Breaking News

हुम्लामा पहिलोपटक 'टुजी' मोबाइल

Feb Tue 2020 05:40:18

339 views

हुम्लामा पहिलोपटक 'टुजी' मोबाइल

नेपाल टेलिकमले मुलुकका सबै जिल्ला सदरमुकाममा सामान्य गतिको इन्टरनेट समेत चलाउन मिल्ने टेलिफोन सेवा पुर्‍याएको छ । गत शनिबार हुम्ला सदरमुकाम सिमिकोटलाई माइक्रोवेभ रेडियोलिंक सञ्जालमा जोड्दै टेलिकमले सबै जिल्लामा इन्टरनेट सहितको टेलिफोन सेवा विस्तार गरेको हो । यसअघि कर्णालीका जिल्लाहरुमा भू-उपग्रह (स्याटलाइट)मार्फत मात्र दूरसञ्चार सेवा चलिरहेको थियो । स्याटलाइटबाट चलेको सेवामा भने मोबाइल र इन्टरनेट चलाउन समस्या हुने गरेको थियो ।

सिमिकोटलाई माइक्रोवेभ सञ्जालमा जोडेपछि अब भने त्यहाका उपभोक्ताले ल्यान्डलाइन फोनमा एडिएसल इन्टरनेट चलाउन सक्नेछन् । यसैगरी मोबाइलमा दोस्रो पुस्ताको (टुजी) इन्टरनेट सेवा जिपिआरएस चल्नेछ ।

टेलिकमले सिमिकोटलमा १ सय ७० मेगाबाइटस् प्रति सेकेन्ड (एमबीपीएस) गतिको माइक्रोवेभ लिंक स्थापना गरेको हो । यसले सबैखाले टेलिफोन सेवाको गुणस्तर सुधार गर्नेछ । कम्पनीले विस्तार गर्न सकिने स्थानमा अप्टिकल फाइबर र दुर्गममा फाइबरकै गुणस्तरयुक्त माइक्रोवेभ प्रविधिको सञ्जाल विस्तार गरिरहेको छ ।

टेलिकमले सबै जिल्ला सदरमुकाममा यस्तो सेवा विस्तार गरेपनि अझै दुर्गम जिल्लाका ग्रामिण भेगमा भने पुग्न सकिरहेको छैन । सदरमुकाम बाहेकका ग्रामिण क्षेत्रमा समेत यस्तो सेवा विस्तार गर्ने योजना अघि बढाउने जनाएको छ । यसअघि गत असार २१ गते टेलिकमले डोल्पाको सदुरमुकामलाई यस्तै सञ्जालमा जोडेको थियो । यसैगरी गत आर्थिक वर्षमै मुगु सदरमुकाम पनि माइक्रोवेभ रेडियो लिंकमा जोडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?