मेलामा बिहीबार पनि प्रविधिको माध्यमबाट अध्ययन गराइएको थियो । मेलामा काठमाडौंको पद्मकन्या माध्यमिक विद्यालयबाट मेलास्थल आएका विद्यार्थी र बुटवलको कालिका माविका विद्यार्थीलाई एकसाथ प्रविधिको माध्यमबाट बूढानीलकण्ठ स्कुलका शिक्षकले पढाएका थिए ।
बुधबार धादिङबाट क्यान इन्फोटेक अवलोकन गर्न आएका विद्यार्थीलाई बुटवलको कालिका माविका शिक्षकले प्रविधिको माध्यमबाट अध्यापन गराएका थिए ।
मेलाको तेस्रो दिन बिहीबार वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेल, विद्यार्थी नेता नयन सिंह महर, नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृत, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, व्यापारी, व्यवसायी, कलाकार, खेलाडीलगायत विभिन्न पेसागत संघसंगठनका प्रतिनिधिको ठूलो संख्यामा उपस्थिति रह्यो ।
कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।