टोर सञ्चालन गरिबस्ने काभ्रेका बलराम पाण्डेकी आठ वर्षीया छोरी सम्झना पाण्डेलाई अपहरण तथा बन्धक बनाएको आरोपमा सोही स्टोरमा काम गर्ने विनिता बास्कोटा र उनका देवर भिमसेन भण्डारीलाई पक्राउ गरेको हो। प्रहरीले काठमाडौं चावहिलस्थित पुर्वेली गेष्ट हाउसमा बन्धक बनाइराखेको अवस्थामा सम्झनाको उद्धार गरेको हो। परिसरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले अपहरणकारी दुबै चिनजानमै रहेकाले बालिकालाई कुनै हानी पुर्यााउने सम्भावनालाई हेर्दै सावधानीपूर्वक अप्रेसन गरेको बताए। प्रहरीले बालिका हराएको सूचना पाउनासाथ खोजी गर्नुका साथै अपहरणको कोणबाट सोधपुछ तिब्र बनाएको थियो। प्रहरीले सोमबार साँझ अपहरण गरेकी बालिकालाई मंगलबार दिउँसो चावहिलबाट उद्धार गरेको हो।छोरी सम्झनासँग बलाराम पाण्डे परिसर ललितपुरमा

टाइमलाइनमा तेस्रो अपहरण

अपहरणको आरोपमा पक्राउ परेका दुबैले तेस्रो निशानाकारुपमा सम्झनाको अपहरण गर्न सफल भएको अनुसन्धानमा खुलेको छ। अदालतले फागुन २९ गते बिनिताका पति प्रकट भन्ने बिष्णु भण्डारीसँग चोरी मुद्दामा दुई लाख ५० हजार धरौटी मागेपछि दुबै अपहरणको योजनामा उदयपुरसम्म पुगेको अनुसन्धान खुलेको हो। प्रहरीका अनुसार देवर र भाउजु २९ गते राति नै विनिताकी आफन्तकै सन्तानलाई अपहरणको निशाना बनाएर उदयपुर गाईघाट पुगेका थिए। तर उदयपुरमा निशाना बनाएका बालक ठूलो भएको र कराउने डरले फागुन ३० गते काठमाडौं फर्किएका थिए। 1 पक्राउ परेका विनिता र भिमसेनलाई सार्वजनिक गर्दै प्रहरी
उदयपुरमा अपहरणको योजना असफल भएपछि प्रकटकै आफन्त अपहरणका लागि दुबैजनाले फागुन ३० गते महाराजगञ्जमा दोस्रो प्रयास गरेका थिए। महाराजगञ्जमा बालक सानो भएको र लुकाउन अप्ठयारो हुने भएपछि दोस्रो प्रयाससमेत असफल भएको हो। कारागारमा रहेका पतिलाई फागुन २८ गते भेटेकी विनिताले त्यसपछि आवश्यक रकम जुटाउन अपहरण नै सरल माध्यम देखेको प्रहरी अनुसन्धानमा खुलेको हो। तेस्रो प्रयासमा भिमसेन र विनिताले आफैँ हेरचाह गर्दै आएकी आठ वर्षीया सम्झनालाई निशाना बनाएर अपहरण गरी एकरात दुई दिन बन्धक बनाएका थिए। 

लुकामारी, सिनेमा र अध्यारो कोठा

विनिताले च्यासल वरपर रहेका अन्य बालबालिकासँगै लुकमारी खेलमै सम्झनालाई अपहरण गरेकी थिइन्। सम्झनाको परिवारसँग नजिकको सम्बन्ध रहेका परिवारकी छोरी भएका कारण परिवारले सम्झनालाई फकाएर बालकुमारीमा भिमसेनको जिम्मा लगाएर फर्केकी विनितालाई शंका नै गरेन। 'आफ्नै साथीको छोरी भएकाले उद्धार गर्दासम्म मैले पत्याउन सकिन, चाडो विश्वास गर्नु मेरो कमजोरी रहेछ,' छोरीसँगै रहेका पाण्डेले भने। भिमसेनले सम्झनालाई बसमा चढाई महाराजगञ्जमा शिक्षण अस्पताल नजिक गेष्ट हाउसमा राखेका थिए। अपहरणको दोस्रो दिन गोपीकृष्ण हलमा लगी सम्झनालाई दुई सो सिनेमा हेराएका थिए। महानगरीय प्रहरी प्रभाग मंगलबजारमा बालिका हराएको सूचना आएसँगै प्रहरी निरीक्षक रेशम बोहरा प्रारम्भिक अनुसन्धानमा जुटेका थिए। विनिताको बयानमा एकरुपता नभेटेपछि अपराध महाशाखासहितको टोली विनितालाई आएका टेलिफोन कलको स्थान पहिल्याउँदै चावहिल पुगेको थियो।

दुबै अभियुक्त नवयुवा

प्रहरी हिरासतमा रहेकी विनिता र भिमसेन उमेरले २० कटेका छैनन्। उनका पति प्रकटसमेत यही उमेर समूहका छन्। माघ २८ गतेमात्र भागेर विवाह गरेको तेस्रो दिन मोटरसाइकल चोरी मुद्दामा काभ्रे प्रहरीले प्रकटलाई पक्राउ गरेको थियो। कारागारमा पति भेट्न जाने विनिताले धरौटीका लागि परिवार र आफन्तको सहयोग नमागी नियोजित अपहरण गरेको एसएपी अधिकारीले बताए। परिसरले दुबैलाई ललितपुर जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिएर थप अनुसन्धानका लागि हिरासतमा राखेको छ।

- Nagariknews.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?